‘दु:खमा हुर्किएँ, दु:खकै भाका मन पर्छ’

- मनबहादुर बस्नेत

एक जना दृष्टिविहीनले गाएको तामाङ जातिको टुङ्ना बाजाको मधुर धुन युट्युबमा चर्चित छ । यो धुन निकाल्ने व्यक्ति हुन्, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका लिस्तीका वीरबहादुर विश्वकर्मा, ३३ । जन्मजातै दृष्टिविहीन विश्वकर्माले लोक सांगीतिक समूह कुटुम्बको कार्यक्रममा समेत आएर टुङ्ना धुन बजाउँदै गाएका छन् । निरक्षर उनी गाएरै पाँच जनाको परिवार पालिरहेका छन् । टुङ्नाको धुन र उनको जीवनबारे टुङ्नावादक विश्वकर्मासँग गरिएको कुराकानी :

तामाङ जातिमा प्रचलित बाजा टुङ्ना बजाउन कसरी सिक्नुभयो ?

म सानैदेखि धामीझाँक्री पनि गर्थें । यही क्रममा गुरुकहाँ जाँदा निकै सुरिलो धुन बजेको सुनेँ । त्यसपछि मैले गुरुकै सहयोगमा बाजा बजाउन सिकेँ । त्यतिखेर म ११ वर्षको फुच्चे थिएँ । पछि  मैले गुरुकै टुङ्ना किनेँ पाँच सय रुपियाँमा । 

त्यो बाजा तपाईंलाई मन परेर किन्नुभयो कि अरू नै केही कारण थियो ?

यसको धुन मलाई साह्रै मीठो र आनन्द दिने खालको लाग्यो । मेरो मुटु छोयो । अनि, सोचेँ– यो बाजा बजाएर बाटोमा माग्न बसेमा जीवन गुजारा गर्न सहज होला । मैले बजाउन सिकेको ६/७ वर्षपछि नै टुङ्गा किनेँ । अहिले त यो बाजा बजाउने मानिस नै नपाइने रहेछ । 

तपाईं सांगीतिक समूह कुटुम्बसँग पनि गीत गाउने र बाजा बजाउने गर्नुभयो, कसरी जुर्‍यो ?

म त सडकमा बसेर बजाउने–गाउने गर्थें । बाह्रबिसेदेखि चौतारासम्मका ठाउँठाउँमा बसेर गाएको छु । कसैले मेरो काम खिचेर नेट (युट्युब)तिर हालिदिएछ । त्यही देखेर मलाई खोज्दै उहाँहरू आउनुभयो । 

स्टेजमा बजाउँदा–गाउँदा र सडकमा बजाउँदा/गाउँदा केचाहिँ फरक लाग्यो ?

सडकमा गाउन–बजाउन बढी नै सकस हुन्छ । स्वर र धुनले भ्याउँदैन । तर, स्टेजमा सजिलै धुन–भाका निकाल्न र गाउन सकिने रहेछ । पैसा पनि स्टेजमा बढी पाइने रहेछ । पाँच दिनमा  मलाई उहाँहरूले ३० हजार रुपियाँ दिनुभएको थियो । 

अहिले पनि सडकमा बसेर गाउनुहुन्छ ?

गाउँछु नि ! परिवार पाल्नै पर्‍यो । खेती किसानी छैन । विकल्प नभएपछि के गर्नु ?

‘कुटुम्ब’सँग गाएपछि अरूले बोलाएनन् ?

त्यसपछि अर्को एउटा ब्यान्डले बोलाएको थियो । नाम बिर्सिएँ । बोलाउन त अलिअलि बोलाउँछन् । तर, सधैँ जान पाइँदैन । आफू मात्रै जान सकिँदैन । सहयोगी चाहिन्छ । 

तपाईंलाई टुङ्नाका कति किसिमका धुन बजाउन आउँछ ?

तामाङ, शेर्पाका धुन प्राय: जम्मै टिप्छु । लोकदोहोरी पनि बजाउँछु । 

सबैभन्दा कठिन कुन धुन लाग्यो ?

स्याबु्र र होजुङमा भाका निकाल्न साह्रै गाह्रो भयो । तीन वर्ष लाग्यो मलाई, यो धुन सिक्न । 

आँखा नदेख्ने भएर पनि तपाईंले भारी बोक्नुभएको रहेछ, कहाँ बोक्नुहुन्थ्यो ?

नेपाल र चीनको सिमानामा पर्ने मितेरी पुलदेखि तल लिपिङसम्म ल्याउँथँे । यो झन्डै तीन किलोमिटरको दूरीमा पर्छ । 

अरूसँगै आउने–जाने गर्नुहुन्थ्यो, भारी बोकेर ?

होइन, मेरी दिदीले डोर्‍याउनुहुन्थ्यो मलाई । त्यही सारमा म भारी बोकेर हिँड्थेँ । दिदी पनि भारी बोक्नुहुन्थ्यो । धेरै दु:ख गरियो । 

तपाईंलाई मनपर्ने भाका कुन हो ?

म साह्रै ठूलो दु:खमा हुर्किरहेको छु । दु:खकै भाका मलाई मन पर्छ । 

अब तपाईंको केही धोको छ ?

भुइँचालो जाँदा हाम्रो परिवार झन्डै एक चिहान बनेको थियो । मुस्किलले बाँचियो । त्यो दु:खबारे मैले एउटा भाका निकालेको छु । त्यसलाई जसरी पनि रेकर्ड गर्ने ठूलो इच्छा छ । 

भूकम्पले भत्किएको घरचाहिँ बनाइसक्नुभयो ?

छैन । सरकारले ५० हजार रुपियाँ मात्रै दिएको छ । त्यसले के गर्नु ? कसैले सिमेन्ट, बालुवा, इँटा सहयोग गरिदिए घर बनाएर परिवारलाई राख्थेँ अनि मचाहिँ टुङ्नामा बढी साधना गर्थें भन्ने मनमा छ । 

प्रकाशित: पुस २, २०७४