स्वर सम्राट्को संगत

- रत्नशमशेर थापा

विसं २०१६ मा त्रिचन्द्र कलेजमा आईए पढ्दाको समकालीन साथी हो, नारायणगोपाल गुरुवाचार्य । ०१० सालमा एसएलसी पास गरेर त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै गर्दा स्वास्थ्य समस्याले गाँजेपछि मेरो पढाइ छुटेको थियो । त्यसपछि फेरि आईएमा भर्ना भएर पढ्न थाल्दा नारायणगोपालसँग संगत हुन पुग्यो ।

नारायणगोपाल त्रिचन्द्र कलेजमा पढ्दा बेन्चलाई नै तबला मानेर बजाउँथ्यो । त्यसरी बेन्च ठटाएर उसले गाएका मोहम्मद रफीका गीत सुन्दा हामी ज्यादै आनन्दित हुन्थ्यौँ । शिक्षक अनुपस्थित रहेका बेला नारायणगोपाल यसरी नै गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिन्थ्यो । यत्तिकैमा कतिखेर ऊसँग दोस्ती बढ्यो, पत्तै भएन । 

केही कुरा नयाँ गर्नुपर्छ भन्ने सोचको व्यक्ति थियो ऊ । छोटो समयमै हामीबीच ज्यादै आत्मीय सम्बन्ध बन्यो । सहपाठीकै कुरा गर्दा नातिकाजी, हिरण्यलाल श्रेष्ठ, दीपक अर्याल पनि सँगसँगै पढ्थे । त्यसबेला म गीत/कविता खुबै लेख्थेँ । नारायणगोपालको संगत नभएको भए सायद म गीतकार कम, कवि ज्यादा भएर निस्किन्थेँ होला । 

हाम्रो ठूलो भारदार खलक हो । मेरा एउटा काका राग गाउँथे, अर्को काका तबला बजाउँथे । मानशमशेर थापा हारमोनियममा गत बजाउँथे । हरेक साँझजसो झन्डै तीन–चार घन्टा हाम्रो घरमा संगीत महफिल जम्थ्यो । म आफैँ पनि ग्रामोफोनमा उत्तिकै गीत सुन्थेँ । त्यसरी हुर्केकाले पनि होला, संगीतप्रति ममा अलग्गै किसिमको लगाव थियो । नारायणगोपालमा पनि त्यस्तै जुनून थियो । 

त्रिचन्द्र कलेजमा सामान्य चिनजान भएपछि हामी कलेज समयमै कहिले भागेर त कहिले छुट्टी मागेर पनि बीचमै हिँडिदिन्थ्यौँ । त्यसरी हिँड्ने क्रममा कहिले उसको घर किलागल पुग्थ्यौँ त कहिले मेरो घर कमलपोखरी । जहाँ गए पनि हामी गीत लेख्न र गाउनमै अभ्यास गरिरहेका हुन्थ्यौँ । त्यसैमा डुबिरहेका हुन्थ्यौँ । पढाइभन्दा हाम्रा लागि त्यो विशेष चीजजस्तो लाग्थ्यो ।

त्रिचन्द्र कलेजमा त्यतिबेला बीसी मल्ल राजनीतिशास्त्र पढाउँथे । एक दिन हामीले उनलाई एउटा कागजको टुक्रामा दुवैको रोल नम्बर लेखेर ‘टाउको दुखेकाले बिदा पाउँm’ भन्यौँ । उनले कक्षामै ‘एकैचोटि दुवै जनाको टाउको दुख्यो !’ भनेर हँसाए । हामी नाजवाफ भयौँ । तर, यति हाँसोमजाकका बाबजुद पनि उनले हामीलाई छुट्टी दिए । मल्ल हामीलाई विशेष माया गर्थे ।

त्यही कलेजमा पढ्दै गर्दा नारायणगोपालले रेडियो नेपालमा स्वर परीक्षा दियो र उत्तीर्ण पनि भयो । त्यसपछि उसले पहिलो गीत कसको गाउला भन्ने कौतूहल धेरैमा थियो । ०१४ मै नेपाल राष्ट्रिय पुस्तकालयद्वारा आयोजित गायन प्रतियोगितामा मैले आफ्नै रचना र संगीतमा गाएको ‘दुनियाँ बैगुनी हुँदामा, बित्यो जिन्दगी रुँदामा...’ गीत प्रथम भई स्वर्णपदक प्राप्त गरेको थिएँ ।

यो सबै पृष्ठभूमि नारायणगोपाललाई थाहा नहुने कुरै भएन । सायद त्यही कारण हुनुपर्छ, उसले मलाई भन्यो, ‘लोकलयमा आधारित एउटा यस्तो गीत रचना गरि दे, जुन श्रुतिमधुर र कर्णप्रिय होस् । त्यही गीत गाएर औपचारिक रूपमा म गायनयात्रामा प्रवेश गर्न चाहन्छु ।’ हिन्दी गीतको एकछत्र राज र प्रभुत्व रहेको त्यसबेला नेपाली गीत रचना गर्ने विरलै थिए । मानिसहरूमा हिन्दीजत्तिकै नेपाली गीत पनि लोकप्रिय हुन सक्छ भन्ने विश्वास नै थिएन । हिन्दी गीतको स्तरमा आधुनिक नेपाली गीतको स्तर उकास्न र नेपाली गीतको महत्त्व बुझाउन निकै गाह्रो थियो । यही परिस्थितिमा म गीत लेखन र ऊ संगीत तथा गायनमा हाम फाल्ने निर्णय गरेर नेपाली संगीत यात्रामा निस्किएका थियौँ । 

त्यतिबेला म भर्खर २० वर्षमा पाइला टेक्दै थिएँ । धेरै सोचविचार गरेँ र गीत लेखेँ, ‘गाजलु आँखा मोहनी रूप हँसिलो मुहार...।’ नारायणगोपाललाई यो गीत खुबै मन पर्‍यो । उसले आफ्नै संगीतमा मेरो त्यो गीत पहिलोपटक रेडियो नेपालबाट गायो । स्वर परीक्षा उत्तीर्ण गरेपछि सर्वप्रथम उसले गाएको गीत त्यही थियो र मेरो प्रथम प्रसारित गीत पनि त्यही ।

त्यो गीतले उसलाई मात्र होइन, मलाई पनि एउटा उचाइमा पुर्‍याइदियो । यसपछि नारायणगोपाल र मेरो सम्बन्ध झन् नजिक भयो । विसं ०१८ मा नारायणगोपालले पहिलोपटक ६ वटा गीत गाउने अफर पायो, इन्द्रेणी रेकर्डबाट । उसले मसँग सल्लाह गर्‍यो, ‘म ६ वटै तेरा गीत गाउँछु ।’

मैले रातदिन केही नभनी गीत लेखेँ : ‘ आँखाको भाका आँखैले...’, ‘स्वर्गकी रानी मायाकी खानी...’, ‘कुञ्जमा गुञ्जियो स्वर कोयलीको ...’, ‘भो भो नसोध अब केही मलाई...’, ‘मधुमास यो दिलको बाग...’ र ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो ...।’ दुईवटा तारादेवीसँग युगल गायो भने अरू उसले एकल गायो । तर, ‘मधुमास यो दिलको बाग..’ ‘स्याम्पल’ गीत रेडियो नेपालको स्टुडियोमा बसेर सुनिरहँदा डिस्क एक्कासि भुइँमा खसेर फुटेपछि नारायणगोपाल आफैँ दार्जीलिङ गएर रेडियोकी रानी भनेर चिनिने दिलमाया खातीलाई लिएर कलकत्ता पुग्यो र मेरै ‘विछोडको पीडा नसकी खप्न दसैँको बेलामा..’ बोलको गीत युगल गाएको थियो ।

यी गीत पनि ज्यादै लोकप्रिय भए । यीमध्ये कुनै पनि गीत पहिल्यै धुनमा रचिएको थिएन । गीत तयार भएपछि मात्र नारायणगोपालले संगीत भरेर गाएको हो । ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो...’ बोलको गीत श्रोताको फर्माइसका आधारमा तीन वर्ष लगातार पुरस्कृत भयो । 

नारायणगोपाललाई स्वर सम्राट् बनाउन धेरैको योगदान छ । तीमध्ये सुरुका दिनमा उसले गाएका मेरा यी गीतको पनि कम योगदान छैन ।

(थापा प्रसिद्ध गीतकार हुन् ।)

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: पुस २०, २०७४