ओप्पोको नयाँ स्मार्टफोन

- नेपाल संवाददाता

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले फेरि अर्को नयाँ स्मार्टफोन ओप्पो ए८३ को घोषणा गरेको छ । चीनमा ए७५ र ए७५एस रिलिज गरेसँगै ए८३ को घोषणा गरिएको हो ।

ओप्पोका अनुसार यो नयाँ स्मार्टफोनमा ३२ जीबीको आन्तरिक मेमोरी क्षमता हुनेछ । यसको र्‍यामको क्षमता चार जीबी रहनेछ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा २ सय ५६ जीबीको मेमोरी कार्ड पनि प्रयोग गर्न सक्नेछन् ।

यो स्मार्टफोनमा १३ र आठ मेगापिक्सेलका दुई क्यामेरा रहनेछन् । र, यसमा ३१ सय ८० एमएएच क्षमताको ब्याट्री रहने बताइएको छ । ए८३ को मुख्य आकर्षण फेस अनलक फिचर हो । ओप्पोले बताए अनुसार प्रयोगकर्ताको अनुहार पहिचान गर्न यसले १ सय २८ फिचरहरुको स्क्यान गर्नेछ । र, ०.१८ सेकेन्डमै अनलक हुनेछ । फेसियल रिकग्निसनलाई नै मुख्य अनलक फिचर बनाएको ओप्पोले यो स्मार्टफोनमा फिङ्गर प्रिन्ट सेन्सर नराख्ने बताएको छ ।

एन्ड्रोइड ७.१ अपरेटिङ सिस्टममा आधारित रहने यो स्मार्टफोको डिस्प्ले ५.७ इन्चको हुनेछ । र, यसको मूल्य २ सय १५ डलर रहनेछ । यो स्मार्टफोन यही डिसेम्बर महिनाको अन्त्यबाट बजारमा आउनेछ ।

प्रकाशित: पुस १६, २०७४