स्मरण: कृषिमा आत्मनिर्भरताको कदम

- रेवतीरमण खनाल

स्वदेशी उत्पादनमा विशेष जोड दिने राजा वीरेन्द्रको कृषि नीति थियो । एकपटक सुर्खेत भ्रमणमा निस्किँदा साग केलाइरहेका भान्सेलाई राजाबाट सोधनी भयो, ‘कहाँको साग हो यो ?’ भान्सेले भारतबाट झिकाइएको जवाफ दियो । हरियो साग पनि भारतबाट † राजा आश्चर्यचकित भए । लगत्तै भएको अञ्चलाधीशहरूको एक भेलामा उनले स्थानीय स्तरमा जसले बढीभन्दा बढी तरकारी र सागपात उत्पादन गर्छ, त्यस्ता जिल्ला/अञ्चललाई पुरस्कृत गर्ने नीति सुनाइदिए ।

त्यस घटनापूर्व राजा वीरेन्द्रले हिमाली क्षेत्रलाई मध्यनजर गरी विशेष कृषि नीति सार्वजनिक गरेका थिए । त्यही अनुसार मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पालाई उन्नत जातका स्याउ उत्पादन गर्ने पकेट–क्षेत्र बनाइएको थियो । मुस्ताङको मार्फा त्यसको केन्द्रविन्दुमा थियो । त्यहाँ कृषि विकास केन्द्र नै स्थापना गरिएको थियो । 

क्षेत्रीय भ्रमणका सिलसिलामा राजा मुस्ताङको कृषि फार्ममा बरोबर पुग्थे । म पनि राजासँग धेरैपटक त्यहाँ पुगेको छु । मार्फा कृषि विकास केन्द्रमा खोटाङका मदन राई कृषि अधिकृत थिए । झन्डै १२ वर्ष त्यस क्षेत्रमा बिताएका उनी दक्ष कृषिविज्ञ थिए । कृषि विशेषज्ञका रूपमा अहिले पनि उनी चर्चित छन् ।

मदन राई विभिन्न जातका स्याउका बिरुवा उत्पादन गरी जिल्लाका कृषकलाई नाम मात्रको मूल्यमा उपलब्ध गराउँथे । साग, काउलीलगायत विभिन्न जातका तरकारीका बीउ–बिजन पनि उत्पादन गरी कृषकहरूलाई वितरण गर्थे । त्यस क्षेत्रको कृषि विकासमा उनले ठूलो भूमिका निर्वाह गरेका रहेछन् । त्यसैले उनको नाम प्रख्यात भएको रहेछ । राईले बेलायतलगायत केही युरोपका देशमा कृषि तालिम र प्रशिक्षण लिएका रहेछन् । मार्फा कृषिफर्ममा राजा वीरेन्द्र पुग्दा यो कुरा त्यहाँका कृषकहरूले बताएपछि हामीले पनि उनीबारेमा धेरै जानकारी पाएका थियौँ ।

राजा वीरेन्द्रको कृषि नीति र कृषि विशेषज्ञ राईको मिहिनेतकै परिणाम त्यस क्षेत्रमा स्याउको उत्पादन अत्यधिक हुन थाल्यो । तर, स्याउको बजारमा समस्या भयो । किनभने, अन्यत्र निकासी गर्न त्यतिबेला सडक थिएन, यातायातको कुनै सुविधा थिएन । राजा वीरेन्द्रले रक्सी उत्पादन गर्ने कारखाना स्थापना गर्न लगाई त्यहाँ उत्पादित स्याउ खपत गर्ने नयाँ योजना अघि सारे । त्यसमा पनि पूरै उत्पादन खपत हुन सकेन । आफ्नो उत्पादन त्यसै खेर जान थालेपछि किसानले राजामा पुन: जाहेर गरे ।

राजाबाट स्थानीय सीप र जनशक्ति प्रयोग गरी शीतगृहको स्थापना गर्न निर्देशन भयो । कृषि विशेषज्ञ राईकै सक्रियतामा स्थानीय स्तरमै शीतगृहको स्थापना गरी स्याउ भण्डारण गर्न थालियो । शीतगृह बडा अनौठा र आकर्षक थिए । स–साना खाल्टामा ढुंगाको चाङ लगाई बाँसका टोकरीमा स्याउ भण्डारण गरिन्थ्यो र माथिबाट छहरा खसालिन्थ्यो । कुलोमा पानी ल्याई छहरा बनाइन्थ्यो । हेर्दै आकर्षक र सुन्दर देखिन्थ्यो त्यो दृश्य । यसो गर्दा झन्डै ६ महिनासम्म स्याउ ताजै रहन्थ्यो । मदन राईको यो प्रविधि देखेरै राजा औधि खुसी भए र उनलाई प्रोत्साहनस्वरूप पुरस्कार र विभूषणले सम्मानित पनि गरियो ।

राईको नाम मुस्ताङमा मात्र होइन, पूरै हिमाली जिल्लामा प्रख्यात रहेछ । उनी कृषकलाई बिरुवा मात्र दिएर छोड्ने होइनन्, ती बिरुवा लिएर जाने कृषकको गाउँमै गएर झन्डै एक साता बस्ने र बिरुवा राम्ररी सरे/नसरेको अनुगमनसमेत गर्ने रहेछन् । राम्ररी सरेको र बिरुवा नमर्ने गरी ढुक्क भएपछि अन्य गाउँमा गई फेरि त्यसै गर्दा रहेछन् । समय–समयमा गाउँमा गएर बिरुवा कस्ता भए भनेर हेर्ने अनि तीन वर्षमा स्याउ फल्न थालेपछि कत्तिको फले, कुनै रोगको सिकार त भएनन् भनेर अनुगमन गर्ने र रोगव्याधि लागेमा तिनको स्याहारसुसार र उपचारमा सक्दो सहयोग पुर्‍याउने रहेछन् । 

गाई, गोरु र भैँसीको गोबरले नपुग्ने भएकाले विकासे मल पनि कृषि विकास केन्द्रबाटै वितरण गर्ने र प्रयोग विधि सिकाउने गर्दा रहेछन् । मुस्ताङका स्याउ ठूलो आकारका र ज्यादै मीठा थिए भने डोल्पाका स्याउ पहेँला, सुनौला र अर्कै मिठासका । चिनियाँ स्याउले बजार लिइरहेका बेला शीत भण्डारणको नयाँ सोच ल्याएर नेपाली उत्पादनलाई बढावा दिने त्यो अभियान वास्तवमा राष्ट्रभक्तिको भावनाले प्रेरित थियो । नेपाली स्याउको बजार विस्तारको इतिहासमा राईको त्यो योगदान र भूमिका सदैव सम्झिइनेछ ।

कृषिमा आत्मनिर्भर बनाउने र स्वदेशी उत्पादनलाई बढावा दिने त्यो कदम कति दूरदर्शी र समयानुकूल थियो भन्ने कुरा आजको परिस्थितिले प्रमाणित गरेको छ । राजा वीरेन्द्रले कृषिमा आधुनिकीकरणको त्यो प्रयास सुरु नगरेको भए आजको नेपालमा तरकारी र फलफूलको अवस्था कति भयावह हुन्थ्यो, हामी कल्पना पनि गर्न सक्दैनौँ ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: मंसिर २२, २०७४