‘प्रचण्ड अहिले नै सेरेमोनियल भूमिकामा बस्नुहुन्न’

कमरेड प्रचण्डका बारेमा अस्थिरताको कुरा गरिन्छ । मूलभूत रूपमा म त्यसलाई गतिशीलता भन्छु र त्यसभित्र बेलाबेलामा अस्थिरता देखा पर्दै परेन म भन्दिना ।

- रामबहादुर रावल

वाम गठबन्धन निर्माणमा लामो समयदेखि सक्रिय नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिखेर हर्ष र विष्मात्को दोसाँधमा छन् । खुसी यसकारणले कि उनले निकै कसरत गरेपछि बनेको गठबन्धनले अपत्यारिलो जनसमर्थन प्राप्त गरेको छ । तर, स्वयं श्रेष्ठले भने आफ्नै निर्वाचन क्षेत्रबाट नमीठो नतिजा बेहोर्नुपर्‍यो । यही सन्दर्भमा २७ मंसिरमा नेपालले गरेको कुराकानी :

वाम गठबन्धन निर्माणमा निकै कसरत गर्नुभयो र गठबन्धनले अपार जनमत पनि प्राप्त गर्‍यो तर आफैँले चाहिँ अप्रिय नतिजा सामना गर्नुपर्‍यो । कस्तो अनुभूति भइरहेको छ ?

मूलभूत रूपमा म खुसी नै छु । पहिलो कुरो त नेपालको राजनीतिक संक्रमण अन्त्य भयो । वामपन्थी शक्तिहरूको नेतृत्वमा मौलिक ढंगको समाजवादउन्मुख समावेशी लोकतन्त्र संस्थागत हुने बाटोमा मुलुक गयो । दोस्रो, आर्थिक क्रान्तिमा फड्को मार्ने ढोका खुलेको छ । जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, चुनाव हो– हारजित भई नै हाल्छ । तैपनि, म बोधिसत्व प्राप्त गरिसकेको मुक्त मानव होइन । चुनावको जितहारले धेरथोर प्रभावित पार्दैन भन्ने होइन ।

बाबुराम भट्टराईले नै जितेको क्षेत्रमा तपाईं किन उठ्नुभयो ? जबकि, त्यही क्षेत्र नपाएकाले भट्टराई गठबन्धनबाट अलग हुन पुग्नुभयो ।

त्यो बाबुरामजीको क्षेत्र होइन । उहाँ एकपटक त्यहाँ चुनाव लड्नुभएको हो । पछि त्यो छोडेर गोरखा–१ बाट लड्न जानुभयो र जित्नुभयो । तर, बीचैमा राजीनामा दिनुभयो । पार्टी र कम्युनिस्ट आन्दोलन नै छाड्नुभयो । म गोरखामै जन्मिएको र मेरो भावनात्मक सम्बन्धसमेत भएको कारणले त्यहीँबाट उठ्नुपर्छ भन्ने मेरो पनि मानसिकता र पार्टीले पनि त्यो सोच बनाएको हो । तर, बाबुरामजीले २ नम्बर क्षेत्र नपाएका कारणले गठबन्धन तोड्नुभयो भन्ने सत्य होइन । वाम गठबन्धनले त्यो निर्णय गर्नुभन्दा अगाडि नै अनायासै उहाँले छोड्नुभएको हो । 

भट्टराई वाम गठबन्धनमा पनि अन्तिममा एकाएक देखापर्नुभएको थियो । पछि एकाएक छोड्नुभयो । किन होला त ?

यो कुरा निश्चय पनि इतिहासमा समीक्षाको विषय बन्ला । तर, एउटा कुरा प्रस्ट नै भयो कि यदि त्यही कारणले छाड्नुभएको हो भने उहाँ कति संकीर्ण सोचका साथ गठबन्धनमा आउनुभएको रहेछ, कम्युनिस्ट आन्दोलनको एकीकरण गरौँ, एकीकृत पार्टी बनाऔँ र वामपन्थीहरूको सरकार बनाएर सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाऔँ भनेर त होइन रहेछ । आफ्नै निर्वाचन क्षेत्र पाउँछु कि पाउँदिनँ भनेर रहेछ । 

प्रसंग बदलौँ । निर्वाचन परिणाम आइसकेको छ । अब सरकार बनाउनुपनेर् होला । पार्टी एकीकरण गर्ने पनि भनिएको छ । पहिला सरकार कि पार्टी एकीकरण ?

आदर्शको कुरो त पहिला पार्टी एकीकरण गरेर एकीकृत पार्टीको सरकार नै हो । 

आदर्श अनुरूप नहुन पनि सक्छ ?

पहिला पार्टी एकीकरण गर्दा नै राम्रो हुन्छ । हामी छिटोभन्दा छिटो एकता चाहन्छौँ । यसमा हामी दृढतापूर्वक अगाडि बढ्ने कुरामा स्पष्ट छौँ । तर, व्यावहारिक रूपमा हेर्दा एकताको गृहकार्य सरकार बनाउनुभन्दा अगाडि पुग्छ कि पुग्दैन, अहिले नै टुंगोका साथ भन्न सकिने स्थिति छैन । त्यसकारण पार्टी एकताभन्दा पहिले नै सरकार बन्नेतिर पो जान्छ कि ?

त्यसो भए कुनै गृहकार्यबिना नै एकीकरणको फन्डा दिएर चुनावमा गएको रहेछ गठबन्धन ?

पार्टी एकताको संकल्प गरेर, एकता समिति बनाएर, वक्तव्य जारी गरेर चुनावी गठबन्धन गरेका हौँ । चुनावी गठबन्धनका निम्ति मात्रै त एकता संयोजन समिति पनि बनाउँदैनथ्यौँ होला । केही तयारी भएको छ, संकल्प छ तर एकीकृत पार्टी निर्माणका लागि तयारी पुगेको छैन ।

शक्ति बाँडफाँटमा कुरो नमिले एकीकरण पनि नहुन सक्छ कि ?

कुरै नमिल्ने भन्ने त लाग्दैन । तर, दस्तावेजहरू तयार गर्नुपर्‍यो । विस्तृतमा महाधिवेशनमा छलफल गरे पनि न्यूनतम अहिले सहमतिको दस्तावेज तयार गर्नुपर्छ । दोस्रो कुरा, अब नेतृत्वदेखि तलसम्म एकीकरणको निम्ति संरचनात्मक आधार तयार पार्नुपर्‍यो । यी सबै काम गरेर सरकार बनाउने कुरा भ्याए त राम्रै हो । तर, भ्याइएन भने सरकार निर्माण प्रक्रियातर्फ लाग्नुपर्ने हुन्छ । सरकार बनेपछि पनि एकता प्रक्रिया रोकिँदैन । 

प्रचण्डका विगतका व्यवहार हेर्दा उहाँ एकदमै अस्थिर चरित्रको देखिनुहुन्छ । अहिले पनि उहाँले बार्गेनिङ गर्न पर्याप्त शक्ति आर्जन गर्नुभएको छ । यसैका आडमा उहाँले फेरि पनि पुरानै चरित्र प्रदर्शन गर्नुहुन्छ कि ?

कमरेड प्रचण्डका बारेमा अस्थिरताको कुरा गरिन्छ । मूलभूत रूपमा म त्यसलाई गतिशीलता भन्छु र त्यसभित्र बेलाबेलामा अस्थिरता देखा पर्दै परेन म भन्दिनँ । अहिलेको हकमा म प्रस्ट भन्न सक्छु– उहाँ यो एकता प्रक्रियालाई छिटो सकारात्मक टुंगोमा पुर्‍याउने पक्षमा हुनुहुन्छ । 

अब प्रचण्ड सेरेमोनियल भएर बस्नुहुन्छ कि कार्यकारी भूमिका खोज्नुहुन्छ ?

एकीकृत पार्टीको कुनै पद सेरेमोनियल बनाउने र कुनै कार्यकारी बनाउने भन्नेबारे छलफल नै भएको छैन । दुवै पार्टीको अवधारणा अहिलेसम्म अध्यक्ष नै कार्यकारी हुने प्रकृतिको छ । एकीकृत भएपछि पनि सेरेमोनियल पदको कल्पना गरिएको छैन । जे भए पनि कार्यकारी पद हुन्छ । के हुने भनेर हामीले व्यक्तिगत रूपमा वा हाम्रो पार्टीले मात्र सोच्नुपर्ने अवस्था छैन । दुवै पार्टीबाट आएका प्रस्तावमा छलफल गरी टुंगो लगाउँछौँ ।

कि राष्ट्रपति बन्नुहुन्छ ?

अहिले नै उहाँ कुनै सेरेमोनियल पदमा रहने कुरा सायद राष्ट्रको मागबमोजिम हुँदैन र उहाँ त्यसको निम्ति तयार पनि हुनुहुन्न । एकीकृत पार्टी बनाइछाड्ने र वामपन्थी सरकारमार्फत समाजवादउन्मुख समृद्ध नेपाल निर्माण गरी छाड्ने हाम्रो मिसन छ । त्यो पूरा गर्न हामी सबैको सक्रिय भूमिका र त्यसमा पनि एमाले अध्यक्ष कमरेड केपी ओलीसहितको टिम र हाम्रो पार्टीको अध्यक्ष प्रचण्ड सबैको कार्यकारी भूमिका आवश्यक छ ।

एमालेमा माधव नेपाल, झलनाथ खनालजस्ता नेताका अलग–अलग गुट छन् । तपाईंहरू पनि मोहन वैद्य, बाबुराम भट्टराईसँग मिलेर बस्न नसकेको अवस्था छ । भोलि दुई पार्टी एक हुँदा कसरी समस्यारहित ढंगले जान सम्भव हुन्छ ?

हाम्रो त पदीय समस्या मात्रै होइन, राजनीतिक कारणले हो । बाबुरामजीले त सिद्धान्त र आन्दोलन नै त्यागेर हिँड्नुभयो । वैद्यजी क्रान्तिको अभिभारा पूरा गर्न यो बाटोबाट सकिन्न भनेर अलग्गिनुभयो ।

अब तपाईंहरूले माओवाद वा प्रचण्डपथ छाडेको मान्ने कि एमालेले जनताको बहुदलीय जनवाद छाडेको भन्ने ?

अहिले नै सबै कुरा मिलिहाल्दैन । तर, किन एकता हुन सक्छ भन्ने निष्कर्षमा पुग्यौँ भने तात्कालिक रूपमा मूल राजनीतिक कार्यनीति मिल्छ । जस्तो : राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान कार्यान्वयन, परिमार्जन र विकास गर्ने, शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकार बनाएर देशलाई समृद्ध बनाउने, सामाजिक न्यायसहितको समृद्धि हासिल गरी समाजवादको आधार खडा गर्ने । यसले केही क्षणका लागि मात्रै दिशानिर्देश गर्दैन, लामो अवधिका लागि गर्छ ।

तपाईंहरूले दुई तिहाइ माग गर्नुभएको थियो र करिब आसपासमा पुगेको देखिन्छ । के संविधानमा आधारभूत परिवर्तन गर्नुहुन्छ ?

संशोधन मूल एजेन्डा होइन । हाम्रो पहिलो ध्यान संविधानको कार्यान्वयनमा छ र यही संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धिको दिशामा फड्को मार्नु हो ।

प्रत्यक्ष कार्यकारीका लागि संविधानका व्यवस्था हेरफेरको प्रयास हुँदैन अब ?

त्यस दिशामा हामी जाँदै जाँदैनौँ भनिनँ मैले । हाम्रो प्राथमिकता यही संविधानको कार्यान्वयन हुन्छ । 

यो संसद्को पाँचवर्षे कार्यकालमा संविधानमा प्रत्यक्ष कार्यकारीको व्यवस्था राख्ने प्रयास हुन्छ कि हुँदैन ?

हाम्रो पार्टीको त एजेन्डा नै त्यही हो । एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा ल्याएको थियो, अघिल्लो चुनावमा । 

भनेपछि एमालेको तत्परतामा भर पर्ने कुरा हो यो ?

सायद त्यो पनि हुन सक्छ । 

अबको प्रधानमन्त्री त केपी ओली नै होलान् नि होइन ?

यसमा म एक जनाले भन्नु व्यक्तिवादी हुन्छ । दुवै पार्टी, एकता संयोजन समितिलगायतले छलफल गरी औपचारिक रूपमा टुंग्याउलान् । तर, तपाईंले संकेत गरेकै दिशामा जान्छ भन्नलाई पर्याप्त ठाउँ छ ।

केपी ओली प्रधानमन्त्री बन्ने पाँचै वर्षलाई हो कि बीचमै प्रचण्डलाई हस्तान्तरण गर्ने ?

त्यो त सल्लाहमा टुंगिएला । तर, नेतृत्वले पार्टी र सरकारमा कार्यकारी भूमिका हुने गरी समझदारीमा टुंग्याउने भन्नेमा दुवै पक्ष एकमत छौँ ।

भनेपछि फेरि पनि राजनीतिक स्थायित्व नहुने भयो, होइन ?

स्थायित्व त हुन्छ । यो ग्यारेन्टीसाथ भन्न सक्छु, अबको पाँच वर्ष वामपन्थीको स्थायी सरकार हुन्छ । विगतको अवस्था दोहोरिँदैन । हामी त्यो अवस्थाबाट धेरै माथि उठिसकेका छौँ । सहिदहरूका सपना, नेपाली जनताका आशा र आकांक्षा पूरा गर्न अनि जनमतको कदर गर्नका लागि पनि विचलित नहुने संकल्प गरेका छौँ ।

बुद्धत्व नै प्राप्त भयो कि क्या हो ?

बुद्धत्व प्राप्त त भएको छैन तर हामीले धेरै चेतेका छौँ । 

१२ बुँदे गर्दा भारतको जुन भूमिका थियो, १६ बुँदे गर्दा त्यो भएन । त्यसपछिका दिन असहज भए । अबका दिनमा पनि यस्तै असहज परिस्थिति आउन सक्छ कि ?

चुनौतीहीन अवस्थामा छौँ भनेर म भन्दिनँ । त्यसप्रति सजग नै छौँ । नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएर जारी गर्दा हाम्रा छिमेकीहरूले सकारात्मक रूपमा लिएर स्वागत गर्नुको साटो नाकाबन्दीसम्म खेप्यौँ । तर, नयाँ राजनीतिक उचाइमा हामी सम्बन्ध कायम गर्न चाहन्छौँ । त्यसतर्फ पहल हुन्छ ।

चुनावअघि गठबन्धनका नाममा जुन ध्रुवीकरण भयो, त्यसमा भूराजनीतिक उत्प्रेरणाले काम गरेको थियो ?

अर्को (लोकतान्त्रिक) गठबन्धनको म भन्न सक्दिनँ तर वामपन्थी गठबन्धन मुलुकको आवश्यकताले जन्माएको हो । 

प्रकाशित: पुस ३, २०७४