‘सगरमाथा आरोहणको महत्व घटिरहेछ’

- मनबहादुर बस्नेत

भनिन्छ– एउटा असफलताले सफलताको नयाँ ढोका उघारिदिन्छ, पहिल्याउन मात्रै सक्नुपर्छ । एसएलसी परीक्षामा असफल दोलखा रोल्वालिङ गाउँपालिकाकी दावा याङजुम शेर्पा, २७, का लागि यस्तै सफलताको ढोका खुल्यो । पढाइमा ब्रेक लागेपछि हिमाल आरोहणमा हाम फालेकी उनी अन्तत: अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको प्रमाणपत्र पाउने दक्षिण एसियाकै पहिलो महिला बनिन् । इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसियसनले शेर्पालाई गत हप्ता प्रमाणपत्र दियो । सबैभन्दा कम उमेरमा पाकिस्तानको के–२ हिमाल चढ्ने महिला पनि उनी नै हुन् । यसै सन्दर्भमा उनीसँगको कुराकानी : 

हिमाल आरोहणप्रति कसरी आकर्षित हुनु भो  ? 

पहिले म अल्ट्रा धाविका (उचाइमा दौडने) थिएँ । त्यसपछि ट्रेकिङ गाइड भएँ । ट्रेकिङ जाँदा पाहुनाले नजिकैका हिमाल देखाउँदै ‘चढेकी छस्’ भनेर सोध्थे । ‘छैन’ भन्दा मुख बिगार्थे । ‘चढेकी छु’ भन्यो भने ‘वाह π’ भन्दै धाप मार्थे । त्यसपछि हिमाल चढ्नैपर्ने रहेछ भन्ने लाग्यो र सन् २००८ मा नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए)बाट आधारभूत तालिम लिएँ ।

कहिल्यै सोच्नुभएको थियो, आफ्नो नाममा रेकर्ड बन्ला भनेर ? 

अहँ । एसएलसी पास भएको भए म यो फिल्डमै आउँदिन थिएँ होला । 

व्यावसायिक रूपमा कहिलेदेखि लाग्नुभयो ? 

तालिम अवधिमै ५ हजार ५ सय २० मिटर उचाइको यल पिक, ६ हजार १ सय ८९ मिटरको आइल्यान्ड पिक चढियो । त्यसपछि साथीहरूसँग मिलेर सन् २०११ मा आमादब्लम चढेँ । मैले ‘गेस्ट’ लिएर गएको चाहिँ सन् २०१२ मा सगरमाथा हो । नेसनल जियोग्राफीको टिम लिएर गएकी थिएँ । 

‘करिअर’को सुरुमै सगरमाथामा पाहुना लिएर जान आँट आयो त ? 

सुरुमा त तर्सिएँ । त्यसअघि म सोखका लागि मात्रै चढेकी थिएँ । सकिनँ भने के  होला भनेर मनमा कुरा खेलिरह्यो । २६ जनाको आरोही टिम धन्न सफलतापूर्वक चढेर फर्कियो । विश्वको सर्वोच्च शिखरमा पुगेसँगै मेरो आत्मविश्वाससमेत चुलियो । 

व्यावसायिक र सोखिन आरोहणमा के फरक रहेछ ? 

व्यावसायिक रूपमा अरूलाई चढाउने जिम्मेवारी हुन्छ । उनीहरूको सामान बोक्नेदेखि खानाको बन्दोवस्तसम्म गर्नुपर्छ । उस्तै परे मानिस नै ठेलठाल गर्नुपर्छ । यस्तो झमेला आफैँ मात्र चढ्दा हुँदैन । चढाउन गाह्रो, चढ्न सजिलो । 

अमेरिकामा आरोहणसम्बन्धी क्लाइम्बिङ रेन्जर/प्याट्रोलिङ तालिम लिनुभयो । नेपालमा त्यसको उपयोग हुन्छ ? 

आफ्नो ज्ञानका लागि मात्रै हो । हामीकहाँ फिल्डमा उद्धार कार्य र अनुगमनका लागि जनशक्ति खटाउने प्रचलन छैन । सरकारी अधिकारीहरू बेसक्याम्पसम्म पुग्ने मात्र हुन् । 

हिमाल चढ्दा सबैभन्दा रमाइलो कतिखेर हुन्छ ? 

दिउँसो तापक्रमका कारण चिप्लिने, पहिरो/चट्टान खस्ने डर भएकाले हिमाल रातभरि चढिन्छ । बिहानीपख घाम झुल्कनुअघि पूर्वतिर देखिने सुनौलो क्षितिजले रातभरिको सबै थकान, दु:ख भुलाइदिन्छ । त्यो दृश्य कहिल्यै वाक्कलाग्दो हुँदैन । 

धेरैको रहर अमेरिकामै बस्ने हुन्छ । तपाईं पनि वर्षमा एकाध महिना उतै काम गर्नुहुन्छ । बाँकी जीवन उतै बिताउँmजस्तो लाग्दैन ? 

हिमाल चढ्नु नशाजस्तै हो । अमेरिकामा पनि हिमालै चढ्ने काम गर्छु । तर, नेपाली हिमालको यादले 

बस्नै सकिँदैन । 

किन त्यति साह्रो याद ? 

चिनजानका धेरै यतै छन् । यताको हिमाल चढ्दा जत्तिको सुरक्षित कहीँ हुँदैन । उताका हिमाल निर्जीव छन्, नेपाली हिमालसँग भने भावना जोडिएको छ । 

सगरमाथा आरोहणमा थुप्रैले विभिन्न खाले रेकर्ड राखेका छन्, ती रकेर्ड ब्रेक गर्ने रहर त पक्कै होला ? 

छैन । सगरमाथाको रेकर्डमा म प्रतिस्पर्धा गर्दिनँ । 

किन ? 

दोहोर्‍याएर उही हिमाल चढ्न मन लाग्दैन । मैले अमेरिका बस्दा थाहा पाएँ, त्यहाँ सगरमाथा आरोहीको भन्दा कसैले नचढेका हिमाल चढ्नेको उचाइ अग्लो हुने रहेछ । म नयाँ  हिमाल चढ्न र रुट पहिल्याउन मन पराउँछु । भर्खरै यसअघि मानव पाइला नपरेको दोलखाकै ल्हाङदुङ हिमाल चढेर फर्केकी हुँ ।

यसको मतलब सगरमाथा आरोहणको महत्त्व घटिरहेछ ? 

हो, जसले जसरी पनि चढ्ने भएपछि यसको मूल्य विश्वमै घटिरहेको मैले पाएँ ।

प्रकाशित: पुस २१, २०७४