फोटो श्रद्धाञ्जली !

- रवि मानन्धर

कान्तिपुर पब्लिकेसन्सले नेपाल भर्खर भर्खर बजारमा ल्याएको थियो । केही नेता, लेखक तथा समालोचकको नयाँ तस्बिर खिच्नुपर्ने जिम्मेवारी मैले पाएँ । मेरो हातमा थमाइएको कागजको टुक्रामा पशुपतिशमशेर जबरा, राजेश्वर देवकोटा, दमननाथ ढुंगाना, धु्रवचन्द्र गौतमलगायतका नाम थिए । तुरुन्तै फोन घुमाएँ । कसैको फोन उठेन । कोही घरबाहिर निस्किसकेका थिए, कोहीले भोलि मात्र समय दिन सक्ने बताए । सबैभन्दा पुछारमा हालै दिवंगत कीर्तिनिधि विष्टको नाम र नम्बर थियो । फोन उठ्दैन वा भोलि–पर्सि फोन गरेर आउनु भन्ने त होलान् भन्दै फोन डायल गरेँ । ‘हेलो, कसलाई खोज्नुभएको ?’ उताबाट आएको आवाज कानमा ठोक्किने बित्तिकै नमस्कारसँगै मैले फोन गर्नुको उद्देश्य बताएँ । मेरो भनाइ पूरा हुन नपाउँदै उताबाट आवाज आयो, ‘हुन्छ, म घरमै छु, आउँदा हुन्छ ।’ 

आधा घन्टामै म उनको घर ज्ञानेश्वर पुगिसकेको थिएँ । एकैछिन बैठकमा कुराकानीपछि फोटो कहाँ खिच्ने भन्दै उनले गरेको प्रश्नको जवाफमा मैले भनेँ, ‘एक–दुईवटा यहाँ खिचौँ, एक–दुईवटा बाहिर नेचुरल लाइटमा खिचाैँ ।’ उनले ‘त्यसो भए पहिले चिया खाआैँ अनि भित्र–बाहिर जताजता खिच्ने हो, खिचौँ’ भन्दै चिया मगाए । 

चिया र बिस्कुट क्षणभरमै आइपुग्यो । चियाको चुस्कीसँगैको कुराकानी रमाइलो थियो । राजपरिवारको प्रसंग सुनाउँदा ‘हुकुम बक्स्यो, ज्यूनार गरिबक्स्यो, सवारी होइबक्सेको थियो, फिर्ती सवारी होइबक्स्यो’ अनि नेताहरुको प्रसंग सुनाउँदा ‘आएका थिए, भनेका थिए, गएका थिए’जस्ता शब्दको प्रयोग गरिरहेका थिए उनी । म रुचिपूर्वक कुरा सुन्दै दार्जीलिङबाट कसैले उनलाई ल्याइदिएको तीनपाते चियाको चुस्की लिँदै थिएँ । 

चियामा हालेको सुकुमेलको वासनाजस्तै उनको गफमा राजा त्रिभुवनदेखि महेन्द्र हुँदै वीरेन्द्रसम्मको सुगन्ध मिसिएको थियो । उनले एक्कासि भने, ‘कुरा मात्र सुन्ने कि फोटो पनि खिच्ने ?’ गफमा मस्त म झसंग भएँ । भनेँ, ‘फोटो पनि खिच्ने । तपार्इं तयार हुनूस् ।’ ‘के तयार हुनुपर्‍यो र ! जे छु ठीकै छु । जस्तो छु, ठीकै छु ।’ यति भनेर उनी फोटो खिचाउन तयार भए । मैले आफ्नो एनलग निकोन एफएम टू क्यामराको बटन दबाएँ । १८ वर्षअघि अहिलेजस्तो फोटो कस्तो आयो भनेर क्यामेराको डिस्प्लेमा हेर्ने सुुविधा थिएन । मैले चस्मा टल्किएको हुन सक्ने शंका जताएँ । उनले चस्मा फुकालेर पोज दिए । केहीपटक फ्ल्यास बलेपछि उनी ‘लौ अब बाहिर खिचाैँ’ भन्दै सँगै टेबलमा राखिएको कागजको सानो पोका बोकेर बाहिर निस्किए । म उनको पछि लागेँ । बाहिर प्रांगणमा निस्कँदासम्म पनि उनी राजाको इमान, पुराना नेताको जमान र पछिल्ला नेताहरु बेइमान भन्दै थिए । 

उनले हातमा बोकेको कागजको टुक्रामा काजुका दाना रहेछन् । एक मुठी काजु मेरो हातमा हाल्दै भने, ‘अहिले सबैभन्दा इमानदार को छ, थाहा छ ?’ मैले मुन्टो हल्लाएँ । उनले खोइ के पो हो नाम लिँदै बोलाए । एउटा जर्मन सेफर्ड कुकुर पुच्छर हल्लाउँदै आयो । उनले ग्वार्लाम्म अँगालो हाले । कुकुरले उनलाई चाट्न थाल्यो । उनी घरी दायाँतिरको गाला दिन्थे त घरी बायाँतिरको । 

म एकछिन अवाक् भएँ । फोटो खिच्ने क्रममा थुप्रै नेताले फोटोमा आफूसँगै कुकुर आउला भनेर धपाएको अनुभव मसँग थियो । रिसाउने पो हुन् कि, गाली पो गर्ने हुन् कि भन्ने मनमा शंका र द्विविधा हुँदाहुँदै क्यामराको बटन दबाएँ । उनी पटक्कै रिसाएनन् । झन् कुकुरलाई मतिर देखाउँदै ‘ऊ उता हेर् त’ भन्दै उसको मुन्टो घरीघरी मतिर फर्काइदिए । टुक्रुक्क भुइँमा बसेका उनी भन्दै थिए, ‘देशमा यो जति इमानदार खोजेर कहाँ पाइन्छ ? यो जति इमानदार मानिस हुने भए देश स्वर्ग हुन्थ्यो ।’ 

उनीसँग गफिँदै फोटो खिच्दै जाँदा मेरो क्यामेरामा भएको ३६ फ्रेमको रिल सकियो । तर, उनको गफ भने सकिएको थिएन । उनका कुरामा अलिअलि निराशा, अलिअलि आशा र अलिअलि देश पुन: सुव्यवस्थित हुनेमा विश्वास थियो । 

धेरै समय भइसकेको थियो । मलाई कुकुरसँग उनको फोटो कस्तो आएछ, हेर्न हतार लाग्यो । त्यसैले उनीसँग बिदा मागेँ । ल्याब पुगेँ । रिल धुलाएँ । केही फोटो प्रिन्ट गरेँ । कुकुरले जिब्रो लपलपाएर उनको गाला चाटेको फोटो खोइ किन हो मलाई साह्रै मन पर्‍यो । भोलिपल्ट अफिसमा सहकर्मी नरेन्द्र श्रेष्ठलाई कुकुरले गाला चाट्दै गरेको उक्त फोटोलाई सकभर प्राथमिकतामा राख्न अनुरोध गर्दै फोटो बुझाएँ । तर, खोइ किन हो, त्यो फोटो छापिएन । 

त्यसपछि फोटो पत्रकारिताका क्रममा थुप्रै दैनिक, साप्ताहिक तथा देश–विदेशबाट प्रकाशित हुने पत्रिकाहरुमा काम गरेँ । तर, कतै पनि त्यो फोटो छापिने साइत जुरेन । 

समयसँगै मुलुकमा राजनीतिक परिवर्तनहरु भए । म आफ्नो पेसामा रमाउँदै गएँ । कहिलेकाहीँ भेट हुँदा उनी कुकुरसँगको त्यो फोटोको विषयमा कुरा गरिहाल्थे । समय बित्दै गयो, कति बेला उनको त्यो तस्बिर मेरो मानसपटलबाट बिलायो, पत्तै भएन । 

तर, एक्कासि विष्टको २५ कात्तिकमा निधन भएको खबर सुनेपछि सबैभन्दा पहिले कतै छाप्न नसकिएको त्यो फोटोलाई सम्झेँ । हतारहतार खोजेँ । हातमा फोटो परेपछि यसलाई खिच्दाको क्षण फेरि ताजा भएर आयो । मन कस्तो–कस्तो भयो । सोचेँ, अब त्यही फोटोमार्फत नै उनलाई श्रद्धाञ्जली किन नदिने ! 

प्रकाशित: मंसिर २२, २०७४