टहराको जिन्दगी

  • भूकम्प गएको अढाई वर्ष बितिसक्दा पनि अस्थायी र अव्यवस्थित छाप्रोमै बस्न विवश

- गोकर्ण गौतम

वि सं १९९० को भूकम्पमा भाग्दै खेतमा पुगेको, धोक्रा र बोरा बेरेर बसेको, कैयौँ दिन खान नपाएको अनि नयाँ घर बनाउन महिनौँ लागेको रिमरिम याद छ, भक्तपुर सानो व्यासीका कमलबहादुर सुवाललाई । त्यतिबेला उनी नौ वर्षका थिए, अहिले ९१ पुगे । त्यतिबेला राणा शासन थियो, अहिले गणतन्त्र छ । यसबीचमा प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्रजस्ता थरीथरीका व्यवस्था आए । तर, राणा शासनमा भूकम्प आउँदाजस्तो सरकारी बेवास्ताको सिकार भएका थिए, अहिले पनि त्यस्तै पीडा झेलिरहेका छन् उनी । 

यी वयोवृद्ध अढाई वर्षदेखि भक्तपुर नगरपालिकाको आडैमा चारैतिर जस्तापाताले बेरिएको टहरामा बडो कष्टकर जीवन बिताउन बाध्य छन् । लठ्ठी टेक्दै घाम ताप्न टहराबाहिर निस्किएका कमलबहादुरले दबेको स्वरमा भने, “जाडोसँगै दम बढ्छ । घरीघरी प्राणै जालाजस्तो छ । तर, खै † आफ्नै घर कहिले बन्ने, कहिले सर्ने ?” एक बारको जुनीमा दुईवटा ठूला भूकम्पको प्रलयमा परेकाले उनी आफूलाई ‘अभागी’ ठान्दा रहेछन् । 

पुरानै घर ठीक थियो, बस्न मिल्थ्यो । खान मिल्थ्यो । त्यसो त घर घामपानीबाट ओत लाग्ने छानो मात्र होइन, सन्तोषको श्वास फेर्ने स्वर्णिम थलो पनि हो । भन्छन् नि, नहुनेलाई घर : एक सपना, हुनेलाई घर : एक अभिभावक । १२ वैशाख ०७२ सम्म ललितपुर फुन्नटोलकी विना माली, ४२, का लागि घर अभिभावकजस्तै थियो । त्यसयता सपना मात्र । त्यो कालो दिनमा उनले अभिभावकरूपी घर गुमाइन् । करिब एक मिनेटको भूकम्पले । त्यसयता पाल, टेन्ट हुँदै टहरामा बितिरहेको छ, श्रीमान्, सासु र दुई छोराछोरीसहित उनको जीवन । नयाँ घर बनाउनु त महाभारत भइहाल्यो, भूकम्पबाट क्षति भएको घर पन्छाउनसम्म सकेकी छैनन् । भूकम्पले घर मात्र लगेन, नियतिले अरू क्रूर खेलको शृंखला पनि सुरु गरिदियो । निधार खुम्च्याउँदै विनाले सुनाइन्, “भूकम्पमा मरिएन तर बाँचेर पनि मरेतुल्य भइएको छ । कुनै रात ढुक्कले निदाउन सक्दिनँ । जहिल्यै मन भतभती पोलिरहेको हुन्छ ।” 

यस्ता कैयौँ भूकम्पपीडित छन्, जसको ज्यान चिसोले कठ्यांगिँ्रदा पनि मन पीरले पोल्छ । घरबाट टहरामा आइपुगेपछि मुहारबाट मुस्कान हरण भएको छ । थोरै होइन, ३२ महिना बितिसक्यो । तर, आफ्नै घर बनाउन सकेका छैनन् । टाढा जानु पर्दैन, ललितपुरको हरिसिद्धि, खोकना, बुङमती अनि ललितपुरको सानो व्यासी, डेकोचा, मंगलाक्षेमै कारुणिक दृश्य देखिन्छ, जहाँ पूरै परिवार एउटा साँघुरो र अव्यवस्थित टहराभित्र गुज्रिरहेका हुन्छन् । उनीहरूको पीडा सुन्दा लाग्छ– उनीहरू अनागरिक हुन्, जसको मर्का सरकारलाई पटक्कै महसुस हुन्न । 

भूकम्प जाँदा सुशील कोइराला प्रधानमन्त्री थिए । त्यसपछि केपी ओली आए अनि पुष्पकमल दाहाल । अहिले शेरबहादुर देउवा छन् । केही दिनमै फेरि सम्भवत: ओली नै प्रधानमन्त्रीको सिंहासनमा विराजमान हँुदैछन् । यही बीचमा संविधानसभाले बनाएको ऐतिहासिक संविधान जारी भयो । स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । भूकम्पपीडितकै सहायता र पुन:निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुन:निर्माण प्राधिकरणमा चारपटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन गरियो । सुरुमा गोविन्द पोखरेल अनि सुशील ज्ञवाली, फेरि पोखरेल नै । अहिले युवराज भुसालले ओगटिरहेका छन्, त्यो पद । अर्थात् यो अढाई वर्षको बीचमा धेरै थोक परिवर्तन भयो । जस्ताको त्यस्तै रहेको त भूकम्पपीडितको व्यथा मात्र हो, जो लगातार तीन वर्ष टहरामै कठ्यांग्रिएर जाडो याम बिताउन बाध्य छन् । 

आशै छैन 

सानो व्यासीस्थित पद्म उच्चमाविको खाली जग्गामा झन्डै दुई दर्जन जस्तापाताका टहरा छन् । त्यही भूकम्पपीडित बस्तीकी सानुमाया शाही, ७८, लाई त आफ्नो घर बन्ला र बस्न पाइएला भन्ने आशा पनि हराउँदै गएको छ । नेपाल संवाददाता २७ मंसिरमा उक्त बस्तीमा पुग्दा सानुमाया ज्यादै निराश र चिन्तित देखिन्थिन् । कारण अनेक रहेछन् । घर त छैन नै । ६ महिनाअघि त्यही टहरामा उनका श्रीमान् बिते । बस्तीमा हिँडडुल गर्दा लडेर पक्षघात भई अन्तत: ज्यानै गयो । दुई छोरा छन् । तर, उनीहरूबीच चर्को मनमुटाव छ । जबकि, भूकम्पअगाडि दाजुभाइको सम्बन्ध सुमधुर थियो । सानुमाया भन्छिन्, “न बूढा छन्, न छोराहरू मिल्छन् । आफ्नो घर पनि छैन । यो टहरामा ज्यादै अत्यास लाग्छ मलाई ।” 

टहरा नजिकै उनीहरूको घर थियो, दाजुभाइ छुट्टिएर बस्थे, भान्सा अलग्गै थियो । भूकम्पले चारमध्ये दुई तला भत्कायो । बस्न मिल्दैन । सरकारी नियम अनुरूप एक जनाले मात्र आर्थिक अनुदान पाउने भए । यसकै लागि दाजुभाइबीच मारामार भयो । कान्छो भाइले रातो कार्ड पाएपछि समस्या अझ चर्कियो । सानुमायासँगै बसिरहेकी जेठी बुहारी शिला शाहीले भनिन्, “जग्गा थोरै भएकाले अंशबन्डा गरेर घर बनाउन पनि नमिल्ने । सँगै बनाउन दाजुभाइ एक ठाउँमा नआउने । पीडाचाहिँ आमा र हामीले भोग्नुपरेको छ ।” त्यही टहराभित्र उनी सुत्केरी भइन् । आफू र छोरीलाई जोगाउनै गाह्रो पर्‍यो । बस्ती र टहरा फोहोर भएकाले धेरै बिरामी पर्न थालेपछि उनले १४ महिना पुग्दै गरेकी छोरीलाई स्कुल भर्ना गरेकी छन् ।

सुरुमा उक्त बस्तीमा दुई दर्जनभन्दा बढी परिवार बस्थे । अहिले आधा दर्जन बाँकी छन् । कोही आफ्नै घर बनाएर सरे, कोही व्यवस्थित रूपमा डेरामा सरे । छरछिमेकी आउँदो बिस्केट जात्रासम्म घर सर्ने तयारीमा छन् । यसरी बस्तीमा एक्लिँदै गएपछि स्वाभाविक रूपमा सानुमायालाई चिन्ता बढेको छ । भिरालो बस्तीको सिरानमा रहेको शौचालय पुग्नै गाह्रो पर्छ । जाडोमा जस्ताबाट आउने ओसले अघिल्लो वर्ष उनलाई थला नै पार्‍यो । यस वर्ष उही नियति दोहोरिएला भन्ने डर छ । वर्षा याममा टहराभित्रै आहाल जम्छ । आफू केही गर्न सक्दिनन्, छोराहरूलाई जति सम्झाए पनि मिल्दैनन् । बरू, सास्तीमाथि सास्ती थपिएको छ । “बूढा बरोबर सपनामा आउँछन् । घर बन्छ, सब राम्रो हुन्छ भन्छन्,” आँखा टिलपिलाउँदै उनले भनिन्, “उनी बाँच्दा पनि यस्तै भन्थे । तर, घरको चिन्ताले छिट्टै बिते । मेरो पनि त्यस्तै होलाजस्तो छ ।” उनको सपना यत्ति छ, आफ्नै घरमा मर्न पाइयोस् । 

कहिलेसम्म टहरा ?

भक्तपुरको याछेँस्थित घर भूकम्पको पहिलो धक्कामै भत्किएपछि मीना सिटिखु, ३८, को परिवार डेकोचास्थित ख्व:प कलेजको चौरमा आइपुगे, सुरक्षित आश्रयस्थल खोज्दै । टेन्टमा बसे । केही दिन त्यहीँ बसेर घर फर्किन पाइन्छ भन्नेमा ढुक्क थिइन्, मीना । अढाई वर्ष नाघ्यो, आफ्नो घर बन्ने र फर्कने चाह पूरा भएको छैन । यत्ति हो, दुई महिना टेन्टमा गुजारेपछि कलेजनजिक रहेको नगरपालिकाको खाली जग्गामा जस्तापाताको टहरा बनाएर बसिरहेको छ, उनको ६ सदस्यीय परिवार । सुरुमा त्यहाँ ४२ परिवार थिए, अहिले १७ बाँकी छन् । ऊनीको टोपी बुन्न व्यस्त मीनाले सुनाइन्, “यहाँ ठूलो झाडी थियो । त्यो फाँड्दा हाम्रो हातभरि घाउ भएका थिए । अहिलेसम्म कोही हटाउन आएको छैन ।” 

हटाउन नआए पनि मीनालाई त्यहाँ बस्न रक्तिभर मन छैन । साँघुरो र खुला टहरोभित्र हुर्किसकेका छोराछोरी र सासू–ससुरासँग बस्न कम्ता सकस होला र ? सुत्ने त्यहीँ, खाने त्यहीँ । खानेपानी लिन कता जाने, टुंगो छैन । तर, वाध्यताका सामु कसको के लाग्छ ? उनको घर ढिला बन्नुको कारण नौलो होइन । जस्तो : याछेँमा उनीहरूको माटोको पाँच तले घर थियो । एक–एक तला लिएर छुट्टिएर बसेका थिए, पाँच भाइ । तर, सरकारी राहत एक भाइले मात्र पाए किनभने घरको धुरी त एउटै थियो । सरकारले अनुदान दिने धुरी अनुसार नै हो ।

यद्यपि, उनीहरूले भग्नावशेष घर पन्छाएर खानी बनाएका छन् । मीना भन्छिन्, “सबै दाजुभाइ मिलेर घर बनाउनुको विकल्पै छैन । कि टहरामै जीवन बिताउँछु भन्नुपर्‍यो । यहाँ पनि कुन दिन कसले निकाल्ला भन्ने डर छँदैछ ।” चाहना त घर बनाउने नै हो तर आर्थिक रूपमा विपन्न उनीहरूका लागि फलामको चिउरा चपाउनुजस्तै भएको छ, चाहना । 

सरकारले पाँचमध्ये एक परिवारलाई मात्र अनुदान दियो । पहिलो किस्ताको ५० हजार रुपियाँ पाउनै दुई वर्ष कुर्नुपर्‍यो । । दोस्रो किस्ताको टुंगो छैन । पीडितले घर बनाउनु भन्दा झारो टार्ने शैलीमा सरकारले अनुदान दिएको मीनाको आरोप छ । भन्छिन्, “जति दिने हो, त्यो सबै रकम एकैपटक दिए आफैँ खटेर र ऋण काढेर भए पनि घर बनाइन्थ्यो ।” जग्गा जम्मा दुई आना भएकाले भागबन्डा लगाउने वा बेचेर घर बनाउने कुनै सम्भावना छैन । खेत नभएकाले चामलसमेत किनेर खानुपर्छ । कमाइ रासनपानीमै सकिन्छ । छोराछोरीलाई पढाउनै मुस्किल छ । घर बनाउनचाहिँ पैसा जम्मा गर्ने त कहिले हो कहिले † यस्तै कुरा खेल्छ मनमा । उनका श्रीमान् डकर्मी हुन् । अरूको घर बनाउँदै हिँड्छन् । तर, आफ्नै घरचाहिँ अलपत्र छ । तैपनि, आशा मरेको छैन, आउँदो बिस्केट जात्रासम्म आफ्नो जग्गामा झुप्रै बनाएर भए पनि यो टहरा छोड्ने । 

एक पैसामा पाँच जना

चार पाइला पनि हिँड्न मिल्दैन, बुङ्मती ढोकापिनेका सरोज शाक्य, २९, को टहराभित्र । जम्मा एक पैसा जमिनमा बनेको साँघुरो ठाउँभित्र अटाएको छ, सरोजको संसार । जसमा उनका बुबाआमा, श्रीमती र छोरी छन् । जमिन थोरै भए पनि पहिले तीनतले घर थियो । यतिविघ्न कष्टकर थिएन बसाइ । भूकम्पले सबथोक लुट्यो । तर, यति लामो समय बितिसक्दा पनि आरामले सुत्ने घर बनाउन सकेका छैनन् । लाजमर्दोको कुराचाहिँ सरोजको टहराको ढोकाबाट जम्मा १० मिटरको दूरीमा ठडिएको छ, २ माघ ०७२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुन:निर्माण महाअभियान उद्घाटन गरेको अग्लो गेट । सरोज भन्छन्, “प्रधानमन्त्री आउँदा घर बन्छ भन्ने आश जागेको थियो । तर, आजसम्म टहरामै बस्नुपरेको छ ।” 

त्यही झुपडी पनि सरकारले बनाइदिएको होइन । भूकम्प गएको पाँच महिनासम्म उनको परिवार खेतमा पाल टाँगेर बसिरहेको थियो । भत्केको घरको माटो पन्छाइएको पनि थिएन । यही बिजोग देखेपछि र्‍यापर निर्णय श्रेष्ठले माटो हटाएर टहरा बनाएका थिए । अरू दुई पीडित परिवारका लागि पनि उनै गायक श्रेष्ठले उस्तै टहरा निर्माण गरेका रहेछन् । तर, तीनै परिवारको पीडा साझा छ, व्यवस्थित घर कहिले बन्ला ? धन्न ! थोरै भए पनि जग्गा उनीहरूकै हो । त्यसैले कसैले आएर उठाउला भन्ने भयचाहिँ छैन । 

सरोज सिंगिङ बाउलमा बुट्टा कुँद्ने काम गर्छन् । दिनमा तीन सय रुपियाँ कमाइ हुन्छ । डिप्रेसनका रोगी हुन्, उनी । आठ वर्षदेखि नियमित औषधि खाइरहेका छन् । त्यसैले उनको कमाइ ओखती किनेरै सकिन्छ । बुबाले गाडी चलाएर कमाएको पैसाले नुनतेल, चामल किन्नु परिहाल्यो । पत्नी बाला बनाउँछिन्, छोरीको पढाइ र लवाइखवाइमा सकिन्छ । अनि, कसरी बनाउने घर ? 

चिसोले काम्दा वा गर्मीले आलसतालस पार्दाभन्दा छोरीले टहराभित्र पढ्न नपाउँदा सरोजको मन ज्यादै कँुडिन्छ । एउटा खाट, किचेन र्‍याक र पानी राख्ने भाडा जेनतेन अटेको छ टहराभित्र । बचेको ठाउँमा सजिलोसँग टुसुक्क बस्न पनि मिल्दैन । त्यसमाथि सरोजले सिंगिङ बाउलमा बुट्टा हान्दा कर्कश आवाज आउँछ । त्यसैले यूकेजी पढिरहेकी छोरी घरभित्र छिर्नै झर्को मान्छिन् । सरोज भन्छन्, “काम नगरुँ भने औषधि किन्ने पैसा हुन्न । काम गर्दा छोरीलाई पढ्न डिस्टर्ब हुन्छ ।” यस्तै–यस्तै कारणले हुनुपर्छ, भूकम्पपछि उनलाई डिप्रेसनले च्याप्दै–च्याप्दै लगेको छ ।

सरोजको परिवारले सरकारबाट केही नपाएको भने होइन । घर बनाउन पहिलो किस्तास्वरूप ५० हजार रुपियाँ पाएका छन् । तर, त्यति रकमले जग हाल्न पनि पुग्दैन । सरकारले एकैपटक अलि धेरै पैसा दिए ऋणपान गरेर पनि घर बनाउने सपना थियो उनको । तर, तत्काल सरकारबाट त्यस्तो सहयोग करिब असम्भव छ । भन्छन्, “खेत हुनेले बेचेर घर बनाए । हाम्रो खेत पनि छैन । यही टहरामै जिन्दगी जालाजस्तो लाग्छ ।” 

तस्बिरहरु : रवि मानन्धर

प्रकाशित: पुस ७, २०७४