आँटी सरकार

- लक्ष्मण गाम्नागे

शेरबहादुर देउवाजीको सरकार अस्ति नै ढलिसक्ने थियो तर राष्ट्रियसभासम्बन्धी विधेयकको एकल संक्रमणीय भेन्टिलेटरले यसलाई अझै बचाइरहेको छ । आश्चर्य र खुसीको कुरा के छ भने निर्वाचनमा त्यसरी पछारिएर घिटिकघिटिक हुँदा पनि देउवाजीको सरकारले पटक्कै हार मानेको छैन । आलोचकहरूले बुझे हुन्छ, आपत्विपत्मा घुँडा कमाउने र मरिन्छ भनेर अगाडि नै खुट्टा तन्काउने सरकार यो होइन । धुकधुकी रहुन्जेल पनि सक्रिय रहने जिउँदोजाग्दो, शक्तिशाली र क्रियाशील सरकार हो यो । 

उसो त यो कुनै चानचुने सरकार पनि होइन, सातपटक प्रधानमन्त्री हुने पक्का भएका नेताले नेतृत्व गरेको परिपक्व सरकार हो । जति घन्टा सरकारमा बसिन्छ, त्यति नै धेरै काम गरेर अर्कोपल्टको निर्वाचनमा दुई तिहाइ मत ल्याउने गरी काम देखाउनु छ । त्यसैले विकास निर्माणमा केही गर्न नसके पनि प्रजातन्त्रको रक्षाका लागि प्रतिपक्षको अधिकार स्थापित गर्न सरकार कम्मर कसेर लागेको छ । त्यसका लागि विभिन्न सरकारी निकायमा आफ्ना मानिसहरूलाई नियुक्त गरेर रिक्त पदहरू पूर्ति गर्ने महत्त्वपूर्ण कामहरू गरिरहेको छ । अरू केही समय पायो भने सातै प्रदेशका प्रमुख पनि नियुक्त गरेर मात्रै सत्ताको भार बिसाउन चाहन्छ यो सरकार । यति काम गर्न सके प्रतिपक्ष बलियो हुनेछ । प्रतिपक्ष बलियो हुनु भनेको सरकारलाई सतर्क गराउनु पनि हो । यसरी देउवा सरकारले भविष्यको सरकारलाई सतर्क गराउने र पथप्रदर्शन गर्ने काम पनि गरेको छ । 

घिटिकघिटिक सरकारले राजनीतिक नियुक्ति हुने दरबन्दीहरू अहिले नै पूर्ति गरिदिएर नयाँ सरकारलाई ती ठाउँमा कसैलाई नियुक्ति गरिराख्नुपर्ने झन्झटबाट मुक्त गरिदिएको छ । यस्ता झिनामसिना काममा नयाँ सरकारले अल्झिनु नपरोस् र वाम गठबन्धनले आफ्नो घोषणापत्र अनुसार द्रुत गतिमा विकास निर्माणका काममा लाग्न पाओस् भनेर देउवाजीले भएभरका दरबन्दी पूर्ति गरिदिएका हुन् । फेरि, ती ठाउँ खाली छाड्दा नयाँ सरकारले मान्छे भर्ना गर्ने बेला उनीहरूभित्रका गुटहरूबीचमा लडाइँ हुने थियो । नयाँ सरकार आलोचनाको पात्र बन्ने थियो । त्यसलाई पनि कामचलाउ सरकारले जोगाइदिएको छ । 

देउवाजी सरकार छाड्न आतुर भएको बताइरहेका छन् । तर, त्यसरी छाड्नुअघि उनी राष्ट्रियसभालाई पनि बलियो प्रतिपक्षसहितको सक्षम र जीवन्त बनाउन चाहन्छन् । नयाँ सरकारले एकलौटी राष्ट्रियसभा गठन गरेको भन्ने आक्षेपबाट उसलाई बचाउन चाहन्छन् । वाम गठबन्धनले यो कुरा बुझ्नुपर्छ । राष्ट्रपतिकोमा अड्किबसेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयक जस्ताको तस्तै जारी भए देउवाजीले आठ–दस जना आफ्ना मान्छेलाई नियुक्त गर्न पाउनेछन् । यसरी उनी ठाउँठाउँमा योग्य मानिसहरूलाई नियुक्त गरेर देशको विकासमा आफ्नो भागबन्डासहित सहभागी हुन र वाम गठबन्धनसँग सहकार्य गर्न चाहन्छन् । 

यसरी जताबाट हेर्दा पनि यी नियुक्तिहरू आलोचनाका विषय होइनन् । कामचलाउ बेलामा पनि रातारात नयाँनयाँ नियुक्तिहरू गरिरहन सक्नु सरकारको आँटको, सामथ्र्यको र इच्छाशक्तिको कुरा हो । हामीले खोजेको यस्तै आँटी सरकार हो । यस्ता नियुक्तिहरूको विरोध गर्नुभन्दा आगामी सरकारले पनि योभन्दा आँट देखाएर काम गरोस् । मुलुकको विकास निर्माण गर्दै गरौँला, आफ्ना मान्छेहरूलाई ठाउँठाउँमा भर्ना गर्ने, जागिर खुवाउने इत्यादि काममा नयाँ सरकारले पनि आँट गरेर काम गरेमा हाम्रो प्रशासन स्वच्छ, सक्षम र इमानदार हुने र मुलुकको विकास पहिलाजस्तै तीव्र गतिमा हुने निश्चितै छ ।

प्रकाशित: पुस १७, २०७४