स्वप्निलको सैना मोह

प्रेम गर्नेहरू सदैव एकान्त खोजिरहन्छन् । एकान्तमा आफ्नो प्रिय मान्छेको याद गर्नुको आनन्द बेग्लै हुन्छ । जसरी सामीप्यमा प्रेम प्राप्तिको स्खलन हुन्छ, त्यसरी नै दूरीमा पनि प्रेमको स्खलन हँुदोरहेछ । यदि त्यो दूरी कुनै सुन्दर एकान्तले मेट्छ भने ।

- बिना थिङ तामाङ

स्वप्निल 

ऊ डेढ घन्टाको बाटो हिँडेरै आई । अघिल्लो साँझ पनि त्यही बाटो त्यति नै दूरीबाट हिँडेरै आएकी थिई । बिहान फर्किई र पुन: आई । उसलाई हिँड्नुमा कुनै समस्या छैन । समस्या छ त केवल आफैँसँग छ । आफ्ना रहरसँग छ । आफ्नै अराजक विचारहरूसँग छ । फेरि पनि दिक्कलाग्दा प्रसंग नै उसका लागि प्रिय छन् । अझ भनौँ, सर्वप्रिय । ऊ हो उज्यालोतिर कथासंग्रहकी लेखक अर्थात् कवि स्वप्निल निरव । 

अँ ऊ हिँडेरै आई । यसो किन भनियो भन्दा हामी काठमाडाँैवासीलाई दुई पाइलाको बाटोमा पनि सवारी साधन चढ्नुपर्ने हुन्छ । मिनेट–मिनेटमा बस पाइने ठाउँमा हामीलाई बानी परिसक्यो । तर, पाल्पा, रामपुरवासी स्वप्निलको गाउँमा बस केही घन्टा बिराएर मात्र आउँछ, त्यो पनि स्थानीय होइन– काठमाडाँै एक्सप्रेस । घन्टौँ बस कुर्नुभन्दा हिँड्न रुचाउँछे ऊ । यसो गर्दा समय पनि बचत हुने र शारीरिक व्यायाम पनि हुने । हामीलाई उसले तानसेनको रानीमहल लाने वाचा गरेकी छ । वाचा पूरा गर्न ऊ सानो झोलामा एकसरो कपडा खाँदेर रामपुर बजारमा आइपुगेकी हो । म र डोल्मा हिजै बजारमा बास बसेका थियौँ । स्थानीयवासीका अनुसार रामपुरबाट तानेसन जानका लागि चार घन्टा लाग्छ । बसको टिकट काट्न जाँदा काउन्टरमा भीड देखियो । एउटा बसका लागि सयौँ मान्छेको ठेलमठेल थियो । दसैँ भर्खर सकिएको थियो । भनाभन र हानाहानबीच बसको ढोका छेउकै दुई सिटमा तीन जना खाँदिएर मितव्ययिता देखायौँ । उभिनेहरूको बिजोग वर्णनातीत थियो । 

कलिलो घाम अनुहारमा बोकेर हिँडेका हामी तानसेन आइपुग्दा हाम्रो अनुहारबाट घाम उप्किएर पर पश्चिमको बाटो हिँडिरहेको थियो । हामी बसबाट ओर्लिएर माथि श्रीनगरको बाटो हिँड्यौँ । श्रीनगरको उद्यानमा पुग्दा त घाम अलप पनि भइहाल्यो । हतारमै सेल्फी लिएको हामीलाई तानसेन बजारको कुनै मध्यम स्तरीय होटलको ढोका ढकढक्याउन उस्तै हतारो पर्‍यो । तानसेन, टुँडिखेलको एक फन्को थकान ओछ्यानमा बिसाउनु थियो तर नयाँ ओछ्यानमा स्वप्निल पटक्कै निदाइन । अनिँदो साथीको कविता लेख्ने अनुरोध आयो । नमान्ने कुरो थिएन । डोल्मा अघि भुसभुुस भइसकी । पूर्णिमाको छेको परेकाले जून झ्यालमै टाँसिएजस्तो देखियो । मैले जूनकै कविता लेखेँ । 

रातको सन्नाटा छ । सन्नाटामा स्वप्निल छ । एक किसिमको काव्यिक माहोल छ । स्वप्निलहरू कविताकै बारेमा सोचिरहन्छन् ? कि स्वप्निलहरूको विचारमा कविता आइदिन्छ ? उनीहरू कविताकै कारण बाँचिरहेछन् ? कि कविता लेख्न उनीहरू बाँचिरहेछन् ? यावत् प्रश्न मेरो दिमागमा रिंगिरहन्छ । स्वप्निल भने आफूले लेखेको असम्पादित पूर्वी परिवेश, प्रेम, हावा र बादलका छोटा–छोटा प्रेमिल हरफहरू सुनाउन उद्यत हुन्छिन् । म उनको अनुहारमा टाँसिएको हैरानी पढ्छु यद्यपि ऊ कविता वाचन गरिरहेकी छे । यसो गर्दा निधारको दायाँ आँखाछेउको खत हल्का तन्किन्छ उसको । यसले अनुहारमा थप चमक थपिन्छ । झल्याँस्स सम्झिन्छु, साँच्चै स्वप्निल त सधैँ पावरवाला चस्मा लाउँथी । आज किन लगाइन ? प्रश्न मैले सोधेँ । ऊ फिस्स हाँसी अनि भनी– स्वर्णिमले भाँचिदियो । स्वर्णिम उसको चार वर्षीय छोरो हो । चस्मा बनाउने समयसम्म जुरेको छैन उसलाई ।

अनि, यतिका दिन तिमी रेडियोमा न्युज कसरी पढिराछौ ? ऊ जम्माजम्मी एक फाँको हाँस्छे । अनि, भन्छे– न्युज पढ्दा एकापट्टिको डन्डी अल्झाएर पढ्छु । बाहिरफेरो निस्किँदा फुकाल्छु । 

अब भने मलाई दिक्दारी सुरु हुन्छ । कस्तो अचम्मकी केटी होली यो ? समस्याको समाधान यसरी नै गरिने हो ? उसको आफ्नै तरिका छ । हाँस्न पनि फारो गरी गरी हाँस्छे । बोल्दा तौलिएर बोल्छे । सम्भवत: बाँच्ने पनि त्यसरी नै पो हो कि ? उफ् !

प्रेम

च्याटमा सधैँ पाल्पा घुम्न आउनूस् भन्ने स्वप्निलको हार्दिक अनुुरोधको सम्बोधन यति प्रेमिल होला, मैले सोचिनँ । जब हामी रानीघाटमा अवस्थित रानी महलको पहिलो खुड्किलो चढ्दै थियौँ, हाम्रो मन–मस्तिष्कले एउटा बेग्लै किसिमको आनन्द अनुभूति गर्‍यो । म महलको भव्यता, वरिपरिको त्यो बागबगियान, त्यसको साज–सज्जावट देखेर हैरान भएँ । कालीगण्डकीलाई साक्षी राखेर खडा गरिएको त्यो प्रेमको अद््भुत सुन्दर महलको सेरोफेरोले जो–कोहीलाई एकपटक आफ्नो प्रिय मान्छेलाई सम्झिन बाध्य पार्छ । परिवेश नै त्यस्तो छ । मिथजस्तो लाग्ने प्रेम कहानीको प्रमुख पात्र खड्गशमशेर जबराले आफ्नी प्रियतमाको सम्झनामा त्यो विकट, निर्जन तर सुन्दर स्थानमा त्यो समयमै भव्य कालीगढीसहितको निसानी स्थापित गरेको रहेछ । भन्नेहरू भन्छन्, खड्गशमशेरले आफ्नो रानी तेजकुमारीलाई सधैँका लागि त्यो महलमा प्रेमको नाउँमा कैद गरे । यो दृष्टिकोणको कुरा हो । कसले कसरी त्यसलाई स्वीकार्ने भन्ने कुरामा छुट छ । यद्यपि, त्यागको कुनै मूल्य हुन्छ भने प्रेमिल हृदयहरूले सदैव यस स्थानलाई आफूसँग तुलना गरेर प्रेमको अभौतिक नै सही अद्भुत महल निर्माणमा अघि सरिरहने छन् । 

प्रेम गर्नेहरू सदैव एकान्त खोजिरहन्छन् । एकान्तमा आफ्नो प्रिय मान्छेको याद गर्नुको आनन्द बेग्लै हुन्छ । जसरी सामीप्यमा प्रेम प्राप्तिको स्खलन हुन्छ, त्यसरी नै दूरीमा पनि प्रेमको स्खलन हँुदो रहेछ । यदि त्यो दूरी कुनै सुन्दर एकान्तले मेट्छ भने । यदि प्रेमानुभूतिको पनि तह हुन्छ भने म त्यतिखेर सबैभन्दा माथिल्लो तहमा थिएँ र सम्झिएँ, आफ्नो प्रेमिल मान्छेलाई जो भौतिक रूपले कोसौँ टाढा छ । 

डोल्मा

डोल्मा आफँैमा प्रेमिल मान्छे । उसले पनि सम्झिहोली, आत्मीयता अनुभूत गर्ने मान्छेलाई । खासमा डोल्मा सदाबहार छ । सुख, दु:ख जस्तोसुकै अवस्थामा पनि तटस्थ बस्ने बानी छ उसको । हत्तपत्त उसको अनुहारको भावभङ्गीमा खासै परिवर्तन देखिँदैन । घामभन्दा चहकिलो चमक उसको निधार हँुदै अनुहारमा खस्यो । तत्क्षण डोल्मा उज्यालो देखिई । सेतो पृष्ठभूमिमा नीलो धर्केवाला सर्ट र नीलो जिन्समा खुब सुहाएकी थिई । खुसीसाथ गुनगुनाइरहेकी थिई ऊ । रानीघाटमा ऊ इलाम सम्झिरहेकी थिई ।

गुडबाई रानीघाट

मानिसहरू उज्यालो हुन खुसी हुनुपर्छ । खुसी ससाना कुरामा प्राप्त गर्न सकिन्छ । जस्तो कि, हामी रानीमहल र त्यसको वरिपरिको सानिध्यताले आल्हादित भइरहेका थियौँ । रानीमहलको शक्ति थियो त्यो । शक्तिको पनि स्वरूप हुन्छ । शक्ति कहिलेकाहीँ विध्वंस गर्न प्रयोग गरिन्छ, कहिलेकाहीँ कोमलता समेट्न प्रयोग गरिन्छ । त्यस समय भने स्वप्निलसँगै मिलेर पारिजातका फूलहरू जम्मा गर्न शक्ति प्रयोग गरी डोल्माले । पारिजात जो भमराको चुम्बन खप्नुको पीडाबाट मुक्त छ । मुक्त छ, प्रेमको नाउँमा कसैबाट ताडित हुन र त सम्भव भएको छ रातमै फुलेर रातमै झर्न ।

वास्तवमा भमराका लागि पारिजात अहं हो । तर, त्यो अहं भमराका लागि सजाय हो, भलै पारिजातहरूले प्रेम भोगेनन्, स्खलित भएनन् । त्यही पारिजातलाई सिरु घाँसमा उनेर डोल्मा र स्वप्निलले एउटा आकार दिए । पारिजातले आकार प्राप्त गरेपछि झन् सुन्दर देखियो । त्यो सुन्दरता हामी आफूमा कायम गर्न हतारियौँ र त केही क्षणपश्चात् पारिजात हाम्रो कपालमा शोभायमान थियो । सम्भवत: हामी पनि सुन्दर देखियौँ । 

स्वप्निलले झोलाबाट सानो डायरी निकाली । ऊ रानीघाटलाई परपरसम्मै नियाल्नमा व्यस्त भई । व्यस्त भई भन्दा पनि टोलाई । मैले पनि उनको शरीरलाई दायाँ पारेर परपरसम्मै नियालेँ । कालीगण्डकीमा डुबेको रानीमहलको जरा पल्लो डिलदेखि स्याङ्जाको सिमाना सुरु हुन्छ । त्यसको पृष्ठभूमिमा थियो कलात्मक हरियो चित्रजस्ता रूखहरूको समूह, जसले तातो घाम ओढेर हामीतिर शीतल बतास हुत्याइरहेको थियो । स्वप्निल प्रकृतिको त्यो सुन्दर क्यानभास अवलोकन गर्दै गर्दा कलमको बिँड कहिले दाँतले हलुकासँग टोक्थी र केके नोट गर्थी, डायरीमा । म भने आफ्नो हुस्सुपना सम्झेर एकैछिन हाँसेँ । त्यति परसम्म पुग्नु थियो त एउटा नोटकपी बोक्नुपथ्र्यो । खै के लेखुलाँ ? के सम्झिउँला ? भावनाका लहर जो उर्लिरहेका थिए, त्यो केमा कैद गरुँला ? थक्थक् लाग्यो ।

मोबाइलमा दृश्यहरू कैद गर्नुपर्छ । यिनै दृश्यहरू नै मेरा लागि भोलि स्मृति हुनेछन्, जसलाई म दोहोर्‍याएर हेर्न सक्छु । पढ्न सक्छु, अदृश्य हरफहरू र केही कोर्न सक्छु सादा पानाहरूमा । दृश्यहरू कैद भए फटाफट । कैद भयौँ हामी पनि । स्वैच्छिक कैदमा दु:ख लागेन, कुनै अपराधबोध भएन । बस्, कैद भइरह्यौँ पालैपालो रानीमहललाई पृष्ठभूमि बनाएर । हामी पाल्पा र स्याङ्जा जोड्ने लामो झोलुङ्गे पुलमाथि दौडियौँ । उफ्रियौँ । वारपार गर्‍यौँ । गीत गुनगुनायौँ । कालीगण्डकीको बहाव पनि एकपटक रोकिएर हामीलाई नै हेर्दैछजस्तो भान भयो । हामीले केहीबेरलाई नै सही आफूलाई नायक ठान्यौँ, जो सुन्दर, शक्तिशाली र भावुक छ । भावुक हामी एकअर्कालाई हेरेर मुस्कुरायौँ । आँखाले शक्तिशाली संवाद गरी तृप्तिको अनुभूति गर्‍यौँ । यही बीचमा स्वप्निलले एउटा मीठो विगत सम्झिई । विगतमा कसैले ऊसँग सैना (मितिनी) लाउने प्रस्ताव राखेको थियो । तर, खै के के भयो, त्यस बखत सैना लगाउनबाट वञ्चित भइछ । उसको लागि परिवेश, माहोल, साइत यस्तै खै के के जुरेन, जुरेन । हित्तचित्त मिलेपछि लाउने हो सैना, जसले सुख–दु:खमा जस्तोसुकै परिवेशमा पनि साथ छोड्दैन । कहावत नै छ– सुख पाए माइती, दु:ख पाए मितिनीकोमा जानुपर्छ । खासमा स्वप्निल त्यतिखेर आफ्नो मनको अन्तरकुनामा रहेका केही खास कुरा बाँड्ने मान्छेको आवश्यकताबोध गरिरहेकी थिई । मैले यत्ति बुभmेँ, स्वप्निल भित्रैबाट दुखेकी छ र ऊ मभन्दा पनि अझ गहिरोसँग उसलाई पढ्न सक्ने साथीको आगमनको प्रतीक्षामा छ ।

मानिस जतिसुकै सम्पन्न किन नहोस्, उसलाई आफ्ना कुराहरू सेयर गर्ने मान्छे चाहिन्छ । यसले मानसिक रूपमा जुन उपचार गर्छ, त्यो कुनै औषधीले गर्न सक्दैन । स्वप्निलको सैना मोह टुटेको थिएन । केही महिनाअघि मात्र तीन दिनको आफ्नो सन्तान गुमाउनुको भयंकर पीडाको हुरी छ, ऊभित्र । हुरीको व्यवस्थापन सैनाजस्तै सम्बन्धले मात्र गर्न सक्छ । म सैना हुन सकिनँ ।

उसलाई आधा पनि पढ्न सकेकी छै न । दु:ख छ । सबै सबैको सैना बन्न नसक्दो रहेछ । स्वप्निलको सैना मोह छिट्टै पूरा होस् भन्ने कामना गर्दै रानीघाटलाई गुडबाई भनियो । एक मित्रले गुडबाई कहिले नभन्नु भनेका थिए । गुडबाई कि मरेकाहरूलाई गरिन्छ कि अब कहिल्यै भेट नहुने भन्ने अर्थमा गरिन्छ भन्ने उनको तर्क छ । मेरो एउटा अभ्यास छ । म एकपटक पुगिसकेको स्थानमा सकेसम्म दोहोर्‍याएर जादिनँ । यस अर्थमा मैले पनि गुडबाई रानीघाट भनेँ या अनायासै भनेँ, मलाई थाहा छैन । यद्यपि, मैले दोहोर्‍याएरै भनेकी थिएँ, गुडबाई रानीघाट । 

प्रकाशित: पुस २, २०७४