माइक्रोसफ्टको ध्यान आर्टिफिसियल इन्टेलिजेन्समा

- नेपाल संवाददाता

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट आफ्ना सेवाहरुलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेको छ । हालै माइक्रोसफ्टले एआईसँग सम्बन्धित केही नयाँ फिचरको प्रयोगबाट अफिस ३६५, सर्च इन्जिन र कोर्टोनालाई अझ आकर्षक बनाइएको जनाएको छ ।

अफिस ३६५ माइक्रोसफ्टको सर्भिस सफ्टवेयर हो, जसको मद्दतबाट प्रयोगकर्ताले माइक्रोसफ्टका थुप्रै एप र टुलहरु विन्डोज, एन्ड्रोइड वा म्याक ओएसबाट चल्ने डिभाइसमा प्रयोग गर्न सक्छन् । माइक्रोसफ्ट अफिस पनि यसै अन्तर्गत पर्छ । माइक्रोसफ्टले यसमा अफिस ३६५ अन्तर्गतको एक्सेललगायतका टुलमा पनि एआई प्रयोग भएको जनाएको छ । यसले प्रयोगकर्ताले एक्सेलमा राखिएका विभिन्न डाटालाई विश्लेषण गर्न मद्दत गर्नेछ ।

बिङ माइक्रोसफ्टको डिफल्ट सर्च इन्जिन हो । यसले पनि अब एआईकै सहयोगबाट हरेक सर्चमा प्रयोगकर्ता अनुसारका सर्च रिजल्ट दिने बताएको छ । त्यस्तै माइक्रोसफ्टले कोर्टोनाको क्षमतामा पनि अपडेट गरेको जनाएको छ । कोर्टोना माइक्रोसफ्टको भर्चुअल एसिस्टेन्ट हो । कोर्टोनाको प्रयोग विन्डोज टेनमा भएको छ । कोर्टोनाले अब प्रयोगकर्ताका कुन इमेल कतिको महफ्वपूर्ण छन् भनेर वर्गीकरण गर्न सक्छ । र, प्रयोगकर्ताले चाहेको खण्डमा ती इमेल पढेर पनि सुनाउन सक्छ । कोर्टोनालाई प्रयोगकर्ताले बोलेरै कमान्ड दिन सक्छन् ।

प्रकाशित: पुस १८, २०७४