अपेक्षाका विरोधी बाबा

  • नेपालबाट पाएको ध्यानविधि नेपालमै फैलाउन चाहन्छन् एक गुरु

- सन्तोष आचार्य

दाण्डी, गुजरात (भारत) ।। आजभन्दा ८७ वर्ष पहिले फर्कौं एकपटक । भारतमा भएको नुन सत्याग्रह स्मरण गरौँ । तत्कालीन अंग्रेज शासकले भारतीय नागरिकले प्रयोग गर्ने नुनमाथि कर लगायो । नुनको मूल्य बढ्यो । त्यसविरुद्घ ओर्लिए, सत्याग्रही महात्मा गान्धी । गान्धीले गुजरातको सावरमती आश्रमदेखि ३ सय ५८ किलोमिटर परको समुद्री तट दाण्डीसम्म २४ दिनको पैदलयात्रा गरे । दाण्डी पुगेर उनले अंग्रेज शासकले नुनमा लगाएको कर कानुनको अवज्ञा गरे । 

हो, दाण्डीको त्यही समुद्री तट नजिकै अर्को आन्दोलन चलिरहेको छ, समर्पणको । र, यो आन्दोलनको नेतृत्व गरिरहेका छन्, गुरु श्री शिवकृपानन्दले । गान्धीको आन्दोलन करको विरुद्घमा थियो, शिवकृपानन्दको आन्दोलन मानसिक विकारविरुद्घमा केन्द्रित छ । गान्धी अंहिसाका पुजारी थिए, शिवकृपानन्द अध्यात्मका । गान्धी सबै समस्याको हल अहिंसात्मक आन्दोलनबाट हुन्छ भन्ने दर्शनमा अडिग थिए । शिवकृपानन्द सबै समस्याको समाधान ध्यानबाट हुन्छ भन्ने मान्यतामा विश्वास राख्छन् । यसैले उनी भन्दैछन्, “आऔँ हामी सबै ध्यान गरौँ, समर्पण ध्यान ।” 

आध्यात्मिक पुरुष शिवकृपानन्दको ठम्याइ छ, “अपेक्षा नै सारा दु:खको जग हो ।” यसैले अपेक्षाभन्दा पर रहेर बाँच्न प्रेरित गर्छन् उनी । जसरी गीतामा अर्जुनलाई माध्यम बनाएर श्रीकृष्ण अर्ती दिन्छन्, ‘कर्म गर तर फलको आशा नराख ।’ त्यही लयमा यी गुरु अपेक्षारहित ध्यान विधि अँगाल्न प्रेरित गर्छन् । यही विधिलाई उनले समर्पण ध्यान भनेका छन् । यी स्वामी जति सादा लाग्छन्, त्यति नै सरल छ उनको ध्यान विधि । प्रत्येक दिन बिहान ३० मिनेट अपेक्षारहित भएर बस्ने । 

जीवन जिउने कलामा उनी कुनै जटिलता चाहँदैनन् । यसैले सरल विधिबाट जीवनको लयमा मिठास भर्न मानव समुदायलाई आह्वान गर्छन् । उनलाई लाग्छ, अपेक्षा नै सम्पूर्ण दु:खको आदि स्रोत हो । जब अपेक्षाको मुहान बन्द गरिन्छ, तब यो चराचर जगत्मा आनन्दबाहेक अरू केही बाँकी रहँदैन ।

७० एकड क्षेत्रमा फैलिएको दाण्डी आश्रममा आयोजित चैतन्य महोत्सवमा आफ्ना तीन हजार ध्यानीलाई ध्यान अभ्यास गराउँदै स्वामी सम्झाइरहेका थिए, “हामीभित्रै रहेको परमात्मालाई बाहिर खोज्छौँ । मठ, मन्दिर, तीर्थ, गुरु, स्वामीकहाँ पुग्छौँ । खोज्दा–खोज्दै जीवन सकिन्छ । तर, वास्तविक परमात्मा हामीभित्र छ । बाहिरी खोज तबसम्म सकिन्न, जबसम्म भित्री परमात्मालाई भेटिन्न ।” 

परमात्मा–परिचर्चामा रमाउने सेतै फुलेका यी आध्यात्मिक बाबा कुनै बेला जागिरे थिए । तर, उनको जीवनमा आनका तान परिवर्तन आयो, नेपाल यात्रापछि । यहीँनिर एकपटक सपनाको कुरा गरौँ । सपनामा उनी नेपालका तीन कुरा बारम्बार देख्थे । ती थिए– पशुपतिनाथ मन्दिर, लामो सेतो दाह्री र नीला आँखायुक्त ६ फिट अग्ला तपस्वी अनि पहाडीे भीरमा महादेवको मन्दिर । पछि त ध्यान गर्न बस्दा पनि नेपालका यी तीन आकृतिले लखेट्न थाले । 

खासमा उनको नेपाल साइनो यस्तो रहेछ । वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेपछि उनी नोकरी गर्न थाले र त्यही सिलसिलामा एकपटक कानपुर पुगे । कुनै कारणले कानपुरमा बैंकहरूले हडताल गरेका थिए । यही मौका छोपेर उनी तीन दशकअघि नेपाल गए । पशुपतिनाथको दर्शन गरे । पशुपतिमा एक बृद्घले उनलाई नै पर्खिरहेको भनेछन् । रसुवाका शिव बाबाले उनकै बाटो हेरिरहेको अनौठो कुरा बताएछन् । उनी तिनको पछि लागेर रसुवाको दुर्गम पहाड पुगे । त्यहाँ ती वृद्घले एक तपस्वीसँग भेट गराइदिए, जसलाई उनकै भनाइमा, उनी सपनामा देखिरहन्थे । केही समय शिव बाबाको सानिध्यमा बस्ने मौका मिल्यो उनलाई । भन्छन्, “शिव बाबाले आफ्नो आध्यात्मिक शक्ति ममा प्रसारित गरिदिनुभयो ।” शिव बाबाको निधनपछि उनी भारत फर्किए, विवाह गरे । फेरि अर्का एक गुरु घरमै आएर श्रीमतीको स्वीकृतिमा उनलाई हिमालय क्षेत्रतिर लिएर गएछन् । सुनाउँछन्, “विभिन्न गुरुसँगको सानिध्यपछि मलाई ज्ञान प्राप्त भयो । गुरु आज्ञाकै कारण उहाँहरूसँग सिकेको ध्यान पद्घतिलाई समाजमा फैलाउने प्रयास प्रारम्भ गरेँ ।”

यही आध्यात्मिक सम्बन्धका कारण उनी नेपालप्रति निकै अनुग्रहित पनि देखिन्छन् । दाण्डी आश्रममा नेपालसँग कुरा गर्दै उनी भनिरहेका थिए, “समर्पण ध्यान नेपालबाट आएको हो । यसलाई म फेरि नेपालमै लाँदैछु ।” 

नेपालमा पनि समर्पण आश्रम खोल्ने चाहना राख्छन् उनी । उनका सहयोगीले यसका लागि पटक–पटक विराटनगरदेखि काठमाडौँसम्मको भ्रमण गरेका छन् । विराटनगरमा बसोवास गर्ने साधक जयश बोहरा पनि आश्रम स्थापना र ध्यान केन्द्र सञ्चालनका लागि सक्रिय छन् । सम्भवत: विराटनगरमा छिट्टै ध्यान केन्द्र सञ्चालन हुनेछ । काठमाडौँ वरपर पनि आश्रम सञ्चालन गर्ने निकट योजना छ उनको । आफूले पहिलोपटक आध्यात्मिक ज्ञान पाएको भूमिमा पुन: भ्रमण गर्ने चाहना राखेका छन्, शिवकृपानन्द बाबाले । आश्रम उद्घाटन र साधकहरूलाई समर्पण ध्यानको ज्ञान बाँड्लान् पनि । सहज ध्यान विधिका गुरु भन्छन्, “जे गर्छौ, राम्ररी गर । तर, अपेक्षारहित भएर दिनमा ३० मिनेट ध्यान गर । जीवनमा एउटा कुना बनाऊ, जहाँ तिमी र परमात्माबाहेक अरू कोही नहोस् ।” 

दुई छोरा र एक छोरीका निम्न–मध्यम वर्गीय यी महाराष्ट्रियन पिता आफ्नी श्रीमतीका साथ आध्यात्मिक दौडाहामा छन् । कहिले स्वदेशका साधकहरूसँग यिनको दिनचर्या बित्छ त कहिले विदेशी साधकसँग । अनुभूतिजन्य ध्यान पद्घतिका प्रणेता यी गुरु आध्यात्मिक उडानका लागि परिवार बाधक हुन्छ भन्ने परम्परागत मान्यतामा विश्वास राख्दैनन् । समर्पण भावको आवश्यकतामा भने जोड दिन्छन् उनी । भन्छन्, “मानव जीवनको अन्तिम उद्देश्य मोक्ष प्राप्ति हो । मोक्ष ध्यानको सर्वोच्च स्थिति हो । यो पद्घतिबाट सामान्य गार्हस्थ्यले पनि आफ्नो दिनचर्यामा ध्यानलाई जोड्न सक्छ । परिवार बाधक हुँदैन ।” 

समग्र भूतकाल आफूलाई दिन र आफूले पनि स्वर्णिम भविष्यका लागि सक्दो उपहार दिन कर गर्छन् उनी । अन्तर्मनको अपेक्षारहित भ्रमण गर्न झकझकाइरहने लाखौँ साधकका केन्द्रविन्दु यी गुरु भौतिक सुखसयलका लागि मानिसहरू आफैँलाई बिर्सेर मरिमेटेको देखेर दिक्क हुन्छन् । यसैले बारम्बार मानव जातिको साझा समस्याबारे झकझक्याइरहन्छन् । भन्छन्, “निर्जीव वस्तुबाट सुविधा पाइन्छ, सुख पाइँदैन । तापनि, हामी निर्जीव कुराहरूको संग्रहमै निर्लिप्त हुन्छाैँ । सुख खोज्ने चक्करबाटै समस्या प्रारम्भ हुन्छ ।” 

यी गुरुले गान्धीका चर्चित तीन बाँदरमा एउटा बाँदर थपेका छन् । गान्धीका तीन बाँदरले भन्छ, ‘नराम्रो नदेख, नराम्रो नसुन र नराम्रो नबोल ।’ शिवकृपानन्द आश्रमको आँगनमा देखिने चौथो बाँदर भन्छ, ‘नराम्रो नसोच ।’ यी बाबा ठान्छन्– जसले नराम्रो सोच्दैन, ऊबाट गल्ती हुनै सक्दैन । 

महात्मा गान्धीले लेखेकै छन्, ‘यसमा कुनै शंका छैन कि जब गुजरातले कुनै कुराको पहल गर्छ, तब सारा भारत जाग्न थाल्छ ।’ गुजरातलाई आफ्नो ध्यानकेन्द्रको गन्तव्य बनाएका शिवकृपानन्द अझ एक कदम अगाडि बढेर भन्छन्, “नेपालबाट मैले पाएको यो ध्यान विधिलाई म गुजरातबाट नेपालसम्म फैलाउन चाहन्छु ।” समर्पण ध्यानमा निर्लिप्त हुन के नेपाल तयार छ ? 

प्रकाशित: मंसिर २६, २०७४