भूलचूक व्यवस्थापानकै

  • विदेशी कलाकारको आगमन फलदायी तर संयोजनमा चुनौती

- गोकर्ण गौतम

दरबारमार्गस्थित क्लब देजाभुमा करिब तीन हजार संगीतप्रेमी व्याकुल देखिन्थे, २६ मंसिरको साँझ । व्यग्र प्रतीक्षा थियो, विख्यात डिजे मार्समेल्लोको । हेभी इलेक्ट्रोनिक डान्स म्युजिकबाट संसारलाई लोभ्याइरहेका यी डिजे पूरै टाउको ढाक्ने मास्क र सेतो टिसर्ट–पाइन्टमा मात्र पर्फम गर्छन् । ‘क्लब कल्चर’मा अभ्यस्त हुँदै गएकाहरू ३ हजार ५ सयदेखि पाँच हजार रुपियाँसम्मको टिकट काटेर देजाभु पुगेका थिए, उनै मार्समेल्लोको संगीतमा झुम्न तर अप्रिय घटनासँग साक्षात्कार गर्नुपर्‍यो । पूर्वनिर्धारित समय अर्थात् राती १० बजे मार्समेल्लो डिजेइङका लागि क्लबमा उपस्थित भएनन् । क्लब सञ्चालकले ११ बजे आउने जानकारी दिए । अझ आएनन् । त्यसपछि १२ बजे आउने भनियो । दर्शकले कुरिरहे । १ बज्यो । मार्समेल्लो आएनन् । बरू उनी नआउने जानकारी गराइयो । 

त्यति महँगो टिकट अनि तीन घन्टा प्रतीक्षाले दर्शक उत्तेजित भइसकेका थिए । क्लबमा तोडफोड भयो । बिहान ३ बजेसम्म झन्डै १७ करोड रुपियाँ बराबरको नोक्सान भयो । चार जना घाइते भए । प्रहरीले ६ जना क्लब सञ्चालक र दुई जना इभेन्ट आयोजकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीका अनुसार उनीहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही अगाडि बढाइएको छ । केसी भन्छन्, “मार्समेल्लोका नाममा ठग्ने नियत देखियो । सम्झौता भएको कुनै कागजात छैन ।”

मार्समेल्लोको त कार्यक्रम सफल भएन तर ख्यातिप्राप्त विदेशी कलाकारको प्रस्तुति बाक्लिन थालेको छ, हामीकहाँ । पश्चिमा संगीतका ब्रायन एडम्सदेखि माइकल लन्र्स टू रक (एमएलटीआर) हुँदै भारतका हिमेश रेसमियासम्म आफ्नो गायिकीको जादु छर्न नेपाल आइपुगे, व्यावसायिक रूपमै । ती कार्यक्रम उत्साहप्रद रहे, जसले प्रत्यक्ष रूपमा दर्शकलाई मनोरञ्जन त प्रदान गर्‍यो नै, नेपालको पर्यटन विकासमा अप्रत्यक्ष भूमिका खेले पनि । तर, प्रचार–प्रसार गरिए अनुरूप सबै अन्तर्राष्ट्रिय कलाकारको कार्यक्रम सफलचाहिँ भएका छैनन् । कतिपय आयोजकको नियतमै खोट देखिनु अर्को विडम्बना हो । धन्न † क्लब देजाभुमाझैँ भौतिक क्षति र ठगीचाहिँ भएको पाइन्न यसअघि । नत्र कलाकारसँग आधिकारिक सहमति नहुँदा अनि स्थानीय प्रशासनको अनुमति नलिँदा तामझामका साथ प्रचार गरिएका कार्यक्रम रद्द भएका उदाहरण प्रशस्त छन् । दुई दशकदेखि इभेन्ट म्यानेजमेन्ट व्यवसायसँग आबद्ध सञ्चारकर्मी प्रभात रिमाल भन्छन्, “कुनै बेला गलँैचा कम्पनीजस्तै अहिले इभेन्ट म्यानेजमेन्ट कम्पनी खोल्ने लहर आएको छ । त्यसैले बिनापूर्वाधार र योजना कार्यक्रम गर्न हतारिँदा विश्वसनीयतामा आँच आइरहेको छ ।” एउटा कार्यक्रम रोकिँदा वा असफल हुँदा समग्र इभेन्ट व्यवसायमै गहिरो र दीर्घकालीन असर पुग्ने तीतो यथार्थ सुनाउँछन् उनी । 

त्यसो त सामान्य आयोजक मात्र होइन, एनसेलजस्तो ठूलो कम्पनीले आयोजना गरेको कार्यक्रमसमेत रद्द भएको छ । २७ मंसिर ०७१ मा लोकप्रिय भारतीय गायक सोनु निगम र कमेडीयन कपिल शर्माले दशरथ रंगशालामा प्रस्तुति दिने घोषणा गर्‍यो, एनसेलले । सहरभरि ठूलठूला होर्डिङ बोर्ड राखियो । सामाजिक सञ्जालमार्फत उस्तै प्रचार गरियो । तर, कार्यक्रम हुन सकेन । कारण हो, हजारौँ उपस्थित हुने उक्त कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिइएको थिएन, न त सुरक्षा व्यवस्था नै मिलाइएको थियो । सोही कारण स्थानीय प्रशासनले कार्यक्रम हुन दिएन । कतिसम्म भने काठमाडौँ आइसकेका कपिल बिनाप्रस्तुति फर्किन बाध्य भए । त्यसअगाडि २ चैत ०६९ मा चर्चित सांगीतिक समूह डीप पर्पलले काठमाडौँमा गर्ने भनेको कन्सर्टको हालत पनि भिन्न रहेन । इभेन्ट आयोजक थियो, ओडीसी इन्टरटेनमेन्ट अनि कलाकार व्यवस्थापकचाहिँ जेसेटपीआर नामक कम्पनी । डीप पर्पल सिंगापुरको कन्र्सट सकेर नेपाल आउने भनिएको थियो । तर, उनीहरू लन्डन फर्किए । किनभने, जेसेटपीआरले पारिश्रमिक भुक्तान गरेको थिएन । ओडिसीले चाहिँ बुझाइसकेको थियो । सोही कारण जेसेटपीआरका नेतृत्वकर्ता शीतलप्रताप सिंह नौ महिना जेल परे । ओडिसीले माफी माग्दै टिकट फिर्ता गर्‍यो । 

ओडिसी त्यही कम्पनी हो, जसले त्यस अगाडि ब्रायन एडम्स, एमएलटीआर र आतिफ अस्लमलाई नेपाल ल्याइसकेको थियो । एडम्सको कन्सर्ट त नेपालको हकमा अहिलेसम्मकै ‘बिग इभेन्ट’ मानिन्छ । ‘समर अफ सिक्स्टी नाइन...’, ‘एभ्रिथिङ आई डू...’, ‘रन टू रन...’जस्ता संसारभर चर्चित गीतका सर्जक एडम्सले २८ हजार दर्शकमाझ दशरथ रंगशालामा भव्य कन्सर्ट गरेका थिए, १० फागुन ०६७ मा । कन्सर्टकै लागि भारत, दुबई र सिंगापुरबाट समेत उनका फ्यान नेपाल आए । १० हजार रुपियाँमा उनीजस्ता सुप्रसिद्ध गायकलाई ‘लाइभ’ सुन्न/हेर्न पाउनु चानचुने कुरा थिएन पनि । भारतमा सुरक्षाका कारण कन्सर्ट रद्द गरिएको थियो । सायद यही कारण हुनुपर्छ, यहाँ कन्सर्ट सकिनासाथ एडम्सले ‘नेपाल अमेजिङ’ भन्दै ट्वीट गरेका थिए । 

साँच्चै भन्दा यसपछि नै हो, नेपालमा विदेशी गायक/गायिकाको कार्यक्रमले नियमितता पाएको । जस्तो : ओडिसीले नै अर्को वर्ष रक ब्यान्ड एमएलटीआर ल्यायो । हवाई टिकट र आतिथ्यताबाहेक ब्यान्डलाई एक लाख डलर दिइएको थियो । १८ जनाको टिमले टुँडिखेलमा लगातार तीन घन्टा गीत गाएर दर्शक झुमाएको थियो । त्यस्तै, बलिउडको पाश्र्व गायनमा प्रभाव जमाइरहेका पाकिस्तानी गायक आतिफ अस्लमले १५ मंसिर ०६९ मा टुँडिखेलमा गरेको कन्सर्ट निकै सम्झनालायक मानिन्छ । 

यसरी लगातार तीनवटा कार्यक्रम सफल आयोजना गरेको ओडिसी डीप पर्पलको घटनापछि पाँच वर्ष सुस्तायो । तर, फेरि भव्य कार्यक्रम लिएर आउँदैछ, २६ फागुनमा । ‘दबंग द टुर नेपाल’ नाम दिइएको मनोरञ्जनात्मक कार्यक्रममा बलिउड नायक सलमान खानले पहिलोपटक नेपालमा लाइभ पर्फमेन्स गर्ने निधो भएको छ । ओडिसीका प्रमुख कार्यकारी अधिकृत सीमान्त गुरुङ भन्छन्, “यो कार्यक्रमको मुख्य उद्देश्य विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण गर्दै विश्वसामु नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिनु हो ।” नेपालमा भारतीय गायक/गायिकाको कन्सर्ट त सामान्य हुन थालेको छ । मोहित चौहान, कुमार सानु, मिका सिंह, सुनिधि चौहान, मोनाली ठाकुरदेखि र्‍यापर वादशाहसम्मले काठमाडौँमा कार्यक्रम गरिसकेका छन् । गत असारमा युवापुस्तामाझ लोकप्रिय अंग्रेजी गायक जे सिनले कन्सर्ट गरे । 

शंकै छैन, संसारभर नाम कमाएका कलाकार नेपाल आएर प्रस्तुति दिँदा देशकै ‘ ब्रान्डिङ’ भइरहेको हुन्छ । जो नेपाल आउँछन्, सबैले आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा ‘नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथा’ र ‘गौतम बुद्धको जन्मस्थल’का रूपमा प्रचार गर्छन् । नेपाल घुम्नका लागि सुरक्षित देश भनेर लेख्छन्/बोल्छन् । यसले पनि पर्यटन प्रवद्र्धनमा भूमिका खेल्छ । जस्तो : अंग्रेजी रक ब्यान्ड रोलिङ स्टोनका लिड भोकलिस्ट मिक जीकर सन् ’८० को दशकमा नेपाल घुम्न आएका थिए । फर्केपछि उनले आफ्ना गीतहरूमा सारंगीको धुन मिसाए । बब सिगर र क्याट स्टिभन्सले त ‘काठमाडौँ...’ भन्ने गीत नै गाएका छन् । जोन लेलनको ‘नोबडी टोल्ड मी...’ शीर्षक गीतमा ‘दियर इज लिटिल यल्लो आइडल टू द नर्थ अफ काठमान्डु’ भनेर बखान गरिएको छ । एनिग्मा ब्यान्डले खोकनामा भिडियो सुट गरेर त्यहाँको सौन्दर्यलाई विश्वव्यापीकरण गर्‍यो । “विदेशी कलाकारको आगमन बाहिरी दुनियाँमा नेपालको सकारात्मक छवि निर्माण गर्न फलदायी हुन्छ,” सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय कन्सर्ट होस्ट गरेका दिनेश डिसी भन्छन्, “तर, आलोकाँचो र गलत नियतले इभेन्ट गरियो भने विदेशी कलाकार मात्र होइन, स्वदेशकै दर्शकमाझ पनि साख बिग्रन्छ ।” 

प्रकाशित: पुस १२, २०७४