नक्कल बमोजिम नक्कल

  • नेपाली भाषाका पुस्तकमा सिर्जनशील पक्ष कमजोर

‘जोसँग लेखनको अनुकूल परिस्थिति छ, त्यो अन्यत्रै लागेको छ । जोसँग परि स्थिति अनुकूल छैन, उही लेखनमा लागेको छ ।’— राम लोहनीसमीक्षक

- राजकुमार बानियाँ

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रिय स्तरको पुस्तक संख्या (आईएसबीएन) लिएका पुस्तक ४२ हजार ५ सय १४ पुगिसके । मदन पुरस्कार पुस्तकालयमा मात्रै नेपाली भाषाका ३८ हजार ५ सय २३ वटा पुस्तक/पाठ्यसामग्री दर्ता छन् । केन्द्रीय पुस्तकालयबाट आईएसबीएन नलिएका र मदन पुरस्कार पुस्तकालयमा दर्ता नभएका पुस्तक पनि प्रशस्तै छन् । 

यी दुवै संस्थामा पुगेका पहिलोदेखि पछिल्लो पुस्तकसम्म कति हेर्नलायक छन् या कति पढ्नलायक छन् त ? पुस्तकको नाम, आवरण, विषयवस्तु र शैलीका हिसाबले हेर्दा यी पुस्तकमा तात्विक भिन्नता देखिँदैन । उस्तैउस्तै नाम, आवरण र विषयवस्तुका कारण पाठकीय आकर्षण बन्न सकेका पनि छैनन् ।

शीर्षक कृतिको पहिलो परिचय हो । नयाँ, मौलिक र कसैसँग नमिल्ने शीर्षकले नै पाठकमा रुचि जगाउँछ । तर, यहाँ एउटै विधामा एउटै नामका पाँचवटासम्म पुस्तक भेटिएका छन् । एउटै नाममा कथा, उपन्यास, कविता, जीवनी त कति छन् कति ? कतिसम्म भने, महाकवि लक्ष्मीप्रसाद देवकोटाको पहिलो वसन्ती ००९ मा र दोस्रो वसन्ती ०३९ सालमा छापिए । तर, दुवै काव्यमा शीर्षक मात्रै नभएर कथावस्तु र पात्रहरूसमेत दोहोरिएका छन् ।

हास्यास्पद स्थिति के भने नेपाली बृहत् शब्दकोशमा ५० हजारभन्दा बढी शब्द छन् । तर, नेपाली लेखकहरू प्रतिज्ञा, बदला, बन्धन, भाग्यरेखा, भावना, माया, मुक्ति, लाहुरे, प्रतीक्षा, लक्ष्य, विश्वास, संकल्प, संघर्ष, सपना, सम्झना, सम्झौता, अधुरो सपना, अन्तद्र्वन्द्व, अभिषेक, अस्मिता, आँसु, आमाको माया, उन्माद, उपहार, कर्तव्य, कसिंगर, कोसेली, ज्वाला, दाइजो, नियति, विसंगति, समर्पण, परिवर्तन, पर्खाल, पश्चात्ताप, पुनर्मिलन, प्रतिशोध आदि मुस्किलले सय शब्दमै लुँछाचुडी गरिरहेका देखिन्छन् । 

‘नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति’ विषयकी अध्येता लीला लुइटेलका अनुसार प्रायश्चित्त शीर्षकको उपन्यास नै पाँच जनाले लेखेका छन् । रुद्रराज पाण्डेले १९९५ मा, मदन खत्रीले ०४१ मा, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले ०६३ मा र गुनु घर्तीले (प्रकाशन वर्ष यकिन नभएको) लेखेका छन् । विद्रोह नाममा पनि पाँचवटा उपन्यास भेटिएका छन् । खड्गबहादुर सिंहले ०११ र ०१३ मा, भीष्मभूषण संग्रौलाले ०३६ मा, भीम दाहालले सन् २००५ मा र चन्द्रमान कन्दङ्वाले (साल नभएको) लेखेका छन् । संयोग शीर्षकमा पनि रामबहादुर राईले सन् १९७७ मा, विष्णुबहादुर खड्काले ०३६ मा, तुलसीराम कुँवरले ०४५ मा, नारायण कट्टेलले ०५२ मा र छविकिरण वलीले ०५९ मा 

लेखेका रहेछन् । 

“कतिपय लेखक पूर्ववर्ती वा अग्रज लेखकका कृति पढ्दैनन् । शीर्षक वा विषयवस्तुमा पुनरावृत्ति हुनुको मूल कारण यही हो,” लुइटेल भन्छिन्, “भारती खरेलले ०५१ मै लेखिसकेको थाहा पाएको भए अनुपम रोशीले ०६८ मा आएर आफ्नो उपन्यासको नाम कुमारी आमा राख्ने थिइनन् ।”

आख्यानमा मूलपात्रको नामबाटै किताबको नाम राखेर पात्र र चरित्रलाई स्थापित गर्ने तरिका पुरानो हो । नेपालमा अझै पनि यस्तो घिसिपिटी चलिरहेकै छ । कतिसम्म भने शैलीलाई आफ्नो हस्ताक्षर मान्ने कुमार नगरकोटीले समेत आफ्नो उपन्यासको नाम पात्रकै नामबाट राखे, मिस्टिका । “नामलाई नाम नदिनेहरू धेरै छन् । तर, नाम नै खासमा नाम हो,” लेखक गनेस पौडेल भन्छन्, “पुस्तक र पात्रको नाम चयनमा खास ध्यान दिइएन भने पुस्तक र पात्र स्थापित हुन सक्दैनन् ।”

पुस्तकको नाम त भइहाल्यो, पात्रका नामसमेत दोहोरिरहन्छन् । “कमसेकम पात्रको नाम त मौलिक हुनुपर्छ । समाजमा प्रचलितभन्दा फरक नाम भयो भने चरित्र स्थापना गर्न सजिलो हुन्छ । अरू साहित्यकारले प्रयोग नगरेका नाम दिनुपर्छ,” लेखक पौडेल थप्छन्, “अन्यत्र कवितासंग्रहको छुट्टै नाम दिने चलन छैन । हाम्रो भने संग्रहको नामभित्रको कुनै एक कविताको शीर्षक राख्ने चलन छ ।”

अझ हामीकहाँ त नहारेको मान्छे चल्यो भने माया मारेको मान्छे, हारेको मान्छे, चिना हराएको मान्छेको लस्कर लाग्छ । मैले देखेको नेपाल चले क्रमश: देखेको मुलुक, देखेको युरोप, मैले देखेको दरबार, नदेखेको मुलुक आदि नाम थपिँदै जान्छ । “हुन त एउटै विषयवस्तु या नाममा थुप्रै फिल्म बनेका देखिन्छन् । किताबमा पनि त्यसै भयो भने लेखक र प्रकाशक दुवैलाई घाटा हुन्छ,” समीक्षक राम लोहनी भन्छन्, “पाठकले एउटै नामको किताब किन पढ्ने ? नयाँ हो कि पुरानो कसरी थाहा पाउने ?”

केही समय पहिले कभर (गाता) डिजाइन चोरिएको समाचार ‘भाइरल’ बन्दा लेखकहरू प्रकाशकतिर औँला देखाएर पन्छिए । यद्यपि, किताबको नाम, साजसज्जादेखि सबै काम लेखकको हो । कतिपय किताबले अलग कभर र लेआउट माग गर्छन् । कभरको पहिलो सर्त पाठकलाई अपिल गर्नु हो । 

कर्नाली ब्लुज, मिस्टिका, मान्ठा डराएको जुग, ह्वाइटहाउसको घामपानी, जुइनो, जुनेली आदि पुस्तकका कभरमाथि चोरीको बात लाग्यो । चल्तीका प्रकाशकहरूले अनलाइनबाट किनेको भनी बचाउ गरे । तर, अन्यत्र प्रयोग भइसकेका ‘सेकेन्ड ह्यान्ड’ फोटो वा चित्र किनेर किताब सजाउनुपर्ने बाध्यताबारे भने खुलाएनन् । “चोरीको बात लागेपछि त्यसको मात्रा अलिकति कम भए पनि अन्य प्रकाशकले गुगल गरेरै काम चलाइरहेका छन्,” समीक्षक लोहनी भन्छन्, “नेपाली कलामा मौलिकता नै छैन भन्ने जस्तो मनोविज्ञान देखिन्छ ।”

कसैको कृतिबाट प्रभावित भएको भन्ने सामान्य नैतिकता पनि देखाउँदैनन् लेखक । “कुनै कृतिबाट प्रभावित भएर लेख्नु असामान्य होइन । त्यसलाई ठाडै अमौलिक भन्न पनि मिल्दैन,” लोहनी हाँस्छन्, “कसैले पक्रिहालेमा मैले त्यो पढेकै छैन भन्ने दाबी गर्छन् ।”

सिर्जना भनेकै मौलिक आविष्कार हो । कथ्य र शिल्पमा नवीन प्रयोग हो । नयाँनयाँ गोरेटो र मोडको खोजी हो । “प्राकृतिक नियम एवं मानवीय संवेदना उस्तैउस्तै भएकाले विषयवस्तुको पुनरावृत्ति हुन सक्छ तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सर्जकको क्षमतामा भर पर्छ,” अध्येता लुइटेल भन्छिन्, “अंग्रेजीमा अनुवाद भएको बंगाली कथा वेटिङ रुम र रमेश विकलको भन्ज्याङको चौतारो शीर्षक कथाको विषय एउटै छ तर विकलको सशक्त सिर्जनशीलताका कारण पाठकले त्यसको 

मेसो पाउँदैन ।”

उसो त विषय कहिल्यै पनि सिर्जनशीलताको दायरामा पर्दैन । त्यसैले लेखकको मुख्य चरित्र विषय होइन, प्रस्तुतिमा देखिनुपर्छ । विषयका हिसाबले लेख्नेका लागि संसार साँघुरो हुन्छ । प्रस्तुतिको कुनै सीमा छैन । हामी जसलाई प्रस्तुति भन्छौँ, खासमा त्यही नै विचार हो ।

कतिपय लेखक विधागत भिन्नता नै नचिनी लेखनमा लागेको बिब्ल्याँटो पाटो पनि छ । तर, त्यसलाई दाबी गर्छन् प्रयोग । “प्रयोगका सन्दर्भमा लहडी लेखकहरू जुत्ता हातमा बोकेर मोजा मात्र लगाएर हिँडेजस्तो लाग्छ,” लुइटेल भन्छिन्, “कतिपय पुस्तक पाठकका लागि भन्दा पनि लेखक स्वयंलाई तुष्टि दिने खालका देखिएका छन् ।”

लेखक पौडेल रक्सी र साहित्यलाई जोडेर हेर्छन् । उनका शब्दमा रक्सीको उत्पादन चरमसीमामा पुगिसक्यो, अब खेल्ने भनेको बोतलमै हो । साहित्य पनि मनग्गे लेखिसकियो । सिर्जनशीलता देखाउने भनेकै र्‍यापिङ पेपर अर्थात् सजावटमै हो । अर्थात् नाम, आवरण, विषयवस्तु, शैली, आञ्चलिकता, भूगोल, भाषिका नै सजावट हुन् । तर, आधा शताब्दीदेखि नेपाली साहित्यको लेखन ‘उद्देश्य’ जहाँको त्यहीँ छ ।

“नयाँ बोतलमा पुरानो रक्सी क्लिसे भइसक्यो । खासमा साहित्यमा चाहिएको त्यही हो । यहाँ नबिकेको भनेको बोतल नै हो,” उनको टिप्पणी छ, “यहाँ विचार, शैली र विषयका हिसाबले जीवित वा दिवंगत सबै सर्जक समकालीन छन् । फरक छन् भने तिनका झुन्ड मात्रै । नेपाली बजारमै नचल्ने साहित्य विश्व बजारमा कसरी चलोस् ?” 

वेदव्यास, सेक्सपियर, होमर या तोल्सतय आदि ‘साहित्यका सगरमाथा’ बनिसकेका छन् । संसारले लेख्नुपर्नेजति सबै कुरा लेखिसकेको छ । अब कसरी लेखियो भन्ने विषय मात्रै महत्त्वपूर्ण हो । समीक्षक लोहनीका शब्दमा समस्या पाठक वा प्रकाशकमा नभएर लेखकमै छ । तिनमा व्यक्तिगत र सामाजिक सीमा त छन् नै । अध्ययनको पनि समस्या छ । आममानिसको ज्ञानको तह कहाँ पुग्यो भन्ने सामान्य जानकारी पनि नभई कतिपय लेखक आएका छन् । आर्थिक उपार्जन नहुनुले पनि पठन संस्कृतिमा प्रभाव पारेको छ । स्कुल या कलेजले त्यस्तो आधार, प्रोत्साहन वा वातावरण दिन सकेका छैनन् । “जोसँग साहित्य लेखनको अनुकूल परिस्थिति छ, त्यो अन्यत्रै लागेको छ,” लोहनीको टिप्पणी छ, “जोसँग परिस्थिति अनुकूल छैन, उही लेखनमा लागेको छ ।”

छिटफुट नै सही, विश्व साहित्य मात्र नभएर सिनेमा, पेन्टिङ, संगीत, नाटक, नृत्य आदिको पारखी सर्जक जमात नभएको पनि होइन । अबको आशा ‘कन्टेन्ट’मा होइन, शैलीमा सिर्जनशीलता खोज्ने त्यही जमातसँग छ । “समकालीन पश्चिमा साहित्य अहिले कमजोर अवस्थामा छ । नेपाली साहित्यले विश्वमा आफ्नो धक्कु देखाउने मौका यही हो,” पौडेल भन्छन्, “क्रियटिभ राइटिङ र 

जटिल सम्पादकीय प्रक्रियाका कारण साहित्यमा किताब हो कि कमोडिटी छुट्टिन मुस्किल 

भएको छ ।”

‘उत्पादन प्रक्रिया’को हिस्सा भएकाले सबै किताबमा ‘आइडेन्टिकल’ स्वाद छ । त्यसै कारण अहिले विश्वमा प्रख्यात भएका भनिएका साहित्य खासमा ‘पश्चिमा’ होइनन् । नेपाली साहित्यका लागि उपयुक्त समय यही हो । के नेपाली लेखकहरू यसको तयारीमा छन् त ? 

प्रकाशित: पुस ६, २०७४