सलमान, एक्सन अनि सन्देशको संगम

  • टाइगर जिन्दा है

- गोकर्ण गौतम

बक्स अफिसलाई मात्र मानक बनाउने हो भने बलिउडका ‘किङ’ हुन्, सलमान खान । उनका फ्लप भनिएका फिल्मले पनि डेढ–दुई सय करोड भारु व्यापार गर्छन् । त्यसमाथि मनोरञ्जनसँगै प्रभावकारी सन्देशलाई महत्त्व दिइएको फिल्म छान्न थालेका छन्, उनले । बजरंगी भाइजान, सुल्तान र ट्युबलाइटपछि यही कोटीमा मिसिन आइपुगेको छ, टाइगर जिन्दा है । यो पाँच वर्षअगाडि प्रदर्शित एक था टाइगरको ‘फ्रेन्चाइज’ हो । एक्सनले भरिपूर्ण यस फिल्ममा देशप्रेम र मानवीयताको सवाललाई मर्मस्पर्शी ढंगले पेस गरिएको छ । पात्र र तिनका प्रवृत्ति उस्तै छन् । तर, फरक छ कथा र त्यसको आयतन । निर्देशक हुन्, अलि अब्बास जफर । सन् २०१४ मा आतंककारी संगठन आईएसआईएलले ४९ भारतीय नर्सलाई अपहरण गरेको घटनामा आधारित छ, फिल्म । जहाँ कथाभन्दा सलमान हाबी छन् भन्नु नपर्ला । उनको ‘हिरोइज्म’ नै फिल्मको मुटु हो, भलै निर्देशकले त्यसलाई केही तार्किक बनाउने प्रयासचाहिँ गरेका छन् । सलमानको पारिश्रमिकबाहेक नै फिल्मको बजेट १ सय ५० करोड भारु पुगेको छ । 

कुख्यात आतंककारी संगठन आईएससीले २५ भारतीय र १५ पाकिस्तानी नर्सलाई इराकमा अपहरण गरेको छ, जसलाई छुटाउने जिम्मा पाएका छन्, भारतीय खुफिया एजेन्सी ‘र’का पूर्वएजेन्ट टाइगर (सलमान) र पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआई’की पूर्वएजेन्ट जोया (कट्रिना कैफ)ले । एकापसमा लडिरहेका ‘र’ र ‘आईएसआई’लाई परिबन्धले एउटै साझा मिसनमा ल्याएको हुन्छ । तर, इराकमा आतंकको राज गरिरहेको आईएससीको पञ्जाबाट नर्सलाई सकुशल स्वदेश फिर्ता ल्याउन टाइगर र जोया सफल होलान् त ? क्लाइमेक्स नजिकिँदै जाँदा मुटुको धड्कन बढ्दै जान्छ तर अनुमानभन्दा खासै अलग हुन्न ।

नर्सलाई अपहरण गरेको दृश्यबाटै जो कोहीले अनुमान लगाउन सक्छ, टाइगर उनीहरूलाई बचाउन आइपुग्छन् । अर्थात् फिल्मको सुरुआत सामान्य ढंगले हुन्छ । टाइगर र जोया खुफिया दुनियाँबाट टाढा हुन्छन् । तर, उनीहरूको ‘कमब्याक’ एकाएक हुन्छ, त्यो पनि पहिलेभन्दा सशक्त रूपमा । सलमानले मिसन सुरु नगरेसम्म फिल्मको गति धीमा हुन्छ तर इराक प्रवेशसँगै नवीन दृश्य देख्न पाइन्छ । त्यसो त सलमानले फरक विधाका विशेषज्ञलाई टिममा सामेल गराउनु पनि एक्सन–थ्रिलर फिल्मका लागि नयाँ सूत्र होइन । आफँैलाई बन्धक बनाइरहेको आतंककारीलाई उपचार गर्न बाध्य नर्सको पीडालाई मार्मिक शैलीमा पर्दामा उतारि एको छ । मुख्य नर्स र आईएससीका प्रमुख अबु उस्मान (सज्जद डेलफ्रोज)को सम्बन्धले दर्शकको ध्यान खिच्छ । निर्देशक अब्बास र नीलिस मिश्र मिलेर लेखेको पटकथामा सहायक पात्र अनि तिनका कथालाई उत्तिकै महत्त्व दिइएको छ । यसलाई फिल्मको उल्लेखनीय गुण मान्न सकिन्छ ।

सलमानको स्टारडम त छँदैछ, त्यसबाहेक भारत र पाकिस्तानबीचको चर्कंदो घाउमा मलम लगाउनु फिल्ममेकरको नियत हुन सक्छ । प्राय: हिन्दी फिल्ममा पाकिस्तानलाई आतंककारीको पक्षपोषकका रूपमा स्थापित गरिन्छ । तर, यहाँ धर्मका नाममा भइरहेको आतंकका विरुद्ध दुई देशका खुफिया एजेन्सी एक हुन्छन् । एक–अर्काको देश र राष्ट्रिय झन्डाप्रति सम्मान दर्शाउँछन् । राष्ट्रप्रेममा त भारतीय चरित्रकै पल्ला भारी छ । तैपनि, पाकिस्तानलाई बेवास्ता गरिएको छैन । यद्यपि, टिम खडा गर्ने क्रममा सलमानले बोल्ने कतिपय संवादमा कृत्रिम राष्ट्रवादको गन्ध आउँछ । निर्देशकमा एक्सनसँगै देशप्रेमको मसला मिसाउने पूरापूर लोभ छ । फिल्मलाई बलियो बनाउने तत्त्व यो पनि एक हो । अबु उस्मानको पृष्ठभूमि र ‘युद्ध व्यापार हो’ भन्ने संवादले युद्धको भित्री कारणलाई पटाक्षेप गर्छ । जबर्जस्ती बन्दुक भिराइएका १३ वर्षीय बालक फिल्मका ‘आइकन’ हुन् । तर, दर्जनौँ आतंककारीलाई सलमान एक्लैले सिध्याउने, उनले जस्तो योजना बनाए पनि असफल नहुने, उनीहरू इराकभित्र छिर्नेजस्ता दृश्यको तुक छैन । हिउँको पहाड, मरुभूमिदेखि आतंककारीको आर्तनादसम्म कैद गरिएको छ ।

सलमानले फेरि एकपटक एक्सनप्रधान चरित्रमा आफू जबर्जस्त ‘फिट’ हुने प्रमाणित गरेका छन् । एजेन्टका अलावा पिता र पतिका रूपमा पनि प्रिय लाग्छन् । सलमान र कट्रिनाको ‘केमेस्ट्री’ फिल्मको अर्को रोचक पक्ष हो । कट्रिनाको एक्सन र चरित्र दुवैले दर्शकको मन जित्छ । यस फिल्मले किनारामा पुगेको कट्रिनाको करिअरलाई फेरि मूलधारतिर धकेल्नेमा सन्देह छैन । आतंककारीको नाइके बनेका इरानी अभिनेता सज्जद डेलफ्रोज फिल्मका ‘सरप्राइज’ हुन् । उनको हुलिया, बोल्ने शैली, आँखाको भाव हरेक पक्ष तारिफयोग्य छ । अनि, परेश रावलचाहिँ भारतले कसरी आफ्ना जासुसलाई खटाएको हुन्छ भन्ने प्रमाण हुन् । यसबाहेक अंगद वेदी, कुमुद मिश्र, नवाब शाहजस्ता सहायक पात्र पनि सम्झनलायक छन् । यसअघि सुल्तान बनाएका अब्बासले यस फिल्ममा फराकिलो आयतनको कथा भन्नु आफैँमा प्रशंसनीय छ । कथावाचनकै शृंखलाका रूपमा प्रयोग गरिएको ‘तेरा नुर...’ श्रुतिमधुर छ ।

सलमान र कट्रिनाका फ्यानले मात्र होइन, ‘टाइमपास’ गर्न चाहनेले पनि टाइगर जिन्दा है छुटाउनु हुन्न । तर, एक्सन नरुचाउने र कलात्मक प्रस्तुतिका पारखीले चाहिँ हेर्ने कष्ट नगरेकै बेस । 

प्रकाशित: पुस ९, २०७४