पुल पर्खंदै

  • साढे चार दशकदेखि सम्पन्न हुन नसकेको मेची पुल

- पर्वत पोर्तेल

समयमै मेची पुल बनेको भए झापाको भद्रपुर जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमा दरिन्थ्यो । तर, उक्त पुलका लागि यति ठूलो राजनीति भयो कि जसले गर्दा भद्रपुर जिल्लाकै पछौटे सहरमा खस्कियो । झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे अझ पनि यसमा थकथकी मान्छन् । विकासविरुद्घ गरिएको राजनीतिले भद्रपुरलाई कसरी ‘मृत सहर’का रूपमा परिणत गरिदियो भन्ने कुरा घिमिरेको कथनबाट पनि पुष्टि हुन्छ । 

भद्रपुरका पुराना बासिन्दासमेत रहेका व्यवसायी घिमिरेको भनाइलाई आधार मान्ने हो भने समयमै पुल बन्न पाएको भए भद्रपुर बजार समृद्ध बन्ने पक्का थियो । भारत, बिहारको गलगलियासँग मात्रै होइन, बंगलादेशसँगको सोझो व्यापारिक सम्बन्धले पनि सहर गुलजार हुने आधार थियो । 

विसं ०२५ ताका जब पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग बन्न थाल्यो, त्यसपछि भद्रपुर उपेक्षित बन्दै गएको घिमिरे बताउँछन् । “पूर्व–पश्चिम राजमार्ग नै काँकडभिट्टाबाट बन्ने भएपछि यता बन्ने भनिएको मेची पुल उता सारिएको हो,” भद्रपुरका पुराना व्यवसायी ओम सरावगी सम्झिन्छन् । सरावगीका अनुसार ०३४ अघि मुख्य भन्सार कार्यालय भद्रपुरमै थियो । राजमार्ग निर्माणपछि काँकडभिट्टामा कार्यालय स्थानान्तरण गरिएको थियो । सरावगी भन्छन्, “मूल भन्सार यहीँ भएको भए पहिल्यै पुल बनिसक्थ्यो ।” 

करिब ६ दशकदेखि स्थानीयले प्रतीक्षा गरेको मेची पुल अझै बन्न सकेको छैन । तर, पुल शिलान्यासको शृंखला भने निकै लामो छ । २१ माघ ०६६ मा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले पुल शिलान्यास गरेका थिए । शिलान्यास भएको नौ वर्ष बित्यो तर अझै पूर्ण रूपमा पुल तयार भएको छैन । पुल निर्माणका लागि प्रारम्भिक लागत अनुमान करिब ३३ करोड रुपियाँ थियो । तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर, निर्धारित समयभन्दा तेब्बर समयसम्म पनि ५ सय ६० मिटर लामो र ११ मिटर चौडा पुल पूर्ण रूपमा तयार हुन सकेको छैन । समयावधिसँगै पुलको लागत खर्च पनि बढेर ४० करोड रुपियाँ नाघेको निर्माण कम्पनी अनक–सूर्य जेभीले दाबी गरेको छ । 

निर्माण कम्पनीका इन्जिनियर सुरेश खतिवडाले पुल निर्माणको करिब ९५ प्रतिशत काम सकिएकाले अब चाँडै पुल सम्पन्न हुने दाबी गरे । खतिवडाका अनुसार पुलको १० र ११ नम्बरको पिलर माटोमुनि गाड्ने क्रममा बाँगिएकाले केही समय लम्बिएको हो । भन्छन्, “माटो परीक्षणको गलत रिपोर्टका कारण समय लम्बिन पुग्यो ।” 

फागुन ०७२ मा सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियरसहितको टोलीले बाँगिएको पिलरको स्थलगत अनुगमनपछि रि–डिजाइन गरेका थिए । ०७२ मा अनुगमनपछि गरिएको रि–डिजाइन नक्सा सडक विभागले २९ वैशाख ०७४ मा मात्रै पठायो । रि–डिजाइनको पत्र कुर्दै तीन वर्ष बितेको खतिवडा बताउँछन् । भन्छन्, “सडक विभागले समयमै पत्राचार गरिदिएको भए यतिबेला पुल बनिसक्थ्यो ।” 

हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झापा–३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पटक–पटक पुललाई राजनीतिक मुद्दा बनाएका थिए । “मेचीमा पुल बनाइदिने भनेर सिटौला दुईपटक सांसद नै भए,” स्थानीय राधिका बास्तोला गुनासो गर्छिन्, “सांसद हँदै पटक–पटक मन्त्री भएका सिटौलाले पुल निर्माणका लागि कुनै पहल नै गरेनन् ।” 

 

शिलान्यास नै शिलान्यास

विसं ००७ मा प्रजातन्त्र आयो, त्यसको अर्को वर्ष भद्रपुर नगरपालिका घोषणा भयो । भद्रपुर नेपालकै पुराना नगरमध्ये पर्छ । त्यही समयदेखि भद्रपुरलाई पूर्वको व्यापारिक नाका बनाउन मेचीमा पुल चाहिने आवश्यकता महसुस गरिएको हो । मेची पुलको इतिहास पनि रोचक छ । ०२८ मा तत्कालीन अञ्चलाधीश मनमोहन सिंहले पहिलोपल्ट मेची पुल शिलान्यास गरेका थिए । त्यो काठे पुलको शिलान्यास थियो । त्यसयता करिब दर्जनपटक पुलको शिलान्यास भएको इतिहास छ । तर, पुल अझैसम्म बनेकै छ्रैन । 

०४१ मा २८ करोड रुपियाँ लागतमा पक्की पुल बनाउने भनेर तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलान्यास गरेका थिए । त्यसअघि ०२२ देखि नै पुल निर्माणका लागि स्थानीय स्तरबाट चन्दा संकलन गरिएको थियो । त्यो समयमा स्वीस कम्पनीबाट ८० लाख रुपियाँको लागतमा डिजाइन र माटो परीक्षणसमेत गरिए पनि काम अघि बढ्न सकेको थिएन । 

०२८ मा तत्कालीन युवराजाधिराज वीरेन्द्र शाहको मेची अञ्चल अवलोकन भ्रमणका क्रममा पुलका लागि संकलित ३३ लाखमध्ये २३ लाख रुपियाँ बुझाइएको थियो । तर, उक्त रकम हिनामिना भएको भन्दै तत्कालीन राजनीतिक दलका अगुवाहरूबाट आवाज उठेको थियो ।

प्रकाशित: पुस ९, २०७४