सशक्त विद्रोह

  • लिपिस्टिक अन्डर माई बुर्का

- गोकर्ण गौतम

महिला अधिकार र स्वतन्त्रताको सवाल संक्रमणमा छ यतिबेला । न महिलालाई घरभित्र सीमित गर्ने आँट छ समाजसँग, न पूर्ण स्वतन्त्रता प्रदान गर्ने उदारता नै । मुख्य उपलब्धिचाहिँ युवतीहरू आफैँ आफूमाथिको अन्यायको विरुद्घमा आवाज उठाउन थालेका छन्, कुनै न कुनै माध्यमबाट । यही विद्रोही चरित्रले पुरुष (समाज ?)सँग दूरी र द्वन्द्व बढाएको छ । तैपनि, स्वतन्त्रताको चस्काले छोइसकेका महिला पछि हट्ने अवस्थामा छैनन् । अलन्कृता श्रीवास्तवले यिनै ‘क्रान्तिकारी’ महिलालाई समेटेर फिल्म बनाएकी छन्, लिपिस्टिक अन्डर माई बुर्का । अर्को कोणबाट यो फिल्म महिला हिंसा, दमन, कुण्ठा र आक्रोशको एलबम हो । यसलाई विषय, प्रस्तुुति र अभिनयका हिसाबमा पछिल्ला वर्षहरूमा बनेका हिन्दी फिल्ममध्ये अघिल्लो लहरमा राख्न हिचकिचाउनु पर्दैन । महिला सशक्तीकरणको अभियानमा कलात्मक योगदान गर्ने ल्याकत बोकेको छ फिल्मले ।

भारतको भोपालको एउटै गाउँमा बस्ने चार फरक उमेर समूहका युवतीको कथा हो यो । ५५ वर्षकी आन्टी उषा (रत्ना पाठक) धार्मिक किताबभित्र लुकाएर यौन उपन्यास पढ्छिन्, जसलाई लक्का जवानसँग संसर्ग गर्ने उत्कट चाह छ । तीन बच्चाकी आमा शिरीन (कोंकोणा सेन शर्मा) हरेक रात आफ्नै पतिबाट ‘बलात्कृत’ हुन्छिन्, उनलाई आर्थिक रूपमा आत्मनिर्भर हुनु छ । सामान्य ब्युटीपार्लर चलाउने लीला (आहाना कुम्रा) आफ्नो प्रेमीसँग संसार घुम्न मरिहत्ते गर्छिन्  । तर, उनको अर्कै केटासँग इन्गेजमेन्ट भइसकेको छ । कलेज अध्ययनरत रिहाना (पल्बिता बोर्ठाकुर) बुर्का लगाउन बाध्य छिन् । तर, उनलाई जिन्सलगायत आधुनिक पहिरन लगाउन र उन्मुक्त जीवन जिउने चाह छ । कठोर सामाजिक बन्धनमा जेलिएका उनीहरूको सपना पूरा होला त ? क्लाइमेक्समा चुरोटको प्रयोग प्रतीकात्मक लाग्छ ।  

हरेक पात्र प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । पटकथाकारसमेत रहेकी निर्देशक श्रीवास्तवले पात्रका कथा र तिनका भोगाइलाई बेग्लाबेग्लै भन्दै जान्छिन् । तर, दर्शकलाई उनीहरू कहीँ न कहीँ जोडिएका छन् भन्ने महसुस हुन्छ । आखिर कथा त उनीहरूको आवेगकै न हो । परिवारको ‘ इज्जत’ जोगाउनकै खातिर उनीहरूलाई प्रत्यक्ष/प्रत्यक्ष रूपमा आफ्नो सपनाको बलिदानी दिन दबाब दिइन्छ । यस्तो पुरुषवादी प्रवृत्तिविरुद्घमा हुन्छन् उनीहरू । तर, खुलेर बोल्न सक्दैनन् । उषा लुकेर स्विमिङ जान्छिन् र आफूले चाहेको केटालाई भेट्छिन् । घरघर पुगेर सामान बेचे पनि शिरीन पतिलाई भन्न सक्दिनन् । उनका श्रीमान् कन्डम प्रयोग गर्न मान्दैनन्, सोही कारण महिनैपिच्छे गर्भपतन गराउन बाध्य छिन् । लीलालाई न परिवारको साथ छ, न प्रेमीको । रिहानालाई त जिन्स पाइन्ट लगाउन पनि अनुमति छैन । दक्षिण एसियामा यस्ता युवतीहरू छ्यासछ्यास्ती भेटिन्छन् । त्यसैले हरेक पात्रलाई सहजै आत्मसात् गर्न सकिन्छ ।

लिपिस्टिकलाई पितृसत्तात्मक समाज, जो आफैँ बुर्काको सीमित घेरामा पिल्सिएको छ, मा बस्ने महिलाको चाहको प्रतिविम्बका रूपमा प्रयोग गरिएको छ । तर, यसले चर्को स्वरमा नारीवादको वकालत गरेको छैन । न यो पुरुषविरोधी फिल्म नै हो । सिर्फ भिन्न महिलाका भिन्न प्रकृतिका पीडालाई पर्दामा उतारिएको छ, जहाँ हरेक पात्रको अन्तर्यमा स्वतन्त्रता र यौन लुकेको छ । यद्यपि, प्रमुख पात्रसँग सरोकार राख्ने पुरुषलाई नकारात्मक रूपमा उभ्याइएको छ । जस्तो : उषा र लीलाका प्रेमी, शिरीनका श्रीमान् अनि रिहानाका बाबु र प्रेमी । यद्यपि, अतिरञ्जित नगरिएकाले हरेक पुरुष पात्र स्वाभाविक लाग्छन् । ‘ न्युड पेन्टिङ’ गर्ने कलाकारसामु नांगिने लीलाकी आमा सम्झनालायक अर्की पात्र हुन् । साँच्चै भन्दा अनेक दमन झेलिरहेका महिलालाई एकै ठाउँमा उभ्याएर निर्देशक श्रीवास्तवले आधुनिक भनिएको समाजसामु नैतिकताको तीर हानेकी छन् । 

विषयवस्तुजस्तै कलाकारको अभिनय फिल्मलाई अब्बल बनाउने अहम् कारण हो । खारिएका रत्ना र कोंकोणाले मात्र होइन, भर्खरै करिअर सुरु गरेका आहान र पल्बिताले समेत पात्रमा आफूलाई पूरापूर रूपान्तरण गरेका छन् । चारै मुख्य चरित्रले यौन क्रिया गरेका दृश्य छन्् । तर, कुनै अश्लील लाग्दैनन् । यस्तो कलात्मक प्रस्तुतिका लागि निर्देशक श्रीवास्तव प्रशंसाको भागीदार छिन् । यस्तो संवेदनशील विषयमाथि फिल्म बनाउन खोज्नु आफैँमा दुस्साहस थियो । तर, उनले चुनौतीलाई अवसरमा बदलेकी छन् । 

लिपिस्टिक अन्डर माई बुर्का नि:सन्देह हेर्नैपर्ने फिल्म हो । किनभने, यसले ‘कथित’ मनोरञ्जन त दिन्छ नै, सँगै जोकोहीलाई आफ्नो सोच र चरित्रमाथि प्रश्न उठाउन बाध्य तुल्याउँछ । 

प्रकाशित: पुस १७, २०७४