‘बन्द होइन, मन्द भएको छु’

- नेपाल संवाददाता

नेपाली साहित्यिक क्षेत्रका चर्चित लेखक हुन्, ध्रुवचन्द्र गौतम । २ पुसमा उनी ७५ वर्ष लागे । ५० भन्दा बढी पुस्तक प्रकाशित उनको अर्को संस्मरणात्मक कृति जन्मदिनको छेको पारेर आउँदैछ, एक आनाको जमाना । गौतमको लेखन यात्राबारे उनीसँगको कुराकानी :

एक आनाको जमाना खासमा के हो ? 

मेरो जमानाको ‘पिन–पोइन्ट’ हो । वीरगन्जको त्रिजुद्ध हाई स्कुलमा पढ्दा घरबाट दिनको एक आना खाजा खर्च पाइन्थ्यो । त्यो जोगाड गरेर म कि रक्सौल कि वीरगन्ज फिल्म हेर्न जान्थेँ । एक सोको ६ आना लाग्थ्यो । त्यो समयको मुस्किल र आनन्द जोडेर यो संस्मरण लेखेको हुँ । 

झन्डै आधा शताब्दीदेखिको लेखन ‘भर्चुअल’ दुनियाँसम्म आइपुग्दा कस्तो लाग्दैछ ? 

लेखनमै कहाँबाट कहाँ आइपुगियो भन्न मुस्किल छ । लेखनमा परिवर्तनभन्दा विकासको कुरा हुने रहेछ । म आजको डिजिटल र भर्चुअल दुनियाँको गतिमा पछौटे छु । 

तपाईं किन लेखक बन्नुभएको ? 

म सानैदेखि लेख्ने गरे पनि गायक बन्न चाहन्थँे । स्टेजहरूमा गीत गाउँथेँ । रेडियो नेपालमा केही गीत रेकर्ड पनि गराएँ । घरमा दाइ धच गोतामेसहितको लेखन माहोल थियो, हिन्दी साहित्यका कहानी पढेको थोरबहुत प्रभाव थियो । म त्यसै गरी लेखनमा तानिएँ ।

यतिका वर्षदेखि लेखेका आधारमा योचाहिँ किताब ननिकालेको भए हुन्थ्यो भन्ने लाग्छ ?

बालुवामाथि उपन्यास नलेखिएको भए हुन्थ्यो भन्ने लाग्छ । त्यसको कथा कक्षामा विद्यार्थीलाई सुनाएको, दत्तचित्त भएर सुने । त्यही प्रभावले किताब निकालेँ । 

०३७ मा निस्किएको कट्टेल सरको चोटपटक उपन्यास, फिल्म वासुदेव कसरी बन्यो ? 

यो कृति निस्किएर बजारमा थोरबहुत चर्चा चलिरहेका बेला मित्र नीर शाहले यसमाथि फिल्म बनाउँछु भन्नुभयो । फिल्ममा सधैँ रुचि भएकाले म स्वभावत: तानिएँ । संवाद/पटकथा थपघटको जिम्मेवारी पाएँ । नभन्दै फिल्म चल्यो । 

आफ्नो कुन कृतिमा आएको पात्र आफ्नो जीवनसँग सबैभन्दा नजिकको लाग्छ ? 

कट्टेल सरको चोटपटकमा उभिएको शिक्षक पात्र म आफैँ हो । शिक्षक अनुभव रहने अरूको रंग–स्वाद पनि मिसाएको छु । एक सहरमा एक कोठाको डेरा अनुभव आफ्नै हो । त्यसमा अरू डेरावालको अनुभव पनि हालेको छु । यी दुई उपन्यास र निमित्त नायकका पात्र मेरो जीवनमा सबैभन्दा नजिक लाग्छन् । 

तपाईंलाई धेरैले चलेका र लेखेरै कमाउन सक्ने लेखक भन्छन् । कति कमाउनुभयो ? 

फ्याट्टै जवाफ दिन मुस्किल छ । झन्डै ५० वर्षे लेखनमा रहँदा वर्षको एक लाख रुपियाँका दरमा अहिलेसम्म ५० लाख रुपियाँ कमाएँ होला र † लेखनले न उहिले जीवन धानिएको थियो, न अहिले । जे जति नाम कमाएको छु, त्यो नै अमूल्य हो । 

तपाईंले मन पराएमा अरूको कृतिमा घुँडा धसेरै सम्पादन गरिदिने भनिन्छ । जस्तो: शोभा भट्टराईको उपन्यास अन्त्यहीन अन्त्यमा त्यस्तो देखियो । यस्तो स्थिति साँच्चिकै आइपर्छ वा खोजेर ?

कुनै सन्दर्भ र लिंकले आइपरेको हो । त्यसमा भाषिक तथा शैलीगत रूपमा हेरिदिएँ । किताब चल्यो । तर, त्यसको अर्को संस्करण आएन, लेखिका पनि हराउनुभयो । अहिले पनि यस्ता आग्रह आउँछन् । तर, म यो पुण्य–कर्मबाट भागिरहन्छु ।

ध्रुवचन्द्र गौतमबारे अनेक मिथ छन् नि, होइन ? 

कुनै बेला मेरो ‘सोसलाइजेसन’ बढी थियो । थुप्रैसँग पिइयो, तीमध्ये कति ‘क्रिएटिभ’ थिए, कति अलिक बढी क्रिएटिभ, बढाइचढाइ गर्ने खालका । खाने–पिउने सबै थिए । तर, अभियन्ता पियक्कड मलाई बनाइयो । अझै मैले हातले लेख्ने कुरा भने मिथ होइन, म बैरागी काइलाज्यू जस्तो यो बेलामा कम्प्युटरकृत हुन सकिनँ । 

उमेर ढल्किएपछि तपार्इं एकाएक ऐकान्तिक हुनुभएको हो ? 

मेरा मित्रहरू जोजो थिए, अहिले पनि छन् । कोहीसँग वैरभाव छैन । उमेर अथवा सबैको आ–आफ्नै व्यस्तताका कारण स्थिति अलिक भिन्न बनेको हो । म बन्द भएको होइन, मन्द मात्रै भएको छु । ध

प्रकाशित: पुस १, २०७४