मैदानबाहिर महारथी

  • इटाली, चिली, नेदरल्यान्ड्सजस्ता धुरन्धर टिम विश्वकप फुटबल प्रतियोगिताबाट बाहिर

- ज्ञानेन्द्र आचार्य

विश्वकप कसले जित्छ भनेर पत्ता लगाउने कुनै गणितीय सूत्र हुन्थ्यो भने यसपटक इटाली फाइनलमा पुग्नुपथ्र्यो । सन् १९७० को विश्वकपपछिका नतिजाले यस्तै देखाउँछ । आठौँ विश्वकपदेखि इटाली प्रत्येक १२ वर्षमा फाइनल पुगेको छ । २४ वर्षमा विश्वकप जितेको छ । यस अनुसार २००६ मा विश्वकप जितेपछि इटाली २०१८ मा फाइनल पुग्नुपर्ने हो । इतिहास जस्तोसुकै होस्, यसपटक इटाली फाइनल पुग्छ भन्ने भविष्यवाणी विश्वकप सुरु हुनुभन्दा अघि नै गलत भएको छ । किनभने, इटाली यसपटक छनोट हुनै सकेन । 

चारपटकको विश्वविजेता हो, इटाली । त्यसैले विश्वकपमा उसको छुट्टै प्रभाव छ । यसकारण इटालीका समर्थकलाई आउँदो विश्वकप केही नरमाइलो लाग्न सक्छ । इटालीको समर्थक नभए पनि फुटबल मन पराउने धेरैका लागि इटाली छनोट हुन नसक्नुभन्दा बढी दु:ख जियानलुइजी बुफन यसपटक विश्वकपमा नहुनुमा लागेको हुन सक्छ । ३९ वर्षको उमेरमा पनि अब्बल प्रदर्शन गरिरहेका बुफन यस्ता भलादमी खेलाडी हुन्, जसलाई विपक्षी टिमका खेलाडीले पनि सम्मान गर्छन् । यसै विश्वकपपछि फुटबलबाट सन्न्यास लिने मनसाय बनाएका थिए बुफनले । इटाली छनोट नभएपछि बुफनको अन्तर्राष्ट्रिय खेल जीवन विश्वकप सुरु हुनुभन्दा करिब सात महिनाअघि नै समाप्त भएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा इटालीलाई निकै रणनीतिक टिमका रूपमा चिनिन्छ । निकै अनुशासित डिफेन्स, त्यसमाथि गोलपोस्टमा बुफन भएपछि जस्तोसुकै बलियो टिमलाई पनि इटालीसँग जित निकाल्न गाह्रो हुन्थ्यो । सधैँ अब्बल रणनीतिका लागि चिनिने इटाली यसपटक फितलो रणनीतिकै कारण चुक्यो । 

२००६ मा विश्वकप जितेपछि २०१० मा समूह चरणबाटै बाहिरिएको थियो । त्यतिबेलै विश्लेषकहरूले इटालीको खेदो खन्न सुरु गरिसकेका थिए । तर, २०१२ को युरोकपमा फाइनल पुगेर इटालीले ऊ अझै पनि फुटबलमा शक्तिशाली रहेको साबित गरेको थियो । २०१६ को युरोकपमा पनि इटाली राम्रै थियो । ६० वर्षयता पहिलोपटक विश्वकपमा छनोट हुन नसकेको इटालीको दुर्दशा २०१६ को युरोकपपछि सुरु भयो । युरोकपपछि प्रशिक्षक एन्टोनियो कोन्टेले छाडे । र, त्यहाँको फुटबल संघले जियान भेन्टुरालाई राष्ट्रिय टिमको जिम्मा लगाउने अनौठो निर्णय गर्‍यो । त्यतिबेलै भेन्टुरालाई राम्रो प्रशिक्षक मान्ने विश्लेषक कमै थिए । इटालियन लिगमा पनि उनले पुछारका क्लब मात्रै सम्हालेका थिए । अरू टिमहरूले आक्रामक शैली अपनाउँदा भेन्टुरा पुरानै रक्षात्मक शैलीमा रहे । 

भेन्टुरा कतिसम्म रक्षात्मक मानसिकताका प्रशिक्षक हुन् भन्ने प्ले अफमा स्वीडेनसँगको अन्तिम खेलबाट थाहा हुन्छ । इटालीलाई गोल गर्नैपर्ने बाध्यता थियो । आक्रामक रणनीति अपनाउनुको विकल्प थिएन । त्यसमाथि अन्तिम र निर्णायक खेल घरेलु मैदानमा खेल्न पाउनुको फाइदा आक्रामक खेलेरै उठाउनु पथ्र्यो । तर, भेन्टुरा उनले जानेको रक्षात्मक शैलीमा अडिए । र, त्यसैको नतिजा हो– इटाली छनोट नहुनु । 

लोरेन्जो इन्सिनीय अहिलेको पुस्ताका सबैभन्दा क्रिएटिभ इटालियन खेलाडी हुन् । भेन्टुराको रक्षात्मक रणनीतिमा इन्सिनीयले खासै मौका पाएनन् । गोल आवश्यक रहेको स्वीडेनसँगको अन्तिम खेलमा पनि भेन्टुराले इन्सिनीयजस्ता चतुर र आक्रामक खेलाडीलाई खेलाएनन् । बरू डिफेन्सिभ मिडफिल्डलाई बलियो बनाउन डिरोसीलाई मैदानमा उत्रन तयार रहन इसारा गरेका थिए । 

छनोटमा इटाली स्पेनजस्तो सशक्त टिमको समूहमा पर्नुले उसलाई गाह्रो परेको भन्नेहरू पनि छन् । तर, इटालीको स्तर निकै खस्किएको छनक स्पेनसँग ३–० ले हार्दा नै देखिएको थियो । दुई वर्षअघि युरोकपमा इटालीले स्पेनलाई २–० ले हराउँदा स्पेनले अब्बल टिमको दर्जामा रहिरहन आफ्नो रणनीति परिवर्तन गर्नु आवश्यक देखिएको थियो । उक्त युरोकप सकिएपछि स्पेनले आफ्नो कमजोरीमा व्यापक सुधार ल्यायो । तर, इटाली उल्टै कमजोर बन्दै गयो । छनोट हुन नसकेपछि भेन्टुरा बर्खास्त भइसकेका छन् र इटालियन फुटबल फेडरेसनका अध्यक्षले पनि कमजोरी स्वीकार्दै राजीनामा दिए । तर, ६० वर्षमा पहिलोपटक विश्वकपमा छनोट नहुँदाको चोट इटालीले त्यसबेला सही तरिकाले महसुस गर्नेछ, जब विश्वकप सुरु हुन्छ । 

इटालीजस्तै रणनीतिका लागि नेदरल्यान्ड्स पनि चर्चित छ । तर, नेदरल्यान्ड्स जुन रणनीतिका लागि चर्चित छ, त्यो इटालीको भन्दा बिलकुल फरक छ । टोटल फुटबल ’७० को दशकमा नेदरल्यान्ड्सबाटै प्रतिपादित फुटबल फिलोसफी हो । जस अनुसार विपक्षीमाथि मैदानको हरेक कुनाबाट लगातार आक्रमण गरेर उनीहरूलाई कमजोर बनाइन्छ । ’७० को दशकका उत्कृष्ट खेलाडी थिए योहान क्रुयफ । पछि प्रशिक्षक बनेर क्रुयफले टोटल फुटबलको फिलोसफीमा हल्का परिमार्जन गरे । बार्सिलोनाको प्रशिक्षक रहँदा उनले छोटो पासमा आधारित टोटल फुटबलको विकास गरे, जसलाई पछि टिकीटाका भनियो । उनकै चेला पेप ग्वार्डिओलाले यही शैली अपनाएर बार्सिलोनालाई सम्भव भएजतिका सबै उपाधि दिलाए । र, अहिले इंग्ल्यान्डमा यस्तै शैलीबाट म्यानचेस्टर सिटीलाई सशक्त बनाइरहेका छन् । 

आधुनिक फुटबलमा अहिले जुन शैलीले जरा गाडिरहेको छ, त्यही शैली सुरु गर्ने देश नेदरल्यान्ड्स भने कमजोर भएको छ । दुई वर्षअघिको युरोकप र अहिले विश्वकपमा पनि छनोट हुन नसक्नु यसैको प्रमाण हो । पछिल्ला दुई विश्वकपमा सेमिफाइनल पुगेको देश अहिले लगातार असफल बनिरहेको छ ।

नेदरल्यान्ड्स कमजोर हुनुमा मुख्य दुई कुरा कारक मानिन्छन् । पहिलो, खेलाडीबीच आपसमै तालमेल नहुनु र अर्को ढल्किँदो उमेरका खेलाडी हुनु । मैदानबाहिर नेदरल्यान्ड्सका खेलाडीबीच एकता नभएका घटना थुप्रैपटक सार्वजनिक भए । ड्ेरसिङ रुममा एकता ल्याउने चक्करमा राष्ट्रिय टिमका प्रशिक्षकहरू पनि परिवर्तन भए । तर, नेदरल्यान्ड्सको समस्या ड्रेसिङ रुमका झगडाभन्दा पनि गहिरो छ । त्यहाँको सिस्टमले काम गरिरहेको छैन । रोबेन, स्नाइडर, भान पर्सीजस्ता महत्त्वपूर्ण खेलाडीले ३३ वर्ष काटिसके । र, सही समयमा यिनलाई स्थानान्तरण गर्ने नयाँ खेलाडीलाई तयार पार्ने काममा डच फुटबल चुकेको छ । अहिले उनीहरूसँग प्रतिभावान् युवा खेलाडी त छन् तर राष्ट्रिय टिमको बागडोर सम्हाल्न अझै तयार भइसकेका छैनन् । यसको नियति भोग्दैछ अहिलेको डच फुटबलले । त्यसमाथि आफँैले सुरु गरेको टोटल फुटबल नेदरल्यान्ड्स आफँैले पछ्याउन छाडेको छ । २०१० मा विश्वकपको फाइनलमा स्पेनसँग शारीरिक खेल खेलेको थियो, जसलाई गैरडच फुटबल फिलोसफी पनि भनिएको थियो । 

छनोटमा बुल्गेरियाजस्तो कमजोर टिमसँगको पराजय नेदरल्यान्ड्सलाई भारी पर्‍यो । अन्तिम खेलमा लग्जेमवर्गलाई आठ गोलले त हरायो । तर, त्यसबेलासम्म उसको समूहबाट विजेताको हैसियतमा फ्रान्स विश्वकप पुगिसकेको थियो भने उपविजेता बन्दै प्ले अफ खेल्ने मौका स्वीडेनले खोसिसकेको थियो । 

इटाली र नेदरल्यान्ड्सपछि विश्वकपमा छनोट हुन नसक्ने अर्को अब्बल टिम हो, चिली । जसले पछिल्ला दुई कोपा अमेरिका जितेको थियो अर्जेन्टिनालाई हराएर । चिलीलाई जुझारु टिमका रूपमा परिचित गराउने प्रशिक्षक थिए– जोर्ज साम्पावली, जो अहिले अर्जेन्टिनामा छन् । २०१५ मा कोपा अमेरिका जितेपछि उनले छोडे र उनको ठाउँमा आए एन्टोनियो पिज्जी । साम्पावलीले छोडेपछि नै चिली हल्का कमजोर भएको भन्नेहरू धेरै छन् । तर, दोस्रोपटक पनि अर्जेन्टिनालाई हराएर कोपा अमेरिका जित्दासम्म पनि चिलीको जुझारूपन बाँकी थियो । 

विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनोटलाई सबैभन्दा गाह्रो मानिन्छ । किनभने, यहाँ एकसे एक अब्बल टिम छन् । तापनि, चिलीका लागि त्यति गाह्रो नहुनुपर्ने हो । किनभने, आर्थुरो भिडाल, एलेक्सिस सान्चेजजस्ता उच्च दर्जाका खेलाडी चिलीका मुख्य हतियार हुन् । छनोट चरणमा चार खेल बाँकी हुँदासम्म चिली राम्रै अवस्थामा थियो । ती चार खेलमध्ये चिली तीनमा पराजित भयो । अन्तिम खेलमा ब्राजिलसँग हारेपछि चिलीले विश्वकप गुमाउने पक्का भएको थियो, जुन उनीहरूका लागि निकै पीडादायी थियो । किनभने, चिली मात्रै एक अंकले छनोट हुन सकेन । अन्तिम चार खेलमा चार अंक मात्रै जोडेको भए पनि चिली छनोट हुन्थ्यो । तर, ऊ तीन अंकमै रोकियो । केही वर्षयता चिलीका जुनियर टिम र घरेलु फुटबलको हालत पनि सन्तोषजनक छैन । यसले चिलीको फुटबल फेरि पुरानै अँध्यारा दिनतिर फर्कने पो हो कि भन्ने डर फैलिएको छ । 

यसपटक विश्वकपमा इटाली, चिली, नेदरल्यान्ड्स र अमेरिकाजस्ता राम्रा टिम छनोट नहुँदा आइसल्यान्ड, पनामा, पेरुजस्ता साना टिमले मौका पाएका छन् । यी साना टिमले छनोट भएका शक्तिशाली टिमलाई रामै्र टक्कर दिए यसपटकको विश्वकप रोचक नै हुनेछ । 

प्रकाशित: मंसिर २०, २०७४