कसले ब्युँताउँछ कांग्रेस ? कसरी ?

अहिले नेतृत्वको आलोचक देखिएका युवा नेताहरू पनि नेतृत्वसाग सुधारको माग गर्नेभन्दा ठूलो हैसियतमा छै नन् । उनीहरू पनि चारि त्रिक रूपले संस्थापनभन्दा फरक प्रमाणित हुन सकेका छैनन् । कांग्रेस अहिलेको अवस्थामा आइपुगुन्जेल उनीहरू के हेरेर बसे ?

- अच्युत वाग्ले

सात दशक लामो आफ्नो इतिहासमा नेपाली कांग्रेसले सम्भवत: सबभन्दा अपमानपूर्ण चुनावी पराजय भोगेको छ । यो हार कांग्रेसभित्र र बाहिरका, सायद कसैलाई पनि आश्चर्यजनक र अप्रत्यासित भने लागेको छैन । अनुमानको मात्रामा अलि तलमाथि भयो होला । यो पराजय अवश्यम्भावी थियो । कांग्रेसको अहिलेको अवस्था, सम्भावित पुन:जागरण र भविष्यबारे चासो राख्नेहरू यो पार्टीभित्रभन्दा बाहिर धेरै देखिएका छन् । यो पार्टीलाई पुन: राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बनाउन कसले र कसरी पहल गर्ला भन्ने चासो आमजनता र राजनीतिक वृत्तमा उत्तिकै छ । 

कांग्रेस सहजै ब्युँतिएर आउन सकेन भने मुलुकको अर्थराजनीति, लोकतन्त्र र संघीयतामा दीर्घकालमा कस्तो प्रभाव पर्ला भन्ने अनुमानहरू पनि धेरै कोणबाट भइरहेका छन् । कांग्रेस बिरामी भएर अस्पतालमा छ भनेर त यसका प्रभावशाली भनिएका नेताहरू नै भनिरहेका छन् । जब बिरामीलाई ब्युँताउनु छ भने सबभन्दा पहिलो चरण त रोगको पहिचान (डायग्नोसिस) नै हुन जरुरी छ । त्यसपछि मात्र उपचार विधि र उपचार गर्ने विशेषज्ञ पात्रहरूको खोजी हुने हो ।

पार्टी पुनर्जीवनका उदाहरण

रोग पहिचानको चर्चाभन्दा पहिले संसारका केही ताजा उदाहरण हेरौँ । मुलुकको इतिहासमा निर्णायक रहेका राजनीतिक पार्टीहरूले अहिले नेपाली कांग्रेसले जस्तै हार बेहोरेका र तिनलाई ब्युँताइएका उदाहरण छन् । अहिले सिञ्जो आबेले नेतृत्व गरेको जापानको लिबरल डेमोक्रेटिक पार्टी सन् १९५५ मा जन्म भएयता सन् १९९४–९५ मा एक वर्ष मात्र सत्ताबाहिर बसेको थियो । यो दृष्टान्त सन् १९९० यताको कांग्रेसको अवस्थासँग झन्डै मिल्छ । तर, यसले सन् २००९ को संसदीय चुनावमा ४ सय ८० मध्ये १ सय १९ सिट मात्र जित्यो । यो उसको सबभन्दा लज्जास्पद हार थियो । तर, अहिलेका प्रधानमन्त्री आबेले पार्टीलाई नयाँ जीवन दिए । सन् २०१२ यता संसद्मा यस दलको प्रचण्ड बहुमत छ । र, आबे दोस्रो विश्वयुद्धपछि सबभन्दा लामो समय पदमा बस्ने तेस्रो जापानी प्रधानमन्त्री भएका छन् । उनको ‘आबेनोमिक्स’ विश्व बहसमा छ ।

यस्तै पुन:जागरणको अर्को उदाहरण बेलायतको लेबर पार्टीको छ । सन् १९८० को दशकभरि बेलायत चमत्कारी व्यक्तित्वकी धनी मार्गरेट थ्याचरको नेतृत्वमा थियो । कन्जरभेटिभ पार्टीको हालीमुहाली रहेको त्यतिबेला लेबर पार्टीको अस्तित्व नै संकटमा परेको थियो । सन् १९८० को दशकको बीचमा पहिलोपटक सांसद बनेका ३० वर्षे टोनी ब्लेयर र उनीभन्दा दुई वर्ष जेठा गोर्डन ब्राउनले ‘न्यु लेबर, न्यु ब्रिटेन’को अवधारणा अघि सारे । १९९४ पछि यो दल सत्तामा फर्कियो र १७ वर्ष लगातार सत्तामा रह्यो । ब्लेयर र ब्राउनबीच भएको अनुमान गरिएको गोप्य सहमति अनुरूप दुवै प्रधानमन्त्री भए । अहिले फेरि यसको भूमिकाको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

धेरै प्रयास गर्दा पनि व्युँतिनै मुस्किल परेका पार्टीका उदाहरण पनि छन् । इटालीका धनाढ्य सिल्भियो बर्लोस्कोनीको दल त्यस्तैमध्ये एउटा हो । उनले सन् १९९४ मा मूलत: कम्युनिस्ट गठबन्धनले सोभियत शैलीको तानाशाही निम्त्याउने डर देखाएर विकल्पका रूपमा फरवार्ड इटाली नामको नयाँ दल खोलेका थिए । सन् २०० ९ मा त्यसलाई उनले पुन: नामकरण गरे, दी पिपल अफ फ्रिडम । उनी विभिन्न रंगका गठबन्धन बनाएर चारपटक प्रधानमन्त्री पनि भए, शेरबहादुर देउवाजस्तै । तर, उनको पार्टीको भविष्य सुनिश्चित गर्न त्यसले तात्त्विक फरक परेन ।

रोग र उपचार

नेपाली कांग्रेससहित यी सबै राजनीतिक पार्टीहरू संकटमा पर्नुका मुख्य कारणहरू आश्चर्यजनक रूपले समान देखिन्छन् । र, ती कारण वा रोगलाई सीधै सम्बोधन गरेर मात्र पुनर्जीवन प्राप्त हुन सक्छ । वास्तवमा कांग्रेस मात्र होइन, अहिले पहिचान र भावी कार्यदिशाका दृष्टिमा हाँसको हिँडाइ न कागको हिँडाइको अवस्थामा पुगेका माओवादी केन्द्रजस्ता दलहरूका लागि पनि समान ‘प्रेस्क्रिप्सन’ नै लागू हुन्छ । नेपाली कांग्रेसलाई केन्द्रविन्दुमा राखेर हेर्दा यसलाई कम्तीमा पाँचवटा रोगले एकैपटक सताएको छ : १. नीतिविहीनता, २. जर्जर संगठन, ३. नेतृत्व शून्यता, ४. प्राधिकारको दुरुपयोग, र ५. ऐँजेरु पार्टी बनाउने कसरत ।

कांग्रेसको जे अस्तित्व र जनसमर्थन बाँकी छ, त्यो उसको बहुदलीय लोकतन्त्रका अनुयायी हुनुको बृहत् दार्शनिक आधारले बचाइराखेको हो । तर, चुनावी जित र जनताका समस्या समाधानका लागि दार्शनिक आधारले मात्रै पुग्दैन । मुलुक र जनताका जल्दाबल्दा समस्यालाई प्रत्यक्ष सम्बोधन हुने नीतिहरू, जनतालाई अनुभूत हुने गरी अद्यावधिक हुन सक्नुपर्छ । आबेले सन् २००८ को विश्व आर्थिक संकटपछि आर्थिक दुश्चक्रबाट भयभीत जापानलाई आश्वस्त पार्न तीन सूत्रीय नीति (मौद्रिक खुलापन, आर्थिक प्रोत्साहन (स्टिमुलस) र संरचनागत सुधार) अघि सारे । त्यही ‘आबेनोमिक्स’ हो, जसले काम गरेको छ । र, पार्टीलाई भर्खर नयाँ जनमतका साथ फेरि सत्तामा पुर्‍याएको छ । बेलायतमा ब्लेयर–ब्राउन जोडीले पार्टीको विधानमा मुख्यत: एउटा शब्दावली मात्र परिवर्तन गरेका थिए । उनीहरूले अर्थतन्त्रको ‘राष्ट्रियकरण’ शब्द झिकेर ‘खुला बजार अर्थतन्त्र अनुरूप’ राखे । जुन ‘दफा ४ संशोधन’का नामले प्रसिद्ध भयो । बर्लोस्कोनीको उदय पनि यही नीतिको अवलम्बनबाट भएको थियो ।

कांग्रेसभित्रको नीतिगत बहसलाई निमिट्यान्नै पार्ने काम गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । उनी प्रधानमन्त्री भएपछि मात्र होइन, त्यसभन्दा धेरै अघिदेखि नै पार्टीलाई संगठनको बलमा चलाउने शैली उनको रह्यो । उनको नीतिहरूमाथि बहसको माग गर्ने र सामान्यत: सबै बौद्धिक शास्त्रार्थ वा बहसप्रति नै गम्भीर घृणाभाव थियो । पार्टीको स्थापना कालदेखि नै पार्टीभित्रका बौद्धिक भनिनेहरूले आफूलाई दोस्रो कोटिको नेतामा राखेको उनको बुझाइ थियो । उनी प्राय: भन्थे, ‘खोइ, सान्दाजु (बीपी) त्यत्रो विद्वान्  प्रधानमन्त्री भएर आफ्नो पद र प्रजातन्त्र जोगाउन सक्नुभएन, मैले यति धेरै काम गरेँ ।’ उनीपछि नेतृत्वमा पुग्ने सुशील कोइराला र शेरबहादुर देउवासँग त अलि लामो दोहोरो संवाद नै कसैको हुने सम्भावना रहेन । नीतिगत बहस परकै कुरा भयो । मुलुकलाई चरम रूपले गाँजेका अर्थतन्त्र, संघीयता कार्यान्वयन, कूटनीतिक सन्तुलन र सामाजिक सहअस्तित्व आदि मुद्दामा प्रस्ट दृष्टिकोण नभएको मात्र होइन, यसबारे छलफल हुने वातावरण नै नहुनु कांग्रेसको मूल समस्या हो ।

पञ्चायत कालमा कांग्रेस संगठनभन्दा आदर्शले बढी चलेको थियो । चप्पल लगाएर देश बदल्न हिँड्नेहरूप्रतिको जनआकर्षणले यसलाई बचाएको थियो । प्रजातन्त्र पुन:स्थापनापछि, गिरिजाप्रसादले त्यसलाई आदेशका भरमा चलाए । यो मूलत: सुशीलको सहयोगमा उनैले बनाएको संगठन थियो । योग्यता, क्षमता आदि भन्दा कोइराला व्यक्ति शक्तिमा आउने आधार बन्यो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरूले पार्टी छोड्दा कोइरालाहरू दु:खी भएनन् । संगठन जर्जर हुने क्रम त्यहीँबाट तीव्र भएको हो । कोइरालाहरूको संगठन सञ्चालनको तजबिजी शैली देखेका र त्यही सिकेका देउवाले यसलाई सके आफ्ना भक्तहरूले भर्ने, नसके निर्णय नै नगर्ने नीति लिए । स्वाभाविक थियो, आफूलाई वास्तविक कांग्रेस सम्झने हजारौँले नेतृत्वसँग संवादविहीन अवस्थामा पुगेको र बाहिरी पाटोमा परेको महसुस गरे । त्यही कारण हो, केही अनुहारलाई हराउनेहरूले पनि पार्टीलाई भने अझै मत दिँदैछन् । समानुपातिकमा कांग्रसले पाएको मतले त्यही देखाउँछ । पार्टीमा आएको नयाँ पुस्तामा मूलत: राजनीतिक दलालीबाट चाँडै धनी हुन चाहनेहरूको दबदबा छ । आदर्श र नैतिवानहरूलाई भित्र्याउने आकर्षण पार्टीले प्रस्तुत गर्न सकेको छैन ।

संगठनको प्रमुख हुनु र नेतृत्व दिने नेता हुनु एउटै कुरा होइन । देउवाको हातमा त सबै कुरा थियो, अझै छ । उनी पार्टीको निर्वाचित सभापति छन्, मुलुकका प्रधानमन्त्री छन् । कर्मचारी, प्रहरी, न्यायालय र संवैधानिक निकायहरूमा उनका आदेशहरूलाई सामान्यत: शिरोपर गर्ने गरी मानिसहरू भरिएका छन् । तापनि, कांग्रेसले चुनाव हार्‍यो । चरम चाहना हुँदाहुँदै पनि आफ्नी श्रीमतीलाई समेत चुनाव जिताउन नसक्ने उनको लाक्षीपनको सीमारेखा हो, नेतृत्व होइन । नेतृत्व पद, पैसा र कानुनी प्राधिकार होइन । नैतिक प्राधिकार, उदाहरणीय आदर्श र समस्या समाधानको प्रमाणित योग्यता नभए पनि आशा हो । तर, अहिले देउवा मात्र होइन, कांग्रेसको नेतृत्व पंक्तिमा रहेका भनिएकाहरू यी कुनै पनि पक्षमा औसत कोटिका नहुनु पार्टीको मूल समस्या हो । र, यस्तो योग्यताका कसैलाई पनि पार्टीमा छिर्न र बस्नै नदिने शैली यसको यतिखेरको मुख्य चरित्र भएको छ ।

प्राधिकारको दुरुपयोगको खासै कुरा गर्नु नै परेन । किनभने, नेपाली कांग्रेस मात्र होइन, अरू सबै पार्टीमा यतिखेर शक्तिको चरम दुरुपयोग गरेर रातारात धनी हुन चाहनेहरूको मात्र बाहुल्य छ, तलदेखि माथिसम्मै । स्थानीय तहमा गएको पैसा मिलिभगतमा हिनामिना गर्नेेदेखि ठेक्कापट्टामा भागीदारी गर्नेहरू हैसियत अनुसार केन्द्र, प्रदेश र स्थानीय तहमा सक्रिय छन् । व्यापारिक स्वार्थ समूहहरू संसद् र पार्टीमा लेनदेनका आधारमा निर्णय गराउँछन् । यही मूल काम भएपछि लामो समय सत्तामा बसेको कांग्रेसमा यस्ता मानिसहरूको बाहुल्य हुनु स्वाभाविक नै हो । अहिले राजनीतिमा इमानदारी र नि:स्वार्थ जनसेवाको कुरा गर्नेहरू स्वत: मूर्ख, खाने अवसर नपाएर चिढिएका बकम्फुसे वा केही गर्न नसक्ने लाक्षीको कोटिमा दरिन थालेका छन् । दीपक मनाङे र गणेश लामाहरूलाई झुकेर नमस्कार गर्न नसक्नेहरू पार्टीका दुस्मनमा दर्ता छन् । कांग्रेस अपवाद छैन ।

ऐँजेरु कांग्रेस निर्माण नयाँ पक्ष हो । यतिखेर, देउवाको संरक्षणमा उनको अधिकार प्रयोग गर्ने एउटा टोलीले पुरानो कांग्रेसको रूखमा नयाँ कांग्रेसको ऐँजेरु उमार्ने प्रयास गरेको छ । आधुनिक, अभिजात्य र विकासे भाषामा कुरा गर्ने कांग्रेस । यो ब्लेयरको जस्तो सिंगो पार्टीलाई नयाँ बनाउने अभियानभन्दा फरक हो । कांग्रसको त्यो टोलीमा मुखमा सुपारी हालेझैँ असजिलो गरी नेपाली बोल्नेहरू, मुखको सट्टा घाँटीबाट मात्र आवाज निस्कने आत्मविश्वासीहरू, इतिहास र त्यागको कुरा नरुचाउने व्यवहारवादीहरू, मूल कुरा अंग्रजीमा मात्र अभिव्यक्त गर्न सक्ने राष्ट्रवादीहरू, अवधारणा टिपोटका आधारमा मात्र छलफल गर्ने रणनीतिकारहरू छन् र बिनाप्रश्न आदेश पालना गर्नेहरूको गज्जब सम्मिश्रण छ । प्रश्न गर्न सकिन्छ, यसमा खराबी के छ ? एउटै समस्या छ, यो समूहले देखेको र बुझेको मुलुक र यहाँका समस्या र तिनको समाधान जनताले चाहेको र बुझेको भन्दा फरक छ । जनताको समस्यासँग भिजेको ‘पुरानो’ कांग्रेस जमातलाई निषेध गर्दा मात्र आफ्नो भविष्य सुरक्षित हुने मानसिकताले यो समूहले आफ्नो कार्यशैली बनाएको छ । त्यसलाई आमजनताको तहले मत दिन नचाहनु अस्वाभाविक भएन । कांग्रेस पराजयको यही कारण पर्याप्त छ ।

ब्युँताउने कसले ?

पूर्वीय राजनीतिक संस्कारको अपेक्षा नि:स्वार्थ राजनीतिको हो । हाम्रा सबै बहस यही मान्यतालाई मियो बनाएर, राजनीति गर्नेहरूलाई गाली गरेर सुरु हुन्छ । तर, यथार्थ के हो भने राजनीति गर्ने पनि चरम स्वार्थप्रेरित हुन्छ । मात्र उसलाई राजनीतिइतर स्वार्थमा हाबी हुनबाट नियन्त्रित गर्ने राज्य संयन्त्र चाहिन्छ । सन् १९९८ मा हार्वर्डका अर्थशास्त्रीहरू आन्द्रे स्लेफर र रबर्ट विश्नीले जर्नल अफ पोलिटिकल इकोनोमीको अंक–६ मा लेखेका छन्, ‘पहिलो, राजनीतिकर्मीको स्वार्थ के हो र उनीहरूको उद्देश्य अभिवृद्धिका लागि यी स्वार्थहरू कसरी नीति र संस्थाहरूमा रूपान्तरित हुन्छ, त्यही आधारमा मात्रै गम्भीर निर्णयहरू हुन्छन् ।’ अथवा, स्वार्थबिना राजनीतिक निर्णयहरू गरिनु अव्यावहारिक कुरा हो, पश्चिमाहरू भन्छन् । कुरा त्यसलाई व्यवस्थित गर्ने मात्र हो ।

कसको प्रत्यक्ष स्वार्थमा छ, कांग्रेसलाई ब्युँताउनमा ? यसमा पहिलो स्वार्थ समूह भनेको वर्तमान नेतृत्व नै हो । तर, देउवा र उनको सहयोगी मण्डलीलाई शेखरलगायतका कोइराला परिवारका सदस्य अथवा केही युवा नेताहरूले माग गरे अनुरूप, परिआए पदत्यागसम्म गरेर कांग्रेसलाई पुनर्जीवन दिनु आफ्नो स्वार्थ अनुकूल होला ? प्रस्टै छ, देउवालाई बिलकुलै छैन । त्यसैले उनीबाट आफ्नै पहलमा समूल प्रकृतिको सुधार थाल्ने र गर्ने कुरा असम्भव छ । भारतीय कांग्रेसकी सोनिया गान्धी र राहुल गान्धीको चाम्रोपन देखेर हौसिएका उनलाई अहिले जत्रो आकारको कांग्रेस बचेको छ, त्यसबाट राजनीति गर्न पर्याप्त ‘स्पेस’ पुग्छ । त्यसभन्दा पर सोच्ने र झुक्ने मनसाय उनले देखाएका छैनन् । आलोचकहरूप्रति उनी आक्रोशित छन्, कमजोरी स्वीकार्न तयार छैनन् ।

सुधारको अर्को स्वार्थ समूह कोइराला परिवार हो । यही मौकामा देउवालाई नेतृत्वबाट बाहिर हुत्याएर आफ्नो परिवारमा कांग्रेसको नेतृत्व फिर्ता ल्याउने चाहना छ, यस परिवारका सबै नेतामा । तर, उनीहरू कसैले पनि धेरै अवसर पाउँदासमेत वैकल्पिक नेतृत्वको सम्भावना देखाउन सकेनन् । शशांक कोइराला हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने हैसियतमा छन् । निजी आर्थिक स्वार्थ प्रस्ट देखिएको छैन । तर, उनको वैचारिक प्रस्टता र नेतृत्व क्षमता कतै प्रकट भएको छैन । खास गरी देउवालाई चुनौती दिने हैसियतको त बनेकै छैन ।

तेस्रो समूह युवा नेताहरूको हो, जसले आफ्नो भविष्य पार्टीभित्र देखेका छन् । अहिले नेतृत्वको आलोचक देखिएका युवा नेताहरू पनि नेतृत्वसँग सुधारको माग गर्नेभन्दा ठूलो हैसियतमा छैनन् । उनीहरू पनि चारित्रिक रूपले संस्थापनभन्दा फरक प्रमाणित हुन सकेका छैनन् । कांग्रेस अहिलेको अवस्थामा आइपुगुन्जेल उनीहरू के हेरेर बसे ? अब पनि नेतृत्वले उनीहरूको आवाज सुनेन भने उनीहरूसँग के थप प्रभावकारी उपाय छ ? यो प्रस्ट छैन । त्यसभन्दा पनि, उनीहरू नेतृत्वमा स्थापित हुनुअघि नै सर्वज्ञानी हुनुको अभिनय गरेर जत्रो अहम्का साथ टाउकोभन्दा घाँटी ठूलो बनाएर कुरा गर्ने भएका छन्, त्यसबाट कांग्रेसलाई नयाँ जीवन दिन उनीहरू सक्षम र लचक होलान् भन्ने आशा गर्न कठिन छ ।

चुरो कुरा के हो भने सुधार जसले गरे पनि उल्लिखित पाँच रोगको उपचार नगरी कांग्रेसले नयाँ जीवन पाउँदैन । यो सुधारभन्दा, वाम गठबन्धनको असफलता पर्खेर वा सत्ताको च्याँखे थापेर अर्को चुनाव कुर्ने मानसिकता बिस्तारै जड बन्दै गएको र जाने देखिन्छ । सम्भवत: कांग्रेसीहरू अहिलेलाई देउवाले जति ‘सुधार’ खटाएर दिन्छन्, त्यतिमै चुप बस्ने सम्भावना बढी छ । किनभने, वास्तवमै कांग्रेसलाई ब्युँताउन ध्येयनिष्ठ भएर कोही पनि लागेकै छैन । 

प्रकाशित: पुस १९, २०७४