अब वायुवाद

- लुकुवा बाजे

पश्चिमा जगत् आफूलाई अहिलेको चरम भौतिक विकास, ज्ञान–विज्ञानको प्रवर्तक मान्छ । जति पनि खोज, सिद्धान्त जन्मिए, ती सबै आफ्नै देन ठान्छ । हुँदाहुँदा नेपालको हालसालै सम्पन्न चुनावी नतिजाको अन्वेषण गरेर अर्को सिद्धान्तसमेत जन्मायो, वायुको धार परिवर्तनबारे । सिद्धान्त अनुसार यसअघि प्रभावशाली देखिएको दक्षिणी वायुलाई उत्तरी वायुले विस्थापित गर्‍यो । ब्रह्माण्डको छेउमा रहेको थोप्लो आकारको मानचित्रमा देखापरेको यो सिद्धान्तलाई पश्चिमा जगत्का सबै ख्यातिप्राप्त मिडियाले ठूलो आकारमा स्थान दिए ।

यसले बाजेलाई सोचमग्न बनायो । वायु । ब्रह्माण्डीय पञ्चसृष्टिमध्येको प्रमुख तफ्व । वायुले हर कुराको आयु तोक्छ । जसरी पश्चिमी वायुले मौसमको आयु तोक्छ, त्यसरी नै उत्तरी र दक्षिणी वायुले राजनीतिको आयु तोक्ने रहेछ । हाम्रो पूर्वीय अनुभवले समेत यो वायु सिद्धान्त स्वीकारेको जगतै जान्दछ । नभए हाम्रा राष्ट्रवादी नेता, हुनेवाला प्रधानमन्त्री कमरेड केपी ओली चार–चारवटा वायुयान लिएर उत्तरतिर किन हानिन्थे ? सायद, उनी वायुयानबाटै नेपालतिर बहने वायुको घनत्व नाप्न चाहन्थे । तर, कतै यो आगन्तुक ‘वायु सिद्धान्त’ पनि हावाझैँ फुस्सा हुने त होइन कमरेड तपाईंहरुको साम्यवादी सिद्धान्तजस्तै ?

प्रकाशित: पुस १२, २०७४