आवरण कथा» प्रभावी तर, पराजित

  • प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अख्तियारी प्रयोग गर्दा गर्दै पनि आरजु राणा देउवाको महत्त्वाकांक्षामा ब्रेक

- सन्तोष आचार्य

पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणका लागि प्रचार–प्रसारले गति लिन थालिसकेको थियो । प्रचार अभियानमा केही युवा, जुझारु र प्रभावशाली वक्ताहरूलाई परिचालित गर्न शुभचिन्तकहरूबाट सुझाव आइरहेको थियो । सुझाव अनुसार त्यस्ता वक्तालाई नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूसँगै देश दौडाहामा लैजाने निधो भयो । तर, त्यसको अनुमोदन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट गराउनुपर्ने थियो र त्यो सन्देश बालुवाटार पठाइयो । उताबाट प्रधानमन्त्री एवं पार्टी सभापति–पत्नी आरजु राणा देउवाबाट युवा नेताहरूको विश्वसनीयतामाथि प्रश्न उठाउँदै यस्तो भावको जवाफ आयो, ‘नेपाली कांग्रेस भनेको देउवा, पौडेल र कोइरालाहरूको वरिपरि मात्र घुम्छ ।’

 

श्रीमती देउवाको यस्तो सन्देशको प्रस्ट आशय थियो– देउवा, पौडेल (रामचन्द्र) र कोइराला (शशांक)का निकटस्थबाहेक अरू नेता–कार्यकर्ताको कुनै महत्त्व छैन र पार्टीमा उनीहरूको स्थान पनि छैन । बालुवाटारबाट यो सन्देश प्राप्त भएपछि फेरि यस्तो विषय उठाउने साहस कसैले गर्न सकेन । 

प्रस्तावित युवालगायतका नेताहरू चुनावी प्रचारमा गएका भए कांग्रेसको पक्षमा लहर आउने थियो भन्ने होइन । प्रखर वक्ताहरूको भाषणले जनमानसलाई आकर्षित गर्न सक्छ भन्ने लागेपछि यस्तो टुंगोमा पुगिएको थियो । निर्वाचन अभियानमा सक्रिय एक कांग्रेस नेता भन्छन्, “थर किटेरै तीनवटा परिवार मात्र भनिसकेपछि पार्टीमा त्यसबाहेक अरूको कुनै हैसियत नै रहेन अब ।” 

 

श्रीमती देउवाको यस्तो जवाफको अर्थ अनेक लाग्छ, लगाउन सकिन्छ । पहिलो, यसले उनी कतिसम्म शक्तिशाली छन् भन्ने देखाउँछ । 

 

दोस्रो, निर्वाचन अभियान नितान्त पार्टीको र त्यसमा पनि पार्टी सभापति रहेका उनका पतिको सरोकारको मामिला हो । यसको सर्वाधिकार सभापति देउवामा मात्रै सीमित र निहित छ । तर, श्रीमान्ले दिनुपर्ने निर्णयमा श्रीमती देउवा ठाडै हाबी हुन पुगिन् । 

 

यसको अर्को अर्थ हो, सभापति देउवा आफ्ना अधिकारहरू अनधिकृत रूपमा पत्नीलाई सुम्पिरहेका छन् । पार्टीको अख्तियारी यसरी पत्नीलाई हस्तान्तरण गरिरहेका उनले प्रधानमन्त्रीका अधिकार पनि नदिएका होलान् भन्ने बलियो आधार छैन । 

 

तेस्रो, श्रीमती देउवामा केही परिवारबाहेक अरूलाई गणनासम्म नगर्ने दम्भी स्वभाव विकसित हुँदै गरेको देखाउँछ, यो घटनाले । समाज विज्ञानीहरूको भाषामा, यो राणाकालीन सामन्ती संस्कारको अवशेष हो । 

तत्कालीन राजा ज्ञानेन्द्रबाट दसैँ टीका ग्रहण गरेर बाहिरिँदै देउवा दम्पती, ६ असोज ०६१

 

प्रधानमन्त्री एवं पार्टी सभापति देउवामाथि उनकी पत्नी हाबी भएको एउटा सानो र ताजा उदाहरण मात्र हो, यो । तर, यसरी पतिको अख्तियारी उपयोग गर्दै गर्दा मनोविज्ञानमा विद्यावारिधि श्रीमती देउवाले आफ्नै पार्टीको मनोविज्ञान त बुझ्न सकिनन् भने मतदाताको कसरी बुझून्  ? परिणाम, उनी आफैँ पाँच हजारभन्दा बढी मतले कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित भइन् । 

 

उनी मात्रै होइन, उनी निर्वाचन लडेको पार्टी नेपाली कांग्रेसले नै आफ्नो इतिहासमा सर्वाधिक लज्जास्पद पराजय बेहोर्‍यो, यसपालि ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा २३ सिट मात्र जितेर एकाएक तेस्रो ठूलो पार्टीमा झरेको कांग्रेस यसरी पराजित हुनाका अनेक कारण थिए, छन् । र, त्यसमध्येको एउटा प्रमुख कारण हो– देउवा दम्पतीको नीति, शैली र गतिविधि ।

 

अति महत्त्वाकांक्षा

फागुन ०७२ मा भएको १३औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व देउवाको हातमा आएपछि श्रीमती देउवा पार्टी निर्णय प्रक्रियामा बिस्तारै हावी हुन थालेकी हुन् । अहिले त उनी त्यो भूमिकामा पूर्ण रूपेण सफल छन् । त्यसैको परिणति हो, पार्टीमा उनी छुट्टै शक्तिकेन्द्रका रूपमा स्थापित हुनु । जस्तो : आफूलाई ‘गुड म्यानेजर’ मान्ने उनले पति देउवाका ‘किचन क्याबिनेट’ भनिएका रमेश लेखक, प्रकाशशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मालाई आफूले भनेको मान्ने बनाइसकेकी छन् । त्यसैले सभापति देउवाप्रति मात्र बफादारहरू उनलाई ‘क्रस’ गरेर अघि बढ्न सक्ने स्थिति छैन । यसबाट आफूलाई नरिझाई केही हँुदैन भन्ने सन्देश दिन उनी सफल भएकी छन् । 

 

अझ पछिल्लोपटक खुमबहादुर खड्का गुटबाट आएका मोहनबहादुर बस्नेत, जो हाल सूचना तथा सञ्चारमन्त्री छन्, लाई त आफूप्रति पूरै बफादार बनाएकी छन् । उनले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा पाउनुमा समेत श्रीमती देउवाको कृपाले काम गरेको स्रोतको भनाइ छ । 

 

त्यही भएर हुनुपर्छ, मन्त्री बस्नेतले श्रीमती देउवालाई रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । उदाहरणका लागि, १८ मंसिरमा धनगढीमा श्रीमती देउवासमेतको उपस्थिति रहेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले उनलाई अबको प्रधानमन्त्री नै भनेर घोषणा गरिदिए । नेपाल प्रेस युनियनद्वारा आयोजित त्यस कार्यक्रममा बस्नेत भन्दै थिए, ‘राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेका छन् । प्रधानमन्त्री हुने पालो अब महिलाको हो । कांग्रेसबाट प्रधानमन्त्रीको दौडमा आरजु नै हुनुहुन्छ ।’ उनी यत्तिमै रोकिएनन् । श्रीमती देउवातिर हेर्दै उनले थपे, ‘कांग्रेसले बहुमत ल्याए आरजु देउवा नै प्रधानमन्त्री हुने हो । कुशल, क्षमतावान् र देश हाँक्न सक्ने महिला भएकाले उहाँलाई नै कांग्रेसबाट अघि सारिने छ ।’ श्रीमती देउवाले मन्त्री बस्नेतको यस भनाइप्रति असहमति जनाइनन् । सायद, उनी यही चाहन्थिन् र आफ्नो आकांक्षा कतैबाट सार्वजनिक भएकामा भित्रभित्रै खुसी थिइन् । 

 

खासमा पार्टीको संस्थापन पक्षमा सभापति देउवाका तर्फबाट अधिकांश निर्णय श्रीमती देउवाले नै गर्छिन् । स्वभावत: आफ्ना निर्णयमा सभापतिले श्रीमतीको सरसल्लाह पनि लिने भई नै हाले । १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा टिकट दिने बेला पनि श्रीमती देउवाको भूमिका महत्त्वपूर्ण थियो । सभापति देउवाको भागमा परेको टिकट वितरणमा उनी नै हाबी देखिइन् । रूपमा प्रकाशशरण महत र बालकृष्ण खाँडले उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पाएको देखिए पनि सारमा श्रीमती देउवाले नै पछिल्लो निर्वाचनमा समानुपातिक, प्रादेशिक र केन्द्रीय तीनवटै तहको टिकटमा अन्तिम निर्णय दिएको उनी निकट एक केन्द्रीय सदस्यको दाबी छ । ती केन्द्रीय सदस्य भन्छन्, “टिकटको अन्तिम नामावली म्याडमकहाँबाट लालमोहर लगाउन मात्र सभापतिकहाँ पुगेको हो ।”

आरजु राणा देउवा धनगढीमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका साथ । यो त्यही कार्यक्रम थियो, जसमा बस्नेतले श्रीमती देउवालाई ‘भावी प्रधानमन्त्री’ भनेका थिए

 

०६१ मा कांग्रेस महासमिति सदस्य बनेर ०६४ र ०७० मा पार्टीका तर्फबाट संविधानसभा सदस्य भइसकेकी श्रीमती देउवाको महत्त्वाकांक्षाको शृंखलामा पछिल्लोपटक भने पहिरो गएको छ । अर्थात् चाँडोभन्दा चाँडो पार्टी उपसभापति हुने उनको अघोषित अभियान निर्वाचनमा भएको पराजयपछि तत्काललाई रोकिएको छ । 

 

विश्वस्त स्रोतका अनुसार उनी पार्टी उपसभापति बन्न आतुर थिइन् । तर, यो सार्वजनिक छ कि कांग्रेसभित्रको देउवा गुटमा रहेका विमलेन्द्र निधिले पार्टीको १३औँ महाधिवेशनदेखि नै उपसभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका छन् । यही कारण हुन सक्छ, श्रीमती देउवा र निधिको सम्बन्ध सुमधुर छैन । तर, संयोग कस्तो भने निर्वाचनमा यी दुवै पराजित भएका छन् ।

 

वंश परम्पराको निरन्तरता 

पार्टीको १३औँ महाधिवेशन, जो एकताको महाधिवेशन थियो, यसकारण महत्त्वपूर्ण थियो, जहाँबाट ६०/४० को भागबन्डा समाप्त हुने आशा आमकांग्रेसजनको थियो । कोइराला संस्थापन रहेको कांग्रेस पहिलोपटक गैरकोइराला अर्थात् देउवाको हातमा पुगेको थियो । कोइरालाविरोधी राजनीति गरेका र कोइराला परिवारबाट प्रताडित भएकाहरूको अपेक्षा थियो कि देउवाले न्याय गर्छन्, वंशवादको राजनीति सकिनेछ । तर, विडम्बना  !

 तिनै देउवा आफ्नै गुटलाई निरन्तरता दिन पुगे । उनको यो गुटलाई उनकी पत्नीले पुन:निर्माण गरेर आफ्नै गुट खडा गरिन् । पार्टी र सरकारमा पत्नीलाई हाबी गराएर देउवाले वंशवादको राजनीतिलाई निरन्तरता दिए, जुन गिरिजाप्रसाद कोइरालाले गरे भनेर उनी आफैँ सधँै आलोचना गरिरहन्थे । 

अर्थात् १३औँ महाधिवेशनले जे अपेक्षा गरेको थियो, त्यो पूरा भएन ।

देउवालाई नजिकबाट चिन्नेहरूले भने वंशवादलाई अघि बढाउने मामिलामा उनी कोइरालाभन्दा एक कदम अघि रहेको ठान्छन्, जो प्रमाणित पनि भइसकेको छ । जस्तो कि जतिबेला गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउँदा त्यसको मौन समर्थन गरेका थिए, देउवाले । बरू, त्यतिबेला गिरिजाप्रसादका भाइ सुशील कोइरालाले यो निर्णयको सार्वजनिक रूपमा विरोध मात्रै गरेनन्, कति दिनसम्म दाजुसँग बोलचालसमेत बन्द गरे । देउवाले वंशवादको समर्थन गर्नुको कारण थियो, कुनै बेला आफूले पनि श्रीमती र आफ्नो वंशलाई अघि बढाउन त्यही शैली अपनाउनुपर्नेछ भन्ने उनले बुझेका थिए । 

 

जसरी बीपी कोइरालापछि उनका भाइहरू र लगभग पूरै कोइराला परिवार कांग्रेस राजनीतिमा लागेको छ, देउवाले पनि त्यही सिको गर्दै आफ्नो परिवारलाई राजनीतिमा ल्याउन चाहेका हुन् । श्रीमती देउवा विभिन्न गैरसरकारी संघ–संस्थाका सामाजिक कार्यहरूमार्फत यसै पनि डडेल्धुरा पुगिरहेकी नै थिइन् । ०६१ मा पार्टीको महासमिति सदस्य भएपछि त झन् उनले त्यहाँ बढी नै ध्यान दिन थालिन् । ०७० मा उनी दोस्रोपटक समानुपातिक सभासद् बन्दै गर्दा पति देउवा डडेल्धुरा र कैलाली दुई स्थानबाट निर्वाचन लड्दै थिए । जानकारहरूका अनुसार आफू बिस्तारै कैलाली सरेर डडेल्धुरा श्रीमतीलाई छाडिदिने उनको सोच थियो । तर, अनेकाँै सामाजिक र विकासका कार्य गरेर मन जित्न खोजिरहेकी श्रीमतीलाई डडेल्धुरामा सोचेजस्तो सहयोग नहुने देखेपछि देउवा पुन: पहाडतिरै उक्लिए । र, कैलाली श्रीमतीका लागि छाडिदिए । 

 

तर, देउवाले कैलालीलाई आफ्नो विरासतको थलो बनाउन चाहेको भन्दै धनगढीमा त्यसलाई नरूचाइएको स्वर नसुनिएको होइन । यो बेग्लै कुरा हो कि, त्यो स्वर ज्यादै मसिनो थियो । ०७० को निर्वाचन जितेपछि देउवाको राजीनामाका कारण खाली भएको कैलालीको त्यस क्षेत्रको उपनिर्वाचन कांग्रेसका पुष्करनाथ ओझाले जिते । यसपालि भने आफ्नो साटो श्रीमती देउवाले टिकट पाएपछि ओझा मौन बसिदिए, प्रचारमासम्म हिँडेनन् । सारमा, स्वयं कांग्रेसवृत्तले नै उनको कैलाली आगमनलाई मनैदेखि स्वागत गर्न चाहेन । परिणाम सबैका सामु छ । 

 

पढेकी र सक्षम महिला हुँदाहँुदै पनि खासमा उनले सभापति देउवाकी श्रीमती भएकै कारणले विगतमा समानुपातिक र अहिले प्रत्यक्षतर्फ उम्मेदवार बन्न पाएको भन्दै धेरैले यसलाई वंशवादको निरन्तरताका रूपमा पनि अथ्र्याएका छन् । “अहिले श्रीमतीलाई, अर्को कुनै निर्वाचनमा छोराका लागि पनि हामीले त्याग गर्नुपर्ने होला,” धनगढीका एक कांग्रेस नेता भन्छन्, “कांग्रेसमा कोइरालाहरूको वंशवाद सकियो कि भनेको अहिले फेरि अर्को वंशवाद हाबी भएछ ।” 

 

सारमा, पार्टी र सरकार सञ्चालनमा आफूलाई नजरअन्दाज गरेर कोही पनि अघि बढ्न सक्दैन भन्ने सन्देश दिन श्रीमती देउवा सफल भएकी छन् । पार्टीले भोगेको असफलता बेग्लै कुरा हो । ७१ वर्षीय प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको होस्ल्याङे बानी र स्मरण शक्तिमा आउन थालेको ह्रासका कारण पत्नीले सहयोग गर्नु स्वाभाविक हो, अन्यथा होइन । तर, निर्णय प्रक्रियामा नै हाबी हुने प्रवृत्तिलाई भने आमकांग्रेस कार्यकर्ताले पचाउने कुरा थिएन र पचाउन सकिरहेका छैनन् ।

 

विगतमा प्रहरी महानिरीक्षक प्रकरण, राजदूत नियुक्ति, प्रधानन्यायाधीशविरुद्धको महाभियोग, जम्बो मन्त्रिमण्डल, सञ्चारमाध्यममा प्रस्तुतिजस्ता प्रकरणमा देउवालाई जसरी प्रस्तुत गरियो, निर्णय प्रक्रियामा हाबी भएका कारणले यसबाट श्रीमती देउवालाई उन्मुक्ति मिल्ने ठाउँ छैन । विधिको शासनको सधैँ वकालत गर्दै आएको कांग्रेसको लोकतान्त्रिक धार कमजोर भइरहेको संकेत थियो, त्यो । यस्तै भुत्ते धारसहित पार्टीलाई निर्वाचनमा ओरालेपछि जुन परिणाम आएको छ, त्यो आफँैमा अप्राकृतिक पनि होइन । 

 

तर, प्रश्न उठ्छ– महासमिति सदस्यको हैसियतमा मात्र रहेकी श्रीमती देउवाले केवल पार्टी सभापति र प्रधानमन्त्री आफ्नो श्रीमान् भएकै कारण उनका हरेक निर्णय प्रक्रियामा हाबी हुन पाउँछिन् ? यदि पाउँछिन् भन्ने हो भने कांग्रेस पराजयको फोहोर छिटा उनको साडीमा देखिनु अस्वाभाविक पनि भएन । 

 

(आवरण तस्बिर : दीपक उपाध्याय नेपाल)

 

 

विवाहपछि देउवा दम्पती

 

र, राजनीतिमा 

आरजु राणा देउवाले विसं ०४६ को अन्त्यतिर साथी नामक गैरसरकारी संस्थाको स्थापना गरेर आफ्नो व्यावसायिक जीवनको प्रारम्भ गरेकी हुन् । त्यसअघि उनले काठमाडाँंस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईयूसीएनमा काम गरेकी थिइन् । ०५० मा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवासँग विवाह भयो । तर, उनी राजनीतिबाट टाढै रहिन् । ०५१ मा रुडुक, ०५३ मा सुरक्षित मातृत्व सञ्जाल महासंघ र ०५४ मा समानतालगायत विकासे आयोजनाहरूमा सक्रिय रहेकी उनको विवाहको दोस्रो वर्ष, जब देउवा प्रधानमन्त्री बने त्यतिबेलासम्म पनि उनमा राजनीतिक महत्त्वाकांक्षा देखिएको थिएन । 

जब भदौ ०५९ मा देउवाले नेपाली कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे, त्यही बिन्दुबाट राजनीतिमा उनको सक्रियता प्रारम्भ भयो । बिस्तारै पार्टीमा उनले आफ्नो प्रभाव बढाइन् । कतिसम्म भने त्यतिबेला देउवाका विश्वासपात्र भनिएका र पार्टी विघटनमा बल पुर्‍याउनेहरू बलबहादुर केसी, विजय गच्छदार, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल आदि ‘दाइ (देउवा) कांग्रेस मान्न सकिने तर भाउजू (श्रीमती देउवा) कांग्रेस भने मान्न नसकिने’ भन्दै मूल पार्टीमै फर्किए । 

तर, ०६२–६३ को जनआन्दोलनपछि देउवाले आफ्नो पार्टीलाई नेपाली कांग्रेसमै विलय गराएपछि भने उनको प्रभाव कम हुन गयो । किनभने, पार्टीको नेतृत्वमा त्यसबेला गिरिजाप्रसाद कोइराला थिए र पार्टीमा कोइरालाकै ‘किचन क्याबिनेट’ हाबी थियो ।

प्रकाशित: पुस ३, २०७४