मुर्दाका जिउँदा साथी

  • १७ हजारभन्दा बढी शव परीक्षण गरिसकेका डा हरिहर वस्तीलाई मरेकाले केही गर्दैनन् भन्ने थाहा छ, बरू जिउँदाले तर्साउलान् भन्ने पीर लाग्छ ।

- राजकुमार बानियाँ

‘काटकुट विद्यामा नै किन ?’ ‘लास चिर्दा डर–घिन लाग्दैन ?’ पुराना र अनुभवी ‘फरेन्सिक मेडिसिन’ (कानुनी चिकित्सा) विशेषज्ञ डा हरिहर वस्ती, ५७, ले यस्ता साझा सवाल झेलेको तीन दशक नाघिसक्यो । उनीसँग पनि साझा जवाफ छ, ‘डर र घिन नन–मेडिकल कुरा हुन् । डर त सुरु–सुरुमा पो लाग्छ । अब केको घिन ?’

हुन त चिरफार गर्नु नपर्ने सामान्य चिकित्सामा मात्रै हो । नत्र सबै सर्जनले त्यही गर्छन् । अझ डा वस्ती विशेष सुविधामा छन् । अरूलाई जीवित बिरामीको मृत्यु हुने जोखिम हुन्छ । उनलाई जीवन दिनुपर्ने दबाब हुन्न । १७ हजारभन्दा बढी शव परीक्षण गरिसकेका उनलाई मरेकाले केही गर्दैनन् भन्ने थाहा छ, बरू जिउँदाले तर्साउलान् भन्ने पीर लाग्छ ।

साँच्चै भन्ने हो भने चिकित्सकका रूपमा उनको आगमन संयोग मात्रै हो । मेडिकल लाइनमा पस्ने न सपना थियो, न त फरेन्सिक विज्ञ बन्ने रहर । उनको परिवारमा कोही डाक्टर थिएनन्, न त कोही नातागोता नै । शिक्षाशास्त्र पढिवरी गाउँमै मास्टरी गर्ने सोच मात्र थियो उनको ।

कानुनी चिकित्सा क्षेत्र सुधारका पहिलो अभियन्ता डा वस्ती धनकुटा, चुममाङका बासिन्दा हुन् । उनका पिता दुई कार्यकाल प्रधानपञ्च भए गाउँमा । १० जना छोराछोरीमध्ये जेठा हुन् उनी । गाउँले बालबालिका जसरी नै हुर्के, बढे, पढे हरिहर । गाउँको स्कुलमा कक्षा ७ सकेपछि ६ घन्टा पैदल बाटोको जितपुर जनता मावि गए । 

नयाँ शिक्षाको पहिलो ब्याच एसएलसी (०३३) थियो उनको । ००८ सालमा खुलेको स्कुलमा त्यतिबेलासम्म प्रथम श्रेणी कसैले ल्याएको थिएन । एसएलसी रिजल्ट सुनेको दिन उनी असारे रोपाइँ गर्दै थिए खेतमा । खबर आयो– ७० जनाले एसएलसी दिएमध्ये ६ जना पास भएछन् । किन कसरी हो हरिहर फेल भएछ । 

यी ‘फस्र्ट ब्याय’ असारभरि रोएर बसे, भोक न निद्रा । धरानतिर गएका पिता असारको आखिरीतिर घर फर्के गोरखापत्र च्यापेर । उनले खुस खबरी दिए, ‘हाम्रो हरिहरले फस्र्ट डिभिजन पो ल्याएछ ।’ भएको के रहेछ भने गोरखापत्रमा फस्र्ट डिभिजनको महलमा कसैले हेरेनछन् । सेकेन्ड र थर्ड डिभिजनको महलमा उनको सिम्बोल नम्बर थिएन ।

अब के थियो ? स्कुलमा उत्तम श्रेणी ल्याएको कागजात बनाएर भेषराज सुवेदीसित धरान हिँडे । व्यावसायिक विषय बागवानी लिएकाले कृषि पढ्न उचाले काकाले । जनकपुरमा थियो कृषि कलेज । कलेजले मार्कसिट नभएको भन्दै फर्काइदियो । 

मार्कसिटका लागि काठमाडौँ आएका हरिहर जनकपुर फर्केनन् । यहीँका अस्कल, पुल्चोक र महाराजगन्ज कलेजमा फारम भरे । तीनै ठाउँमा नाम निस्कियो । यसैबीचमा लखनउको अस्पतालमा कार्यरत मामालाई चिट्ठी लेख्न भ्याए उनले । प्रत्युत्तर पाए, ‘मेडिसिनमा एचए (हेल्थ असिस्टेन्ट) कोर्स छ भने नछाड्नू भान्जा । पछि डाक्टर हुने अवसर आउँछ ।’

मामालाई नै गुरु थापे उनले । अझ महिनावारी डेढ सय रुपियाँ आउने भएपछि के चाहियो ? महाराजगन्ज क्याम्पसमा अढाईवर्षे कोर्स गरे एचएको । ०३६ को माहोलले अतिरिक्त समय खर्च भयो पढाइमा । एचए सकिनासाथ ०३७ मा स्वास्थ्य मन्त्रालयले तेह्रथुमको फाक्चामारा हेल्थपोस्टमा खटाइदियो । 

त्यहाँ दुई वर्ष बिताएपछि तत्कालीन सोभियत संघ र बंगलादेशमा छात्रवृत्ति खुल्यो । उनले मास्कोको लुुमम्बा युनिभर्सिटी रोजे तर पाएनन् । अब सोभियत संघ नजाने भनेर बसे । अर्को वर्ष बंगलादेशको सिट नै लुकाइयो । त्यसपछि मात्र उनले लुवोव सहर (अहिले युक्रेन) मा एमबीबीएस पढ्ने अवसर पाए । त्यहाँ सात वर्ष बिताएर जनरल मेडिसिनमा एमडी डिग्री लिई फर्किए भदौ ०४७ तिर ।

“त्यतिबेला रसियाको डिग्रीको त्यति भाउ थिएन । मेरो एमडीको समकक्षता एमबीबीएस मात्र मानियो,” उनी सम्झन्छन्, “मेरो मात्र होइन, डाक्टर भगवान् कोइरालाको पनि त्यस्तै भयो ।” रसियन एमडीको घटुवा किन थियो भने केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा आदि कम्युनिस्ट नेताले पनि ‘कल्चर कोटा’ पाउँथे । योग्यता नपुगेका नातागोता र कार्यकर्तालाई पनि पठाउँथे । 

एमबीबीएस नै सही, डा वस्ती आफैँले मागेर संखुवासभा जिल्ला अस्पताल गए । खाँदबारीमा काम गरेको १ वर्ष ८ महिना भइसकेको थियो । कर्मचारी आन्दोलनको समर्थनमा कालोपट्टी बाँधेर काम गरेको निहुँमा रातारात सरुवा भयो कालीकोट । त्यतिबेला स्वास्थ्य मन्त्रालयको आठौँ तहका लागि लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरिसकेका थिए उनले । उनले ‘म जागिर खान्नँ’ भनेर बिदामा बसे । अन्तर्वार्ता सकिएपछि जागिर स्थायी भयो अनि स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव भोजराज पोखरेलले काठमाडौँमा कसैको पनि आँखा नपुग्ने ठाउँ केन्द्रीय कारागार अस्पतालमा पदस्थापन गरिदिए । 

खासमा एक कोठे अस्पताल थियो त्यो । कामचाहिँ वीर अस्पतालमा गएर अटोप्सी (शव परीक्षण) गर्ने । सिनियर डाक्टरले जुनियरलाई त्यो काम लगाउँथे । जिल्लामा फाट्टफुट्ट महिनामा एकाधपटक पोस्टमार्टम गरेका उनले दिनमै दुई–चारवटा शव चिरफार गर्नुपर्‍यो । 

खासमा कार्डियोलोजीमा रहर थियो डा वस्तीको । तर, त्यसमा अनुकूल अवसरै आएन । सुरु–सुरुमा त्यो काम मेडिकल अफिसर वस्तीलाई बाध्यता बन्यो । पछि उनले बाध्यतालाई आफ्नो दक्षताको क्षेत्रमा बदले । वीर अस्पतालमा काम गर्दागर्दै दासढुंगा दुर्घटना भयो । मदन भण्डारी र जीवराज आश्रितको शव परीक्षण गरी दुर्घटना मिल्दोजुल्दो प्रतिवेदन दिएको थियो उनको टोलीले । 

शिरदेखि पैतालासम्म चिरफार गरी सबै अंगको परीक्षण, ‘ ल्याब टेस्ट’ अनि मृत्युको कारण खुट्याउँदै रिपोर्ट लेख्नु उनको दिनचर्या बन्यो पाँच वर्ष । उनले के बुझे भने फरेन्सिक सेवा लास चिरफार मात्र होइन । पोस्टमार्टम त फरेन्सिकको एउटा अंश मात्र हो । खासमा फरेन्सिक भनेको कानुनलाई चाहिने मेडिकल रिपोर्ट हो । हत्या, दुर्घटना, बलात्कार, उमेरको सत्यतथ्य पहिचानमा सघाउने प्रक्रिया हो । जिउँदा मानिसले पनि फरेन्सिक सेवा पाउँछन् भन्ने बुझाउन नसक्दा यसले कामचलाउ हैसियत मात्र पाएको छ ।

अदालत तथा सामाजिक न्यायसित जोडिएको यस्तो महत्त्वपूर्ण विषयबारे कसैले ध्यान दिएको भने पाएनन् उनले । एमबीबीएस डाक्टरले हचुवामा काम गर्नुपरेको बुझेर विशेषज्ञ ज्ञान आवश्यक देखे उनले । आफ्नै खर्चमा विदेश पढ्न जाने हैसियत थिएन उनको ।

तत्कालीन स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरले विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा साढे तीनवर्षे अध्ययनको व्यवस्था मिलाइदिए ०५२ मा । श्रीलंकामा फरेन्सिक चिकित्सा पढेर फर्किएपछि फेरि ड्युटी वीर अस्पतालमै । क्यान्टिनछेउ कालकोठरीजस्तो अँध्यारो कोठा थियो एउटा । भ्याइनभ्याई एक्लै पोस्टमार्टम गर्नुपथ्र्यो उनले । न पानीको सुविधा थियो, न बत्तीको । लगातार सरकारी बिदा पर्‍यो भने शव कुहिएर अस्पताल नै दुर्गन्धमय हुन्थ्यो । शव राख्ने रेफ्रिजेरेटर पनि थिएन । बेलुकी ल्याएको शवको नाक, कान, आँखा बिहानसम्म मुसाले खाइदिएको हुन्थ्यो । 

कतिसम्म भने पोस्टमार्टम गरेर निस्कँदा नुहाउने पानीसमेत हुन्थेन । त्यही हालतमा सार्वजनिक गाडी चढेर उनी घर फर्कन्थे । नजिकका यात्रुहरू नाक थुनेर बस्थे । फरेन्सिक बेवारिसे क्षेत्र भएको अनुभव भयो उनलाई । स्वास्थ्य मन्त्रालयलाई सुनाउन गयो आईओएमको काम भनेर पन्छिने । आईओएमलाई सुनाउन जाँदा मन्त्रालयलाई पन्छाउने । डा वस्तीले मन्त्रालय र विभाग धाए र धम्काए– कि वीरमा भइहेको अभ्यास बन्द गर, कि नयाँ सेन्टर बनाऊ । 

द्वन्द्वका बेला उनको कुरा सुन्ने फुर्सद कहाँ ? दुई वर्षसम्म कसैले सुनेन । शुभेच्छुकहरू भनिरहन्थे, ‘तँ पागल भइसकिस् ? दिनहुँ मरेका मान्छे चिरेर पनि कोही बस्छन् ? नचाहिने काममा किन बढी ध्यान दिन्छस् ?’ डा वस्ती फरेन्सिक सेवा सुधारका निम्ति पागल नै बनिसकेका थिए ।

राजीनामापत्रै बोकेर गएपछि तत्कालीन स्वास्थ्य सचिव श्रीकान्त रेग्मीको ‘अर्काे व्यवस्था नभएसम्म’ फरेन्सिक ल्याबलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मर्चुरी (मुर्दा जाँच्ने) कोठामा सार्न तयार भयो, चैत ०५६ मा । त्यो कामचलाउ व्यवस्था अझै पनि उस्तै छ । फरेन्सिक मेडिसिन डिपार्टमेन्ट १८ वर्ष काजमा काम गरे उनले । ०७३ मा आएर फरेन्सिक मेडिसिन उपसमूहमा सरुवा भयो उनको । एक तह स्वत: बढुवा पनि भयो । 

सरकारले नै फरेन्सिक पढ्न पठाएका डा वस्ती बीसौँ वर्ष बेवास्ता गरिए । “मसँगै लोकसेवा दिएका डा सेनेन्द्रराज उप्रेती सचिव भएर रिटायर्ड भए,” उनी हाँस्छन्, “मेरा विद्यार्थी नै एघारौँ तहमा पुगिसके । म अब एघारौँ तहका लागि लोकसेवा दिँदैछु ।” उनी त्रिभुवन विश्वविद्यालयको अतिथि प्राध्यापक मात्र छन् । 

व्यक्तिगत जीवनमा केही नपाए पनि फरेन्सिक मेडिसिन शिक्षा विस्तारमा लाग्न पाएको खुसी छ उनमा । “अहिले म जहाँ छु, या जस्तो देखिन्छु, त्यसको पछाडि ठूलै तपस्या लुकेको छ,” उनी भन्छन्, “फरेन्सिक मेडिसिनको अध्ययन र तालिमलाई सरकारले व्यवस्थित गरे खुसी हुन्थेँ ।”

डा वस्तीले दुई वर्षअघि मेडिको–लिगल सोसाइटी अफ नेपालसमेत गठन गरेका छन् । यसमा ५० जना कानुनी चिकित्सा विशेषज्ञ सदस्य छन् । “नेपालमा अहिले २०–२२ वटा मेडिकल कलेजमा थ्यौरी मात्रै पढाउन कम्तीमा एक जना फरेन्सिक विज्ञ चाहिन्छ,” उनी भन्छन्, “तर, हप्ताको ४८ घन्टामा दुई घन्टा मात्र कक्षा हुन्छ, ४६ घन्टा बेरोजगार बस्नुपर्ने अवस्था छ ।”

उनलाई थाहा छ, नेपाली समाज ‘रुल’ले भन्दा ‘हुल’ले चल्छ । भनेजस्तो प्रतिवेदन नआए कोही पैसा खाइस् भन्छन् त कोही पुलिससँग मिलिस् भन्न भ्याउँछन् । केन्द्रीय कारागारमा काम थालेको वर्ष एक घरानियाँ परिवारको महिलालाई घाँटी कसेर मारेको रिपोर्ट दिएपछि प्रहरीको इन्सपेक्टरदेखि आईजीपीसम्मको फोन आयो । “मैले जे देखेँ, त्यही लेखेँ । फस्ट एन्ड लास्ट रिपोर्ट त्यही हो भनेँ,” उनी भन्छन्, “म कसैको ज्यानसँग खेल्दिनँ । मरेकालाई मारिएको वा मारिएकालाई मरेको भन्दिनँ ।” 

केही वर्षअघि काठमाडौँको अनामनगरकी एक घरेलु कामदार महिलाको मृत्युमा अधिकारकर्मीको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आदेशमा दोहो‍र्‍याएर पोस्टमार्टम गर्नुप‍रेको खिन्नता छ उनीसँग । “फरेन्सिकमा पोस्टमार्टम दोहो‍र्‍याउन मिल्दैन,” उनी सुनाउँछन्, “जति पोस्टमार्टम गरे पनि प्रतिवेदन उही आउँछ ।” 

उनलाई केमा उदेक लाग्यो भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुत्र प्रकाशको पोस्टमार्टम गराएनन् । “यतिका सुविधा हुँदाहुँदै किन अनुमानमा बस्ने ? सात दिनअघि होलबडी चेकअप गर्दा ठीकठाक भएको, सुगर–प्रेसर केही नभएको तन्नेरी छोराको मृत्यु के कारणले भएको हो ? हामी भनिदिइहाल्थ्याँै,” उनी भन्छन्, “दरबार हत्याकाण्ड रहस्यमै रहेको कारण पनि त्यही पोस्टमार्टम नगराएकाले हो । प्रकाशको हकमा पनि त्यस्तै भयो ।” 

डा वस्तीका अनुसार राजदरबार हत्याकाण्डलगत्तै उनको टोलीलाई पोस्टमार्टमका लागि सैनिक अस्पताल छाउनी बोलाइएको थियो । तर, दुई दिनसम्म आठ घन्टा कुर्दा पनि पोस्टमार्टम भएन र गर्नु नपर्ने ‘ माथिको निर्देशन’ आएपछि त्यत्तिकै फर्किएको उनलाई सम्झना छ । बम विस्फोटबाट छियाछिया भएको भारतीय प्रधानमन्त्री राजीव गान्धीको शवको समेत अंगअंग जुटाएर ‘अटोप्सी’ गरिएको घटनाले उनलाई छुन्छ ।

अविस्मरणीय घटना भने रामेछापको दोरम्बाकाण्ड (०६०) हुन गयो । उनको टोलीले २१ माओवादी कार्यकर्ताको दोहोरो भीडन्तबाट नभई हात बाँधेर टाउकोमा गोली हानी हत्या गरी खाडलमा पुरेको पुष्टि गरिदियो । सेनाबाट हत्या भएको रिपोर्ट दिएपछि कतिले बधाई दिए, कतिले त्रास देखाए । एउटा होटलमा भएको पार्टीमा पहुँचवाला देशका राजदूतहरूले सोधे, ‘तिमीलाई थ्रेट छैन ?’ त्यसपछि पो डर लाग्यो उनलाई । कताकता असजिलो भयो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन भए पनि उनलाई एउटा टेलिफोनसमेत आएन । 

द्वन्द्वकालका दैलेखका पत्रकार डेकेन्द्र थापाको गाडिएको शव उनैले निकालेका हुन् । काभ्रेकी मैना सुनारलाई ढाडमा गोली हानेर मारिएको पुष्टि उनैले गरे । धनुषामा सेनाले पाँच सर्वसाधारणलाई आँखा र हात बाँधेर गोली हानी मारेको पनि उनले प्रमाणित गरिदिए । 

०५२ तिर नुवाकोट जिल्ला अदालतमा विषादी खाएर आत्महत्या गरेकी एक महिलाको पतिलाई फसाउन वकिल मात्र नभएर न्यायाधीश नै उद्यत देखेपछि उनले कानुनमा समेत स्नातक गरेछन् । उनीसँग अधिवक्ताको लाइसेन्स पनि छ । बार एसोसिएसनको चुनावमा बर्सेनि भोट हाल्न जान्छन् । तर, बेफुर्सदीका कारण अभ्यास गर्न भने भ्याउँदैनन् । पुस ०७७ मा अवकाशपछि फरेन्सिकसम्बन्धी निजी अनुभव लिपिबद्ध गर्ने विचार छ उनको । आफ्नो विगतप्रति यी तालुखुइले डाक्टरलाई पश्चात्ताप बिलकुलै छैन । “त्यसैले त मेडिकल कलेजले तेरो पद र पैसा भएन भनेर अफर गर्दा पनि म गइनँ,” उनी सुनाउँछन्, “यही क्षेत्रमा अझै संघर्ष गर्नु छ । धेरै काम बाँकी छन् ।” 

३१ वर्षको उमेरमा १० वर्ष कान्छी प्रभा आचार्यसँग बिहे गरे उनले । उनले त्यसलाई ‘ अनसिन म्यारिज’ भन्ने गरेका छन् । बिहे छिनोफानोपछि मात्र भेटघाट भयो उनीहरूको । सन्तानसुख पाउन पनि १० वर्ष नै पर्खनुपर्‍यो । अहिले १२ कक्षामा पढ्ने एक्ली छोरी प्रतीक्षा डाक्टर बन्न भने चाहन्नन् । बाबुको बेफुर्सदीले नै अघाइसकिन् रे ! पत्नी प्रभा नेसनल इन्स्योरेन्स कम्पनीमा काम गर्छिन् । “मेरी श्रीमतीले अहिलेसम्म तपाईंले किन यस्तो काम रोज्नुभएको भनेर सोधेकी छैनन्,” उनी सुनाउँछन्, “उनको आँखामा सधैँ मेरा श्रीमान्को पेसा यस्तै हो भन्ने भाव पाउँछु ।” 

उच्च रक्तचापको औषधि खाने डा वस्ती लोकन्थली बस्दा एक–डेढ घन्टा ब्याडमिन्टन खेल्थे । अहिले घुँडाको समस्याका कारण त्यो क्रम छुटेको छ । जन्मस्थान चुममाङको घरजग्गालाई पितृप्रसादका रूपमा बिरुवा लगाएर संरक्षण गरेका छन् । 

उनका शब्दमा धनी र गरिब दृष्टिकोण मात्र हो । जीवन भनेको खुसी हो । जीवन रहेसम्म खुसी हुनुपर्छ । जीवन रहेसम्म इमानदार हुने र मानवीय बन्ने । “मैले खर्बपतिको पनि लास चिरँे, सडकका बेवारिसे लास पनि चिरेँ । केही फरक देखिनँ,” उनको निष्कर्ष छ, “भोलि खुसी हुन्छु या इमानदार हुन्छु भन्ने नसोच्नूस् । राम्रो काम आजै थाले हुन्छ ।” 

प्रकाशित: मंसिर २६, २०७४