वादी पीडा

- दिपेश नेपाल

सामाजिक आन्दोलनपछि अपूर्ण जित लिएर पुरानै दु:खको घेरोमा जीवन बिताउनुपर्ने बाध्यमध्ये एक हो, वादी समुदाय । उनीहरूमाथि युगौँदेखिको यौनात्याचार सामाजिक–धार्मिक नियतिजस्तै ठानेर वादी समुदायको कथा ओझेलमै पर्ने गरेको छ । ऐलानी उपन्यासमा देशले बिर्सिएजस्तो गरेको वादी समुदायको दु:खद यथार्थ र विगतलाई मनोवैज्ञानिक आवरणमा प्रस्तुत गरिएको छ । लेखक विवेक ओझाको यस उपन्यासमा देखिएका कथा पनि छन्, नदेखिएका पनि । तर, संवेदनशील विषयलाई यसले न्याय गरेको छ ।

फूलमायाले आफ्नो यौवनको कथा भनेकी छन्, जसमा अलिकति उनको गाउँ, परिवार, समुदाय र मुखियासँगको सम्बन्ध छ । हुर्कंदै गरेकी एउटी केटीले दुई छाक खानका लागि आफ्नो शरीर मालिक या परपुरुषलाई भोग्न दिनुपर्ने कुरालाई कठोर सामाजिक नियम मान्नुपर्ने, आजका आधुनिक मानिसको यौन जीवनका तमाम सम्बन्ध र गोप्यताहरू त्यहाँ सहजै भंग गर्नुपर्ने कुरा फूलमायाले सुनाउँदा अनौठो लाग्छ । छोरीको शरीरलाई कमाउने साधन मान्ने आमा हुनु, यौनदास हुने कुरा केटाकेटीदेखि घरका परिवारका सदस्यबीच सामान्य हुनु, यौन जीवनले चल्ने जीविका, संवेग र संंवेदनाहरूको रूप आजका मान्छेलाई अनौठो लाग्न सक्छ । तर, फूलमायाले मुखियासँगको प्रेमजस्तो भावनामा हुर्किएको कथा सुनाउँदा सारा वादी समुदायको प्रतिनिधि कथा भनेकी छन् । उपन्यासमा व्यक्तिगत र सामाजिक मनोविज्ञानको ढाँचामा वादी समुदायको विगत, वादी महिलाहरूले भोग्नुपरेको पीडादायी जीवन र यसैमा हुर्किएको प्रेम र सम्बन्धहरूको अनौठो रूपको नमुना भेटिन्छ ।

कथाशैलीमा कहीँ भावनात्मक प्रवाह टुटेको छ । तर, कथा र पात्रहरूको विकास स्वाभाविक लयमै बढेकाले पुस्तक पट्यारलाग्दो छैन । उपन्यासको आधाआधीसम्म केही मन्दगतिका पाठ पनि भेटिन्छन् र विम्ब–प्रतीकहरू पनि उति शक्तिशाली लाग्दैनन् । यसो भएर पनि आञ्चलिक संवादले कथामा उत्सुकता अन्तिमसम्म कायमै राख्छ । वाक्य गठन कतै पुरानो पनि लाग्छ र लेखकले पात्रलाई उछिनेर आफैँ बोल्न थालेको पनि थाहा हुन्छ । फूलमायाका बुबा, आमा, जल्लु दिदी, ठूली र अरू पात्रको चित्रण कथा आफैँले गरेजस्तो लाग्छ । तर, केही पात्र जस्तै ठूलीले भेटेकी सानी केटी, संवाद गरिरहेका दुई वृद्धा स्वाभाविक लाग्दैनन्, यसमा पनि लेखक देखिनु कमजोरी हो ।

विषयहरू सकिए, आख्यानमा नयाँ शैलीको मात्र जरुरी छ भन्ने कुरालाई माथ गरेको छ ऐलानीले । यद्यपि, आञ्चलिकताको सन्तुलित प्रयोग यसको गुण हो । मुखियाले फूलमायालाई लिएर घर गएपछि फूलमायाको मनोलोकका आवाजमा चाहनाहरूको विरोध भेटिन्छ, उनमा आएका परिवर्तन पाठकले अनुभूत गर्न सक्छन् र उनको वरपर समयक्रममा घट्ने वादी समुदायका पात्रको कथामा ठूलो अर्थ, जीवनदर्शन, अत्याचार र दु:खका स्वर सुनिन्छन् । उपन्यासमा त्यस्ता थुप्रै अनुच्छेद र संवाद छन्, जो आफ्नै हकमा कठोर र सशक्त भएर बोल्न सक्छन् । विशेष गरी बाकसभित्रको कवितात्मक लेख, जहाँ उपन्यासको सार र गहिराइ प्रस्ट भेटिन्छ, हतार र मर्म हुनेले त्यति मात्र पढ्दा पनि वादी समुदायको अगाडि लाजले निहुरिनुपर्ने कारण भेट्छन् । र, राज्यसत्तालाई क्रूर जवाफ पनि हो त्यो ।

उपन्यासमा वादी आन्दोलनको उल्लेख छ । र, अपूर्णतालाई छेड पनि । वसन्तीको संवादमा राजनीतिक अकर्मण्यता, पुस्तान्तर भइसक्दा पनि वादी समुदायमा यौनात्याचार पूर्ण निर्मूल हुन नसकेको कारण देखिन्छ । कल्पना गर्न गाह्रो भावना, बोल्न कठिन यथार्थ, विकृत लाग्ने चाहनाहरू पाठकलाई संवेदनशील साथै तार्किक हुन जोड गर्छन् । यो किताब आधा पढेर कथामाथि टिप्पणी गर्न अनुचित हुन्छ सायद । कथा संवेदनशील विषयको भए पनि यसले मुद्दाभन्दा औपन्यासिक सरलता पाएको छ । 

लेखकले बारम्बार प्रयोग गरिरहने अस्तव्यस्त, विगत, गुब्बाराजस्ता केही शब्दको विकल्प खोज्न सकेको भए सान्दर्भिक हुन्थ्यो । उमेर अनुसारको तार्किक क्षमता र शब्द प्रयोगको लय नमिल्नु ऐलानीको पनि समस्या हो । कथामा यो पनि खुल्दैन कि अमरले यात्रामा बोकेको पोकोमा के छ । जबकि, पानीमा भिज्दा ऊसँग फेर्ने लुगा पनि छैन । आँगनमा चिप्लिएको प्रसंगमा मुखियाको कुरा जोड्नु, अस्वाभाविक प्रकृति वर्णन गर्नु, धेरै कथाका पात्रलाई जस्तै सपनाबाट बिउँझनासाथ पसिनामा भिजाइदिनु आदि केही कुरा नभइदिएको भए कथा अझ राम्रो हुने थियो । सम्पादनको अभाव प्रस्ट देखिन्छ । 

विषय, प्रस्तुति, आञ्चलिकता, स्वाभाविक यौनमनोविज्ञान, सामाजिक भूगोल, कथानकको लयबद्धतामा उपन्यास सरल छ । साथै, पुस्तकबाट बाहिर निस्किएर बोल्न सक्नु पनि यसको खुबी हो, जुन पाठकले मनन गर्न सक्छन् । राजनीतिक, सामाजिक र देशीय मुद्दा भएकाले पनि होला– उपन्यासको कथामा अर्थ र गाम्भीर्यको प्रचुरता पाइन्छ । र, त्यसलाई प्रेम र भावनाको आवरण दिन सक्नु यसको खुबी मान्न सकिन्छ । कथाकी मूल पात्र फूलमायाले आफ्नोभन्दा सबैका बारेमा भनेकी छन् । स्थलगत अध्ययन र लेखनको प्रभावले होला– अतिरञ्जनामुक्त, मार्मिक, यथार्थ र प्रतिनिधि कृतिका रूपमा ऐलानीले वादी समुदायको कथा भन्न सकेको छ । 

 

ऐलानी

स्रष्टा : विवेक ओझा

प्रकाशक : सांग्रिला बुक्स

पृष्ठ : २६४

मूल्य : ३५० रुपियाँ

प्रकाशित: पुस १४, २०७४