असामाजिक कार्यविरुद्ध फेसबुक

- नेपाल संवाददाता

फेसबुक वा म्यासेन्जरमा अरुलाई गालीगलौज गर्ने र नराम्रा कुरा फैलाउने गर्नुभएको छ भने अब होसियार रहनुहोला । किनभने, यस्ता नकारात्मक कुरालाई रोक्न फेसबुकले अनेक उपाय ल्याउँदैछ । नकारात्मक कामकै लागि बनाइएका फेक अकाउन्टलाई ब्लक गर्न फेसबुक त पहिलादेखि नै लागिपरेको हो ।

अब भने फेसबुक र म्यासेन्जरमा यस्ता टुल राखिने भएका छन्, जसले फेक अकाउन्ट चलाइने डिभाइसका आईपी एड्रेस रेकर्ड गर्नेछ । र, यी डिभाइसबाट चलाइने हरेक अकाउन्टहरु फेसबुकको कडा निगरानीमा पर्छन् । एकपटक कसैले रिपोर्ट गरिसकेका अकाउन्टहरु अरु कुन–कुन डिभाइसबाट लगइन भइरहेका छन् भनेर पत्ता लगाउन पनि गाह्रो हुने छैन ।

यसैगरी म्यासेन्जरमा अब इग्नोर फिचर पनि आउँदैछ । कसैले अनावश्यक रुपमा लगातार म्यासेज पठाएको खण्डमा प्रयोगकर्ताले त्यस्ता अकाउन्टका म्यासेजलाई इग्नोर गर्न सक्नेछन् । इग्नोर गरिएका अकाउन्टबाट आएका म्यासेजको कुनै नोटिफिकेसन आउने छैन । र, पठाउनेलाई पनि थाहा हुने छैन कि उनीहरुको म्यासेज इग्नोर गरिएको छ भनेर ।

प्रकाशित: पुस १२, २०७४