रारा किनारमा राजा–रानी

- रेवतीरमण खनाल

वि सं ०४१ को कुरा हो । राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा सुर्खेतमा सवारी क्याम्प खडा गरेर सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए । दरबारका मुख्य पदाधिकारी र म राजालाई सम्बोधन गरेर आएका बिन्तीपत्र र निवेदन हेर्ने भनेर त्यस टोलीमा सहभागी भएका थियौँ । त्यसै क्रममा मुगु जिल्ला सभापतिले रारा महोत्सव उद्घाटन समारोहका लागि भनेर राजा–रानीलाई विशेष निमन्त्रणा पठाए । राजारानी त्यता जाने कुरा भयो । 

त्यो कुरा सुन्ने बित्तिकै मलाई पनि राराको मनमोहक दृश्यपान गर्ने अवसर मिले कस्तो हुन्थ्यो होला भन्ने मनमा लागिरह्यो । झट्ट मैले राजा महेन्द्रले मबीबी शाहका नाममा रचना गरेको फेरि उसैका लागि कवितासंग्रहमा समेटिएको ‘राराकी अप्सरा’ कविता सम्झन पुगेँ । मन त्यसै रोमाञ्चित 

भएर आयो ।

राजा–रानीका अतिरिक्त थोरै कर्मचारी मात्र त्यस टोलीमा सहभागी गराउने कुरा चलिरहेको थियो । सुर्खेतको सवारी क्याम्पकै पालभित्र बसेर एडीसीहरूले सवारीका लागि कार्यक्रम बनाउने र को को जाने भनेर नाम संकलन गरिरहेका थिए । पालबाहिर त्यसै टहलिरहेको मैले राजा वीरेन्द्र त्यहाँ प्रवेश गरेको देखेपछि उनले प्रस्ट सुन्ने गरी ‘फेरि उसैका लागिमा पढेको रारा देख्ने सौभाग्य पाए आफूलाई धन्य ठान्ने थिएँ’ भनेँ । केही छिनपछि पालभित्रबाट बाहिर निस्किँदै राजाले ‘ल ल तिमीलाई पनि कार्यक्रममा राखिदिएको छुु’ के भनेका थिए, मेरो त खुसीको सीमै रहेन ।

खाना खाइवरी एउटा हेलिकप्टरमा राजा–रानी र अर्कोमा हामी कर्मचारी चढेर रारातर्फ लाग्यौँ । रारा ताल आफैँमा मनमोहक र सुन्दर थियो, त्यसमाथि महोत्सव नै आयोजना गरिएकाले त्यसको थप रौनक बढेको थियो । एक किसिमले दुलही सिँगारिएजत्तिकै झकिझकाउ थियो रारा ताल । कुनै धर्मशाला वा पौवाजस्तो ठाउँमा कार्यक्रम आयोजना गरिएको थियो । राजा–रानीलाई भव्य स्वागत–सत्कारका साथ मञ्चमा आसीन गराइयो । हाम्रा लागि तोकिएको ठाउँमा हामी बस्यौँ । 

कार्यक्रम सुरु हुनुपूर्व नै हामीलाई राराको दृश्यावलोकन गराइयो । पुस महिनाको जाडो अचाक्ली बढेको थियो । रारा तालको वरिपरिका सल्लाका रूखमा अडिएको हिउँले गर्दा त्यो स्थान झनै सुन्दर देखिन्थ्यो । राराको तलाउमा ती सल्लाका रूखको छाया यति सुन्दर र मनमोहक देखिन्थ्यो कि यहाँ बयान गरेरै साध्य छैन । स्थानीय बासिन्दाका अनुसार राराको पानी कहिले वैजनी त कहिले नीलो एवं सूर्योदय र सूर्यास्तका समयमा सूर्यकिरणले गर्दा सुवर्णमय देखिन्छ रे † हामीले देख्दा भने राराको पानी गाढा नीलो र स्वच्छ थियो ।

कार्यक्रम समापनतर्फ अघि बढ्दै थियो, ठूलै आँधी आउने जस्तो गरी अचानक हावाहुरीसहित बादल मडारिन थाल्यो । तत्काल कार्यक्रम छोट्याएर जनता र आयोजकहरूलाई आ–आफ्नो घरतर्फ जान भनियो । हामी पनि बाटो लाग्ने भनेर हेलिकप्टर ल्यान्ड गरेको चौरतर्फ लाग्यौँ । त्यत्तिकैमा आँधी र बादलले छोपिहाल्यो । राजा–रानी र हामी सवारीका साथ गएका केही कर्मचारी–सुरक्षाकर्मी मात्र त्यहाँ बाँकी रह्यौँ ।

साँझ झमक्क हुनासाथ आँधी रोकियो । तर, अब हेलिकप्टर उडाउन सम्भव थिएन । त्यस रात त्यहीँ बस्नुपर्ने भयो । हेलिकप्टरमा रहेका केही गलैँचा झिकेर ल्याइयो र राजा–रानीलाई बस्ने व्यवस्था मिलाइयो । बचेका केही गलैँचामा हामी बस्यौँ । अब रातभर भोकै बस्ने कुरा भएन । सवारीसँगै लगिएका केही ‘ड्राइफुट’ र पानी पियौँ । अब रात कसरी कटाउने होला भन्ने समस्या आइलाग्यो ।

राजाबाट सुझाव आयो, ‘ एउटा धुनी जगाओ र गीत गाएर रात कटाओ ।’ सुरक्षाकर्मीले काठ आदिको व्यवस्था गरी आगो बालेपछि मादल बजाउने र गीत गाउने गर्न थाले । हामीले आगोको राप लिँदै गीत सुनेर बस्यौँ । जसै रात छिप्पिँदै गयो, गीत पनि सकिए । त्यसपछि राजा–रानीबाहेक सबैले पालै पालो गरेर गीत गाउनुपर्ने कुरा भयो । म गीत गाउन नजान्ने । मैले भजन गाएँ । 

ब्रह्म कमलैमा, ब्रह्म कमलैमा, विष्णु सुते जलैमा, ब्रह्म कमलैमा, ब्रह्म कमलैमा, शिव सुते हिमालैमा, ब्रह्म कमलैमा, ब्रह्म कमलैमा, राजारानी धेरै भयो फेवा किनारैमा, फेवा किनारैमा, आज भने जागै यहाँ रारा किनारैमा, रारा किनारैमा, ब्रह्म कमलैमा, ब्रह्म कमलैमा, विष्णु सुते जलैमा, ब्रह्म कमलैमा । यस्तो भजन गाउँदा गाउँदै कतिखेर हाम्रा आँखा लागेछन्, पत्तै भएन । यसो आँखा उघार्दा त बिहान झिसमिसे भएको थियो । त्यसपछि हामी सबैले नित्यकर्म सकी सवारी क्याम्प सुर्खेत फर्कियौँ । यसरी रातभर रारा किनारमा बिताएर सुर्खेत फर्किंदा बेग्लै अनुभूति सँगालेको अनुभव थियो ।

 प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: पुस १२, २०७४