समाजका सर्जन

- राजकुमार बानियाँ

भीएस नयपालले १९८९ तिर लेखे, अ मिलियन म्युटिनिज् नाउ । त्यसकै भाकामा समाज चिन्तक चैतन्य मिश्र, ६६, आफ्नै मुलुक दसौँ लाख बगावतमा रहेको देख्छन् । हरेक युवकयुवती बाबुआमाले सोच्दै नसोचेको बाटोमा छन् । ‘गाई खाने’ भनेर आलोचित विद्या पढेका छन्, मुस्लिम मुलुकमा गएर काम गरेका छन् । गाउँमा बाबुआमा एक्लै छन्, छोराछोरी कता–कता ?

मुलुक परिवर्तनको महासँघारमा रहेजस्तो लाग्छ उनलाई । समाजलाई कतै स्थिर देख्दैनन् । मुलुक खत्तम भयो भन्ने उनलाई लाग्दै लाग्दैन । “सन् १९७० देखि २०१० सम्म मानव विकास प्रतिवेदन हेर्दा नेपाल स्वास्थ्य र शिक्षामा दोस्रो छिटोछिटो परिवर्तन गर्ने मुलुकमा दरिएको छ,” उनी सुनाउँछन्, “मैले पढ्दा नेपालीको औसत आयु ३५ वर्ष थियो, अहिले ७० वर्ष पुग्यो । देवेन्द्रराज पाण्डेका पालामा त २८ वर्ष थियो रे † यो चानचुने परिवर्तन हो ?”

समाज, राजनीति, बौद्धिक संस्कृति, सार्वजनिक ज्ञानबारे यस्तै तार्किक विमर्शमा उत्रिन्छन् चैतन्य । कहिले ‘कम्युनिस्ट पार्टी चाहिँदैन’ भनिदिन्छन्, कहिले सुगौली सन्धियताको नेपाललाई पुँजीवादी करार गरिदिन्छन् । उनको मौलिक र आलोचनात्मक ज्ञान कहिल्यै झर्कोलाग्दो भएन । पँुजीवाद र नेपाल, बदलिँदो नेपाली समाज र एस्सेज अन द सोसियोलोजी अफ नेपालका यी फुर्तिला लेखक जहाँ पुगे पनि विद्यार्थी र पाठक मात्र भेट्छन् । 

त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष पढाएका यी अवकाशप्राप्त प्राध्यापकले समाज बुझ्ने कामबाट छुट्टी भने पाएका छैनन् । बिहानै सिटी बसमा झुन्डिएर विश्वविद्यालयको एमफिल क्लास धाइरहेका हुन्छन् । दुई वर्षअघि अमेरिकी सरकारको निम्तोमा ‘फुलब्राइट स्कलर इन रेजिडेन्स एन्ड ह्युबर्ट हम्फ्रे प्रोफेसर’का रूपमा मिनेसोटास्थित म्याकालास्टर कलेजमा पढाएर आए । 

उनको जीवनकै मिसन थियो, विश्वविद्यालयमा पढाउने । कान्छा मामा त्यहाँ पढ्ने भएकाले बाल्यकालमै त्यस्तो सपना देखे उनले । “मेरो जिन्दगीको पेसा खेलेजस्तो रमाइलो भयो । मैले जे खोजेको हुँ, त्यही पाएँ । खुसी–खुसी जीवन बिताएँ,” उनी भन्छन्, “मलाई कहिल्यै अरूका लागि पढाएजस्तो लाग्दै लागेन । आफ्नै लागि पढाएजस्तो भयो ।” 

काठमाडौँका रैथाने यी हाइप्रोफाइल बौद्धिकको परम्परागत पेसा थियो, पाण्डित्याइँ । उनको वंशवृक्ष नै राणा प्रधानमन्त्रीहरूसँग गाँसिएको छ । जंगबहादुरको दरबारनजिक भएकाले कुलपूजा त्रिपुरेश्वर आसपास हुन्छ । उनका ठूला बा पद्मशमशेरका गुरु पुरोहित थिए । संस्कृत पढे पनि उनका पिता मात्र त्यो बाटोमा गएनन् । उनका बाबुआमा दुवै सरकारी जागिरे थिए । दुवै जना नायव सुब्बा । 

वन विभागमा जागिरे उनका पिता प्रगतिशील पनि रहेछन् । महिला घरमा बस्ने होइन र आम्दानी बढाउनुपर्छ भन्ने हिसाबले पत्नीलाई टाइप सिकाए र राष्ट्रिय पञ्चायत निर्देशनालय (संसद्)को जागिरे बनाए । भाइबहिनीसहितको पाँच जनाको परिवार बिहान एकैपटक भान्सामा बस्थ्यो र ताल्चा लगाएर निस्कन्थ्यो । कोही स्कुल जान्थे, कोही कलेज र कोही अफिस । त्यसको साँचो पहिले आउनेले नै बोक्थ्यो । 

प्राय: बाहुन परिवारमा जस्तै छोरालाई चाँडै पढाएर जागिर खुवाउने मनसुवा थियो पिताको । त्यसैले घरमै सामान्य जोडघटाउ र नेपाली लेखन सिकाए । पिता बिहान अफिस जाँदा पाठ दिन्थे, बेलुकी फर्किंदा पाठ बुझाउनुपथ्र्यो । त्यही कारण ६ वर्षको उमेरमा एकैचोटि ४ कक्षामा भर्ना पाए नक्सालको नन्दीकेशर विद्यालयमा । कमलप्रकाश मल्ल, प्रयागराज शर्मा आदिले पनि त्यसैगरी माथिल्लो कक्षा चढेका रहेछन् । 

विजय मेमोरियल स्कुलबाट ०२० मै तेस्रो श्रेणीमा पास गरे एसएलसी । १२–१३ वर्षमा स्कुले शिक्षा सके पनि उनी पढाइमा उम्दा थिएनन् । “स्कुल त मैले करले मात्रै पढेँ,” उनी सुनाउँछन्, “रहरले पढेको भनेको कलेजमा मात्रै हो ।” अहिले होटल र्‍याडिसन भएको ठाउँ चेतभवनमा थियो, कलेज अफ एजुकेसन । त्यहीँबाट उनले आईएड र बीएड गरे । कलेज अफ एजुकेसनमा पुस्तकालय देखेपछि उनलाई बोध भयो– किताब भनेको त झोलामा बोक्ने मात्र होइन रहेछ । किताब भनेको जाँच पास गर्न मात्र पढिने कुरा होइन रहेछ । किताबै किताबको सागर पनि हुँदो रहेछ । त्यही पुस्तकालय देखेर उनको क्षितिज फराकिलो भयो । 

बीएड सकिवरी प्राइभेट बीएको जाँच दिएर बसेका बेला गोरखापत्रमा कोलम्बो प्लान अन्तर्गत समाजशास्त्र पढ्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना आएको सुनायो कसैले । पहिलोपटक उनलाई थाहा भयो, समाजशास्त्र भन्ने विषय पनि रहेछ । बाबुआमाले जतिसुकै माया गरे पनि उनी घरमा जकडिएको जिन्दगीबाट अलिकति मुक्ति खोजिरहेका थिए । त्यसैले छात्रवृत्तिका लागि आवेदन हाले ०२६ मा । र, पाए पनि । जीवनकै सबैभन्दा सुखी दुई वर्ष भारत, महाराष्ट्रको नागपुर विश्वविद्यालयमा बिताए । जति खर्च गरे पनि २ सय ५० रुपियाँको छात्रवृत्ति नसकिने । 

विश्वविद्यालयको समाजशास्त्र विभागै टपेर फर्केका यी युवा समाजशास्त्रीले सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्रेसन (सेडा)को ढोका ढकढक्काए । सेडाका बोस पशुपतिशमशेर राणाले प्रचण्ड प्रधानको जिम्मा लगाए । एक पद घटाएर जागिर दिने प्रधानको प्रस्ताव उनलाई मान्य भएन । उनीभन्दा अगाडि नेपालमा दुई जना समाजशास्त्री मात्रै थिए, मोहम्मद मोहसिन र गोपालसिंह नेपाली । दुवै मुम्बईमा पढेर आएका । समाजशास्त्रमा एमएले सात–आठ महिनासम्म कतै काम पाएनन् । दुई वर्ष पत्रकारितामा अल्झिए । दिउँसो रेडियो नेपालको एक्सट्रनल सर्भिस प्रोग्रामका लागि स्क्रिप्ट लेख्थे भने राती द राइजिङ नेपालमा उप–सम्पादक भएर काम गर्थे । राइजिङ नेपालमा एक रात काम गरेपछि भोलिपल्ट छुट्टी हुन्थ्यो ।

सेडाका हाकिमलाई समाजशास्त्र बुझाउन नसकेको बोध भयो उनलाई धेरैपछि । “मलाई किताब टन्नै आउँदो रहेछ तर समाजै बुझेको रहेनछु । किताबमार्फत संसार बुझ्नुपर्नेमा किताबमार्फत किताब मात्रै बुझेछु,” उनी भन्छन्, “त्यसैले विद्यार्थीलाई भनिरहन्छु– पढ्ने भनेको समाज हो । किताब त माध्यम मात्रै हो ।”

०२९ मा स्नातकोत्तरकै लागि फुलब्राइट छात्रवृत्ति पाएर हानिए अमेरिका । तर, युनिभर्सिटी अफ् फ्लोरिडाका प्राध्यापकले सोझै पीएचडीको अवसर दिए उनलाई । ‘अमेरिकी गोरा–काला र महिला–पुरुषबीच पेसामा भेद’ शीर्षकमा थेसिस लेखे । धेरैजसो नेपालीले पीएचडी थेसिस नेपालबारे नै गर्छन् । तर, पछि यसै फर्कनु छ भनेर अमेरिकाकै विषय रोजे । फर्कनासाथ सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास)मा लेक्चररका रूपमा करिअर सुरु भयो उनको । ०४६ सम्म उनको जागिर त्यहीँ थियो । 

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा समाजशास्त्र–मानवशास्त्र विभाग खुल्यो सन् १९८१ मा । उनले त्यसको रूपरेखा मात्रै कोरेनन्, संस्थापक विभागाध्यक्ष पनि भए । उनी र कृष्ण भट्टचनले समाजशास्त्र अनि राम क्षत्री र पद्मलाल देवकोटाले मानवशास्त्र पढाए । सुरुको वर्ष विकासे विषयका रूपमा बहुप्रचारित भएकाले विद्यार्थी ओइरिए । ५० सिटमा ५६ जना भर्ना गर्नुपर्‍यो । पछि त विद्यार्थी युनियन, उपकुलपति, रेक्टर आदिको दबाबमा परेर कीर्तिपुरमा सात सय र त्रिचन्द्र कलेजमा १ हजार ६ सय विद्यार्थी भर्ती भए । 

पहिलो ब्याचका विद्यार्थी प्राध्यापक तुलसी पाण्डे (नवलपरासी) र लय उप्रेती (इलाम) अहिले मानवशास्त्र र समाजशास्त्रका विभागीय प्रमुख छन् । एक वर्ष मात्रै विभागाध्यक्ष भए चैतन्य । म्यानेजर या हाकिम आफूलाई नफाप्ने थाहा पाए उनले । “मेरो व्यक्तित्वमा केही प्रशासनिक गुण भएन । विचार म्यानेज गर्न सकियो, मान्छे म्यानेज गर्न सकिएन,” उनी स्वीकार्छन्, “कम नम्बर आएकालाई धेरै नम्बर दिन पनि सकिनँ ।”

त्रिविबाट समाजशास्त्र, मानवशास्त्रमा ३० हजारले डिग्री लिइसकेका छन् । तर, विश्वविद्यालयका उत्कृष्ट विद्यार्थी त्यहाँ अडिएनन् । सेवा आयोग खुल्दा पनि दलको मान्छे मात्र छिरे । ज्ञानका मान्छे छिर्न सकेनन् । “योभन्दा धेरै राम्रा विद्यार्थी उत्पादन गर्न सकिन्थ्यो । विश्वविद्यालय र मुलुकको राजनीतिले परिस्थिति मिलेन,” उनी भन्छन्, “त्यो मैले चाहेर मात्र हुनेवाला थिएन । गजब गरेँजस्तो लागेको छैन, ठीकै गरेँजस्तो मात्र लागेको छ ।”

भन्नै परेन, नेपालमा उनीजति अब्बल समाजशास्त्री उपलब्ध छैनन् । उनी किन अग्ला छन् भने राजनीतिशास्त्र, अर्थशास्त्र र इतिहासको छेउछाउमा बसेर समाजलाई पर्गेलिरहेका छन् । “शास्त्रहरूको विभाजन नक्कली हो । समाजशास्त्र र अरू शास्त्रहरूबीच विभाजन गर्नुपर्ने कुनै कारण छैन । त्यो सजिलोका लागि ठड्याइएको पर्खाल मात्र हो,” उनी भन्छन्, “ज्ञानको सीमा छैन । एउटा शास्त्र अर्कोमा गएर मिसिन्छ नै ।” तर, उनलाई अमेरिका वा युरोप बसेको भए अहिलेभन्दा अब्बल समाजशास्त्री हुन सक्थेँ भन्ने पनि लाग्छ । “मेरो जीवनमा फैलने अवसर पनि आए,” उनी थप्छन्, “यति सानो छ नेपाल । अलिकति पखेटा हाल्नेबित्तिकै चरा भन्ठान्छन् ।”

सिकर्मीले काठ या कार्डियोलोजिस्टले मुटु, शिक्षकले मार्करजस्तै समाज वैज्ञानिकले समाजलाई च्याप्प समात्न सक्ने विश्वास बढाउनुपर्ने उनको धारणा छ । “यो अलिकति आदर्श पनि होला, अलिकति अमूर्त पनि लाग्ला,” यी प्रांगारिक बौद्धिक भन्छन्, “समाजशास्त्रीले समाजलाई वल्टाइपल्टाई शल्यक्रिया गरी पूर्वावस्थामै फर्काउन सक्छ ।” विद्यार्थीलाई हाँसेर भन्ने गर्छन्, ‘तपाईंहरू धर्म परिवर्तन गर्न तयार भएर बस्नूस् । समाजशास्त्रीका लागि ईश्वरको निर्माता समाज हो । त्यसैले हामी ईश्वरलाई आफ्नै अनुहार दिन्छौँ । समाजले क्राइस्टलाई अमेरिकामा गोरो बनाउँछ, अफ्रिकामा कालो ।’ 

जीवनको नौ महिना राष्ट्रिय योजना आयोगसित पनि जोडिए उनी । नेकपा एमालेको सरकारले योजना आयोगका सदस्यमा मनोनीत गरेको जो थियो । यद्यपि, उनले कहिल्यै विद्यार्थी राजनीति गरेनन्, दलीय राजनीति पनि गरेनन् । “प्रधानमन्त्री मनमोहन अधिकारी र उपप्रधानमन्त्री माधवकुमार नेपाल मैले संगत गरेका नेता होइनन्, कसैसित मेरो चिनजान थिएन,” उनी स्पष्टीकरण दिन्छन्, “एकैचोटि सदस्यको अफर पाएँ । छोटो अवधिका लागि काम गरेँ ।”

स्थानीय विकास र शिक्षा–स्वास्थ्य–महिला उनकैमा पर्‍यो । त्यतिबेला उनले हेरेका दुइटा कार्यक्रम वृद्ध भत्ता र ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ले अहिलेसम्म निरन्तरता पाइरहेका छन् । “वृद्ध भत्तामा त भरतमोहन अधिकारीले दाबी गरेका छन् क्यारे ! म त्यस्तो केही दाबी गर्दिनँ,” उनी भन्छन्, “समूहमा बसेर काम गर्दा फलाना आर्किटेक्ट भनेर छुट्याउन गाह्रो हुन्छ । तर, आफ्नो गाउँ आफैँ बनाऊँको केन्द्रमा मै थिएँ ।” ती दुवै कार्यक्रमको ब्याज एमालेले पाइरहेकै छ ।

त्यो कार्यक्रम आउनुअघि एक वर्ष जर्मन विकास संस्था (जीटीजेड) को मूल्यांकन टिममा बसेर काम गरेका थिए उनले । जीटीजेडका धेरै कार्यक्रममध्ये एउटा कार्यक्रम थियो, धादिङका हरेक वडामा १०–१० हजार रुपियाँका विकासे काम । त्यही सफल मोडलका कारण ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ सफल हुने विश्वास थियो उनमा । “कतिका लागि त्यो कार्यक्रम धारा, कुलो आदि पूर्वाधार बनाएर भोटको राजनीति पनि थियो होला,” उनी भन्छन्, “तर, समाजशास्त्रीका नाताले मेरा लागि तीन लाख रुपियाँबारे स्थानीय मान्छेसँग छलफल गरेर आफ्नो प्राथमिकता तोक्ने लोकतान्त्रीकरणको प्रक्रिया थियो ।” त्यसले जनतामा ‘हामी सक्छौँ’ भन्ने भावना आएको उनी मान्छन् । 

काठमाडौँको चाबहिल, उमाकुण्ड मार्गमा छ उनको घर । पशुपतिनजिकै बसे पनि उनी १६ वर्षमै धर्मकर्ममुक्त भएछन् । ६ वर्षमा व्रतबन्ध भयो । नौ वर्षमा जात गएजस्तो लाग्यो । ११ वर्षमा जनै फाले । घरअगाडि कैलाश डाँडो छ । काठमाडौँमा त हिँडेकै हुन्छन् । पोखरा गए पनि कम्तीमा एक दिन हिँड्छन् । टेलिभिजनमा खेलकुद हेर्छन् । ब्याडमिन्टनबाहेक फुटबल, भलिबल, टेबुल टेनिस, बास्केटबल सबै खेले उनले । ३६ वर्षसम्म उनले घरजमतिर ध्यानै दिएनन् । पद्मकन्या कलेजमा लैंगिक अध्ययनकी प्राध्यापक मीरा पन्तसँग उनको मागी विवाह भयो । एक्ली छोरी प्रकृति अमेरिकामा बस्छिन् । 

यी ‘पब्लिक इन्टलेक्चुअल’ आफूलाई वाम–प्रगतिशील मात्रै भन्छन् । योजना आयोगमा गएको भन्दा पनि सन् १९८६ मा प्रस्तुत ‘नेपालमा विकास र अविकास’ भन्ने कार्यपत्रका कारण आफूलाई ‘कम्युनिस्ट’ भनिएको उनको अनुभव छ । नेपालले आन्तरिक विकासका लागि बाहिरी आर्थिक लगानीसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने विचार राखेका थिए उनले । सस्तो सामान आयो भने यहाँ बन्दैन भन्ने तर्क थियो उनको । “माओले हुरी आएका बेला झ्यालढोका बन्द गर भने । त्यसरी झ्याल बन्द गर्दा सिक्ने प्रक्रिया बन्द हुँदो रहेछ,” उनी भन्छन्, “आफूले भनेका कुरा सधैँ सही हुन्न । बेलाबेलामा गल्ती कुरा पनि बोलिन्छ, अनुभवले नयाँ विचार दिन्छ । माक्र्सले पनि बारम्बार कुरा फेरेका छन् ।”

साढे ११ वर्षअघि पुँजीवाद र नेपाल पुस्तकमा उनले आत्मालोचना पनि गरे । पार्टी र विचारले कोही पनि कम्युनिस्ट नरहेको उनको जिकिर छ । उनी तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई कोट गर्छन्, ‘ हामी सामाजिक जनवादी पार्टी हौँ । त्यसभन्दा बढी केही होइनौँ ।’ उनको विचारमा झापाकालमा नेकपा माले कम्युनिस्ट थियो । सशस्त्र विद्रोहताका पार्टीलाई सम्पत्ति बुझाउँदा बाबुराम भट्टराई र पुष्पकमल दाहाल पनि कम्युनिस्ट थिए । “समाजवादको सपना म पनि देख्छु । समाजवाद न्यायपूर्ण व्यवस्था हो भन्ने पनि मान्छु,” उनी भन्छन्, “त्यहाँसम्म पुग्ने राजमार्ग बनाए त हुन्छ । तर, त्यो भोलि नै हासिल हुन्छ, मान्छे मारेर हासिल हुन्छ भन्ने फाल्तु कुरा हो ।” 

उनी माक्र्सतिर छन्, लेनिन र माओतिर छैनन् । “यहाँ आफ्नो घरखेत दिन कोही तयार छैन, एकदलीयता स्वीकार्न पनि कोही तयार छैन,” उनको प्रश्न छ, “चीन, भारत र विश्व अर्को बाटो लाग्दा नेपाल कसरी साम्यवादी हुन सक्छ ? माक्र्सवाद माक्र्सले भनेको कुरा हो कि लेनिन, माओ, प्रचण्ड, गोन्जालोले भनेका कुरामा गाँसिएको पुच्छर हो ?” कम्युनिस्ट पार्टी चाहिँदैन भन्दा उनले गाली पनि पाए । गाली खान उनलाई पनि मजा आउँदैन । अन्त्यमा, उनलाई सोधियो– बौद्धिक हुनुको दु:ख के छ ? उनले टुंगाए, “शुद्ध बौद्धिक हुनुमा दु:ख छैन । बौद्धिक कर्मलाई कार्यक्रममा अनुवाद गर्नुपर्छ भन्ने तहमा पुग्दा मात्रै दु:ख छ ।” 

प्रकाशित: पुस ९, २०७४