नेपालमा स्याङयोङको रेक्सटन

- नेपाल संवाददाता

नेपाली बजारमा स्याङयोङका रेक्सटन गाडी सार्वजनिक भएका छन् । स्याङयोङ कोरियाको चौथो ठूलो मोटर कम्पनी हो । हाल नेपालमा लन्च भएका स्याङयोङका गाडीहरुको मूल्य एक करोड रूपियाँ भन्दा माथि छ । नेपाली ग्राहकले रेक्टनमा म्यानुअल वा अटोमेटिक ट्रान्समिसन रोज्न सक्नेछन् । म्यानुअल ट्रान्समिसन भएको रेक्सटनमा ६ गियर छन् र अटोमेटिक भेरिएन्टमा सात । यीमध्ये अटोमेटिक ट्रान्समिसन भएको स्याङयोङ रेक्सटनको मूल्य झन्डै १ करोड २० लाख रूपियाँ पर्छ । त्यस्तै म्यानुअल ट्रान्समिसन भएको रेक्सटनलाई झन्डै १ करोड १२ लाख रूपियाँ पर्छ ।

यो गाडीमा २२ सय सीसीको टर्बो डिजल इन्जिन प्रयोग भएको छ, जसले बढीमा १ सय ७८.५ ब्रेक हर्सपावरको शक्ति निकाल्छ । र, यसको अटोमेटिक भेरिएन्टमा मर्सिडिज बेन्जको अटोमेटिक ट्रान्समिसन प्रयोग गरिएको छ । एसयूभी वर्गमा पर्ने यो कारमा २०.८ सेन्टिमिटरको ग्राउन्ड क्लियरेन्स छ । यसमा सात जनाका लागि आरामदायी सिट राखिएको छ ।

७८ लिटर क्षमताको फ्युल ट्यांक रहेको यो गाडीले १२.४ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरिएको छ । चालक तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यसमा नौवटा एयर ब्याग राखिएका छन् । इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रब्युसन, एन्टिलक ब्रेकिङ सिस्टम, हिल एसिस्ट सिस्टम, हिल डिसेन्ट कन्ट्रोल आदि यसका अन्य फिचर हुन् ।

प्रकाशित: पुस ११, २०७४