एक कप चिया

  • त्यसपछि लाग्यो, चिया मुख हुँदै मेरो पेटसम्म मात्र पुगेन, शिरदेखि पैतालासम्म पुग्यो । आन्द्रामा मात्र होइन, नसानसामा पुग्यो ।

- अमर न्यौपाने

थाहा छैन, कहिले कुन उमेरमा पहिलोपटक चियासँग मेरो जिब्रोको चिनजान भयो ?

यति थाहा छ, सानैमा भयो, सायद भर्खर आमाको दूध खान छोडेपछि । तर, मलाई चियाले आकर्षित गरेन । आकर्षित नै नगरेपछि प्रेम हुने कुरै भएन । प्रेम नभएपछि अनुभूति हुने कुरा भएन । चिया त मलाई खैरो, धमिलो, बाक्लो र गुलियो पानीजस्तो मात्र लाग्थ्यो । 

यति भएर पनि प्रत्येक बिहान म एक गिलास चिया पिइरहेको हुन्थेँ । किनभने, घरमा आमाले चिया पकाउनुहुन्थ्यो । सानो परिवार, घरमा जे बन्छ सबैले खाइदिए आमा यसै खुसी हुनुहुन्थ्यो । खान नखोज्दा चित्त दुखाउनुहुन्थ्यो आमा । उनको चित्त दुखाउनुभन्दा चिया खानु धेरै राम्रो ।

घरमा पाहुना आउँदा चिया बनाउने चलन हुन्छ । घरमा पाकेको सबैले एकसाथ खानुपर्छ भन्ने आमाको मातृत्वपूर्ण इच्छा ।

अचम्मचाहिँ के भने चिया मलाई कहिल्यै खाऊँखाऊँ पनि लागेन र नखाऊँनखाऊँ पनि लागेन । तर, बा भने बिहान घरमा चिया पिएपछि प्राय: दोकान गएर पनि पिउनुहुन्थ्यो । हाम्रो घरनजिकैको चिया पसलमा बिहान चिया खानेको भीड हुन्थ्यो, साँझ रक्सी खानेको । गिलास उही, पसल पनि उही । तर, पात्र भने प्राय: फरक हुन्थे ।

नुन, चिनी, चियापत्ती, साबुन, मट्टीतेल आदि घरायसी सामान किन्न प्राय: म नै दोकान जानुपथ्र्यो, जहाँ हाम्रो उधारो ल्याउने खाता थियो । जहिले जाँदा पनि प्राय: चिया खाने मानिसको भीड हुन्थ्यो । हुन त धेरै मानिसहरू चियाभन्दा धेरै गफ खाइरहेका हुन्थे । दोकानका काकाले माया गरेर मलाई भन्थे, “आऊ बाबु चिया खान ।” 

म नाइँ भन्थेँ र बाहिरबाटै सामान लिएर घर फर्कन्थेँ । स्कुल सकिन्जेलसम्म पनि दोकानमा गएर कहिल्यै चिया खाइनँ ।

पानीको तिर्खा, खानाको भोक, राम्रो लुगाको रहर लाग्छ तर चियाको चाहिँ के लाग्छ ? चियाका पारखीहरू भन्थे, तलतल लाग्छ ।

तलतलको अर्थ थाहा थिएन मलाई । यही तलतलको खोजीमा थिएँ । तलतल कस्तो हुन्छ, चियाको ?

लाग्थ्यो, चिया भनेको पानीको अर्को नाम हो, जहाँ अलिअलि चियापत्ती, चिनी, दूध मिसिन्छ र पकाइन्छ । त्यतिका रुपियाँ तिरेर किन पिउँछन् चिया ?

म हिसाब निकाल्थेँ– एक कप चियाको पैसाले त मेरा लागि एउटा कापी या कलम आउँछ । पसलमा चिया खानेको भीड देख्दा लाग्थ्यो, उनीहरू एक–एकवटा कापी या कलम खाइरहेछन् । हाम्रो घरनेरको त्यो छाप्रे चिया पसलमा कम्तीमा सयओटा कापी र कलम हरेक दिन मान्छेहरूले खाइरहेछन् । मलाई ती कापी र कलमको माया लाग्थ्यो ।

चिया कि पाउरोटीसँग खाइन्छ कि बिस्कुटसँग, जसरी तरकारी कि भातसँग खाइन्छ कि रोटीसँग ।

मेरा लागि चियाको सबैभन्दा ठूलो उपयोगिता पाउरोटी र बिस्कुट चोबेर खानका लागि मात्र थियो ।

बा चियाको किस्सा सुनाउनुहुन्थ्यो, “तादी गाममा पहिलोपटक लाहुरबाट घर आउनेहरूले चिया ल्याए । बूढाहरूले खान नजानेर कसैले भुटेर खान्थे, कसैले चियामा केरा डोबेर खान्थे ।”

कसैले गिलासमा चिया खान नजानेर थालमा खाएको त मैले पनि देखेँ । आफैँलाई सोध्थेँ, के मैले पनि चिया खान नजानेकै हो त ?

प्रत्येक दिन बिहान आठ–नौ बजेतिर एक मधेसी काका, जसलाई गाउँमा बाङ्गे देशी भन्थे– उनी साइकलमा काठको बाकसभित्र पाउरोटी राखेर नारायणगढदेखि गाउँका पसलहरूमा बेच्न ल्याउँथे ।

उनी आएको मलाई पहिले नै थाहा हुन्थ्यो । किनभने, उनको अघिअघि पाउरोटीको बास्ना आइसकेको हुन्थ्यो । म घरभित्रबाट कुद्दै बाटोमा गएर लामोलामो सास तान्थेँ । उनी नजिक आएपछि प्राणायाम गरेझैँ अझ लामोलामो सास तान्थेँ । उनी गएको १०/१५ मिनेटसम्म पनि बास्ना आइरहन्थ्यो । 

म लामो–लामो सास लिइरहन्थेँ । खासमा, प्राणायाम गर्न पहिलोपटक यसरी नै सिकेको रहेछु । नाकले खाने तरिका मलाई थाहा थियो । मुखले खान पैसा चाहिन्थ्यो ।

तर पनि म आमालाई भन्न सक्थिनँ– आमा पाउरोटी किनिदिनू न !

मलाई थाहा थियो, आमासँग पैसा छैन । आमाले बेलाबेलामा नगद या उधारोमा ती काकासँग पाउरोटी किन्नुहुन्थ्यो । प्राय: बिहान खाना खाने बेलामा पाउरोटी ल्याउने भएकाले किन्नेबित्तिकै खान खोज्दा आमा भन्नुहुन्थ्यो, “अहिले खानी हैन, भात रुच्दैन । दिउँसो चियासँग खानी हो, खाजा ।”

मलाई उत्तिखेरै दिउँसो भइदेओस् भन्ने लाग्थ्यो । दिउँसो चियासँग खाँदा खुब मीठो लाग्थ्यो । मलाई सानोतिनो चाड नै आएजस्तो हुन्थ्यो । चिया यतिखेर आवश्यक लाग्थ्यो । यसरी खाँदा पनि चिया खाएजस्तो लाग्थेन । किनभने, पाउरोटीले चिया खाइदिन्थ्यो, म पाउरोटी खान्थेँ ।

बढ्दै गएँ, पढ्दै गएँ । १० कक्षा पुगेपछि गम्भीर भएर पढ्नुपर्ने भयो । किनभने, जसरी पनि प्रथम श्रेणीमा एसएलसी पास गर्नु छ । बाआमाले जहिले पनि भन्नुहुन्थ्यो, “राती चाँडै सुतेर बरू बिहान दुई पाइलो चाँडै उठेर पढ् न बाबु !”

तर, म सधैँ राती दुई पाइलो ढिलो सुतेर बिहान पनि दुई पाइलो ढिलो उठ्थेँ । बिहान चाँडै उठेर कहिल्यै पढ्न सकिनँ । मेरा लागि रातीको पढाइ मीठो, बिहानको निद्रा मीठो । आजसम्म पनि यही मेरो जीवनशैली बनेको छ । यतिसम्म कि एसएलसीको परीक्षा ७ बजेबाट थियो । परीक्षा दिन जान मेरा मित्र नवीन आउँदा म सुतिरहेको हुन्थेँ । 

ढिलो उठ्ने भएकाले धेरैजसो आमाले चिया कोठामै ल्याइदिएपछि म उठ्थेँ । अल्छी पाराले हातमुख धोएर पढ्न बस्थेँ । कहिले त चिया खानै बिर्सन्थेँ । कहिले झ्यालको कोशमा, कहिले टेबलमा चिया चिसो भइरहेको हुन्थ्यो । कहिले माखा पनि परिसकेको हुन्थ्यो । कहिले त बिहानको चिया खान बिर्सेर आमाले खाना खान बोलाएपछि घुटुक्क पिउँथेँ । गिलासमा चिया नदेख्दा आमा खुसी हुनुहुन्थ्यो । घरमा आमाको खुसीका लागि, पाहुना भएर जाँदा आफन्तका खुसीका लागि चिया पिउँथेँ । तर, मलाई आफ्नो खुसीका लागि पिउन मन थियो ।

कहिले त लाग्थ्यो, चियाको स्वाद अनुभूति नगरीकन मेरो जीवन बित्ने त होइन ?

०५३ सालको कुरा । चितवनमै आईकम पढ्दै थिएँ । र, कुनै कामले एक दिन दोस्रोपटक काठमाडौँ जाँदै थिएँ । काठमाडौँमा भिनाजु हुनुहुन्थ्यो । माघको जाडो । राती १० बजेतिर नारायणगढबाट नाइट बस चढेँ । झ्याल–सिट भए पनि बस बिस्तारै कुदाएकाले कम स्याँठ आएको थियो ।

जतिजति बस काठमाडौँतिर उकालो लाग्दै थियो, उतिउति चिसो लाग्दै थियो । पहिले त चिसो बाहिर मात्र थियो, बिस्तारै चिसो भित्र, अझ भित्र छिर्दै गयो । धेरैजसो मानिस बसमा निदाएका थिए । तर, मलाई निद्रा पनि लागेन । मेरो निद्रालाई जाडो भएको थियो ।

सायद मेरा लुगाहरू चिसोसँग हारिरहेका थिए । त्यसैले पैताला, टाउको र पेट तीनतिरबाट मभित्र चिसो छिर्दै थियो । 

थानकोट आएपछि झन् जाडो भएपछि मलाई महसुस भयो, यो जाडो माघको मात्र होइन, मभित्रको भोकको पनि हो । लामो यात्रामा चिसोले आन्द्रा नै चिसो भएको महसुस हुँदै थियो ।

भिनाजु म्हेपीमा बस्नुहुन्थ्यो । 

बसको गन्तव्य नयाँ बसपार्क थियो । म बालाजु चोकमा ओर्लें । ओर्लेपछि झन् चिसो भयो । ओर्लनासाथ सडककिनारमा बसेको एउटा कुकुर मतिर हेरेर भुक्यो । एउटा भुकेपछि अरू पनि भुक्न थाले । एकातिरका कुकुरहरू भुकेपछि त्यो सुनेर अर्कोतिरका कुकुरहरू पनि भुक्न थाले । काठमाडौँका कुकुर गाउँका जस्ता इमानदार हुन्नन् भन्ने सुनेको थिएँ । धन्न केही गरेनन् । मलाई गाउँ र सहरका कुकुरहरू उस्तै लागे । 

दोस्रोपटक काठमाडौँ आएको छु । खासै कतै चिनेको छैन । एक्लै माघ महिनाको जाडोमा लगलग काम्दै र कुकुर भुकाउँदै बालाजु चोकबाट सोह्रखुट्टेतिर जाँदै थिएँ । हिँड्दा मेरो आन्द्रासमेत हावामा टाँगिएको डोरीझैँ हल्लिरहेजस्तो लाग्यो । चिसोले हात झर्लान्जस्तो भएका थिए । चिसो र बसको यात्राका कारणले होला, टाउको पनि दुखिरहेको थियो । लगलग काम्दै सोह्रखुट्टे पुग्नै लाग्दा गार्डेन होटल जाने मोडमा एउटा घरको ढोकाले आँखा खोलेको देखेँ । लाग्यो, पक्कै पनि यो चिया पसल या सानोतिनो होटल हुनुपर्छ । त्यो बेलामा सोह्रखुट्टे पाटी सही सलामत थियो । त्यहाँ कोही बटुवाहरू बसेका थिए क्यारे † आडैमा तीन–चार जना मानिस आगो ताप्दै थिए । मान्छे देख्दा पहिलोपटक आनन्द लाग्यो ।

म दोधारमा परेँ, चियापसलमा छिरुँ कि त्यहाँ आगो ताप्न जाऊँ ?

नजिकको चिया पसलमै छिरेँ । भित्र छिर्नासाथ तातो महसुस भयो । जीवनमै पहिलोपटक चिया किनेर खान म हतारिएँ, “चिया पाइन्छ दिदी ?”

मंगोलियन अनुहारका दुई जना युवती थिए । एउटीले भनिन्, “पाइन्छ ।”

एकैछिनमा उनले सिल्भरको ताप्केमा घोटीघोटी पकाएको दूध चिया सिसाको गिलासमा दिइन् । पहिलोपटक चिया देख्दैमा खाऊँखाऊँ लाग्यो । 

दुवै हातले पूरै गिलास छोपिनेगरी च्याप्प समाएँ । यस्तो आनन्द आयो कि हातबाट तातो भित्रसम्म छिरेजस्तो लाग्यो । यसरी तात्तातो चियाको गिलास समाउँदा सधैँ मलाई पोल्थ्यो तर त्यसबेला पोलेन । समाइरहेँ, न्यानो आनन्द आइरह्यो ।

मेरा ओठ पनि नीला भएका थिए सायद । बिस्तारै नीला ओठमा लगेर चियाको गिलास राखेँ र सुरुप्प पारेँ । तुरुन्तै तात्तातो चिया खानै सक्थिनथेँ तर त्यसपटक सकेँ । जिब्रो तातो भयो । तैपनि, चिया घुटुक्क निलेँ । चिया बिस्तारै अन्ननली हुँदै पेटमा पुगेको अनुभव गरेँ । पेटमा फैलिएको पनि थाहा पाएँ । चिसो पेट र आन्द्रालाई तातो बनाएको समेत थाहा पाएँ । 

अर्को घुट्को सुरुप्प पार्न हतारिएँ, फेरि अर्को । एकैछिनमा एक गिलास चिया सकेँ र जीवनमा पहिलोपटक चियाको आनन्द लिएँ ।

त्यसपछि लाग्यो, चिया मुख हुँदै मेरो पेटसम्म मात्र पुगेन, शिरदेखि पैतालासम्म पुग्यो । आन्द्रामा मात्र होइन, नसानसामा पुग्यो । 

भोक पनि मेटिएको भान भयो । टाउको पनि दुख्न छोड्यो । आधाभन्दा बढी जाडो घट्यो । एक्कासि फ्रेस भएको आभास भयो । मेरो फुर्तिफार्ती नै बढ्यो ।

यसअघि मैले कम्तीमा हजार कप चिया पिएँ हुँला तर कहिल्यै चियाको स्वाद र असर महसुस गरेको थिइनँ । पहिलोपटक महसुस भयो । लाग्यो, खाएर, पिएर या भोगेर पनि कहिलेकाहीँ अनुभूति हुँदोरहेनछ, केवल थाहा मात्र हुँदोरहेछ ।

मलाई धेरै किसिमका चियाको स्वाद थाहा थियो तर चियासँग मेरो प्रेम भएको थिएन । चियासँगको मेरो सम्बन्ध प्रेमबिनाको सम्भोगजस्तो मात्र भएको रहेछ । पहिलोपटक प्रेमसहितको सम्भोगजस्तो प्रिय लाग्यो ।

त्यसपछि आजसम्म हजार कप चिया नै पिएँ होला तर प्रत्येकपटक चिया पिउँदा त्यो एक कप चिया सम्झँदै पिउँछु । आखिर पहिलो प्रेमलाई कहिले भुल्न सकिन्छ र !

प्रकाशित: मंसिर २२, २०७४