'साथी चाहिएला तर जीवनसाथी नभए नि हुन्छ'— भुवन केसी

- सन्तोष आचार्य

साढे तीन दशकदेखि नेपाली फिल्मी क्षेत्रका सदाबहार नायक हुन्, भुवन केसी, ६१ । आफ्नो फिल्मी प्रतिभाका कारण उनी जति प्रशंसित छन्, उति नै बेलाबखत आफैँले निम्त्याएका विवादका कारण पनि आलोचित हुन्छन् । ताली र गाली उनका लागि नौलो कुरा रहेन । आफ्नो जीवनको आरोह–अवरोहका सम्बन्धमा आत्मकथा लेखिरहेका उनी आगामी चार महिनासम्ममा पुस्तक सार्वजनिक गर्ने प्रयासमा छन् । महिलामैत्री आफ्नो छविका सम्बन्धमा उनी लुकाउनुपर्ने केही देख्दैनन् । महानायकको उपाधिका बारे सोधिएको प्रश्नमा उनी उत्तेजित हुन्छन् । १९ मंसिरमा उनले नेपालसँग खुलस्त कुरा गरे, त्यसैको सम्पादित अंश :

यसपटकको निर्वाचनमा त तपाईंको सक्रियता देखिएन नि ?

हो, यसपटक म विगतमा जस्तो सक्रिय रहन सकिनँ । आगामी माघमा मेरो फिल्म रिलिज हुँदैछ, त्यसकै तयारीमा व्यस्त रहेँ । तापनि, एक–दुई ठाउँमा गएर मैले आफ्नो उपस्थिति जनाएको छु । 

तपाईं अहिले पनि एमालेसँग नै आबद्घ हुनुहुन्छ कि दल परिवर्तन गरिसक्नुभयो ?

म एमालेमै छु । अरू कतै गएको छैन । 

दोस्रो संविधानसभा निर्वाचनताका तपाईंले काठमाडौँ–१ बाट टिकट पाउने हल्ला थियो तर पाउनुभएन । पछि समानुपातिक उम्मेदवारका रूपमा पनि तपार्इंको नाम चर्चामा आयो, त्यसबेला पनि भएन । अहिले त झन् तपाईंको नामसम्म पनि आएन । एमालेले तपार्इंलाई नपत्याएको हो ?

टिकट पाउनका लागि म राजनीतिमा लागेको होइन । मैले नै टिकट पाउनुपर्छ भन्ने पनि छैन । वरिष्ठ कमरेडहरूले नै ‘तपार्इंले प्रत्यक्षतर्फ लड्दा बेस होला’ भन्नुभएको हो । मैले पाएको पनि हो । तर, त्यसकै भोलिपल्ट काठमाडौँ–१ का केही आकांक्षीहरूले मलाई टिकट दिएकामा विरोध गरेपछि मैले पनि सहमतिमै ठाउँ छोडिदिएको हुँ । यसपछि नेताहरूले नै ‘तपार्इंलाई जसरी पनि समानुपातिक सभासद् बनाउनुपर्छ, पार्टीले कलाकारको सम्मान गर्छ भन्ने राम्रो सन्देश जान्छ’ भन्नुभयो । मलाई समानुपातिक सभासद् बनाउने कुरालाई मैले पनि स्वीकार गरेँ । तर, पछि समानुपातिकको सूचीमा पनि परिनँ । म किन परिनँ भन्ने कुरा नेताहरूलाई नै थाहा होला । 

तपाईंलाई राजनीतिक चस्का किन लागेको ? कि झन्डावाल गाडी चढ्ने रहर हो ?

म राजनीतिमा आउनुको कारण मन्त्री बन्न, झन्डा हालेको गाडी चढ्न होइन । समाजका विभिन्न तप्काका व्यक्तिहरू राजनीतिमा जानुपर्ने रहेछ । कला क्षेत्रको समग्र विकासका लागि मैले केही योगदान गर्न सक्छु कि भन्ने उद्देश्यले म राजनीतिमा आएको हुँ । 

कलाकारलाई राजनीतिले ‘युज एन्ड थ्रो’ गरेको देखिन्छ, कतै तपाईंका सन्दर्भमा पनि यही भएको हो कि ?

‘कलाकार राष्ट्रका गहना हुन्, यिनीहरूको पनि भूमिका हुनुपर्छ’ भनेर राजनीतिमा ल्याउने तर कुनै महत्त्वपूर्ण भूमिका नदिने प्रवृत्ति देखियो । तर, मैले अवसर पाइनँ भन्ने कुनै गुनासो छैन । 

६० वर्ष पार गरिसक्नुभयो । तर, तपार्इंको उमेरका धेरै नेपाली तीर्थ–व्रत, योग, ध्यान, मन्दिर, नाति–नातिना यस्तै यस्तै चक्करमा हुन्छन् । तर, तपाईं त्यस्तो देखिनुहुन्न, किन हो ? 

फिल्मी क्षेत्रलाई संसारभर चिनाउने मेरो लक्ष्य छ । त्यसलाई उमेरले केही फरक पारेको छैन । केही काम अझै बाँकी छ । म आफ्नो कामप्रति सधैँ समर्पित रहेँ । सायद आफूले मन पराएको क्षेत्र र आफूलाई दर्शकहरूले दिएको निरन्तरको मायाले पनि होला, त्यसले मेरो जीवनमा ‘टनिक’को काम गरेको छ । दु:ख र अप्ठ्याराका दिनमा पनि खुसीका साथ बाँच्ने आधार सायद यही हो । आफ्नो जीवनबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण देख्दिनँ । 

अलिकति फरक प्रसंग, मलाई माफ गर्नुहोला, यदि म गलत छैन भने तपाईं आफ्नो ३५ वर्षे फिल्मी जीवनमा महिला, मदिरा र पैसाको नजिक रहनुभयो । तपाईंलाई लाग्छ, यो ‘थ्री डब्लु’ (वुमन, वाइन र वेल्थ)ले तपार्इंको व्यक्तिगत जीवन पनि प्रभावित भयो ? 

आर्मीको एउटा अफिसरसँग बन्दुक नजिक हुन्छ । बन्दुकबिनाको आर्मी अफिसर हुँदैन । त्यसैगरी मनोरञ्जन दिने मेरो पेसा हो । यो क्षेत्रमा नायक–नायिका हुन्छन् । कलाकारको ‘फ्यान फलोइङ’ भएन भने उसको दिन सकिएछ भन्ने बुझे हुन्छ । पुरुष कलाकारका महिला र महिला कलाकारका पुरुष फ्यान हुनु स्वाभाविक हो । मेरो हकमा पनि महिला फ्यानहरू जीवनमा आएको सत्य हो । वाइनको सन्दर्भमा म रक्सी त्यति पिउँदिनँ । चुरोट भने अलि बढी हो, त्यो पनि छोड्ने प्रयासमा छु । संसारमा कोही पनि मानिस सर्वगुण सम्पन्न छैनन् । कमी–कमजोरी त सबै मानिसमा हुन्छन् । कुनै पनि व्यक्तिले राष्ट्रका लागि के गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । उसका व्यक्तिगत जीवनका झिनामसिना गल्तीले उसले गरेको ठूलो योगदानलाई छेक्दैन । 

तपाईंको छवि अलि ‘वुमनाइजर’को छ, कतिले त तपाईंलाई ‘प्लेब्वाय’ नै भन्छन्, कतिले रोमान्सका राजा पनि । यस्तो छवि कसरी बन्यो तपार्इंको ?

मलाई कसले के भन्यो भन्ने कुरामा कुनै गुनासो छैन । मलाई हरेक मान्छेले मायाले जे पनि भन्न सक्छन् । कुरा यति हो, मलाई फ्यानहरूले पछ्याउँछन् । फ्यानमा पनि महिलाहरू नै बढी छन् । अर्को कुरा, मेरा सबै शुभचिन्तक हुन्छन् भन्ने पनि छैन । 

आफ्नो छवि ‘वुमनाइजर’को छ भन्ने स्वीकार्नुहुन्छ ? 

मेरो डाह गर्ने मानिसहरूले अलि नराम्रो नाम दिएका मात्र हुन् । मेरा महिला फ्यान बढी छन् भन्ने म उहाँहरूलाई जानकारी गराउन चाहन्छु । 

तपाईंको व्यावसायिक जीवन सफल भए पनि व्यक्तिगत जीवन भताभुंग र लथालिंग भयो भनेर चिन्ता गर्नेहरू पनि छन् । किन परिवार व्यवस्थापनमा चुक्नुभयो ?

मैले तीन करोड नेपालीको मन जितेँ । तर, आफ्नै श्रीमतीको मन जित्न सकिनँ । श्रीमतीसँग राम्रो भएन । श्रीमान्–श्रीमती घरमा सौहार्दपूर्ण वातावरणमा मन मिलाएर बस्ने हो । तर, जहाँ खुसी भएन, मन मिलेन भने छुट्टिएर बस्नु नै वेश हुन्छ । कलह गरेर बस्दा त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ । त्यसैले हामी अलग भयौँ । चाहँदा चाहँदै पनि घर मिलाएर बस्न सकिएन । तर, कुनचाहिँ श्रीमान् होला, बिहे गरेर ल्याएको श्रीमतीसँग छुट्टिन चाहने ? यसमा म पनि दु:खी छु । तर, हाम्रो सम्बन्धविच्छेद मेरो कारणले मात्र भएको होइन । ताली दुवै हातले बज्छ । 

कहिलेकाहीँ ‘एक्लै भएकाले श्रीमती चाहिन्छ’ भन्ने सोच आउँदैन ?

अहिले मैले यस्तो सोच बनाएको छैन । किनभने, मेरा बच्चाहरू ठूला भइसके । जुन बेला मलाई, अझ मलाई भन्दा पनि उनीहरूका लागि मैले जीवनसाथी ल्याउनुपथ्र्यो, त्यसबेला त मैले फेरि बिहे गरिनँ भने अब त्यो सम्भावना छैन । निश्चय नै साथी चाहिन्छ होला तर जीवनसाथी नभई हुँदैन भन्ने सोचचाहिँ मेरो छैन । 

अर्को प्रसंग, तपार्इं र राजेश हमालका बीचमा ‘महानायक’को विवाद भइसकेको छ, पटक–पटक । खासमा भएको के हो ?

महानायक जो भए पनि हुन्छ । तर, उसमा राम्रो फिल्म खेलेर आगामी पिँढीलाई मार्गनिर्देश गर्ने क्षमता हुनुपर्छ । आफूलाई महानायक भन्दै पैसाका लागि जस्तोसुकै फिल्म नखेल्दिए हुन्थ्यो । बरू, अन्तर्राष्ट्रिय क्षेत्रमा हामीलाई चिनाउने फिल्म खेलिदिए हुन्थ्यो । तर, आफू चर्चामा आएँ भन्दै संख्या बढाउने उद्देश्यले फिल्म भन्न नसुहाउने फिल्म खेल्दैमा महानायक भइँदैन । आफैँले आफ्नो टाउकोमा महानायकको पगरी गुथेर के हुन्छ र ! यो त बोझ हुन्छ । राम्रो काम गरेपछि ‘म महानायक हुँ’ भन्दै हिँड्नै पर्दैन । 

तपार्इं सफल नायक, निर्माता, निर्देशक हो । र पनि, तपाईं ‘सोसल आइकन’ बन्न सक्नुभएन । बरू, अरू नै बने, किन होला ?

मैले तपाईंका हरेक प्रश्नको जवाफ मनबाटै दिइरहेको छु । कूटनीतिक ढंगले बोलिरहेको छैन । कोही व्यक्ति हरेक प्रश्नको जवाफ दिँदा यसको असर के पर्छ भनेर बोल्छन् । जनताको नजरमा पनि एकदम ‘इन्टेलेक्चअुल’ रहेछ भनेर भान पार्छन् । म भने सफा हृदयले कुरा गर्छु । सबैसँग घुलमिल हुने र घमण्डी स्वभाव नभएकाले पनि यस्तो भएको हुन सक्छ । 

३५ वर्षअघि जुनी फिल्ममा सयौँको बीचबाट छानिएर संघर्षका विभिन्न चरण पार गरेर अहिलेको स्थितिसम्म आइपुग्नुभयो । तर, अहिले संघर्षभन्दा पनि आर्थिक लगानी गरेर नायक–नायिका बन्ने प्रवृत्ति देखिएको हो ? 

तपस्या नगर्ने हो भने सफल भइँदैन । यही क्षेत्रमा बाँच्छु, यही क्षेत्रमा मर्छु भन्ने भावना चाहिन्छ । यसरी लाग्दा कहिले सफलताको चुचुरो पनि देखिन्छ । कुनै बेला असफलताको पातालमा पनि पुग्नुपर्ने हुन्छ । धैर्य, निरन्तरता र लगनशीलता जरुरी छ । पैसा हालेर स्टार बन्छु भन्नेहरू लामो दौडका घोडा हुँदैनन् । 

प्रकाशित: मंसिर २६, २०७४