साधनामै समाधि

  • जसले मञ्चमै त्यागे जीवन

- गोकर्ण गौतम

युवाहरू उठून्

देश तिम्रै हो 

भविष्य तिम्रै हो

नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो !

खुसीराम पाख्रिनले चितवनमा बडो उत्साहका साथ यो गीत घन्काए, ५ मंसिरमा । सन्दर्भ थियो, प्रकाश दाहालको श्रद्धाञ्जली सभा । सेतो सर्ट, खरानी रंगको इस्टकोट, कालो पाइन्ट अनि उनको ‘ट्रेडमार्क’ बनेको टोपीमा ठाँटिएका पाख्रिनले गीत गाउनुअगाडि हरेक क्रान्तिमा युवाको भूमिका अतुलनीय हुने भन्दै जोस भरे । उनको प्रस्तुतिपछि सभामा तालीको गडगडाहट भयो । तर, त्यो नै उनको अन्तिम गायन हुनेछ भन्ने न ती शुभचिन्तकलाई थाहा थियो, न पाख्रिनलाई नै । दैवको लीला न हो, गीत गाएको केही क्षणमै पाख्रिनले प्राण त्याग गरे । मञ्चबाट ओर्लेर आराम गरिरहेका थिए । एक्कासि ढले । तत्काल नजिकैको नारायणी सामुदायिक अस्पताल पुर्‍याइयो । केही बेरमै उनले संसार छाडे । पाख्रिन तिनै साधक थिए, जसले साढे तीन दशक अनवरत रूपमा गरिब, दु:खी र निमुखाको पक्षमा गीत लेखे, संगीत भरे अनि गाए । 

१९ पुस ०७३ । जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञवल्क्य’ मञ्चनको तेस्रो दिन थियो त्यो । नाटकमा राजा जनकको भूमिकामा देखिएका कलाकार विष्णुभक्त फुँयाल सो समयभन्दा दुई घन्टाअगाडि नै नाचघर पुगे । सहकर्मी कलाकारसँग क्यान्टिनमा खाजा खाए । हाँसोमजाक गरे । निकै फुर्तिलो र उत्साही देखिन्थे सदाझैँ । नाटक सुरु भयो । नाटकका सातमध्ये तेस्रो सिन चल्दै थियो ।

राजा जनक बनेका फुँयाल राजगद्दीमा बसे अनि ‘मन्त्रीजी’ भन्दै बोलाए । मन्त्री बनेका कलाकार खेमानन्द जैसी उनको छेउमा पुगे । फुँयाल एक्कासि जैसीको काँधमा ढले । चक्कर लागेको भन्ने ठानेर उनले फँुयाललाई उठाइदिए । तर, फेरि उसैगरी ढले । दर्शकलाई लाग्यो, नाटककै दृश्य हो । त्यही भएर चुपचाप हेरिरहे । त्यसअगाडि पनि नाटकका एक पात्र उसै गरी बेहोस हुने दृश्य थियो । तर, फँुयाल ढल्नुचाहिँ अभिनय थिएन । उनी यसरी ढले कि कहिल्यै उठेनन् । ‘मन्त्रीजी’ नै उनको अन्तिम संवाद थियो । उनी लडेको केही मिनेटमै वीर अस्पताल पुर्‍याइयो । तर, त्यहाँ पुग्नुअगावै उनको श्वास गइसकेको चिकित्सकले घोषणा गरे । फुँयाल तिनै मूर्धन्य कलाकार हुन्, जसले साढे पाँच दशक लामो अभिनय यात्राका दौरान नाटक, टेलिफिल्म, फिल्मका दर्जनौँ भूमिकामा आफूलाई जीवन्त उतारे । 

जन्मजस्तै मृत्यु पनि शाश्वत छ । मृत्य प्रकृतिको सामान्य प्रक्रिया नै हो । तर, कति मृत्यु असामान्य र बेग्लै भइदिन्छ । केही मानेमा विशेष पनि । नेपाली कलाकारिता फाँटका दुई अग्ला स्रष्टा पाख्रिन र फँुयालको मृत्यु त्यस्तै मान्न सकिन्छ । किनभने, पाख्रिन बाँचुन्जेल संगीत साधनामा लागिपरे, जीवन त्याग पनि गीत गाउँदा–गाउँदै भयो । फुँयालले जीवनभर अभिनयबाहेक केही गरेनन्, मृत्यु पनि अभिनय गर्दागर्दै भयो । अझ फँुयाल त बारम्बार ‘नाटक गर्दागर्दै प्राण जाओस्’ भन्ने कामना नै गर्थे । भयो पनि त्यस्तै । अचम्मको संयोग के भने, टेलिफिल्म अविरल बग्दछ इन्द्रावतीको गम्भीरे माझीको भूमिकाबाट फुँयाल देशभर चिनिए, जसलाई बद्री अधिकारीले निर्देशन गरेका थिए । अनि, उनको प्राण पखेरु उडेको नाटक ‘महर्षि याज्ञवल्क्य’को निर्देशक पनि उनै अधिकारी थिए । त्यस्तै, पाख्रिनले अधिकारी निर्देशित फिल्म आवाजमा संगीत दिएका थिए । पाख्रिन र फुँयालसँग नजिकको सम्बन्ध रहेका अधिकारी सम्झन्छन्, “पाख्रिनजीको गायनकला र फँुयाल दाइको अभिनय क्षमता अब्बल छँदै थियो, व्यक्तिगत रूपमा पनि उहाँहरू असाध्यै इमानदार र मिलनसार हुनुहुन्थ्यो ।” 

गरिबका गायक

गीतमा चेतनाको विगुल फुक्ने पाख्रिन आफैँचाहिँ सामान्य साक्षर मात्र थिए । २००९ मा गोरखाको गरिब तामाङ परिवारमा जन्मिएका उनलाई खान–लाउनै धौधौ थियो, कहाँ पढ्न पाउनू ? संगीतसँग उनको साइनो गोरखाबाट चितवन सरेपछि गाँसिएको हो । संगीतको कहिल्यै औपचारिक अध्ययन गरेनन्, जे सिके/जाने, आफ्नै साधनाबाट । गितार, मादल, बाँसुरी र हार्मोनियम बजाउन पोख्त थिए । पञ्चायतविरोधी गीततर्फ झुकाव बढ्नुमा रामेश, रायन र मञ्जुलको प्रभाव थियो । नेकपा मशालसँग जोडिएपछि उनको संगीत सक्रियता अझ प्रखर हुँदै गयो । पञ्चायतविरोधी गीत गाउँदै देशका कुनाकन्दरा पुगे, भूमिगत शैलीमा । त्यसपछि भारत हानिए, जहाँ नेपाली कामदारको बाहुल्य थियो । भारतका गल्ली–गल्लीमा श्रम गरिरहेका नेपालीकै दु:ख देखेर उनले ‘के पायो नि कुल्ली भाइले...’, ‘हाम्री चेली बिरानु देशमा...’लगायतका गीत रचना गरेको जनवादी गायक जीवन शर्मा बताउँछन् । शर्मा आफैँ पञ्चायतको उत्तराद्र्धतिर पाख्रिनका गीत गाउँदै गाउँगाउँ डुल्थे । “भारतका नेपाली कामदारको चेतना स्तर उकास्न पाख्रिन दाइको भूमिका उल्लेखनीय छ,” शर्मा भन्छन्, “उहाँको स्वर नै नेपालीपन मिसिएको मौलिक शैलीको थियो । शब्द पनि सरल तर मर्मस्पर्शी । त्यसैले उहाँका गीत सामान्य मान्छेमाझ पनि प्रिय भए ।” पाख्रिनका ‘कालो वनको बीचैमा...’, ‘नरुनूस् आमा...’, ‘आँधीको बेगसरी...’जस्ता गीत ख्यातिप्राप्त छन् । 

०४६ मा बहुदल आएपछि खुला रूपमा जनवादी र क्रान्तिकारी गीत गाउँदै हिँडेका पाख्रिन माओवादी सशस्त्र युद्धको सुरुआतबाटै फेरि भूमिगत भए । जनसांस्कृतिक मञ्चमा जिम्मेवार पदमा बसेर काम गरे । रुकुम, रोल्पा, बाजुराका प्राय: गाउँमा उनको स्वर घन्किएको छ । माओवादीको चर्चित सांस्कृतिक समूह सामना परिवारमा उनको सक्रियता अहम् थियो । लोक भाकामा आधारित उनका गीतमा तिख्खर व्यंग्य हुन्थ्यो । युद्धकै दौरान लमजुङमा छोरा गुमाए तर माओवादी विद्रोहमा यति विघ्न त्याग र तपस्या गरेका पाख्रिनले कहिल्यै भौतिक सुविधा भोग गर्न पाएनन् । गरिबको हितमा राज्य व्यवस्था ल्याउने संकल्प गरेको माओवादी पार्टी सत्तामा आएपछि विकृतिको दलदलमा फस्दै गरेकामा अझ बढी दु:खी थिए । त्यसो त ०६४ मा उनलाई माओवादीले सभासद् बनाएको थियो । माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापा भन्छन्, “सभासद्बाहेक पाख्रिन दाइले कुनै लाभको पद पाउनु भएन । तैपनि, कहिल्यै विचलित हुनु भएन ।” कतिसम्म भने आर्थिक अवस्था कमजोर भएकै कारण सभासद् पदबाट मुक्त भएपछि चाहँदा–चाहँदै पनि काठमाडौँमा बस्न सकेनन् । चितवन जानुपर्‍यो । राजधानीमा बसेर आफ्नो संगीत र साहित्यलाई राष्ट्रिय रूप दिने चाह पनि पूरा भएन । 

पञ्चायत, बहुदल, सशस्त्र विद्रोहदेखि लोकतन्त्रसम्म संगीतको माध्यमबाट समाज रूपान्तरणमा भूमिका खेलेको अनुभव थियो उनीसँग । शान्ति प्रक्रियापछि वैचारिक र सैद्धान्तिक कुरामा झुकाव बाक्लिएको थियो । सोही कारण माओवादी केन्द्रका नेता थापाले उनलाई आफ्नो जीवनकथा लेख्न सुझाएका थिए । पुस्तक लेख्न पाख्रिन हौसिए पनि । तर, उनको मृत्युपश्चात् परिवारबाट थापाले थाहा पाए, केही पन्ना मात्र लेखेका रहेछन् । अर्थात्, जीवनकथा पाठकसम्म पुर्‍याउने सपना पूरा हुन पाएन, जसरी निमुखा जनताको हितमा शासन व्यवस्था आउँछ भन्ने पाख्रिन सपना माओवादी पार्टीले अधुरै छोडेको थियो । 

रंगमञ्चका अभिभावक

७९ वर्षको उमेरमा देहान्त भएका फँुयालले झन्डै ५५ वर्ष अभिनय कर्ममा बिताए । उनको पहिलो नाटक थियो, ‘कर्मया भोग’ । नेवारी भाषाको यो नाटक गाईजात्रामा मञ्चन भएको थियो । त्यसअगाडि उनले जीवन धान्नकै लागि काठमाडौँका विभिन्न होटलमा वेटरको काम गरे । परिवारको आर्थिक स्थिति कमजोर भएकाले उचित शिक्षादीक्षा पनि पाएनन् । ‘कर्मया भोग’पछि भने निरन्तर रंगकर्ममा सक्रिय रहे । उनलाई अभिनयको चस्का किन पनि पस्यो भने पहिलो नाटकमै एकसाथ नेवारी केटी र पुरेतको भूमिका निर्वाह गर्ने मौका पाएका थिए । त्यसपछि ०३३ मा प्रज्ञा भवनमा मञ्चित ‘भत्केको सपना’मा प्रमुख चरित्रमा देखा परे । यसबीचमा केही सडक नाटक खेले र प्रहसन गरे । बिस्तारै उनको झुकाव निर्देशनतिर ढल्कियो । त्यसैको परिणाम थियो, नाटक ‘इज्जत’ । ०४२ मा मञ्चित यो नाटक तत्कालीन समयमा निकै क्रान्तिकारी मानिएको थियो किनभने चेलीबेटी बेचबिखन र मूर्ति चोरीको कथा बुनिएको थियो । करिब यही समयमा हो, रंगकर्मी सुनील पोखरेलसँग उनको सानिध्यता बढेको । पोखरेलका ‘श्रद्धालु वेश्या’, ‘न्यायप्रेमी’लगायतका नाटकबाट फुँयालले प्रशंसा कमाए । गुरुकुलमा मञ्चित ‘मास्टर विल्डर’, ‘इडिपस रेक्स’, ‘घनचक्कर’मा काम गरे । तर, उनको लोकप्रियतालाई फराकिलो बनाएको जसचाहिँ टेलिफिल्म अविरल बग्दछ इन्द्रावतीलाई जान्छ । 

निर्देशक बद्री अधिकारी ०५७ तिर रमेश विकलको उपन्यास अविरल बग्दछ इन्द्रावतीमा आधारित टेलिसिरियल बनाउन लागिपरे । त्यही दौरान प्रमुख पात्र गम्भीरे माझीका लागि फुँयाल रोजिएका थिए । “आरोहण नाट्य समूहमा सँगै काम गर्दा विष्णु दाइको अभिनयबाट प्रभावित थिएँ,” अधिकारी सम्झन्छन्, “उहाँले पात्रलाई यति जीवन्त बनाउनुभयो कि दर्शकलाई गम्भीरे माझीमा कुनै कलाकारले अभिनय गरिएको होइन, वास्तविक माझी नै हो भन्ने लागेछ ।” हरेक पात्रलाई आत्मसात् गर्न सक्ने क्षमता हुने थोरै कलाकारमध्ये एक थिए, फुँयाल । 

हास्य शृंखला तीतो–सत्यमा ‘यू आर माई लभ’ भन्दै देखा परेपछि त उनको अभिनय कुशलताको नयाँ पाटो उघारियो । किनभने, प्राय: दु:खी प्रवृत्तिको चरित्रमा काम गर्दै आएका थिए । तर, तीतो–सत्यमा निकै रंगीचंगी गेटअप र डान्स स्टेप गर्ने आधुनिक वृद्ध बने, जसले उनलाई नयाँ पुस्तामाझ पनि चिनायो । गम्भीरबाट एकाएक हास्य भूमिकामा छलाङ मारे । यीसँगै दर्जनौँ फिल्ममा चरित्र अभिनेताको रूपमा काम गरेका छन् उनले । तर, उनको विशेष प्रेमचाहिँ रंगकर्ममै थियो । अधिकारी भन्छन्, “विष्णु दाइले टेलिफिल्म र फिल्मबाट धेरै प्रसिद्धि कमाउनुभयो । 

तर, नाटक खेल्दा आत्मसन्तुष्टि मिल्ने कुरा गर्नुहुन्थ्यो । साँच्चै भन्दा उहाँ नेपाली रंगमञ्चको अभिभावक समान हुनुहुन्थ्यो ।” आखिर फुँयाल ७९ वर्षको बुढेसकालमा समेत मञ्चमा उक्लिएनन् मात्र, कुसुम नाट्य समूहको अध्यक्षको जिम्मेवारी पनि थियो उनको काँधमा । रंगकर्मको असीम स्नेहबिना यो सब सम्भव हुन्थ्यो होला र ? 

प्रकाशित: मंसिर २०, २०७४