उहिले थियो, अहिले छैन

  • सुगम संगीतमा अर्थपूर्ण गीतको अभाव

- राजकुमार बानियाँ

काठमाडौँ उपत्यकामा मात्रै ६० वटा रेकर्डिङ स्टुडियो छन् । दर्जनौँ ‘होम स्टुडियो’ छन् । तिनमा दिनैपिच्छे दुई–तीनवटा आधुनिक शैलीका गीत रेकर्ड भएकै हुन्छन् । ५० वटा एफएम रेडियोले ती गीत घन्काइरहेकै छन् । एकल एलबम आउने क्रम केही सुस्त भए पनि युट्युब रिलिज चलिरहेकै छ । तर, तिनको जीवन त लामो छैन नै, प्रभाव पनि खासै देखिँदैन ।

नयाँ गीत आक्कलझुक्कल सुन्छन्, संगीत पारखी वसन्त थापा । आफैँ खोजेर होइन, ट्याक्सी या सार्वजनिक सवारी चढेका बेला । एउटा स्कुल वा ढाँचामै अभ्यस्त उनका लागि सुगम संगीतका अन्तिम स्तम्भ नै दीप श्रेष्ठ हुन् ।

“यसको अर्थ सबै खराब हुन् भन्ने होइन । कतिपय संगीत स्तरीय पनि होलान्,” उनी सुगम संगीतलाई हल्का व्यंग्य गर्छन्, “ठमेलमा झिलीमिली होला, थुप्रै कुरा होलान् । तर, म त्यहाँ टेक्दै टेक्दिनँ ।”

साथीभाइसँगको जमघटमा पुराना गीतकै सहारा लिनुपरेको कटु अनुभव छ अर्का स्रष्टा विप्लव प्रतीकसँग । संसारभरिका संगीत सुनेपछि अन्त्यमा तिनै नारायणगोपाल, गोपाल योञ्जन, बच्चुकैलाश, अरुण थापा, दिव्य खालिङ, तारादेवी, दीप श्रेष्ठ आदिकै शरण परेको स्थिति छ । “गायकगायिका एउटा शब्द मन परेका आधारमा गाइरहेका छन् । गीतले के भनेको हो ? उनीहरूलाई पत्तै छैन,” उनको असन्तुष्टि छ, “केटीले ब्वाइफ्रेन्डका लागि र केटाले गर्लफ्रेन्डका लागि गाउने चलनसमेत आइसक्यो ।” 

आधुनिक गीतको पार्टपुर्जा खुस्किएको साल ०५१ अर्थात् एफएम रेडियो स्टेसनहरूको लहरपछि नै भएको निष्कर्ष छ संगीतविज्ञहरूको । त्यसअघि रेडियो नेपालले स्वरपरीक्षा उत्तीर्ण नगरी गाउन दिँदैनथ्यो । त्यसका जाँचकी जस्तोसुकै होऊन्, गीतका शब्द जाँचपास गर्नुपथ्र्यो । “जहाँ पनि रेकर्ड गर्ने चलन आयो । न गीतको छनोट भयो, न संगीतमा ध्यान दिइयो,” विप्लव भन्छन्, “एफएममा राम्रा गीत बज्न त बज्छन् तर राति १२ बजेदखि ३ बजेसम्म मात्रै । अरू समय थोत्रा र हल्काफुल्का गीतकै बोलवाला हुन्छ । आरजे (रेडियो जक्की)हरूमै सांगीतिक साक्षरता छैन ।” 

उसो त बजारमा सबै गीत स्तरीय भएर चलेका पनि होइनन् । स्तरीय गीतको खोजी हुन्थ्यो भने कालीप्रसाद रिजाल, किरण खरेल, यादव खरेल, शिवशंकर थापा आदि गीतकार छुट्टीमा हुन्थेनन् । ‘गाला रातै, गाला रातै’ मार्का गीतकार मात्र बेफुर्सदी देखिन्छन् । 

संगीतकार न्ह्यु बज्राचार्य भने समस्या पुरानो पुस्तामै औँल्याउँछन् । खास गरी नयाँभन्दा पहिले सुनिसकेका कुरा नै खोज्ने । “पहिले रेडियो नेपालमा सीमित हुनुपथ्र्यो । उसले जे दिन्थ्यो, त्यही सुन्नुपथ्र्यो । अहिले विकल्प छन्,” उनी भन्छन्, “उसले हामीलाई संगीत भनेको यही हो भनेर ब्रेन वास गरेको छ । हाम्रो उमेर समूहमा त्यसको धेरथोर प्रभाव छ ।” यसो हुँदाहुँदै पुरानो पुस्ता नयाँमा नअडिने, नयाँ पुस्ता पुरानोमा नपुग्ने अवस्था छ । 

विप्लव त अझ अल इन्डिया रेडियोको फर्मायसी कार्यक्रम ‘विविध भारती’को नक्कल गरी आधुनिक गीतलाई ‘दुर्गम, सुगम र मुलायम’ भन्नु जरुरी देख्दैनन् । न्ह्यु भने लोकगीतकै ‘इम्प्रोभाइज्ड भर्सन’ मान्छन्, सुगम संगीतलाई । “यो न लोकगीत हो, न त राग,” उनी भन्छन्, “यसमा रागको प्रभाव पनि छ, लोकगीतको प्रभाव पनि ।”

संगीत विश्वभाषा हो र सर्वोच्च दर्शन पनि । अम्बर गुरुङले पहिल्यै भनिसकेका छन्, ‘नेपाली संगीतलाई कसरी परिभाषित गर्ने ? बम्बैया संगीतमा नेपाली शब्द हटाउने वा नेपाली संगीतमा बम्बैया शब्द झिकेमा के हुन्छ ?’ 

गायक–गायिका, संगीतकारदेखि गीतकारसम्म ‘समयले मागे अनुसार’कै उत्पादन गरेको दाबी गर्छन् । यद्यपि, रुचि भनेको बनाउन सकिने कुरा हो । अग्रज पुस्ताले हिन्दी गीतमा लठ्ठिएका श्रोतालाई मौलिकतासहितको आधुनिक नेपाली गीतमा तानेकै हो । नयाँ पुस्ताको रुचिलाई स्तरीय र परिष्कृत गर्न सकिने ठाउँ पनि नभएको होइन ।

हिजोको पुस्ता साधनामा विश्वास गथ्र्यो, अहिलेको पुस्ता व्यापारमा । चौतर्फी बजार र प्रविधि हाबी छ । बजारका लागि लेख्छन्, बजारका लागि बजाउँछन् र बजारकै लागि गाउँछन् । गायक, संगीतकार या गीतकार बन्न बजार नरिझाई सुखै छैन । त्यसैले नातिकाजी, शिवशंकर, गोपाल योञ्जन, अम्बर गुरुङ, चन्द्रराज शर्मा आदि मर्मज्ञ भेटिँदैनन् पनि ।

‘मेरो गीत म उभिएको धूलोले सुनोस्, मेरो गीत यहीँको चुपचापले सुनोस्, मेरो गीत कसैले सुन्दैन भने आकाश–बतासले सुनोस्... ।’ ‘मेरो गीत मेरो प्रतिविम्ब होइन । यो टुटिजाने होइन, फुटिजाने होइन, आकाशजस्तो अमर गीत मेरो, मजस्तो दुई दिनको पाहुना होइन.... ।’ यस्ता मान्यता राख्ने नारायणगोपाल या गोपाल योञ्जन पैसाको पछि लाग्ने कुरै भएन । उनीहरूलाई लोकप्रियताको पनि उति साह्रो पर्वाह थिएन । आफ्नो गीत १० वर्षपछि सुनियोस् या कहिल्यै पनि नसुनियोस् । 

संगीतकार न्ह्यु बज्राचार्यका शब्दमा अबको पुस्ताबाट ‘नमान लाज यस्तरी...’ ‘ तिम्रोजस्तो मुटु मेरो पनि ...’ शैलीका गीतको अपेक्षा गर्न सकिँदैन । “रहनसहन, व्यवहार र सम्बन्ध नै फरक भइसक्यो । समय अनुसार संगीतमा पनि बदलाव आउँछ, आउँछ,” उनी भन्छन्, “नयाँ पुस्ताले संसार हेरेको छ, बुझेको छ । उनीहरू कसरी क्याची हुने भन्ने ध्याउन्नमा छन् ।”

त्यसो त स्वरांकनकै लागि ठूलो खर्च उठाएर विदेश जानुपर्ने र ट्रयाकमा नभएर सीधै लाइभ रेकर्ड गर्नुपर्ने त्यो जमाना र आज आफ्नै सहर–टोलमा बसेर गायनलाई नै व्यवसाय बनाउन सकिने यो जमाना । उदेकलाग्दो त के भने कतिपय संगीतकारलाई आफ्नै कम्पोजको प्याटर्न र बिट थाहा हुन्न । 

“नेपाली संगीतको यस्तो दुरावस्था कहिले पनि थिएन । न्ह्यु बज्राचार्यको नयाँ गीत आएको छैन, दीपक जंगमको आएको छैन । उनीहरूले मात्रै पनि कति गर्ने ?” विप्लव थप्छन्, “सबै गीत कामचलाउ छन्, अनुप्रास मात्र मिलाइएका । जोन लेननको इम्याजिन, देयर इज नो हेभन..., बब डिलनको हाउ मेनी रोड्स... कविता भएकाले नै ५० वर्षपछि पनि गुनगुनाइरहेका छौँ ।”

गीतको मेरुदण्ड नै शब्द हो भन्ने हेक्का देखिँदैन । तर, राजादेखि रैतीसम्मको रहर गीतकार हुुनेमै छ । यसका दृष्टान्त हुन्, सचिव, डाक्टर, राजदूत वा व्यापारीहरूका गीत । उनीहरूका लागि संगीत आत्मरतिको बाटो मात्रै भयो । तिनको प्रभावमा वास्तविक गीत श्रोतासम्म पुगेनन् । 

“दैनिक १० वटा लेख्दा, १० वटा संगीत गर्दा वा १० वटै गाउँदा गुणवत्तामा ह्रास आउँछ नै । संगीत एक राते दही या चैते धानजस्तो होइन । दुई–चार दिनमै बेपत्ता हुने चीज पनि होइन,” गीतकार थापा भन्छन्, “गीत भनेको जरुवा पानीजस्तो हो, आफैँ उम्रने । मूलै नभएको ठाउँमा पाइप लगाएर जबर्जस्ती तानेर ट्यांकी भरेजस्तो होइन ।” 

उनको विचारमा शब्द आफैँमा अकबरी सुन हो । त्यसलाई संगीत वा स्वरको बैसाखी चाहिँदैन । संगीत वा स्वरले सुनमा सुगन्ध थप्ने मात्र हुन् । “कवि, संगीतकार वा गायकप्रति मेरो अत्यन्त सम्मान छ तर यो चानचुने काम होइन,” उनी भन्छन्, “काव्य नभएको गीत आत्माबिनाको शरीर हो । अहिले त जोडजाड गर्‍यो अनि मेड इन नेपाल लेख्यो ।”

त्यसो त सुगम संगीतको भर्पाई फिल्मी गीतले पनि गर्न सकेनन् । सन् १९५० र ६० को दशकमा भारतमा प्राइभेट एलबम निकाल्ने चलनै थिएन । श्रोताको गीति प्यास फिल्मी गानाले नै मेटे । किनभने, बम्बैया फिल्म उद्योगका नौशाद, मदनमोहन, रोशन, आरडी बर्मन, एसडी बर्मन आदि एकसेएक संगीतशिल्पी एकै कालखण्डमा सक्रिय थिए । नेपालमा भने श्रोताको प्यास मेटाउने रेडियो नेपालका आधुनिक गीत मात्रै भए । 

सुगम संगीतको उत्थान हुन नसक्नुमा एफएम रेडियो मात्र नभएर मागेर नै सुन्ने, पाइरेसीमा आँखा चिम्लने प्रवृत्तिलाई पनि संगीतका स्रष्टाहरू दोषी मान्छन् । उनीहरूका अनुसार भर्चुअल बजारमै सीमित हुनुपरेपछि गायकगायिकाहरू विदेशमा कन्सर्ट गरेर जीविकोपार्जन गरिरहेका छन् । मिडियालाई गीत भनेको गायक–गायिकाको मात्रै हो भन्ने भ्रम छ । गीतकार–संगीतकारको रोयल्टी पनि व्यवस्थित हुन सकेको छैन । संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान प्राज्ञहरूका लागि गाडी जोरजाममै व्यस्त देखिन्छ । 

संगीतकर्मीले भर्चुअल दुनियाँमा भरपर्दो पाइला बढाउन सकेका छैनन् । “मिडियाले महत्त्व दिएका बाहेकका प्रतिभा पनि छन् । गजल समूहमा पनि त्यस्ता होनहार प्रतिभा भेटिन्छन्,” न्ह्यु भन्छन्, “सीडी नचलेको हो, संगीत नचलेको होइन । प्रविधिमा अपडेट हुन सकेका छैनाँै । बेच्ने तरिका पनि थाहा छैन ।”

अहिलेकै अवस्थामा सुगम संगीतका निम्ति पुरानो कालखण्ड नै गजबको युग हो । स्रष्टाहरू चाहन्छन्, त्यो प्रारम्भिक स्वर्णिम काल होस्, स्वर्णिम कालको उत्कर्ष अब आइदिओस् । दुई–चार प्रतिभाले त्यो सम्भव छैन । निराशावादी भएर हेर्दा त्यो कहिल्यै हुनेवाला छैन । आशावादी भएर हेर्दा त्यो आउला । तर, कहिले आउँछ ? रामजाने !

प्रकाशित: पुस २०, २०७४