मदिराले मौलाएको हिंसा

  • बढ्दो सामाजिक विकृतिको जड रक्सी सेवन र यसको कारोबार

- वसन्तप्रताप सिंह

आँखामा हाले पनि नबिझाउने उनका पतिले रक्सी सेवनपछि उनीसँग शत्रुको जस्तै व्यवहार गर्न थाले । अरू बेला शान्त भएर बस्ने तर रक्सी पिएका बेला जे हातमा छ, त्यसैले आक्रमण गर्ने भए उनी । शरीरभरि घाउ नै घाउ हुन्थे । तैपनि, केटाकेटीको मुख हेरेर चित्त बुझाउँथिन् उनी । जँड्याहा पतिका कारण दुई वर्षकी काखे छोरीसहित बिचल्लीमा परेकी सम्झना बोहरा (नाम परिवर्तन), २५, भन्छिन्, “पछिपछि त केटाकेटी पनि मेरा होइनन्, कोसँग लागेकी छस् भनेर भकुर्न सुरु गरे । मर्नुभन्दा बहुलाउनु जाती भनेर घर छोडेर भागेँ ।”

कानुनी उपचारका लागि केही समय एक गैरसरकारी संस्थाको संरक्षणमा बसेकी उनी अहिले छोरीसहित माइतीमा छन् । मदिराका कारण परिवार बर्बाद भएकी उनी बझाङकी एक प्रतिनिधि महिला पात्र हुन् । यस्ता कथाव्यथा यहाँ अनगिन्ती छन्, जो यो समाजमा सामान्यझैँ भएका छन् । 

विसं ०६३ मा मदिराको खुला बिक्री–वितरण सुरु भएयता धेरै महिला र बालबालिकाको बिचल्ली भएको छ । कतिसम्म भने महिलामाथि हुने विभिन्न खाले हिंसामध्ये ८० प्रतिशत घटना त मदिरा सेवनकै कारणले हुने गरेको प्रहरी तथ्यांक छ । जस्तो : साउनदेखि कात्तिकसम्म मात्र महिलाविरुद्ध हिंसाका ४६ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता छन् । तीमध्ये अधिकांश घटनाका पछाडि मदिरा नै कारण रहेको छ । “हत्या, बलात्कार, सम्बन्ध–विच्छेददेखि दैनिक हुने गरेका कुटपिटका घटनाका पछाडिको अधिकांश कारणमा रक्सी नै देखिन्छ,” प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषिराम कँडेल भन्छन्, “श्रीमान् जँड्याहा र हिंसा गर्ने भएकै कारण पछिल्लो समय आत्महत्या गर्ने महिलाको संख्या पनि बढिरहेको छ ।”

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत वर्ष महिला हिंसासम्बन्धी दर्ता भएका १ सय ४१ उजुरीमध्ये दुई जनाको हत्या र दुई जनाको बलात्कार भएको छ भने सात महिलाले आत्महत्या गरेका छन् । ०७२/७३ मा दर्ता भएका महिलासँग सम्बन्धित ९६ घटनामध्ये तीनवटा बलात्कार, ६ जनाको आत्महत्या, दुईवटा मानव बेचबिखनका घटना भएका छन् । यस्तै, ६७ जनाले घरेलु हिंसा भोग्नुपरेको र एक जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । 

महिलामाथि भएका हिंसाका घटनाहरू यो तथ्यांकमा अत्यन्तै न्यून आएको र खास गरी ग्रामीण क्षेत्रमा महिलाहरू मदिराका कारण मौलाएको हिंसा भोग्न बाध्य रहेको महिला अधिकारकर्मीहरूको भनाइ छ । महिला अधिकारकर्मी जयन्ती जोशी भन्छिन्, “रक्सी सेवनका कारण जति घटना हुन्छन्, त्यसको १० प्रतिशत पनि प्रहरी वा महिला अधिकारकर्मीसम्म पुग्दैनन् ।” घरबार बिग्रने डरले धेरैजसो पीडित महिलाहरू घटनालाई बाहिर ल्याउन चाहँदैनन् । जोशी थप्छिन्, “सार्वजनिक भएका अधिकांश घटना पनि गाउँमै मिलापत्र गराइन्छ । प्रहरी र हामीकहाँ आउने भनेको गाउँमा मिल्न नसकेका घटना मात्रै हुन् ।” 

बझाङीहरूको मदिरासँगको संगत लामो छैन । ०४६/४७ तिरबाटै बझाङमा घरेलु मदिराको उत्पादन सुरु भइसकेको थियो । सरकारबाट अनुमति लिएर दैलेखका ललित शाही भन्ने व्यक्तिले बझाङमा मदिराको उत्पादन थालेका थिए । 

ललित डिस्टिलरी नाम दिइएको भए पनि घरेलु प्रविधिबाटै उत्पादन हुने यसका मदिराले आमनागरिकसम्म सहज पहुँच पायो । त्यसपछि गाउँतिर पनि घरेलु प्रविधिबाट मदिरा उत्पादन सुरु भयो । ०५३ सम्म आइपुग्दा त मदिरा संस्कृतिको रूपमा नै स्थापित हुन पुग्यो । त्यतिन्जेल बझाङका सबैजसो ठाउँमा ब्रान्डेड र घरेलु रक्सी छ्यापछ्याप्ती भइसकेको थियो ।

छोटो समयमै मदिराजन्य विकृतिहरू यसरी फैलियो कि यहाँको सामाजिक जीवन नै अस्तव्यस्त हुन थाल्यो । व्यापक दबाबपछि ०५४ मा तत्कालीन जिल्ला विकास समितिले बझाङ जिल्लालाई मदिरा निषेधित क्षेत्र (ड्राइ एरिया) घोषणा गर्‍यो । 

कानुनी रूपमा बेचबिखनमा प्रतिबन्ध भए पनि मदिरा पारखीहरू भित्रभित्रै आफ्नो आवश्यकता पूरा गरिरहेकै थिए । प्रहरी प्रशासनको आँखा छलेर गाउँगाउँमा उत्पादन भएको घरेलु मदिरा जताततै बिक्री भइरहेको थियो । डोटी र डडेल्धुराबाट अवैध तरिकाले ब्रान्डेड मदिरा पनि भित्रिने क्रम रोकिएको थिएन । 

खुला रूपमा बिक्री–वितरण र सेवन गर्न नपाइने भएका कारण तुलनात्मक रूपमा मदिराका कारणले हुने विकृतिहरू भने त्यतिबेला कम रहेको अनुभव सुनाउँछन्, नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंह । भन्छन्, “मदिरा व्यापार गर्ने र सेवन गर्नेलाई भेट्नेबित्तिकै कारबाही हुन्थ्यो, अहिलेको 

जस्तो छाडा पारा थिएन ।”

०६३ मा दोस्रो जनआन्दोलन सफल भएसँगै त्यही जेठमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले व्यापारीहरूको दबाबमा पुरानो निर्णयलाई उल्ट्याउँदै बझाङमा मदिराको सेवन र बिक्री–वितरणलाई पुन: खुला गरिदियो । 

त्यतिखेर यहाँ सडक यातायातको पहुँच पुगिसकेको थिएन । व्यापारीहरूले हवाईजहाज चार्टर गरेर मदिरा ल्याउँथे । दैनिकजसो दुईदेखि तीनवटा विमान मदिरासहित चैनपुर विमानस्थलमा अवतरण हुन्थे । आर्थिक वर्ष ०६३/६४ मा मात्र बझाङमा १५ करोड रुपियाँभन्दा बढीको ब्रान्डेड मदिरा हवाईजहाजमार्फत भित्रिएको तत्कालीन बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष ओमजंगबहादुर सिंह बताउँछन् । 

मदिरा खुला भएसँगै पुन: यसले सामाजिक विकृतिको रूप लिन थाल्यो । घरेलु हिंसादेखि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटनाहरू अप्रत्याशित ढंगले बढ्न थाले । सबै घटनाका पछाडि कुनै न कुनै रूपमा मदिरा जोडिन थाल्यो । ०६४ यता मदिरा सेवन गरेकै कारण प्रतिवर्ष पाँचदेखि दस जनाको भीरबाट लडेर मृत्यु भएको प्रहरीको तथ्यांक छ । यस वर्ष पनि अत्यधिक मदिरा सेवन गरेकै कारण दुई जनाको ज्यान गइसकेको छ । “अहिले बढिरहेको सामाजिक विकृतिको जड नै मदिरा हो,” सांस्कृतिक तथा ऐतिहासिक विषयका जानकार विष्णुभक्त शास्त्रीको निष्कर्ष छ । 

मदिराले सामाजिक जनजीवनमा नै गम्भीर असर गरेपछि बझाङी महिलाहरू र नागरिक समाजले मदिरा बिक्री–वितरणमा रोक लगाउन दबाब बढाए । त्यस क्रममा नारा–जुलुस र धर्नासम्म भयो । व्यापक जनदबाबपछि ०६९ को जिल्ला परिषद्ले मदिरा बेच–बिखनमा फेरि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । तर, दुर्भाग्य ! कार्यान्वयनचाहिँ भएन । 

अर्काे वर्ष ०७० मा पनि दबाबपछि जिल्ला परिषद्ले मदिरा प्रतिबन्ध गर्ने अघिल्लो परिषद्को निर्णय कार्यान्वयन गर्ने भन्यो । तर, त्यो निर्णय आजसम्म पनि कार्यान्वयन हुन सकेको छैन । 

केही गाउँमा प्रहरीको सहयोग लिएर स्थानीय आमा समूह, युवा क्लबहरूले मदिरा बिक्री–वितरणमा रोक लगाएका त छन् । तर, त्यो पनि खासै प्रभावकारी देखिएको छैन । 

मदिरा नियन्त्रणका लागि प्रहरीले महिला बालबालिका एकाइमार्फत स्थानीयहरूलाई जागरुक गर्ने काम गरिरहेको भए पनि आफूहरूको एकल प्रयासले मात्र यसलाई नियन्त्रण गर्न असम्भव रहेको प्रहरीको भनाइ छ । “कसैले गैरकानुनी काम नगरुन्जेलसम्म प्रहरीले कारबाही गर्न मिल्दैन,” डीएसपी कँडेल भन्छन्, “मदिरा बेचबिखन र सेवनलाई पूर्ण रूपमा व्यवस्थित गर्ने हो भने राजनीतिक इच्छाशक्ति नै 

आवश्यक हुन्छ ।” 

 

एक अर्बको कारोबार

बझाङ जिल्लामा वर्षमा झन्डै ८० करोड रुपियाँको हाराहारीमा मदिरा आयात हुने गरेको उद्योग वाणिज्य महासंघ, बझाङका पूर्वअध्यक्ष एवं मदिराका थोक बिक्रेता जगत मल्ल बताउँछन् । यसबाहेक वार्षिक करिब २० करोड रुपियाँभन्दा बढीको मदिरा गैरकानुनी रूपमा तिब्बतबाट आयात हुने गरेको अनुमान छ । 

 

तस्बिरहरू : वसन्तप्रताप सिंह

प्रकाशित: पुस १७, २०७४