अदुवा

चित्त बुझाउने बाटो के थियो भने मैले लेखन क्षेत्रमा आकर्षक नगदसहित पाएको मेरो जीवनको पहिलो पुरस्कार थियो त्यो । बिनाचाकडी र अनेक अवैध लफडाबिना त्यो पुरस्कार पाएको भए सम्भवत: जीवनभरि मलाई त्यसले आत्मसन्तुष्टि दिइरहन्थ्यो होला ।

- नयनराज पाण्डे

उनी दाहिने हातको चोर औँलामाथि माझी औँला खप्ट्याउँथे र सुँघ्थे । अचम्मैको बानी उनको । आफ्नो कार्यकक्षमा मिटिङमा मात्र होइन, अरू बेला पनि कसैसित कुराकानी हुन थाल्यो कि उनको दाहिने हातका औँलाहरू सक्रिय भइहाल्थे । एक दिन सोधेँ, ‘किन यसरी औँला सुँघ्नुहुन्छ दाइ ?’

उनले हाँसेर मीठो नेवारी लबजमा जवाफ दिए, ‘नानीदेखिको बानी । सानोमा अदुवा देख्यो कि सुँघ्न मन लाग्थ्यो रे † अनि, आमाले मेरो बानी सुधार्न औँलालाई नै अदुवाजस्तो बनाइदिएर, ल बाबु यही अदुवा हो, यही सुँघेर बस् भन्न थाल्नुभएछ । त्यसपछि त औँलाको अदुवा बनाएर सुँघ्ने बानी नै भयो ।’

उनी तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानको प्रशासनका प्रमुख थिए क्यार † सुकिलो र प्रभावशाली व्यक्तित्व थियो उनको । प्राय: कोट, पाइन्टमा देखिन्थे । टाई नलगाएको त मैले उनलाई देख्दै देखिनँ । कपाल आधाभन्दा बढी फुलिसकेको थियो । उमेरका कारणले अब दुई–चार वर्षमा रिटायर हुँदै थिए उनी । तर, प्रज्ञा–प्रतिष्ठानका प्रभावशाली व्यक्ति थिए । प्रभावशाली आवाजका उनी गीत–संगीतका पारखी थिए । नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जनहरू आफ्नो आत्मीय मित्र भएको कुरा बेलाबेलामा भनिरहन्थे । 

‘एकेडेमीमा त सबका सब गर्लफ्रेन्डवाला छन् । फलानी–फलानी त एकेडेमीका वरिष्ठ संगीतकारहरूका प्रेमिका हुन् नि † अनि, त्यहाँको ती फलानो नाटक निर्देशक पनि केटी भनेपछि भुतुक्कै हुन्छन् ।’ 

यस्तो हल्ला खुब सुनिन्थ्यो तिनताक । होजस्तै लाग्थ्यो । म कहिलेकाहीँ एकेडेमी जाँदा त्यहाँका जागिरे दुवै वरिष्ठ संगीतकारहरू चुकुल लगाएर आफ्ना महिला मित्रका साथ रियाज गरिरहेका हुन्थे । उनीहरूलाई भेट्नुपर्‍यो भने ढोका ढकढक्याउनु पथ्र्यो । वास्तवमा त्यतिबेला एकेडेमीलाई मायाप्रीति गर्ने सानोतिनो अखडा नै मानिन्थ्यो ।

ती अदुवावाला दाइ पनि कम रोमान्टिक थिएनन् । उनका पनि रोमान्सका अनेकानेक किस्सा प्रचलित थिए । एकेडेमीमा कार्यरत धेरै महिला कलाकारसित उनको नाम जोडिन्थ्यो । त्यो मिथ्या हल्ला पनि हुन सक्थ्यो । प्रशासनका हर्ताकर्ता थिए । प्रमोसन या अरू सुविधाका लागि उनको चाकरी गर्नुपर्ने हुन्थ्यो होला । पुरुषले चाकरी गर्दा स्वाभाविक र महिलाले चाकरी गर्दा लसपसको आरोप लगाउने परिपाटीवाला समाज न हो । त्यस्तै पनि हुन सक्थ्यो । जे भए पनि अचेल चलेको काव्यिक भाषामा उनी प्रेमिल व्यक्तित्वचाहिँ थिए । 

तिनताक प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष गाईजात्रा महोत्सव र नाटक महोत्सव गथ्र्यो । गाईजात्राको अन्तिम दिन राजा–रानी पनि आउँथे । त्यो दिन हास्य कलाकारहरूको चुरीफुरी नै बेग्लै हुन्थ्यो । राजा–रानी आउनुअघि बडेमानका कुकुरहरू कसैले हातहतियार लुकाइछिपाइ राखेको छ कि भनेर सुँघेर पत्ता लगाउन आउँथे । प्राय: चिन्तन र विचारले टाट पल्टिएका कलाकारहरूको जगजगी थियो त्यतिबेला । तिनीहरूलाई स्रष्टा र सर्जकहरूको सिर्जना नै बलियो हतियार हो र त्यो उनीहरूको दिमाग अनि सिर्जनाभित्र लुकेर बसेको हुन्छ भन्ने चेत नै थिएन । त्यसैले कुकुरले हतियार खोज्ने क्रममा मञ्चका कुनाकाप्चादेखि आफ्नो शरीर र गुप्ताङ्गसम्म सुँघ्दा गद्गद हुन्थे उनीहरू । 

गाईजात्रा महोत्सवमा प्रहसन देखाउन पाइयो भने प्रशस्त आम्दानी हुन्थ्यो । गाईजात्राका प्रहसनहरूबाट उठेको रकमको भुक्तानी दसैँअघि दिने भएकाले गाईजात्रामा सहभागी हुन पाउने भाग्यशाली कलाकारहरूको दसैँ सानदार बित्थ्यो । त्यसैले गाईजात्रा या नाटक महोत्सवमा सहभागी हुने मौकाका लागि कलाकार र निर्देशकहरू उनको खुब चाकडी गर्थे । अलिक राम्ररी चाकडी गरियो भने पुरस्कार दिलाउन पनि उनले राम्रै भूमिका निर्वाह गर्न सक्थे । त्यतिबेला सबैलाई थाहा भएकै कुरा थियो यो ।

एक दिन मलाई एक जना महिला मित्रले भनिन्, ‘प्रशासनको दाइसित मेरो राम्रो चिनजान छ । यसपालि हामीले पनि नाटक महोत्सवमा भाग लिऔँ । मलाई बेस्ट अभिनेत्रीमा पुरस्कार पाउने कति रहर छ ।’

उनले त्यसो भनेपछि मलाई पनि रहर लाग्यो । सर्वश्रेष्ठ नाटक लेखक ठहरियो भने तीन हजार नगद आउँथ्यो । विसं ०४६ तिर त्यो आकर्षक रकम थियो । अझ सर्वश्रेष्ठ निर्देशकसमेतको पुरस्कार पाउन सकियो भने रकम डबल हुन्थ्यो । विद्यार्थी थिएँ । डेराभाडा महिनाको तीन सय तिर्नु पथ्र्यो । अर्को तीन–चार सयले त मज्जाले खान पुग्थ्यो । 

मैले एक हप्ता लगाएर एउटा नाटक लेखेँ । शीर्षक राखेँ, ‘सीमाबाहिर’ । पछि त्यो नाटक साझा प्रकाशनको गरिमा पत्रिकामा दुई या तीन शृंखलामा प्रकाशित पनि भयो । त्यतिबेला राजनीतिक वृत्तमा हल्ला थियो, देशको शासन रानी ऐश्वर्यले चलाउँछिन् र राजा वीरेन्द्र त लाचार पात्र मात्र हुन् । त्यस्तै कुरालाई आधार मानेर मैले त्यो नाटक लेखेको थिएँ । पञ्चायतकाल भएकाले सोझै राजनीतिक विषयको उठान गर्न असम्भव थियो । विषयवस्तुलाई प्रतीकात्मक आवरण दिनु जरुरी थियो । त्यसै गरँेँ मैले । मेरो नाटकका मुख्य दुई चरित्र थिए । सन्तानहरूका स्वाभाविक–अस्वाभाविक गतिविधिहरूलाई टुलुटुलु हेर्न बाध्य एक थान लाचार पति । र, अस्वाभाविक महत्त्वाकांक्षाका कारण सिंगो घर नै अस्तव्यस्त पारिदिने पत्नी । महिला मित्रलाई मुख्य भूमिकामा खेलाउनैपर्ने बाध्यता थियो । त्यसबाहेक यसपटक जसरी भए पनि सर्वश्रेष्ठ अभिनेत्रीमा पुरस्कार लिई छाड्ने उनको अठोट पनि थियो । त्यसैले पनि नाटकका लागि मैले यो विषय जोरजाम गरेको थिएँ । महिला मित्रको रहर अनुसार उनको भूमिकालाई बलियो बनाउन मैले नाटकको लेखनदेखि नै मिहिनेत गरेको थिएँ । अवैध आशक्तिले लेखकलाई पनि कति भ्रष्ट बनाइदिँदोरहेछ भन्ने सानोतिनो उदाहरण म नै भएको थिएँ त्यतिबेला । 

निर्धारित मितिमा नाटकको पाण्डुलिपि दर्ता गरियो । नाटकको निर्देशन पनि मैले नै गर्ने भएको थिएँ । निर्देशन क्षेत्रमा मेरो गहिरो रुचि थियो । आफ्नो रुचिको बाटोमा हिँड्नका लागि यो नाटकको निर्देशन महत्त्वपूर्ण पाइलो हुन सक्थ्यो मेरा लागि । म चरम स्वप्नवादी भएको थिएँ । 

महोत्सवमा देखाउनका लागि सबैभन्दा पहिला त नाटकको पाण्डुलिपि नै स्वीकृत हुनु जरुरी थियो । त्यसपछि बल्ल रिहर्सल गर्ने क्रम सुरु हुन्थ्यो । सार्वजनिक प्रदर्शनअघि मञ्चमा नाटकको वास्तविक सेटमै पूर्ण प्रकाश व्यवस्था र ध्वनि संयोजनका साथ नाटकको ग्य्रान्ड रिहर्सल गर्नुपथ्र्यो । त्यो रिहर्सल नाटकका निर्णायकहरूले पनि हेर्थे र सर्वश्रेष्ठ नाटक, निर्देशक, लेखक, अभिनेता र अभिनेत्रीहरूको चयन त्यही दिन हुन्थ्यो । परिणाम भने नाटकको सार्वजनिक प्रदर्शन सकिएको एक–डेढ महिनापछि मात्र सार्वजनिक गरिन्थ्यो । 

नाटकको पाण्डुलिपि दर्तासँगै उनको चाकडी गर्ने क्रम सुरु भयो । महिला मित्रले पाण्डुलिपि दर्ता गरेकै भोलिपल्ट या पर्सिपल्ट बिदाको दिन पारेर उनलाई आफ्नो डेरामा सन्ध्याकालीन खानपानका लागि आमन्त्रण गरिन् । 

‘ल दाइ, हामीले नाटक दर्ता गर्‍यौँ । नाटक जसरी नि पास हुनुपर्‍यो ।’ ती दाइले स्वाट्ट एक पेग घुटुक्क पारेलगत्तै महिला मित्रले प्रभावपूर्ण भावभंगिमासहित आफ्नो कुरो राखिहालिन् ।

उनी उत्ताउलो पाराले मुस्कुराए । उनको शरीरमा कामुक खालको एँेठन भयो । उनले औँलाको अदुवा बनाए । सुँघे । र भने, ‘ओहो † नाटक त बुझ्नै गाह्रो रहेछ । अलिक सजिलो नाटक पो बुझाउनुपथ्र्यो ।’

उनको कुरो सुनेर म निराश भएँ । तर, महिला मित्रले कुरो सम्हालिन् । अलिक लाडे पल्टेर मारक र मोहक अदासहित भनिन्, ‘ तपाईंको जिम्मा भो अब । जसरी भए पनि पास गरिदिनु पर्छ ।’ 

महिला मित्रको अदाले भुतुक्क पार्‍यो क्यार उनलाई । उनले महिला मित्रतिर रोमान्टिक भावले हेर्दै भने, ‘नाटक त खास होइन । तर, तिमीले भनेपछि पास गरिदिने भएँ ।’ लगत्तै उनले मतिर हेरेर भने, ‘मेरो एउटा आग्रह छ भाइसित । निर्देशकमा बरू यिनै बैनीको नाम राख्नूस् । महिलाको भनेपछि निर्णायकहरूले अलिक महत्त्व दिन सक्छन् ।’

मैले बडो भारी मनले उनको कुरा मानेँ । मलाई त्यतिबेला नै लागेको थियो, त्यो उनको आग्रह थिएन, सर्त थियो । त्यो सर्त मान्न म विवश भएँ । निर्देशन क्षेत्रमा स्थापित हुने मेरो सपनामा तुषारो परेको थियो । म त्यसको चिसो सहन बाध्य थिएँ ।

अन्तत: उनकै कृपाले नाटक पास भयो । प्रदर्शन पनि भयो । अब परिणामको प्रतीक्षा थियो । महिला मित्रले भनिन्, ‘ती दाइको चाकडी नगरी पुरस्कार पाइन्न ।’

उनले फेरि बिदाको दिन पारेर दाइलाई साँझ खानपिनका लागि बोलाइन् । उनले फेरि एक पेग चढाएपछि औँलालाई अदुवा बनाए र सुँघ्दै बोले, ‘तिमीहरूको नाटक खासै राम्रो भएन । ग्य्रान्ड रिहर्सल पनि खत्तम भयो । निर्णायकहरू पनि त्यति खुसी भएनन् । सरुभक्तको नाटक गजब भन्दै थिए सबैले ।’

हो, गजब थियो सरुभक्तको नाटक । सायद ‘मलामीहरू’ शीर्षकको नाटक थियो त्यो । पोखरेली कलाकारहरूद्वारा अभिनीत प्रतीकात्मक अर्थ बोकेको सुन्दर नाटक थियो त्यो । नाटक महोत्सवको अन्तिम दिन प्रदर्शन भएको थियो त्यो नाटक र दर्शकहरूले निकै रुचाएका पनि थिए ।

उनको कुराले म निराश भइसकेको थिएँ । पुरस्कारको तीन हजार कसैले हातैबाट खोसेजस्तो लागेको थियो मलाई । तर, महिला मित्रले कुरा सम्हालिन् उसैगरी । मसक्क मस्काउँदै । मारक अदाका साथ ।

‘त्यसो भनेर कहाँ हुन्छ ? दाइले सरुभक्तको नाटकलाई फेल गराएर भए पनि हाम्रो नाटकलाई पुरस्कार दिलाइदिनु पर्छ ।’

उनले लामो सास फेरे र फेरि अदुवा सुँघ्दै भने, ‘खै, पुरस्कारै दिलाउन त सकिन्न होला ।’

‘त्यसो नभन्नू न दाइ, मलाई दाइबाट ठूलो आशा छ । दाइले चाहे जे पनि गर्न सक्नुहुन्छ । दाइ त एकेडेमीको पावरफुल मान्छे हो नि †’ महिला मित्रले रुँलारुँलाजस्तै गरेर याचना गरिन् ।

त्यसपछि उनी गजक्क परे ।

‘यसो गर । भोलि पनि मेरो बिदा छ । मलाई जसरी भए पनि भेट तिमीले ।’

महिला मित्रले उनको आदेश स्वीकार गरिन् ।

अर्को दिन साँझ महिला मित्रसित मेरो भेट भयो । उनी दिनभरि ती दाइसित लामै भेटवार्ता गरेर आएकी थिइन् । आउँदा उनको अनुहार उज्यालो थियो । आउने बित्तिकै अपार खुसीका साथ मलाई सुनाइन्, ‘गुड न्युज छ । मलाई सर्वश्रेष्ठ निर्देशक र तिमीलाई सर्वश्रेष्ठ लेखकको पुरस्कार जसरी भए पनि दिलाउने भए उनले । मेरै अगाडि निर्णायकहरूले दिएको पुरानो नम्बर मेटेर नयाँ नम्बर थपिदिए ।’

म मख्ख परेँ । एक–डेढ महिनापछि पुरस्कार घोषणा भयो । ती दाइले महिला मित्रसित गरेको वाचा–वन्धन इमानदारीसाथ पूरा गरे । मैले त्यति मिहिनेतले निर्देशन गरे पनि निर्देशनको पुरस्कार उनले पाएकी थिइन् । त्यो कुराले भने भित्रभित्र खिन्न बनाएको थियो मलाई । तर, चित्त बुझाउने बाटो के थियो भने मैले लेखन क्षेत्रमा आकर्षक नगदसहित पाएको मेरो जीवनको पहिलो पुरस्कार थियो त्यो । बिनाचाकडी र अनेक अवैध लफडाबिना त्यो पुरस्कार पाएको भए सम्भवत: जीवनभरि मलाई त्यसले आत्मसन्तुष्टि दिइरहन्थ्यो होला । तर, त्यसो हुन सकेन ।

कुनै पुरानो कागजपत्र खोज्दा अहिले पनि कुनै फाइलमा प्रज्ञा–प्रतिष्ठानले दिएको त्यो पुरस्कारको प्रमाणपत्र भेटिन्छ, जसबाट अझै पनि मलाई अदुवाको गन्ध आइरहेजस्तो लाग्छ । नमीठो गन्ध । ध

प्रकाशित: पुस १४, २०७४