नोटबुक

- दीपक अधिकारी

पान्डा कूटनीति

चीनको पश्चिमी प्रदेश सिचुवानको राजधानी छन्दुबाट १० किलोमिटर यात्रा गरेपछि पुगिन्छ, पान्डाको विशाल वासस्थल । हालैको एक बिहान त्यहाँ पुगेको दक्षिण एसियाली प्रतिनिधिको टोलीमा म पनि थिएँ । रेड पान्डा (नेपालीमा हाब्रे)को वासस्थान (इलाम, पाँचथर, ताप्लेजुङ)मा हुर्किएको मलाई ‘जायन्ट पान्डा’ भनिने यो कालो–सेतो रंगको मायालाग्दो जनावर हेर्ने धोको थियो । 

हामीलाई अलिक हतार किन पनि थियो भने बिहान १० बजेपछि पान्डा मस्तसँग निदाउँछ भनिएको थियो । बसबाट ओर्लिएर हामी सरासर पान्डा भएतिर लम्कियौँ र फोटो खिच्न थाल्यौँ । घाँटी तन्काउँदै पान्डाका गतिविधि हेर्ने चिनियाँ पर्यटकको घुइँचो थियो । हामीलाई गाइडका रुपमा सहयोग गर्ने चिनियाँ युवती बताउँदै थिइन्– यो ओलम्पिकको मस्कटमा प्रयोग भएको पान्डा, यो सबैभन्दा ठूलो पान्डा, यसको शल्यक्रिया गरिएको आदि इत्यादि ।

म बढी नै उत्साहित हुनुको अर्को कारण थियो, बेलायतबाट निस्कने फाइनासिन्एल टाइम्स (एफटी)मा हालै प्रकाशित आलेख ‘ हाउ द पान्डा बिकेम चाइनाज डिप्लोम्याटिक विपन अफ च्वाइस’ । एफटीका एसिया सम्पादक जमिल एन्डरलिनी लिखित उक्त आलेखमा कसरी चीनले आफ्ना मित्र राष्ट्रलाई पान्डा उपहार (तर, भाडामा र बच्चा फिर्ता गर्ने सर्तमा) दिएर ‘सफ्ट पावर’को अभ्यास गर्दैछ भन्ने खुलस्त पारिएको छ । उक्त आलेख अनुसार गत जुलाईमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बर्लिनमा एक समारोहबीच जर्मन चान्सलर एन्जेला मर्केलमार्फत दुईवटा पान्डा त्यहाँको एक चिडियाखानालाई १५ वर्षका लागि हस्तान्तरण गरे । तीनवर्षे मेङ मेङ (लिटल ड्रिम) र सातवर्षे जीआओ किङ (डार्लिङ) नामका पान्डा जर्मनीलाई १० लाख अमेरिकी डलरमा कोसेली दिइएको बारे एफटी लेख्छ, ‘यो नै चीनको पान्डा कूटनीतिको सबैभन्दा सफल र विशिष्ट रुप थियो ।’

छन्दुस्थित पान्डा साइन्टिफिक डिस्कभरी सेन्टरबाट बाहिरिँदै गर्दा मेरो मनमा एउटा प्रश्न खेलिरहेको थियो, नेपालले सुरू गरेको गैँडा कूटनीतिचाहिँ कहाँ पुग्यो होला ?

चमत्कारी विकास

अग्ला स्काइस्क्र्यापरको म उति साह्रो प्रशंसक नभएकाले छन्दुका गगनचुम्बी भवनले उति तानेनन् । तर, हामीलाई घुमाइरहेका सिचुवान विश्व विद्यालयका मेधावी विद्यार्थी होमर (चिनियाँ नाम काउ ल्याङ)ले सुनाएको एक तथ्यले सोच्न बाध्य बनायो । सिचुवान प्रदेशमा सन् २००८ मा आठ रेक्टर स्केलको भूकम्प जाँदा करिब ७० हजारको ज्यान गएको थियो । भूकम्पको केन्द्रविन्दु छन्दुबाट ८० किलोमिटर पश्चिम उत्तरमा रहेछ । तर, होमरका अनुसार छन्दुका ती गगनचुम्बी भवनले ‘ग्रेट सिचुवान अर्थक्वेक’ भनिने त्यो कम्पन थेगेका थिए । अर्को उल्लेख्य पक्ष थियो, नेपालको आधा जनसंख्या रहेको उक्त महानगरमा भूकम्प जोखिमका बाबजुद बनेका ‘भर्टिकल’ संरचना । काठमाडौँले थेग्न नसक्ने गरी जनसंख्याको चाप बढ्दै गर्दा हामी पनि अपार्टमेन्ट प्रणालीमा जानुपर्ने हो । होमर आफैँ पनि एयरपोर्ट नजिकैको एक अपार्टमेन्टको २५औँ तलामा सपरिवार बस्दा रहेछन् । तर, आफ्नो घर नभई नहुने हामीलाई यो कुरा कसले सम्झाइदिने ?

छन्दुमा केही दिन बिताउँदा थाहा भयो, उदारीकरण र आर्थिक वृद्धिको जग बसाल्ने आधुनिक चीनका नेता देङ सियाओ फिङले आफ्नो गृहनगरलाई प्राथमिकता दिएका रहेनछन् । उनले चाहेका भए त्यसो गर्न सक्थे तर सिचुवान प्रान्तमा जन्मिएका देङले बेइजिङ, सांघाईजस्ता सहरको विकासपछि मात्र आफ्नो गृह प्रदेशलाई ध्यान दिए रे ! सन्देश प्रस्ट छ, पहिला पूरै देशको विकास अनि मात्र आफ्नो जिल्ला वा नगरको । आफ्नो क्षेत्रमा बजेट पार्न मरिहत्ते गर्ने हाम्रा राजनीतिकर्मीले यो कुरा मनन गर्लान् ?

नाकचुच्चे रेलको अनुभव 

पहिलेको ‘रेलै घुमेर, गयो बैनीको आधी उमेर...’ देखि पछिल्लो ‘पूर्व–पश्चिम रेल...’सम्म आउँदा संगीतको स्वाद बनेर जनजिब्रोमा रेल झुन्डिएकै हो । कलेज पढ्दाताका साथी राजेन्द्र घिमिरेको विवाहमा चक्रघट्टी (सुनसरी) जाँदा रेलवे लिगको अवशेष हेर्नेदेखि ’५० को दशकमा नेपालगन्जमा एमालेको महाधिवेशनको रिपोर्टिङ गर्न जाँदा रुपैडिहा पुगेर भारतीय रेलको अनुभव लिइएकै हो ।

नेपालमा चिनियाँ रेलको चर्चा चल्दै गर्दा हामीलाई आतिथ्य दिने होमरको सौजन्यमा छन्दुबाट दुई स्टेसन परसम्म चीनको अत्याधुनिक द्रुत रेल चढ्ने मौका मिल्यो । घरेलु विमानस्थलको भूमिगत स्टेसनमा सुलुलुलु आइपुगेको नाकचुच्चे रेलका डिब्बाका ढोका खुले । हामी भित्र पस्यौँ र पायौँ आफूलाई विमानभित्रझैँ । केहीबेरमै स्टेसन छाडेको रेलको हाम्रो डिब्बाअगाडिको स्क्रिनमा गति लेखिएको थियो, १५० किमि प्रतिघन्टा । होमरले रेल सहरनजिक गुडिरहेकाले मात्र गति धीमा भएको नत्र तीन सय किमि प्रतिघन्टासम्म पुग्ने बताए । 

वास्तवमै सफ्ट पावरका लागि पान्डा प्रजनन केन्द्र खोलेको चीनले पछिल्लो समय विकास गरेको उच्च प्रविधिको द्रुत रेल सेवा सबैको चासोको विषय बनेको छ । युरोप–अमेरिकामा समेत यस्तो द्रुत रेल प्रविधि विस्तार गर्ने राष्ट्रपति सीको योजना छ । चीनको सानो छिमेकी नेपालमा चाहिँ हिमाल र तिब्बतका पठार छिचोलिरहेको रेल मार्ग केरुङ हुँदै काठमाडौँ आइपुग्ने व्यग्रतापूर्वक प्रतीक्षा भइरहेको छ ।

यो नै हो त नेपाल जाने रेल ? मेरो प्रश्नको जवाफ होमरसँग थिएन । तर, मलाई त्यसको वास्ता पनि थिएन । म त चिनियाँ रेल नेपाल आइपुगेको स्वैर कल्पनामा मस्त थिएँ । 

प्रकाशित: पुस १८, २०७४