स्वाभिमानी हर्क

- वसन्तप्रताप सिंह

‘उमेर १ सय ३ वर्ष । नाम हर्कबहादुर थापा । काठमाडाँै ज्ञानेश्वरमा जन्मेको हुँ । बझाङी राजाले सानैमा यहाँ ल्याएका हुन् ।’ बझाङ, खप्तड छान्ना गाउँपालिकाको पसल–बगरनजिक बाटोमा घुम्ती पसल चलाइरहेका वयोवृद्ध थापा आफ्नोबारेमा सोधीखोजी गर्नेलाई एकै सासमा आफ्नो छोटो परिचय सुनाउँछन् ।

उनलाई तत्कालीन चौतारिया दिलबहादुर सिंहले काठमाडाँैबाट बझाङ ल्याएका रहेछन् । लामो समय सिंहकै घरमा काम गरेका थापा पछि काठमाडौँ फर्केनन् । यतै घरजम गरे । उनका तीन छोरी छन् । छोरीतर्फका नातिहरु पनि बाबु बनिसकेका छन् । श्रीमती बितेको पनि २० वर्षजति भयो । लामो समय सिंहकै घरमा काम गरेका उनी अहिले माइली छोरीको घरमा बस्छन् । 

अनौठो के छ भने उमेरले शताब्दी काटिसक्दा पनि थापा आफ्ना लागि आफैँ कमाउँछन् । बरु, आफूले कमाएको केही अंश छोरीको परिवारलाई पनि सहयोग गर्छन् । उनले घुम्ती पसल चलाउन थालेको पनि २० वर्षभन्दा बढी भयो । “पहिला–पहिला पाखुरा चलाएर खाइन्थ्यो । अब त बूढो पनि भएँ, कान पनि सुनिँदैन,” थापा घुम्ती पसल चलाउनुको रहस्य खुलाउँदै बताउँछन्, “श्रीमती बितेपछि दिन कटाउने मेलो पनि हुन्छ भनेर सुरू गरेको हुँ ।”

अरुको भरमा बाँच्नु उनका लागि पीडादायी हुँदो रहेछ । सायद यही स्वाभिमानी सोचले नै उनी अहिलेसम्म पनि स्वस्थ छन् । थापा भन्छन्, “जतिसम्म सक्छु आफ्नै बलमा बाँच्छु । मेरो कारण अरुलाई दु:ख नहोस् । यति भए पुग्छ । अरुको मागी खानुभन्दा त मर्नु नै जाति लाग्छ ।” उनको पसल घामको तालमा घुम्छ । बाटोमा जताजता घाम लाग्छ, उनी पसल राखेको प्लास्टिकको बोरा उतैउतै तान्छन् । घाम डुबेपछि सामान त्यही बोराभित्र हालेर छोरीको घरको अगेनाछेउ पैसा गन्छन् । दिनमा एक सयदेखि पाँच सय रूपियाँसम्मको व्यापार हुने गरेको उनको भनाइ छ । 

लामो आयु बाँच्नुको कारणबारे उनको जवाफ सटीक छ । भन्छन्, “मैले कसैको कुभलो नचिताएका कारण भगवान्ले मलाई दया गरेर संसार हेर् भनेर छोडिदिए ।”

 

जागिरे अधिकारकर्मी 

महिला तथा बालबालिका कार्यालयबाट फोन आयो, “तपार्इंले बझाङकी एउटी महिलाको बिचल्ली भयो भनेर समाचार लेख्नुभएको रहेछ । के त्यो साँचो हो ?” फोन गर्ने महिलाले रुखो बोलीमा सोधे पनि मैले नरम भएर व्यंग्यात्मक जवाफ फर्काएँ, “तपार्इंलाई के लाग्छ ? साँचो हो कि झूट्टो हो भन्ने कुरा एकपटक आफैँ गएर बुझ्नुभए राम्रो होला । मैले त समाचारमा सबै कुरा लेखेकै छु । पढिहाल्नुभयो होला ।” तुरुन्तै ‘ल–ल’ भन्दै उनले फोन काटिन् । 

केही बेरपछि फेरि त्यही नम्बरबाट घन्टी बज्यो । बोल्ने आवाज पनि पहिलेकै थियो । “हामीले महिलाको उद्धार गरिदिनका लागि प्रहरीलाई खबर गरेका छौँ । तपार्इं उहाँहरुसँग गइदिनुपर्‍यो ।” ती महिला भएको ठाउँ पुग्न पाँच घन्टा पैदल हिँड्नुपर्ने भएकाले त्यहाँ जान मलाई समय नहुने भन्दै मैले महिला रहेको ठाउँको लोकेसन र त्यहाँ प्रहरीलाई सहयोग गर्न सक्ने मान्छेको सम्पर्क नम्बर बताइदिएँ । बरु, महिला विकास कार्यालयकै कुनै महिला कर्मचारीलाई पनि सँगै पठाउन पाए राम्रो हुने कुरा सुझाएँ । 

ती महिलाले झर्किंदै भनिन्, “आफू जान नसक्ने भए किन समाचार लेख्नु, पत्रकारले के के लेखिदिन्छन् । टाउको दुखाइ हाम्रो हुन्छ ।” म धेरै बाझ्न चाहिनँ । “मैले त्यहीँ पुगेर पीडितलाई भेटेर समाचार लेखेको हो । यसले तपार्इंको टाउको दुखायो भने म के गर्न सक्छु ?” फोन काट्ने पालो मेरो थियो । हरे हाम्रा जागिरे अधिकारकर्मी !

 

इन्द्रको सपना 

मानवतावादी जयपृथ्वीबहादुर सिंहको नाम सम्मानपूर्वक लिइन्छ । राणाकालमा पनि उनले बझाङजस्तो विकट क्षेत्रमा शिक्षा, स्वास्थ्य, उद्योग र अन्य विकास निर्माणमा पुर्‍याएको योगदानका कारण जिल्लामा उनको नाम आदरपूर्वक लिने गरिन्छ । तर, तत्कालीन बझाङी राजासमेत रहेका उनका धेरैजसो दरबार भने बेवारिसे अवस्थामा छन् । कतिपय भग्नावशेषमा परिणत भइसकेका छन् । 

छबिस–पाथिभेरा गाउँपालिकामा रहेको व्यांसीकोट दरबार भने अहिले पनि उस्तै छ । सफा चिटिक्क, सुन्दर फूलबारी, दरबार परिसरमा रहेको मन्दिरको स्याहार त्यहाँका स्थानीय इन्द्रबहादुर सिंहले गरिरहेका छन् । बस्तीबाट झन्डै आधा घन्टा टाढा रहेको यो बेवारिसे दरबारको सुरक्षा गर्नका लागि इन्द्रले आफ्नो घरबार त्यागेका रहेछन् । ६० वर्षका उनी दरबार छेउमा रहेको वृषेश्वर महादेव मन्दिरको एउटा कुनामा सुत्छन् । दरबारको सरसफाइ र पूजापाठमा रमाएका सिंहले १२ वर्षदेखि चार छोराछोरी र श्रीमतीको सामीप्य छाडेर दरबारलाई प्रेम गर्न थालेका रहेछन् । 

“घरकै मान्छेले पनि काम गर्न अल्छी लागेर यता आएको भन्छन् रे !” दरबारलाई प्रेम गर्नुको कारण खुलाउँदै उनले भने, “मेरो जात, धर्म र रंग नै मानवता हो भनेर जयपृथ्वीले राजाको पद्वी छोडेर हिँडे । 

यस्ता व्यक्ति बसेको दरबारलाई यसै भत्किन दिनु हुँदैन । यसको संरक्षण तिमीले गर्नुपर्छ भनेर मलाई सपना भयो । त्यही दिनदेखि मैले घर छोडिदिएँ ।” 

प्रकाशित: पुस १२, २०७४