कस्तो समृद्धि ? कस्तो समाजवाद ?

  • लेनिनवाद र माओवादको सम्मिलनबाट कस्तो कम्युनिस्ट पार्टी बन्ला  ?

- केशव दाहाल

माहोल चुनावमय छ, चुनावसँगै रंगीविरंगी घोषणापत्रहरू आइरहेका छन् । दलका घोषणापत्रमा सबैभन्दा धेरै बोलिएको शब्द हो, ‘समृद्धि’ र ‘समाजवाद’ । ‘समाजवाद’सँग नेपाली कम्युनिस्टहरूको द्विविधा र लगाव तीव्र छ । उनीहरू यो शब्दमाथि आफ्नो नैसर्गिक स्वामित्व स्थापित गर्न चाहन्छन् । हुन पनि कम्युनिस्टहरूको चर्चा नगरी समाजवादको कुरा गर्नु आधाउधी काम मात्र हो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावपछि एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन् । कुरा राम्रो हो । तर, उनीहरूले बनाउने कम्युनिस्ट पार्टी कस्तो होला, चीनको जस्तो कि उत्तर कोरियाको जस्तो ? भियतनामको जस्तो या पश्चिम बंगालको जस्तो ? उनीहरूबाट रेडिमेड जवाफ आउन सक्छ, नेपालको जस्तो । तर, लेनिनवाद र माओवादको सम्मिलनबाट कस्तो कम्युनिस्ट पार्टी बन्ला ? रोचक छ । अथवा, के माओवादीहरूले माओवाद छोड्लान् ? यदि छोडेछन् भने ‘जनयुद्ध’माथि उनीहरूको दाबी के हुन्छ ? कि एमालेहरू माओवादी बन्लान् ? त्यसैले भविष्यमा उनीहरूले कस्तो कम्युनिस्ट पार्टी बनाउँछन्, स्वभावत: नेपाली कम्युनिस्टहरूको समाजवादको मोडेल त्यसले निर्धारण गर्नेछ । 

यो पनि भनिन्छ, नेपालमा कोही पनि कम्युनिस्ट छैनन् । तर, कम्युनिस्ट ब्रान्डको भने रजगज छ । त्यसैले एमाले र माओवादी केन्द्र मिल्नु ब्रान्डको एकीकरण हो, विचारको होइन । यो आन्दोलनको सम्मिलन पनि होइन । यो सत्ता स्वार्थको ध्रुवीकरण हो । उसो भए के नेपालमा कोही पनि समाजवादी छैनन् ? भन्नका लागि त खालखालका समाजवादी छन् । कांग्रेस र कम्युनिस्ट सबका सब समाजवादी । किनभने, नेपाली राजनीतिमा समाजवादको सम्मोहन तीव्र छ । हाम्रो संविधान आफैँ ‘समाजवाद उन्मुख’ छ । तर, कस्तो समाजवाद ? यो प्रश्नमा भने हामीसँग विविध संकथन र द्विविधा छ ।  

अनेक रंग–रुप

नेपालमा समाजवादी दाबी गर्ने तीनखाले धार छन् । पहिलो, माक्र्सवादी (कम्युनिस्ट) समाजवादी धार । दोस्रो, प्रजातान्त्रिक समाजवादी (कांंग्रेस) धार । तेस्रो, समृद्ध समाजवादी 

(वामपन्थी) धार । 

माक्र्सवादी समाजवाद मूलत: कम्युनिस्टहरूको धार हो । दस्तावेजमै सही, नेपालमा माओवादीदेखि एमालेसम्म यो धारमा छन् । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको उदयसँगै यो धारको जबरजस्त प्रभाव बढ्यो । यसले झन्डै शताब्दी राज गर्‍यो । अन्तत: सन् ’९० को आँधीबेहरीपछि यो धार रक्षात्मक बन्दै गयो र संकटग्रस्त हुन पुग्यो । कम्युनिस्ट समाजवादीहरू बडो जडसूत्रवादी छन् । उनीहरू माक्र्स र लेनिनको देवत्वकरण गर्न चाहन्छन् । यो धारले आर्थिक क्षेत्रमा नाफालाई सधँै पूर्वाग्रहबाट हेर्छ । निजी सम्पत्तिको विरोध गर्छ । राजनीतिक क्षेत्रमा यो सर्वहारा अधिनायकवादी छ । सामाजिक क्षेत्रमा यसले व्यक्तिको सर्वोच्चता र स्वतन्त्रतालाई कुण्ठित गर्छ । संगठनात्मक क्षेत्रमा यो केन्द्रीयतामुखी छ । 

तर, के सर्वहारा अधिनायकत्व, निजी सम्पत्तिको अन्त्य र सम्पूर्ण रूपमा व्यक्तिमाथि सामाजिक नियन्त्रण सम्भव छ ? यो प्रश्नमा नेपाली माओवादी, लेनिनवादीहरूको धारणा के होला ? उनीहरू दस्तावेजमा के लेख्लान् ? उनीहरूको समाजवादी मन र व्यवहार कस्तो होला ? यसमध्ये कुनैको पनि चित्र स्पष्ट देखा पर्दैन ।    

प्रजातान्त्रिक समाजवादी धारको पक्का संरक्षक र नेता भएको दाबी गर्छन्, कांग्रेसीहरू । यो धारमा प्रजातन्त्र र समाजवादलाई मिसमास गरिएको छ । यहाँ उल्लिखित प्रजातन्त्र औपचारिकतामा सीमित छ भने समाजवादलाई बजारवादले नियन्त्रण गर्छ । अत: यो धारले विचित्रको समाजवादी क्यानभास सिर्जना गर्छ, जो एकातिरबाट हेर्दा बुर्जुवा प्रजातन्त्रवादीजस्तो र अर्कोतिरबाट हेर्दा शब्दको समाजवादीजस्तो । तर, व्यवहारत: यसका नेपाली प्रवद्र्धकहरूमा न त सामाजिक न्यायप्रति लगाव छ, न त हतारो । उनीहरू राजनीतिक सुविधामा समाजवादको कुरा गर्छन् । उनीहरूलाई समाजवाद ल्याउने कुनै चटारो छैन । भए पनि ठीकै, नभए पनि ठीकै । अझ कांग्रेसका केही नेताहरूको बजार प्रेम र निजीकरणको हुटहुटी हेर्दा त एँेठनसम्मै हुने अवस्था छ । 

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादका सम्बन्धमा भनेका छन्, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजवादबाट प्रजातन्त्र हटाइदियो भने त्यो साम्यवाद हुन्छ ।’ यद्यपि, बीपीले भनेको समाजवाद र प्रजातन्त्र दुवै आज कांग्रेसका लागि दन्त्यकथाजस्तै हो । खासमा अहिलेको कांग्रेसको समाजवाद, उदारीकरणको अवैधानिक सन्तान हो, जसको डीएनएप्रति सर्वत्र आशंका छ । 

पछिल्ला बहसमा आफूलाई समाजवादी दाबी गर्ने अर्को धार पनि देखा पर्दैछ । त्यो हो, समृद्ध समाजवादको धार । यो वामपन्थी समाजवादी धार हो । नेपालमा वैकल्पिक राजनीतिको कुरा गर्नेहरू यो धारमा छन् । यो धार माक्र्सवादी सिद्धान्तको शास्त्रीय बोझबाट समाजवादलाई मुक्त गर्न चाहन्छ । यो माक्र्सवादी समाजवाद र बुर्जुवा प्रजातन्त्र दुवैको विपक्षमा छ । यो उदार लोकतान्त्रिक समाजवादको पक्षमा पनि देखिँदैन । किनभने, यो वामपन्थी रुझान राख्छ । नेपालमा यो धारले माक्र्सवादी समाजवादका पुराना कमजोरीहरूको स्वतन्त्र समीक्षा गरिरहेको छ । यो धार लेनिन र स्टालिनका मोडेलहरूप्रति आलोचक छ । सहभागितामूलक लोकतन्त्र र वामपन्थी यो धारको प्रस्ताव हो । यसले आफ्नो समाजवादी मोडेललाई गैरकम्युनिस्ट तर वामपन्थी मोडेल बताउँछ । 

आजको समाजवाद 

जगजाहेर छ, माक्र्सवादी समाजवादीहरूले वर्गहरूबीचको अन्तरविरोधलाई संघर्षको प्रधान पक्ष बनाए । उनीहरूले समाजका अन्य अन्तरविरोधहरू देखेनन्, जस्तो: जातको, भाषाको, रंगको, भूगोलको अन्तरविरोध । माक्र्सवादी समाजवादीहरूले समाजको कुरा त गरे । तर, मान्छेको निजत्व र मनोविज्ञानलाई देखेनन् । मान्छेको मन, सोच, आवेग, संवेगहरूलाई माक्र्सवादीहरूले बुझेनन् । माक्र्सवादले ‘प्रकृति र समाजको परिवर्तन मात्रात्मकबाट गुणात्मक हुन्छ’ भन्छ । तर, माक्र्सवादले मनको कुरा गर्दैन । मनको परिवर्तन कस्तो हुन्छ ? मन फड्को मार्छ, उडान भर्छ । यो कताकता बग्छ । व्यक्तिको यस्तो विचित्रको मनलाई समाजको सीमित दायरा र सूत्रबाट कसरी नियन्त्रण गर्न सकिन्छ ? 

मान्छेको मनलाई न त प्रहरीले नियन्त्रण गर्न सक्छ, न त राज्यले । त्यो सोच, यो नसोच, यो खाऊ, त्यो नखाऊ । यो काम गर, त्यो नगर । यसैकारण लेनिनको समाजवाद ढल्यो र उत्तर कोरियामा तमासा गर्दैछ । यस्तो समाजवाद नेपालमा कसरी बन्छ ? यो व्यक्तिको प्राकृतिक चरित्रलाई कुण्ठित 

गर्ने समाजवाद हो । जब व्यक्ति फल्न र फुल्न पाउँदैन, तब समाज कसरी गतिलो हुन्छ ?

समाज र व्यक्ति अन्तरसम्बन्धित हुन्छन् । त्यसैले समाजको कुरा गर्दा व्यक्तिको कुरा भुल्नु हुँदैन भने व्यक्तिको कुरा गर्दा समाजको । व्यक्ति र समाजको सन्तुलित सम्बन्धलाई स्थापित नगरी समाजवाद बन्दैन । व्यक्तिको कुरा गर्दा उसको मन र महत्त्वाकांक्षा महत्त्वपूर्ण हुन्छ । यसका लागि निजी सम्पत्तिको भूमिका महत्त्वपूर्ण हुन आउँछ । परम्परागत समाजवादीहरू सजिलै निजी सम्पत्तिको विरोध गर्छन् । मान्छे र निजी सम्पत्तिको सम्बन्धलाई उनीहरू समाज विकासको कडीका रूपमा बुझ्दैनन् । यदि निजी सम्पत्ति नहँुदो हो त मान्छेको जाँगर, लालसा र तृष्णाको के हाल हुन्थ्यो ? त्यो नहुँदो हो त समाज कहाँ हुन्थ्यो ? निश्चय नै निजी सम्पत्ति छाडा हुन हँुदैन । त्यसको नियमन चाहिन्छ । त्यसलाई निषेध गर्नु मान्छेका सपनाहरूको बन्ध्याकरण हुन जान्छ । त्यसैले आज निजी सम्पत्तिको अधिकार विश्वव्यापी सरोकारको विषय हो । नेपालको ‘समाजवाद उन्मुख’ संविधानले पनि निजी सम्पत्तिको सुरक्षा प्रत्याभूत गरेको छ । 

आज न त राज्यले अर्थतन्त्रमाथि पूरा नियन्त्रण गर्न सम्भव छ, न निजी सम्पत्तिको पूर्ण सामूहिकीकरण । मुख्य कुरा सम्पत्तिको स्रोत, त्यो श्रमसिद्ध हो कि शोषणबाट आर्जित हो भन्ने हो । विरोध गर्नुपर्ने कुरा सम्पत्ति होइन, स्रोत हो । उदार प्रजातन्त्रवादीहरू भएजति सबै सामाजिक सेवाहरू बजारलाई छोडेर समाजवादको कुरा गर्छन् । माक्र्सवादीहरू बजार र व्यक्तिलाई डोकाले छोपेर समाजवाद बनाउने ठान्छन् । आजका लागि यी दुवै समाजवादका नकचरो मोडल हुन् । 

नेपालका कम्युनिस्ट र कांग्रेसीहरू के चाहन्छन् ? सायद केही पनि चाहँदैनन् । उनीहरू मूलत: सत्ताकेन्द्रित छन् । सत्तालाई सपना बनाउनेहरू समाजवादका सूत्रधार हुनै सक्दैनन् । सत्ताको स्वार्थबाट नेपालका कांग्रेस र कम्युनिस्ट नेताहरूलाई ननिकाली उनीहरूले भनेजस्तो (?) समाजवाद पनि आउँदैन ।  

बर्नस्टाइनका विचारहरूको राजनीतिक सान्दर्भिकता आज देखिँदैछ । अनेकौँ उथलपुथलले कम्युनिस्टहरूको परम्परागत समाजवादलाई धराशयी बनाइरहँदा पनि पुँजीवाद भने विभिन्न सुधारहरूबाट आफूलाई अनुकूल बनाउँदै गइरहेको छ । तर, कम्युनिस्टहरू भने शुद्ध माक्र्सवादी, लेनिनवादी हुने नाममा समाजवादको जडतालाई नै प्रवद्र्धन गरिरहेका छन् । यही विरोधाभास नै कम्युनिस्टहरूको आजको यथार्थ हो । आशंका छ कि यस्तो विरोधाभास एमाले र माओवादीहरूको गठबन्धनमा पनि देखिने छ । माओवादी दबाबमा पुराना कम्युनिस्ट सूत्रहरू कण्ठ गर्न एमाले कार्यकर्ताहरू फेरि बाध्य भए भने के होला ? वामपन्थी समाजवादीहरू यो अवस्थालाई नेपाली माक्र्सवादीहरूको उल्टो यात्रा ठान्छन् । उनीहरू मान्छन् कि आजको समाजवाद आजकै लागि बनाउने हो । यो आजकै मान्छेहरूले बनाउने हो । यो आजकै सूत्रहरूबाट बनाउने हो । आजको मनोविज्ञानलाई नबुझ्ने माक्र्सवादीहरूले मरेकाटे नयाँ समाजवाद बनाउन सक्दैनन् । अत: शंका स्वाभाविक हुन्छ कि भविष्यमा हुने कम्युनिस्ट एकता यही मोडमा पुगेर दुर्घटनाग्रस्त हुन सक्छ ।  

सम्पूर्ण रूपमा व्यक्तिको स्वतन्त्रता र सामाजिक दायित्वलाई सन्तुलित गर्ने व्यवस्था नै आजको समाजवाद हो । यो राज्यको नियन्त्रणबाट होइन, बरू राज्यको नियमन र उत्प्रेरणाबाट बन्छ । यो सर्वहाराले बनाउने समाजवाद होइन । यसमा सम्पूर्ण जनताको प्रत्यक्ष संलग्नता रहन्छ । जनताले बनाउने समाजवाद संकुचित र सर्वसत्तावादी हँुदैन । यो मानवीय हुन्छ । किनभने, समाजवादले जनतालाई सिद्धान्तको हतकडी लगाउन हँुदैन बरू स्वतन्त्रताको खुला आकाश दिनुपर्छ । यस्तो आकाश जहाँबाट संसारको सबैभन्दा सुन्दरतम् सभ्यताको दर्शन मिलोस् । जहाँसम्म पार्टीहरूको ध्रुवीकरणको कुरा छ, जो–जोसँग मिले पनि केही फरक पर्दैन । मात्र विचार गरौँ, कथित वामपन्थीहरू स्टालिनपथमा नजाऊन् र कथित प्रजातन्त्रवादीहरू घरानियाँ प्रजातन्त्रमा नफसून् । पुग्नुपर्ने ठाउँ सामाजिक न्याय, समृद्धि र विकास हो । समृद्ध समाजवाद हो । 

प्रकाशित: मंसिर २०, २०७४