न्यूनतम पारिश्रमिक १५ लाख रुपियाँ

  • महँगा हुँदैछन्, नेपाली फिल्मका चलेका कलाकारहरू

- गोकर्ण गौतम

लुटमा देखिन पाउनु नै ठूलो उपलब्धि थियो, विपिन कार्कीलाई । पारिश्रमिकको के कुरा भयो र ! त्यसपछि पनि कालो पोथी, ताण्डव, सुन्तलीलगायतका फिल्ममा चास्नी भूमिकामा सीमित भए । तर, पशुपतिप्रसादको भस्मे डन चरित्रबाट धेरैको आँखामा परे । जात्रा हिट हुनुको मूल कारण उनी नै मानियो । एवंरीतले लुट २ मा आइपुग्दा झन्डै अढाई लाख रुपियाँ पारिश्रमिक पाए । 

भूमिका त सहायक नै थियो तर मुख्य चरित्रभन्दा विपिनले ज्यादा प्रशंसा कमाए । यही कारण हुनुपर्छ, लुट र लुट २ का निर्देशक निश्चल बस्नेतको नयाँ फिल्म फनफनीमा १७ लाख २५ हजार रुपियाँमा अनुबन्ध भएका छन् उनी । रंगमञ्च पृष्ठभूमिका यी अभिनेता हिरोको परम्परागत मानकमा फिटिक्कै अटाउँदैनन् । तैपनि, यति विघ्न पारिश्रमिकको हकदार बने । जबकि, करिअरको सुरुआतमा उनले ‘फिल्म खेल्छु’ भन्दा जोकोही गिज्जाउँथे, उनको शारीरिक बनोट देखेर । 

अभिनयमा बडो दिलचस्पी थियो, प्रदीप खड्काको । तर, कतै मौका पाएनन् । आफ्नै लगानीमा इस्केप बनाएर हिरो हुनुको विकल्प बाँकी देखेनन् । तर, फिल्म डुब्यो । विरक्तिएरै हुनुपर्छ, अस्ट्रेलिया जान तम्तयार भए । त्यही बेला प्रेमगीतको अडिसन आह्वान भयो । प्रदीपले अन्तिम प्रयास गरे । भाग्यवश छानिए । एकल हिरो थिए । तैपनि, पारिश्रमिक पाए, जम्मा १ लाख ५० हजार रुपियाँ । प्रेमगीत व्यावसायिक रूपमा सफल भयो, प्रदीपले पनि अभिनयबाट तारिफ बटुले । यही फिल्मको सिक्वेल प्रेमगीत २ मा निर्माता सन्तोष सेनले दुई लाख रुपियाँ पारिश्रमिक दिए र दुई वर्षको प्रदीपको व्यक्तिगत खर्च बेहोरे । त्यति मात्र होइन, फिल्म रिलिज भएपछि त कार नै उपहार दिए । यसका लागि प्रदीपले सन्तोषको आगामी फिल्म खेल्नुपर्ने मौखिक सहमति भएको छ । प्रेमगीत २ पछि प्रदीपको क्रेज थप चुलियो । फलत: लिलीबिलीमा २२ लाख रुपियाँमा अनुबन्धित भए ।

देख्दा हिरो नलागे पनि विपिनको अभिनय दमदार छ । प्रदीप त चकलेटी अनुहारका धनी भइहाले । तर, फरक कोटिका यी दुवै अभिनेताले लिएको पारिश्रमिक केही वर्षअगाडिसम्म सपनाजस्तै थियो । न कलाकारले माग्ने आँट गर्थे, न निर्माताकै दिल उदार हुन्थ्यो । राजेश हमालले समेत आफ्नो करिअरको उच्चतम विन्दुमा हुँदा यति पारिश्रमिक पाएनन् । औसत पाँच लाख रुपियाँमा उनले फिल्म खेलेको उनीनिकटका फिल्मकर्मीहरू बताउँछन् । अन्य हिरोको हालत कस्तो थियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले त ‘फिल्म खेलेर जीवन चलाउन मुस्किल हुन्छ’ भन्ने आममान्यता थियो । फिल्ममा भ्याइनभ्याई हुँदा अमेरिका पलायन भएका सरोज खनालले पनि कमाइ नहुने र जीवनशैली व्यवस्थित पार्नै धौधौ हुने पीडा पोखेका थिए । जसमा सत्यताको पल्ला भारी थियो । तर, अहिले समय बदलिएको छ । चलेका कलाकारले चित्तबुझ्दो पैसा पाउन थालेका छन् । निर्देशकका अलावा निर्माता र अभिनेतासमेत रहेका निश्चल भन्छन्, “बजार विस्तार भएसँगै कलाकारको पारिश्रमिक बढेको छ । यसले अन्ततोगत्वा फिल्मकै समृद्धि हुन्छ । कलाकारलाई जिम्मेवार बनाउँछ । 

निर्मातालाई कमाइका थप स्रोत खोज्न घचघचाउँछ ।”

 

 

आफ्नो क्षमता र लोकप्रियता अनुसार पारिश्रमिक माग गर्ने पहिलो श्रेय जान्छ, अनमोल केसीलाई । उनले लगातार चार हिट फिल्म दिए, होस्टेल, जेरी, ड्रिम्स र गाजलु । सहरिया युवापुस्तामाझ ढुकढुकी बने । पाएजति फिल्म खेलेनन् । त्यही कारण उनको साख धुमिलिएको छैन, अहिलेसम्म । यसकै फाइदा उठाए उनले, फिल्म कृबाट २० लाख रुपियाँ पारिश्रमिक लिएर । नेपाली फिल्म उद्योगमा यति ठूलो रकम लिने पहिलो अभिनेतामा दरिए उनी । शारीरिक व्यायाम र नृत्य प्रशिक्षणको खर्च पनि निर्माण पक्षले नै बेहोर्‍यो । वितरक तथा निर्माता गोविन्द शाही भन्छन्, “अनमोलमाथि गरेको लगानी बजारबाट फिर्ता आउने पक्कापक्की छ । त्यसैले निर्माताबीच उनलाई अनुबन्ध गराउन हानथाप हुनु सामान्य कुरा हो ।” कृ २६ माघमा प्रदर्शन हुँदैछ तर अहिले नै ५० लाख रुपियाँको प्रस्ताव आइसकेको अनमोल स्वयंले स्वीकारेका छन् । कृको ट्रेलरले युट्युबमा सर्वाधिक भ्युज बटुल्ने नेपाली फिल्मको ट्रेलरका रूपमा रेकर्ड राखेको छ । 

अनमोलपछि ‘फेस भ्यालु’ भएका अर्का हिरो मानिन्छन्, प्रदीप । उनी आफू सुरुमै पैसा माग नगर्ने बताउँछन् । पटकथा, त्यसलाई न्याय गर्न सक्ने निर्देशक, फिल्मका अन्य सदस्य, मेकिङजस्ता पक्ष मजबुत हुने आत्मविश्वास पैदा भयो भने पैसामा अड्किँदैनन् । हाल लिलिबिलीको सुटिङका लागि युरोपमा रहेका यी अभिनेता भन्छन्, “तर, टिम चित्त बुझेन र मेरो मिहिनेत अनुसार प्रतिफल आउने देखिनँ भने जति पारिश्रमिक दिए पनि खेल्दिनँ ।” आफूलाई निर्माताले उपलब्ध गराएको पैसा उठाउन हरेक कलाकार जिम्मेवार हुनुपर्ने तर्क छ उनको । 

त्यस्तै, म यस्तो गीत गाउँछुको सफलतापछि पल शाहको भाउ ह्वात्तै बढेको छ । टिम चित्त नबुझेपछि पलले फिल्म अनुरागबाट १८ लाखको प्रस्ताव नकारे, अब उनी १५ लाख रुपियाँ लिएर निरक पौड्यालको नयाँ फिल्ममा काम गर्दैछन् । म्युजिक भिडियोबाट ठूलो पर्दामा फड्को मारेका पल खास गरी युवतीमाझ प्रिय मानिन्छन् । पल त यतिबेलाका ‘हटकेक’ भइहाले, करिब किनारामा पुगिसकेका चकलेटी हिरो आर्यन सिग्देललाई समेत १५ लाख रुपियाँ दिएर रुद्रप्रियामा खेलाएका थिए, निर्माता रमेश पौड्यालले । दुर्भाग्य † फिल्म फ्लप भयो । आर्यनको ‘कमब्याक’को प्रयास तुहियो । डेब्यु फिल्म ए मेरो हजुर २ हिट भएपछि सलिनमान बनियाँकहाँ १० लाख रुपियाँको प्रस्ताव लिएर पुग्न थालेका छन् निर्माताहरू तर उनी अहिलेसम्म कुनै फिल्ममा अनुबन्ध भएका छैनन् ।

लुटमा सौगात मल्लको पारिश्रमिक ५१ हजार रुपियाँ थियो । यही फिल्मको हाकु काले चरित्रले उनलाई स्टार बनायो । वर्षमै आधा दर्जन फिल्म खेल्न थाले । लुट २ सम्म आइपुग्दा पाँच लाख रुपियाँ पुग्यो । अहिले उनी प्रतिफिल्म औसत १० लाख रुपियाँ लिने गर्छन् । भलै, पाए जस्तै फिल्म पनि खेल्ने सूत्र शिरोधार्य गरेकाले सौगातको करिअर चेपुवामा पर्दै गएको छ । पारिश्रमिकको मामलामा उनीभन्दा अगाडि छन्, दयाहाङ राई । उनले भैरे नामक फिल्ममा १८ लाख रुपियाँ लिए । यद्यपि, उनी पारिश्रमिक तेस्रो प्राथमिकतामा राख्छन्, विषयवस्तु र टिमपछि । भन्छन्, “स्क्रिप्ट चित्त बुझ्यो तर निर्मातासँग पैसा छैन भने त्यत्तिकै पनि खेलिन्छ । निर्माताको ध्येय नै पैसा कमाउने छ, नयाँपन केही छैन तर फिल्म खेल्न कर गर्‍यो भने सकेजति धेरै पारिश्रमिक लिइन्छ ।” 

तर, दु:खको कुरा † हिरोहरूको तुलनामा हिरोइनको पारिश्रमिक ज्यादै न्यून छ । साँच्चै भन्दा, साम्राज्ञीराज्यलक्ष्मी शाहबाहेक कुनै हिरोइन न आत्मविश्वासका साथ पारिश्रमिक माग गर्न सक्छन्, न निर्माताले पत्याउँछन् । 

‘बोल्ड हिरोइन’को परिचय बनाएकी साम्राज्ञीले नयाँ फिल्म कायराबाट १० लाख रुपियाँ पारिश्रमिक लिएकी छन् ।

कुनै समय बेवास्ता गरिने निर्देशकहरूचाहिँ अहिले चर्को पारिश्रमिक असुल्न थालेका छन् । निश्चल बस्नेत, कबड्डीबाट उदाएका रामबाबु गुरुङ र पशुपतिप्रसादका दीपेन्द्र के खनाल करिब ३० लाख रुपियाँ सजिलै लिन्छन् । प्रेमकथावाला फिल्म बनाउन माहिर मानिएका सुदर्शन थापा र जात्राका निर्देशक प्रदीप भट्टराई पनि महँगा निर्देशकमा दरिन्छन् । पटकथाकारमा प्रदीप भारद्वाज र सामिप्यराज तिमल्सिना अग्रपंक्तिमा छन् । “अभिनय, निर्देशन वा लेखन सिर्जनात्मक कुरा हुन् । यत्ति नै दरभाउ हुन्छ/हुनुपर्छ भन्ने छैन । जति पनि डिमान्ड गर्न सकिन्छ,” फनफनी निर्देशनमा जुटेका निश्चल भन्छन्, “निर्माताले पनि जोमाथि लगानी सुरक्षित देख्छ, उसैलाई छान्ने हो । त्यसैले पारिश्रमिक बढाउँदा कसैले टाउको दुखाउनु आवश्यक छैन ।” उनका अनुसार पारिश्रमिक मात्र नभई प्रोडक्सनदेखि निर्माताले कमाउने बाटाहरू फराकिलो भएको छ । 

तर, निर्माता माधव वाग्लेचाहिँ मनलाग्दी ढंगले पारिश्रमिक डिमान्ड गर्ने अहिलेको प्रवृत्ति प्रत्युत्पादक हुने दाबी गर्छन् । खास गरी आफैँ हिरो हुनुपर्ने, आफ्नी प्रेमिकालाई हिरोइन बनाउनुपर्ने वा अन्य भित्री स्वार्थ लिएर आउने निर्माताले हचुवाका भरमा पारिश्रमिक बाँडेको आरोप छ उनको । “बाहिर भनिएझैँ बजार विस्तार भएको छैन । त्यसैले अरू कारोबार नगर्ने विशुद्ध फिल्म मात्र बनाउने हामीजस्ता निर्मातालाई अहिलेकै हालतमा चर्को पारिश्रमिक दिन समस्या छ,” लुट, रेशम फिलिली, छड्केजस्ता फिल्मका निर्माता वाग्ले भन्छन्, “तर, बजार बिगार्नुमा पटके निर्माता मात्र होइन, मुर्गा फसाउने र सपनाको खेती गर्ने निर्देशक पनि उत्तिकै दोषी छन् ।” 

वाग्लेको पीडा आफ्नै ठाउँमा होला तर कलाकार तथा निर्देशकको पारिश्रमिक बढ्नु सुखद पक्ष हो । सँगै, फिल्म वृत्तले पनि बिस्तारै खुला बजारको नीतिलाई आत्मसात् गरिरहेको संकेत मिलेको छ । यसमा चाहिँ सन्देह छैन । 

 

 

करचाहिँ कतिले तिर्छन् ?

कलाकारले यति र उति लाख रुपियाँ लिएको चर्चा चल्छ । तर, उनीहरूले सरकारी नियमबमोजिम कर तिर्छन् त ? यो सवालचाहिँ प्राय: छायामा पर्ने गरेको छ । कलाकारहरूलाई सोध्दा पनि आनाकानी गर्थे । न निर्माताहरूले नै खुलेर बताउँथे । आखिर व्यावसायिकताको शैशव कालमा न थियो, नेपाली फिल्म उद्योग । अब भने करका मामलामा कलाकारहरू उत्तरदायी देखिने क्रम बढेको छ । जस्तो : अहिले चलेका प्राय: कलाकारले ‘प्यान नम्बर’ लिएका छन् । दयाहाङ भन्छन्, “पहिले–पहिले प्यान नम्बर नहुँदा निर्माताले आफैँ बुझाइदिन्थे । अचेलचाहिँ म आफैँ बुझाउँछु । करका सवालमा पारदर्शी हुन थालिएको छ ।” कहिलेकाहीँ सहमति अनुसार निर्माताले नै कलाकारको कर तिरिदिने गर्छन् । जस्तो : दयाहाङले भैरे फिल्मबाट १८ लाख करबाहेक लिएका हुन् । त्यस्तै, फनफनीबाट २ लाख २५ हजार रुपियाँ निर्माताले नै कर तिरिदिएको अभिनेता विपिन कार्की बताउँछन् । 

तर, यहाँ उल्लेखनीय पक्षचाहिँ बाहिर हल्ला हुने र कलाकारले पाउने वास्तविक रकमचाहिँ भिन्न हुन्छ । अनि, कलाकारले कर तिर्ने भनेको पाएको रकमबाटै हो । निर्माता तथा वितरक गोविन्द शाही ढाँट्दैनन्, “फिल्मको हल्ला गराउन कहिलेकाहीँ वास्तविक पारिश्रमिकभन्दा अलि बढाएर भन्ने गरिन्छ । तैपनि, लिएको खास पैसाबाट कि कलाकारले नै कर तिर्छन्, कि हामी आफैँ तिरिदिन्छौँ ।” 

प्रकाशित: पुस १७, २०७४