बेवारिसे रत्न मन्दिर

  • तत्कालीन राजा–रानीको ‘विन्टर प्यालेस’को उपयोग कसरी गर्ने भन्नेमै अन्योल

- लालप्रसाद शर्मा

पोखरा ।। रत्न मन्दिर (दरबार) आफ्नी कान्छी रानी रत्नको नामबाट राखेका थिए, राजा महेन्द्रले । रानी रत्नलाई राजाले दिएको प्रेमको उपहार पनि भनिन्छ, रत्न मन्दिरलाई । त्यही रत्न मन्दिरलाई राजा महेन्द्रदेखि वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्म आइपुग्दा राजपरिवारले राजधानीको व्यस्तता र तनावबाट मुक्त हुन अनि मन बहलाउने गन्तव्य बनायो । तर, राजसंस्थाको अन्त्यपछि के प्रयोजनका लागि यसको उपयोग गर्ने भन्ने निर्णय हुन नसक्दा रत्न मन्दिर बेवारिसे बन्न पुगेको छ । 

पोखराको फेवाताल किनारमा पूर्व राजपरिवारले ‘विन्टर प्यालेस’का रूपमा प्रयोग गर्दै आएको रत्न मन्दिर ०६२/०६३ को जनआन्दोलनपछि नेपाल ट्रस्टका नाममा आइसकेको छ । लोकतन्त्रपछिको अन्तरिम संसद्ले पूर्वराजा वीरेन्द्रका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी ट्रस्ट बनाउने निर्णय गरे अनुसार २१ असोज ०६४ को मन्त्रिपरिषद्ले सरकार मातहत ल्याएको थियो । 

दरबार र परिसर कस्तो छ ? दरबारभित्र के–कस्ता सामान छन् ? नेपाल सरकारको मातहतमा आएको दशक बित्दा पनि आमनागरिक यस दरबारबारे थाहा पाउनबाट वञ्चित छन् । जबकि, काठमाडौँमा नारायणहिटी दरबारलाई उहिल्यै संग्रहालय बनाएर जनताका लागि खुला गरिसकिएको छ । 

राजतन्त्रको अन्त्यसँगै सुरुमा यसलाई नेपाली सेनाको पृतना बनाउने योजना अघि सारिएको थियो । साथै, कहिले अतिथि गृह, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधता पार्क, ताल संग्रहालय, पर्यटकीय सूचना केन्द्र बनाउने त कहिले विदेशी संस्थालाई भाडामा दिने, अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बनाउने पहल पनि भए । पाँचतारे होटल, अर्गानिक गार्डेन, क्लब र टुरिस्ट मार्केटलगायतका विकल्प पनि अघि सारियो । तर, सबै व्यापारिक प्रकृतिका भएकाले स्थानीयले विरोध गरे । वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर खोल्ने योजना पनि अघि सारेको थियो । त्यो पनि त्यत्तिकै थन्कियो । 

स्थानीयको एउटै माग छ– रत्न मन्दिरलाई संरक्षण र सम्पदा क्षेत्र घोषणा गरी जैविक विविधता पार्क र संग्रहालय बनाएर जनताका लागि खुला गर्नुपर्छ । त्यसबमोजिम ट्रस्टले अढाई वर्षअघि प्रक्रिया पनि थालेको थियो । सरकारका सह–सचिव लेखबहादुर कार्कीले दरबार परिसरको अध्ययन–अनुसन्धान गरी नेपाल ट्रस्टलाई अल्पकालीन र दीर्घकालीन पूर्वाधार तयार गरेपछि संग्रहालय बनाएर सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएका थिए । 

एक वर्षअघि प्राप्त त्यही प्रतिवेदनका आधारमा झन्डै चार करोड रुपियाँको बजेट माग गरी अर्थ मन्त्रालयमा पठाइयो । तर, उताबाट बजेट स्वीकृत भएन । आफूहरू संग्रहालय बनाउन तयार भए पनि बजेट अभावले काम अघि नबढेको ट्रस्टका प्रवक्ता पुरुषोत्तम खतिवडाको दाबी छ । उनका अनुसार चालू आर्थिक वर्षमा नियमितबाहेक अरू बजेट नभएकाले कुनै पनि काम हुने छैन । 

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा १३ कर्मचारी खटिएका छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । बंगला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन् । राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचरहरू अहिले पनि त्यहीँ छन् । उतिबेला पोखरामा होटल थिएनन् । दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो । तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे । नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो । बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत बसेको रत्न मन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्रीचाहिँ बीपी कोइराला थिए । उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए । यसबारे बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि लेखेका छन् । 

राजा महेन्द्र भ्रमण क्रममा पोखरा आएका बेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्न मन्दिर बनाएका थिए । स्थानीयसँग जग्गा किनेर विसं ०१३ मा निर्माण सुरु भएर ०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो । १ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यहाँ हेलिप्याडसमेत छ । 

०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो । दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र यहीँ बसेका थिए । राजा भएपछि केही समय यहाँ बसेका उनी दोस्रो जनआन्दोलन ०६२/०६३ का बेला पनि तीन महिना पहिलेदेखि यहीँ बसेका थिए । १९ माघ ०६१ को कदमपछि उनले राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश दरबार, सम्पत्ति आफ्नो नाममा हक सारेका थिए । तर, रत्न मन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आउन सकेको हो ।

पोखराको विकासमा रत्न मन्दिरको ठूलो योगदान रहेको बताउँछन् नेपाल ट्रस्टको पोखरा एकाइ कार्यालय प्रमुख कृष्ण गुभाजु । “रत्न मन्दिर बनेपछि नै लेकसाइटको बाटो खुलेको हो,” गुभाजु भन्छन्, “त्यसैले यो एउटा इतिहास पनि हो । व्यवस्था परिवर्तन भए पनि यसको महत्त्व कायम राखिरहनु पर्छ ।” 

निजी क्षेत्रलाई भाडामा दिने वा अन्य व्यापारिक प्रयोजनमा लगाएर कमाउने दाउमा ट्रस्ट रहेको तर व्यापक विरोध भएपछि हटेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल बताउँछन् । भन्छन्, “विदेशी संस्थालाई दिने, सेना बस्ने भवनमा सटर बनाएर भाडामा लगाउनेलगायत ठूलठूला चलखेललाई रोक्न हामी सफल भयाँै ।” उनी ट्रस्टले आफूले भनेजस्तो नभएपछि खासै चासो नदेखाएको आरोप पनि लगाउँछन् । स्थानीयको माग अनुरूप यसको विकासमा ढिलाइ हुनुमा राजनीतिक र आर्थिक चलखेल रहेको उनी दाबी गर्छन् ।

पोखराको भूगोल र सम्पदाको अध्ययन गरेका भूगोलविद् कृष्ण केसी रत्न मन्दिरको उपयोग फेवातालमैत्री, आमजनता र यस क्षेत्रको हितमा हुनुपर्नेमा जोड दिन्छन् । “बजेटलगायत कारण देखाए पनि ट्रस्टले नीतिगत निर्णय नगरेकाले अझै अन्योल छ, ट्रस्टले आमने पालीलाई अझै गुमराहमा राख्न खोजेजस्तो लाग्छ ।” 

हिमा गृह पनि

रत्न मन्दिरभन्दा केही पूर्वमा छ, हिमा गृह । यो पनि नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो । ९ पुस ०३८ मा अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो । १० कात्तिक ०४६ मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै अवस्थित हिमा गृहको क्षेत्रफल १० रोपनी ४ आना छ । 

 

प्रकाशित: मंसिर २०, २०७४