निर्वाचनको नालीबेली

- माधव बस्नेत

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिन्छ, आवधिक निर्वाचन र नागरिक मताधिकारको सम्मान । आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधि र तिनले जनताको परोक्ष सरोकारका विषयमा काम गर्नु नै लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्र र निर्वाचन एक–अर्काका परिपूरक हुन् । लोकतन्त्रका पहरेदार जनताको चाहना हुन्छ, जननिर्वाचित प्रतिनिधिद्वारा मुलुकको शासन व्यवस्था परिचालित होस् । सभ्य, विकसित र पूर्ण लोकतन्त्रको उपयोग भइरहेका देशहरूमा चार–पाँच सय वर्षयता निरन्तर आवधिक निर्वाचन भइरहेका छन् ।

तर, हामी लोकतान्त्रिक विधिको विकास र निर्वाचनका सवालमा निकै पछि छौँ भनेमा अत्युक्ति हुँदैन । किनभने, नेपालमा निर्वाचनको इतिहास त्यति लामो छैन । निर्वाचन सुरु भएयता पछिल्ला १० वर्ष छाड्ने हो भने त्यसमा पनि निरन्तरता छैन । जनताले राणा शासनविरुद्धको संघर्ष चर्काउँदै लगेपछि विधिको शासन छनोट गरेको देखाउन पद्मशमशेरले निर्वाचनको सुरुआत गरेका थिए । तर, त्यो केवल लोकलाजलाई भ्रम दिन मात्र थियो । त्यसबेला शासकहरूले निर्दिष्ट गरेबमोजिम नै नेतृत्व छनोट भएको थियो । प्रजातान्त्रिक पद्धतिको निर्वाचनको आरम्भपूर्व परम्परागत ढंगले नेतृत्व छनोट गर्ने प्रचलन थियो । परम्परादेखि आधुनिक कालसम्मका निर्वाचनहरूको नालीबेली समेटेर निर्वाचन आयोगले नेपालको निर्वाचन इतिहास पुस्तक प्रकाशित गरेको छ । 

पौराणिक काल, प्राचीन काल, मध्य काल (पूर्वमध्य काल, उत्तरमध्य काल), भोग्दै नेपाल आधुनिक कालमा प्रवेश गरेको हो । अहिले हामी त्यही आधुनिक कालको चरणमा छौँ । पौराणिक कालमा गोपाल वंश र महिषपाल वंश, प्राचीन कालमा किराँत वंश र लिच्छवि वंश, मध्यकालको पूर्वमध्य कालमा देव वंश, मल्ल वंश, वंद्धन वंश (बनेपा), खस वंश (पश्चिम नेपाल) र मध्य कालकै उत्तर मध्य कालमा मल्ल वंश, पश्चिमा मल्ल वंश, सेन वंश र आधुनिक कालमा शाह वंश, राणा काल र गणतन्त्र (राष्ट्रपति)ले शासन गरेका छन् नेपालमा । यी शासनमध्ये छिटफुट रूपमै सही, लिच्छवि कालदेखि परम्परागत ढंगबाट नेतृत्व छनोट गर्ने चलन अपनाउँदै आएको पाइन्छ ।

जेठ ००४ मा स्थानीय निकाय अन्तर्गत काठमाडौँ म्युनिसिपलिटीको निर्वाचन नै नेपालको पहिलो आधुनिक निर्वाचन हो । ०१० सालमा पनि काठमाडौँ म्युनिसिपलिटीको निर्वाचन भयो । तर, विधायिकाको हकमा भने ०१५ को आमनिर्वाचन नै नेपालको पहिलो निर्वाचन हो । यद्यपि, यो निर्वाचन पनि निरन्तर चल्न पाएन । तत्कालीन राजा महेन्द्रले १ पुस ०१७ मा जननिर्वाचित सरकारलाई बर्खास्त गरेर लोकतन्त्रको चीरहरण गरे । यसपछि २० वैशाख ०३७ मा मात्र मुलुकमा जनमतसंग्रहको निर्वाचन भयो । 

००४ र ०१० को निर्वाचनमा महिलाहरूलाई मतधिकार थिएन । २५ वर्ष नाघेका पुरुषले मात्र निर्वाचनमा भाग लिने अधिकार पाएका थिए । ००४ को निर्वाचनमा काठमाडौँ म्युनिसिपलिटीमा ११ वडा थिए । तिनमा १३ हजार ५ सय १३ घर संख्या र ६८ हजार १ सय १८ मतदाता थिए । यो निर्वाचनमा सरकारी जागिरदारहरूलाई समेत उम्मेदवार बन्न पाउने सहुलियतका कारण सरकारी जागिरे पनि निर्वाचित भएका थिए । ००५ सालबाट यस्तो नियममा रोक लगाइएको थियो । 

पुस्तकमा समाविष्ट धेरै तथ्य र जानकारीले निर्वाचनसँग सम्बन्धित विषय मात्र नभएर देश/विदेशको विभिन्न कालखण्डको राजनीतिक अवस्था, परिवेशलाई बुझ्न सहयोग पुर्‍याउँछ । अमेरिका, फ्रान्स, दक्षिण अफ्रिकाजस्ता देशका संविधान र निर्वाचनबारे पनि उल्लेख गरिएको छ । वर्तमान निर्वाचन पद्धति मात्र देखे/भोगेका नयाँ पुस्ताका लागि पुस्तकका कतिपय सूचना तथा निर्वाचनीय तथ्यहरू अपत्यारिला छन् ।

०४८ को आमनिर्वाचन, ०४९ को स्थानीय तह, ०५१ को मध्यवधि, ०५४ को स्थानीय र ०५६ को दोस्रो आमनिर्वाचनमा कति खर्च भएको थियो भन्नेजस्ता विवरण समावेश छैनन् । ००४ र ०१० सालमा भएको काठमाडौँ म्युनिसिपलिटीको निर्वाचनमा को को निर्वाचित भएका थिए  ? प्रतिस्पर्धी को को थिए भन्नेजस्ता विवरण पनि पुस्तकमा पाइन्न । पुस्तक हातमा पर्दा जेजति अपेक्षा गरिएको हुन्छ, पाना पल्टाउदै जाँदा ती सामग्री पाउन सकिन्न । भएका सामग्री पनि क्रम मिलाएर राखिएको छैन । पुस्तक प्रकाशनको प्रमुख हकदार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ हुन् । हुँदै नहुनुभन्दा केही भए पनि हुनु राम्रो भन्ने अर्थमा गुरुङ धन्यवादका पात्र बनेका छन् ।

नेपालमा निर्वाचनको पृष्ठभूमि, निर्वाचनको अवधारणा र नेतृत्व छनोट, निर्वाचन व्यवस्थापन निकाय, संवैधानिक एवं कानुनी व्यवस्था, स्थानीय निकाय निर्वाचन, राष्ट्रिय जनमतसंग्रह, नेपालमा राष्ट्रिय विधायिकाको निर्वाचन, दुवै संविधानसभा सदस्य निर्वाचन र विविध गरी परिच्छेद विभाजन गरिएको छ । 

पुस्तकको पाण्डुलिपि सम्पादन र छपाइ कार्यमा यूएनडीपी/ईएसपीले सहयोग गरेको उल्लेख छ । तर,  पुस्तक सम्पादन कार्य भने त्यति स्तरीय लाग्दैन । मूल्य उल्लेख नगरी एक हजार रुपियाँमा पुस्तक बिक्री गरिनु त झन् असुहाउँदो पक्ष हो । 

 

..............

नेपालको निर्वाचन इतिहास

प्रकाशक : निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौँ

पृष्ठ : ८७१

मूल्य : उल्लेख छैन

प्रकाशित: पुस २०, २०७४