‘जित्न र सिक्न गएकी थिएँ’

- मनबहादुर बस्नेत

काठमाडौँकी सविता कार्की, २३, ले नेपालमा मात्र होइन, भारतमा समेत चर्चा पाइन् । चार वर्षदेखि नेपालमा मोडलिङ गरिरहेकी कार्की हालै मात्र भारतीय टेलिभिजन एमटीभीले आयोजना गरेको ‘इन्डियाज नेक्स्ट टप मोडल’ प्रतियोगितामा दोस्रो भएर नेपाल फर्किन् । यही विषयमा चार्टर्ड एकाउन्टेन्टकी विद्यार्थीसमेत रहेकी कार्कीसँग गरिएको कुराकानी :

 

मोडलिङमा आगमन कसरी भयो ? 

मभृकुटीमण्डपको एउटा शैक्षिक मेलामा थिएँ । त्यही बेला शैक्षिक परामर्शदाता संस्थाका एक जनाले मलाई मोडलिङको अफर गर्नुभयो । 

 

अफर आउनासाथ यतातिर लागिहाल्नुभयो ? 

सुरुमा त हुँदैन भनेँ । किनभने, मोडलिङमा लाग्ने मेरो कुनै सोचाइ नै थिएन । पढाइमा मात्रै ध्यान थियो । तर, उनले धेरैपटक कर गरेपछि ‘ट्राइ’ गरौँ न त भनेर लागेँ । 

 

सुरुमा ‘कस्तो–कस्तो’ लागेको क्षेत्रभित्र छिरेपछि कस्तो लाग्यो त ? 

आफ्नो करिअर बनाउँछु भनेर सोच्दै नसोचेको क्षेत्र भएकाले मलाई कस्तो–कस्तो लागेको थियो । नकारात्मक अर्थमा होइन । त्यसैले यो क्षेत्रमा लागेपछि रमाइलो लाग्न थाल्यो, लागिरहेछ । मभित्र पनि मोडलिङमा ‘ पोटेन्सियालिटी’ रहेछजस्तो लाग्यो । 

 

भर्खरै भारतीय टेलिभिजन एमटीभीको मोडल रियालिटी हन्ट कार्यक्रम ‘इन्डियाज नेक्स्ट टप मोडल’मा सहभागी हुनुभयो । अब मोडलिङको अन्तर्राष्ट्रिय बजारमा पस्ने लक्ष्य हो ?

चार वर्षमा नेपालभित्र व्यावसायिक मोडल बनेँ । मानिसका इच्छा अनन्त हुन्छन् नै । देशभित्र स्थापित भइसकेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई ‘एक्सप्लोर’ गरौँ भन्ने सोच बनाएकी छु । त्यसैका लागि मैले एमटीभीको प्रतिस्पर्धामा भाग लिएँ । 

 

एमटीभीको प्रतिस्पर्धामा सबैभन्दा आनन्दको क्षण कुन थियो ? 

बलिउडकी प्रसिद्ध नायिका मलाइका अरोरा खानसँग मैले फोटो सुट गर्ने मौका पाएँ । त्यति अग्लो प्रतिष्ठा भएकी व्यक्तिसँग ज्यादै सामीप्य पाउँदा आनन्दित बनेँ । 

 

नरमाइलो चाहिँ ? 

अन्तिम चरणमा ‘फेमिली टास्क’ थियो, जहाँ प्रतिस्पर्धीका अभिभावक जानुपथ्र्यो । उक्त भागमा नेपालबाट मेरा अभिभावक जान सक्नुभएन । अरू सबैका आएका थिए । यो अलिक भावुक क्षण थियो । यो दृश्यले मलाई दु:खी बनायो । 

 

पक्कै जित्छु भन्ने लागेको थियो होला । दोस्रो भएर फर्कनुपर्दा निराशा छाएन ? 

म जित्ने र सिक्ने दुवै लक्ष्य लिएर गएकी थिएँ । अर्को कुरा अन्य सबै प्रतिस्पर्धी देशभित्रको आ–आफ्नो स्थानीय क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए । तर, म भने सिंगो मुलुकको प्रतिनिधि थिएँ । मसँग देशको नाम जोडिएको थियो । त्यसैले निराशचाहिँ भइनँ ।

 

के–के सिक्नुभयो त ? 

भावनात्मक, मनोवैज्ञानिक र शारीरिक रूपमा आफूलाई कसरी बलियो बनाउने भन्ने कुरा सिकियो । किनभने, त्यहाँ एकदमै कठोर अवस्थामा यी तीनवटै पक्षको अभ्यास भयो । 

 

नेपाल र भारतको मोडलिङ क्षेत्रमा के फरक रहेछ ? 

धेरै छ । पहिलो कुरा त उताको मोडलिङको बजार नै ठूलो छ हाम्रोभन्दा । उनीहरू हामीभन्दा प्रोफेसनल छन् । समय पालनामा उनीहरू अगाडि छन् । भारतमा एकदमै ‘सिस्टमेटिक वे’मा मोडलिङको विकास भइरहेको छ । हामी यी कुरामा अलि पछाडि छौँ । 

 

त्यसो भए नेपालले मोडलिङ क्षेत्रलाई सुधार्न के गर्नुपर्ने रहेछ त ? 

पहिलो कुरा त सोच नै परिवर्तन गर्नुपर्छ । 

 

सोच भन्नाले ? 

मोडलिङ भन्नासाथै हाम्रो समाजले एकदमै संकुचित भएर हेर्छ । यो पनि सम्मानजनक क्षेत्र हो भनेर सोच्दैन । जम्मै कुरा समाजले के भन्ला भनेर अड्किन्छ हाम्रोमा । यो सोचलाई फराकिलो बनाएर सबैले जति सकिन्छ, योगदान दियो भने सुधार हुन्छ । 

 

तपाईंलाई चाहिँ यस्तो रोकटोक आएन ? 

आएन । मेरो परिवार एकदमै सहयोगी देखिनुभयो । 

 

यो प्रतिस्पर्धामा पहिलो हुन नसक्नुका पछाडि आफ्नो कुनै कमजोर पक्ष छजस्तो लाग्यो ? 

कमजोर त म भन्दिनँ । तर, मेरा केही प्रस्तुति अलि फिका भए । आत्मबल बढाउने प्रयास अलि पुगेनजस्तो लाग्यो । 

 

अबको लक्ष्यका सम्बन्धमा कुनै टिप्पणी ? 

मोडलिङको अन्तर्राष्ट्रिय बजारमा छिर्ने धोको छ । यस्ता प्रतिस्पर्धामा अझै डटेर लाग्नेछु । 

 

 

प्रकाशित: पुस १४, २०७४