पुराना शक्तिलाई ‘चेक’

  • विवेकशील साझाले यसकारण पायो दुई प्रतिशत मत

- बाबुराम विश्वकर्मा

निर्वाचन आयोगमा दर्ता भएका १ सय ३६ राजनीतिक दलमध्ये १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ८८ दलले भाग लिए । चुनावमा भाग लिएका मध्ये नयाँ दलमा पर्छ, विवेकशील साझा पार्टी । पूर्वपत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा ६ महिनाअघि स्थापना भएको साझा पार्टी र चार वर्षअघि बनेको विवेकशील नेपाली दलबीच ११ असार ०७४ मा एकता भएर बनेको विवेकशील साझा औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको चार महिना पनि पुगेको छैन । 

न मजबुत संगठन न त व्यापक सदस्य सञ्जाल । तैपनि, सत्ता–राजनीतिमा हालीमुहाली गरेका पुराना र ठूला राजनीतिक दलका प्रभावशाली नेतालाई समेत यस चुनावमा कडा टक्कर दियो, यो पार्टीले । स्थापनाको छोटो अवधिमै यो दलले पाएको मत अप्रत्याशित छ । यद्यपि, यो बेग्लै कुरा हो कि यसले एउटा पनि सांसद जिताउन या राष्ट्रिय पार्टीको मान्यता पाउन सकेन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मत गणनामा साझा विवेकशीलले छैटौँ स्थान हासिल गरेको छ, मुलुकभरबाट दुई लाखभन्दा बढी मत पाएर । यो, कुल मतको दुई प्रतिशतभन्दा केही बढी हो । मानवशास्त्रका प्राध्यापक डिल्लीराम दाहाल यसलाई बूढो गोरुले जोत्न सकेन भनेर बहर गोरुलाई दिइएको मत ठान्छन् । भन्छन्, “नयाँ पार्टी र अनुहारप्रतिको नेपाली समाजको आकर्षण हो यो ।”

प्रदेश–३ मा त विवेकशील साझा चौथो ठूलो दल भएको छ । तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रपछि यस दलको मत छ । समानुपातिकमा तीन प्रतिशतको सीमा कटाउन नसकेर संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न नपाए पनि प्रदेश–३ को प्रदेशसभामा चाहिँ विवेकशील साझाका तीन जना समानुपातिक सांसद पुग्ने पक्का भएको छ । कुल सदर मतको तीन प्रतिशत मत पाउने दल प्रतिनिधिसभामा र १.५ प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउने कानुनी व्यवस्था छ । 

यसअघि राजनीति नै नगरेका नयाँ अनुहारले पुराना र चिरपरिचित नेतालाई सबैभन्दा बढी काठमाडौँमै टक्कर दिए, विवेकशील साझाका तर्फबाट । जस्तो बहुचर्चित काठमाडौँ–१ को नतिजा हेरौँ, विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलाई ‘चेक’ दिए । र, सिंहसँग ८ सय १९ मतले मात्र पराजित भए । 

यता, काठमाडौँ–२ मा १५ वर्ष एमाले नेतृत्व हाँकेका पूर्वप्रधानमन्त्री माधव नेपाललाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले चुनौती दिए । ठूला दलका उम्मेदवारभन्दा ढिलो गरी उम्मेदवारी घोषणा गरेर अनि पार्टी संगठनको अभावमै आचार्य ७ हजार ४ सय ३७ मत हासिल गरी तेस्रो स्थानमा आए । त्यसबाहेक काठमाडौँका अरू आठवटा क्षेत्रमा विवेकशील साझाका सबै उम्मेदवारले तेस्रो स्थान हासिल गरेका छन् । देशभरिमा विवेकशील साझाले प्रत्यक्षतर्फ प्रदेशसभाका ९१ सिटमा उम्मेदवारी दिएको थियो भने प्रतिनिधिसभाका ६६ सिटमा । प्रत्यक्षका सबै सिटको हिसाब गर्दा प्रदेशसभामा विवेकशील साझाको तराजु चिह्नले कुल ९७ हजार ८ सय ८७ र प्रतिनिधिसभामा ९३ हजार २ सय ४८ मत पाएको छ ।

प्रसंग प्रदेशसभा र प्रतिनिधिसभाको मात्र होइन, ३१ वैशाख ०७४ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा अलगअलग ढंगले होमिएका साझा पार्टी र विवेकशील नेपाली दलले काठमाडाँै र ललितपुर महानगरपालिकामा पाएको मतले पनि धेरैलाई झस्काएको थियो । जस्तो : विवेकशीलका तर्फबाट काठमाडाँै महानगरको मेयरमा उम्मेदवारी दिएकी रञ्जु न्यौपाने (दर्शना)ले २३ हजार ४ सय २९ मत पाइन् भने त्यही पदमा उठेका साझा पार्टीका उम्मेदवार पूर्वसचिव किशोर थापाले १८ हजार ४ सय ९६ मत पाए । काठमाडौँबासीले खासै नाम नसुनेकी रञ्जु मात्र होइन, साझाका तर्फबाट महानगरकी उपमेयरमा उठेकी निरूपमा यादवलाई समेत ११ हजार ५ सय ३३ मत दिए । ललितपुरको मेयरमा उठेका साझाका रमेश महर्जनले पनि १३ हजार ४ सय ५८ र उपमेयर शोभा शाक्यले १४ हजार २ सय ४० मत पाएकी थिइन् । 

विवेकशील साझा पार्टीले गाउँका भन्दा सहरका मतदाता लक्षित चुनावी अभियान चलाएको थियो र त्यही भएर होला, अहिले त्यो दलको अस्तित्व सहरमै सीमित छ । त्यसैको नतिजा हो, स्थानीय र संसद्को चुनावमा उसले प्रदेश–३ र त्यसमा पनि काठमाडौँमा सबैभन्दा बढी मत पाउनु । धेरै दुर्गम जिल्ला र गाउँमा त विवेकशील साझाको उपस्थिति नै छैन । भारतको नयाँ दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) जस्तै यहाँ विवेकशील साझा पार्टी उदाएको ठान्छन् प्राध्यापक दाहाल । भन्छन्, “सूचनाको पहँुच र सचेत मतदाताको बाहुल्य सहरमै हुन्छ । त्यसैले नयाँ दल र व्यक्तिलाई छिटो परीक्षण सहरमै गर्न मिल्ने भएकाले विवेकशील साझाले उल्लेख्य मत पाएको हो ।”

अहिले एकथरी मतदाता राजनीतिक वाद र दर्शनका विवादबाट दिक्क भएका छन् । सामाजवाद, साम्यवाद, उदारवाद, जनवादजस्ता राजनीतिक दर्शन सुन्दा सुन्दा वाक्क भएका मतदाता दर्शन र वादमुक्त तर मुद्दा केन्द्रित दलको पर्खाइमा रहेको विवेकशील साझाले पाएको मतले देखाउँछ । राजनीतिक दर्शनभन्दा बढी आमचासोका सहरी समस्या चर्कोसँग उठाएकाले सहरी मतदाता उसप्रति आकर्षित भएको हुन सक्छ ।

त्यसो त विवेकशील साझाले आफ्ना गतिविधि धेरैजसो राजधानीमै सीमित गर्दै आयो । भूकम्पमा होस् वा अरू स्वयंसेवी काम तथा सार्वजनिक सरोकारका मुद्दामा त्यो दलको भूमिका काठमाडौँमा केन्द्रित छ । त्यसको नतिजा पनि सहरबाटै प्राप्त गर्‍यो । पार्टी संयोजक रवीन्द्र मिश्र भन्छन्, “अहिलेसम्म सहरमा केन्द्रित छ, अब गाउँतिर फैलिएर देशव्यापी हुन्छ ।”

विसं २००७ को क्रान्तिअघि खुलेको नेपाली कांग्रेस मात्र होइन, ०४६ को जनआन्दोलनपछि खुला राजनीतिमा आएको एमाले, ०६२/६३ पछिको परिवर्तनसँगै शान्तिपूर्ण प्रतिस्पर्धामा आएको माओवादी, पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दल यसअघि पनि धेरैपटक परीक्षण भइसकेका छन् । ०६२/६३ को जनआन्दोलनपछि जन्मेका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीले पनि सत्ता राजनीतिमा आफ्नो भूमिका देखाइसकेका छन् । नयाँ शक्ति पार्टी नाममा नयाँ भए पनि यसका नेताहरू पुरानै राजनीतिक दलहरूबाट बसाइँ सरेका छन् । विवेकशील साझा पार्टीले भने जनताबाट परीक्षण हुने अवसर पाएको छैन । त्यसैले अहिलेको चुनाव त्यो दलका लागि पहिलो अवसर भएकाले पनि तुलनात्मक रूपमा छोटो अवधिमै बढी मत ल्याएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, “बेथिति, अराजकता र विकृति सुधार भएन, देश विकास र सुशासनको बाटोमा अघि बढेन भने पाँच वर्षपछि स्थिति अर्कै हुन्छ भन्ने संकेत हो यो ।”

राजनीतिक दर्शन, बलियो संगठन, व्यापक सदस्य अनि पुरानो विरासतलाई चुनाव जित्ने आधार मान्ने गरिन्छ । पुराना राजनीतिक दलले विचार, संगठन, सदस्य तथा जनाधारलाई राजनीतिमा स्थापित हुने र चुनाव जित्ने आधार बनाएका छन् । तर, विवेकशील साझा अपवाद बन्यो । चुनाव जित्न जे नभई हुँदैन भन्ने मान्यता थियो, त्यो बिना पनि मत पाउन सकिन्छ भन्ने नजिर स्थापित गरेको ठान्छन् पूर्वप्रशासक द्वारिकानाथ ढुंगेल । भन्छन्, “नयाँ पुस्ता र युवाहरूप्रतिको भरोसा र पुरानो नेतृत्वप्रतिको अविश्वासको सन्देश हो यो ।”

त्यसो त फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोगले पनि यस दलको चुनावी अभियान सहरी क्षेत्रमा प्रभावकारी बनायो । तैपनि, अहिलेको चुनावमा विवेकशील साझाले पाएको मतको प्रमुख आधार पुराना शक्तिप्रतिको आक्रोश र वितृष्णा अनि परिवर्तन र समृद्धिप्रतिको आकांक्षा नै हो । पुराना पार्टी र नेतालाई पटक–पटक मतदान गरेर पनि परिवर्तनको अनुभूति नभएका कारण त्यसको प्रतिशोध लिन सहरिया मतदाताको उल्लेख्य हिस्सा विवेकशील साझामा लहसिएको प्रस्ट हुन्छ । अहिले चुनावमा अभिव्यक्त भएको जनादेश अनुसार परम्परागत पार्टीहरूले स्थिरता, समृद्धि र सुशासन कायम गर्न नसकेमा पाँच वर्षपछिको स्थिति अहिले अनुमान गरेभन्दा बिलकुल भिन्न हुनेछ । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती थप्छन्, “नेपालीहरूमा परिवर्तनप्रतिको तीव्र आकांक्षा र राजनीतिक स्वच्छताको चाहनालाई विवेकशील साझाले यो चुनावमा क्यास गर्‍यो । बेथिति, बेइमानी र भ्रष्टाचारले आक्रान्त मानिसहरूको मत पनि यो दलले नै तानेको हो ।” 

प्रकाशित: पुस ५, २०७४