अधुरो गीतगंगा

  • स्वर सम्राट्को सुरमय सपना अझै अलपत्र

- राजकुमार बानियाँ

महाराजगन्ज चौबाटोको नाम हो, नारायण गोपाल चोक । चोकमा नारायण गोपालको सालिक भने छैन । काकाकुल काठमाडौँको तिर्खा मेटाउने चिरप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाका पाइप राख्ने क्रममा उनको सालिक ढल्यो । सडककै छेउमा सालिक उल्टाएर राखेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरपालिकामाथि दबाब पर्‍यो । यतिबेला सवारी साधनको मात्र नभएर सालिक ठड्याउने हतारो देखिन्छ, चोकमा । 

मादल आकारको सालिकस्थल निकै साँघुरिएको छ । अत्यधिक सवारी चाप अनि दुर्घटनाका कारण ट्राफिकले नारायण गोपाल संगीत कोषलाई भन्यो– कि सानो बनाऊ कि सार † कोषले सालिक राख्ने ठाउँ कहाँ पाओस् ? स्वर सम्राट्को सालिक अग्लो तर चौडाइ साँघुरो हालतमा पुन: अनावरण भयो, साउन ०७१ मा । 

चोककै अलिकति पर मिलीजुली टोलको घर नम्बर–२६८ यतिबेला १९ मंसिरको पर्खाइमा छ । अर्थात् नारायण गोपालको २७औँ स्मृति दिवसमा माधवप्रसाद घिमिरे, रत्नशमशेर थापा, किरण खरेल, भैरवनाथ रिमाल ‘कदम’, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, सीके रसाइली, कञ्चन पुडासैनी र यादव खरेललाई स्मृति सम्मान दिइन लागेको छ ।

पत्नी पेमाला गुरुवाचार्यको तन–मन–धनमा उभिएको नारायण गोपाल संगीत कोष २७ वर्षे भइसक्यो । तर, नारायण गोपालको सुरमय सपना भने अलपत्र छ । साँझ कोठामा हार्मोनियम समाएर एक्लै गाइरहेका हुन्थे, नारायण गोपाल । उनीसँग न कुनै वाद्यवादक हुन्थे, न असल श्रोता । उनी चाहन्थे– कमसेकम नजिकै तबलावादक होस्, केही श्रोता होऊन्, अटुट रूपमा गाना–बजाना भइरहोस् । त्यसकै नाम थियो, गीतगंगा । 

सुरको नदी बगिरहेको सपना देख्ने गायक पतिको इच्छा पूरा गर्न मृत्युपर्यन्त लागिरहिन्, पेमाला । उनको सपनाजपना त्यही भयो । घरअगाडिको खाली जग्गामा गीतगंगाको भवन बनाइदिन कोषले भारतीय दूतावासलाई गुहार्‍यो । त्यसका निम्ति चारतले भवनको नक्सा डिजाइन तयार भयो र माटो परीक्षण पनि । तर, चार करोड रुपियाँ बजेट दिने भनेको पाँच वर्ष बितिसक्दा पनि त्यसको साइत जुरेन । “दूतावासलाई कसले कता मोडिदियो, थाहा भएन,” कोषकी महासचिव उषा शेरचनको कथन छ । 

गीतगंगालाई नारायण गोपाल र पेमालाका सुरमय सपनाका रूपमा अथ्र्याएको छ कोषले । “नारायण गोपाललाई स्वर सम्राट् बनाउन पेमाला भाउजूको ठूलो हात छ । उहाँलाई किन ओझेलमा पार्ने भनेर त्यसरी अथ्र्याएका हौँ,” शेरचन भन्छिन्, “पुरानो घरलाई हामीले संग्रहालयका रूपमा संरक्षण गरेका छौँ । खाली जग्गामा गीतगंगा बन्ने हो ।”

१९ मंसिरको क्यालेन्डरका कारण पनि हुन सक्छ, काठमाडौँ महानगरपालिकाले नेपाली मौलिकता झल्किने डिजाइन मागेको छ कोषसँग । अरनिको डिजाइनर्स एन्ड प्लानर्स प्रालिका आर्किटेक्ट स्वरूपराज कोनेले त्यो पनि तयार गरिसकेका छन् । म्युजिक स्कुल, अडिटोरियम हल आदि परिकल्पना गरिएको भवनका लागि कोषका सचिवसमेत रहेका कामनपा–३ का नवनिर्वाचित अध्यक्ष दीपक केसी नै लागेका छन् । “अहिलेलाई एक करोड रुपियाँको सिड मनी राखेर भए पनि काम थाल्ने हिसाबले अघि बढेका छौँ,” केसी भन्छन्, “नारायण गोपालको घर सांस्कृतिक सम्पदा हो ।”

तर, पर–पर परिवार

नारायण गोपालको सोचले मूर्त रूप नपाउनुमा परिवारको चरम बेवास्ता पनि जिम्मेवार छ । कोषमा उनका दाजुभाइको कुनै आबद्धता छैन । करोडौँ नेपाली हृदयमा बसेका गायक कताकता परिवारकै मनमा भने बस्न नसकेको आभास हुन्छ । यसको एउटा कारण नारायण गोपाल–पत्नी पेमालाले आफ्नो सम्पत्ति कोषमा हस्तान्तरण गरेको असन्तुष्टि पनि हुन सक्छ । किनभने, ०४७ मा कोष बने पनि ०६१ पछि मात्रै नारायण गोपालको केही सम्पत्ति गयो । स्वर सम्राट्का एक निकटतम मित्र भन्छन्, “दाइ (नारायण गोपाल) र मैले दु:ख गरेर जोडेको घरजग्गा कोषमा गएन भने नारायण गोपालको सपना पूरा हुँदैन भन्नुहुन्थ्यो भाउजू ।”

पेमालाका कानुनी सल्लाहकार थिए, प्रकाश वस्ती । नारायण गोपाल संगीतकोषको सबै लेखापढी उनले नै गरिदिएका हुन् । “पेमाला भाउजूले गोकर्णको करिब पाँच रोपनी जग्गा लगायत सबै सम्पत्ति कोषको नाममा लेखाइदिने इच्छा गर्नुभएको थियो । मैले अहिले सबै सम्पत्ति किन दिनुहुन्छ ? भोलि बूढी हुनुहोला, रोगी हुनुहोला, नदिनूस्, गोकर्णको जग्गा आफैँसँग राख्नूस् भनेर नामसारी गर्न रोकेँ,” वस्ती सुनाउँछन्, “त्यसको एक महिनापछि नै उहाँ बित्नुभयो । मैले गलत कानुनी सल्लाह दिएको रहेछु । त्यसले मलाई जिन्दगीभरि मुटुमा किला ठोकेजस्तो भएको छ ।” आफ्ना छोराछोरी नभएका कारण दाजुभाइले सम्पत्ति पाउने कानुनी अधिकार भए पनि त्यो सदुपयोग नभएकाले उनलाई थकथक लागिरहेको छ ।

हेटौँडाको जग्गामा छरछिमेकसँग किचलो थियो नारायण गोपाल परिवारको । त्यतिबेला पनि कानुनी सल्लाहकार रहेछन् वस्ती । “नारायण गोपाल डिल्लीबजार, चारखाल अड्डानेरको मेरो ल फर्ममा आउनुहुन्थ्यो । तर, उहाँलाई सम्पत्तिको कुनै मतलब थिएन, एकदमै जोगी शैलीको हुनुहुन्थ्यो,” हाल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य रहेका वस्ती सम्झन्छन्, “त्यस मुद्दामा नारायण गोपालभन्दा पनि उहाँकी आमा रामदेवी र भाइ मनोहर गोपाल सक्रिय थिए ।” वस्तीले नै मकवानपुर जिल्ला अदालतलाई काठमाडौँबाटै प्रत्युत्तर पठाइदिएका थिए । उनले त्यो मुद्दामा नारायण गोपालको परिवारलाई जिताइदिए पनि । 

कोषको कथा

नारायण गोपालको परिवार पनि भएकाले कानुनत: सम्पत्ति सीधै कोषमा नामसारी गर्न मिल्दैनथ्यो । वस्तीको सल्लाह अनुसार पेमालाले आफ्नो सबै सम्पत्ति कोषकी कोषाध्यक्ष उषा शेरचनका नाममा गरिदिइन् । पछि दाजुभाइको कानुनी हक लाग्ला र कोषका निम्ति केही गर्न नपाइएला भन्ने त्रास थियो उनमा । 

“पेमाला भाउजूको प्रेमपूर्ण आग्रहका कारण म कोषमा आएकी थिएँ,” उषा सम्झिन्छिन्, “पछि त आफ्नो सम्पत्ति मेरो नाममा नामसारी गरिदिनुभयो । भाउजूले किन विश्वास गर्नुभयो ? सोध्ने मौकै पाइएन ।” बाँसबारीको ११ आना जग्गा भने ‘के पर्ला के नपर्ला’ भनेर रोकेको उनलाई सम्झना छ । 

नारायण गोपालको सम्पत्ति आफ्ना नाममा आएपछि गह्रुँगो भारी ल्याएर दिमागमा राखेजस्तो भयो उषालाई । हड्डी भाँचिएर बिरामी परेकी पेमाला मिर्गौला फेल भएर ५८ वर्षमै बितिन् । एक वर्षभन्दा ज्यादा समयसम्म त्यो सम्पत्ति कोषमा हस्तान्तरण हुनै पाएन । कारण थियो, पेमालाको मृत्युदर्ताका लागि परिवार उपस्थित नहुनु । “बल्लतल्ल भाउजूको मृत्युदर्ता गर्न सक्यौँ,” उषा सुनाउँछिन्, “त्यसपछि मात्रै मेरो नाउँमा रहेको सम्पत्ति कोषमा गयो र सन्तोषको सास फेर्न पाएँ ।” 

दार्जीलिङ, सुकिया पोखरीकी पेमाला लामासित ०२७ मा अन्तर्जातीय विवाह गरेपछि नै परिवारसँग नारायण गोपालको सम्बन्ध खलबलियो । पोखरा गएर भूपी शेरचनको घरमा बसे । आमाको आग्रहमा हेटौँडा पनि बसे केही समय । पछि काठमाडौँ फर्केर पेमाला ओरियन्टल इन्सोरेन्समा अफिसर भइन् । त्यही कमाइबाट महाराजगन्जमा १ रोपनी २ आना १ पैसा १ दाम जग्गा जोडी एक तलाको घर बनाए । 

उनको पुख्र्यौली घर थियो, किलागलमा । बुबा आशागोपाल गुरुवाचार्य पनि शास्त्रीय संगीतका उस्ताद थिए । उनका पाँच दाजुभाइमध्ये मनोहर गोपाल सितारवादक हुन् । उनका दाजुभाइ कार्यक्रममा पनि आउँदैनन् । “म दुई–चारचोटि चिट्ठी लिएर भाइ राम र लक्ष्मण गोपालको घर गएकी पनि हुँ,” कोषकी कार्यालय सचिव मालती गुरुङ भन्छिन्, “अब आइस् भने खुट्टा भाँचिदिन्छु भनेपछि जानै छाडेँ ।” 

मालतीका अनुसार आफ्ना गरगहना पनि लकरमा लगेर राखिदिनू भनेकी थिइन् पेमालाले । परिवारको रोहवरमा राखिदिने भन्दाभन्दै उनको निधन भइहाल्यो । पछि नगेन्द्र थापा, वानीरा गिरीको रोहवरमा सिक्री, बाला, टप, चुरा गरी २५ तोलाजति सुन भाइ रामगोपालले लगे भने कोषमा नगएका जग्गाको लालपुर्जा अर्का भाइ मनोहर गोपालले लगे । “पछि त्यही सुन र सम्पत्तिले दाजुभाइबीच पनि फाटो आएको बुझिन्छ,” मालती थप्छिन् । 

पेमालाको निधन हुँदा कोषका नाममा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड फाइनान्समा १६ लाख रुपियाँ थियो । त्यो अहिले ३६ लाख रुपियाँ पुगेको छ । “हामीले सुको पैसा मासिदिएका छैनौँ । बरू, ब्याज कम हुँदा आफैँ उठाएर पनि कार्यक्रमको खर्च गरेका छौँ,” पूर्व कोषाध्यक्षसमेत रहेकी शेरचन भन्छिन्, “भाउजू हुँदा तीन सय बैठक भत्ता दिनुहुन्थ्यो । उहाँ बितेपछि त्यो पनि बन्द गर्‍यौँ ।”

सम्झना नै दानमा

दाजुभाइको अरूचि कतिसम्म भने पेमालाको काजकिरियापछि नारायण गोपालका फर्निचर संग्रहालयका लागि चाहिन्छ भन्दा पनि दान दिएर सकाए । त्यसैले नारायण गोपालका केही तस्बिर, पुरस्कार, प्रमाणपत्र, हार्मोनियम र तबलाहरू मात्र बाँकी छन् अब । “पेमाला दिदी बितेको अर्को वर्ष ०६२ को तीजमा चोर पस्यो घरमा । थुप्रै सामान बोरामा हालेर फालेको छिमेकीले फेला पारे,” मालती सुनाउँछिन्, “त्यसपछि घरको सुरक्षाका निम्ति म र प्रशिक्षक राजकुमार श्रेष्ठ यहीँ बस्दै आएका छौँ ।”

कोषमा श्रेष्ठ, मालती, सहयोगी काशीराम भलजु र वकिल रोशन बजिमय तलबी कर्मचारी छन् । कोषको कार्यालय सुरुमा टेकुमा थियो, डिल्लीबजार बाटुलेघर, नयाँ बानेश्वर हुँदै पेमाला बिरामी भएपछि घरमै सरेको हो । पेमालापछि नगेन्द्र थापा, फत्तेमान र बानीरा गिरी अध्यक्ष भए । बहालवाला अध्यक्ष गिरी अस्वस्थ छिन् ।

कोषले नारायण गोपालको वाअम ६४८ नम्बरको होन्डा मोटरसाइकल घरकै एउटा कोठामा थन्काएको छ भने उनी सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा चढेको मित्सुविसी कालो कार नाचघरले लिन आउनू भनेर ताकेता गर्दा पनि राख्ने ठाउँ नभएर स्वीकार्न सकेको छैन । “नारायण गोपाल र नेपाल दुवै वृश्चिक राशिका हुन्,” कोषका प्रशिक्षक श्रेष्ठ ठट्टा गर्छन्, “यिनका काममा अलमल र ढिलासुस्ती नै हुन्छ ।” 

सम्मान र भाषण मात्रै !

नारायण गोपालको गीति संकलन पुस्तकका रुपमा ल्याउने खुब रहर रहेछ, पत्नी पेमालालाई । विभिन्न चक्कर काटेपछि ०६९ मा कालजयी स्वरहरु प्रकाशन गरिदिए व्यवसायी डीबी शेरचनले । त्यसमा नारायण गोपालले गाएका र संगीत गरेका १ सय ३७ गीत छन् । “नारायण गोपालले गाइसकेको गीत सम्पादन गर्नुपर्ने केही थिएन तर सम्पादकका रुपमा राखिएकामा मलाई लाज भएको छ, म त सिर्फ प्रकाशन समितिको सदस्य थिएँ,” कवि विप्लव प्रतीक भन्छन् । 

नारायण गोपाल संगीत कोष सम्मान–पुरस्कार बाँड्ने, सालिकमा माला लगाउने र भाषण गर्ने थलो मात्र भएको बुझाइ छ उनको । उनका शब्दमा अन्तर्राष्ट्रिय स्तरको क्वायर, थिएटर हल, होस्टेल, म्युजिक स्कुल, इन्स्टु्रमेन्टल बजाउन सक्ने जमात थियो नारायण गोपालको सपना । 

सबैभन्दा ठूलो कुरा ‘साहित्यसँग निकट सम्बन्ध राखेर संगीतमा ठूलो क्रान्ति ल्याउनुपर्छ’ भन्ने सोच थियो नारायण गोपालको । भूपी शेरचन, भीमदर्शन रोका, ईश्वरवल्लभ, हरिभक्त कटुवाल आदि साहित्यिक व्यक्तिसँग संगत गरेका नारायण गोपालले थुप्रै सांगीतिक प्रयोग गरे । संगीतलाई जीविकाको स्रोत मात्र नठानी जीवनकै हिस्सा माने उनले । “नेपाली संगीतमा अर्थपूर्ण गीतको सुरुआत पनि नारायण गोपालसँगै भयो, अन्त्य पनि उनीसँगै,” विप्लवको मूल्यांकन छ, “अरु गायक–गायिकाले संगीतलाई मनोरञ्जनभन्दा बढी लिएजस्तो लाग्दैन ।” 

साँझ–बिहान भ्वाइलिन​

स्वर सम्राट् नारायण गोपालको सपनाको सानो अंशमा सही, २२ वर्षयता कोषको भुइँतलामा राजकुमार श्रेष्ठ, ५८, ले भ्वाइलिन (नेपाली नाम वेला) सिकाइरहेका छन् । भ्वाइलिन सिकाइको बालमैत्री पद्धति ‘कलर स्ट्रिङ्स’ सुरुमा बाल मन्दिरका केटाकेटीलाई सिकाए उनले । सिफलको ब्वाइज होस्टेलपछि कहिले पाँचखाल, कहिले ठेचो आउजाउ गर्दा प्रशिक्षण नै बन्द हुने स्थिति आयो । र, उनी अहिले स–सानो समूह बनाएर बिहान, दिउँसो र साँझ २०–२२ जना विद्यार्थीलाई सिकाइरहेका छन् । सक्नेलाई स:शुल्क, नसक्नेलाई नि:शुल्क । सक्नेले महिनावारी दुई हजार रुपियाँ तिर्छन् । 

मृत्युशय्यामा रहेका बेला साथीभाइ र शुभचिन्तकलाई नारायण गोपालले भनेका रहेछन्, ‘मेरो सम्झनामा भ्वाइलिनको क्लास लिइदिनू ।’ नारायण गोपालको प्रिय साज थियो, भ्वाइलिन । भ्वाइलिन नभए अर्केष्टा अधुरो हुन्छ । “नारायण गोपाल आफ्ना गीतमा भ्वाइलिन समावेश गर्न चाहनुहुन्थ्यो । तर, वाद्यवादक थिएनन्, भएका वादक पनि चाहिएका बेला उपलब्ध हुन्थेनन्,” प्रशिक्षक श्रेष्ठ भन्छन्, “त्यतिबेला न कतै भोकल क्लास हुन्थ्यो, न त इन्स्ट्रुमेन्ट । सिकाए पो छान्ने अवसर हुन्छ !” 

कोषका प्रशिक्षकका निम्ति उनलाई पठाएका रहेछन् संगीतज्ञ अम्बर गुरुङले । भ्वाइलिनमा टिक्ने भने कमै हुन्छन् । कोही रहरे मात्र हुन्छन् त कोही चाँडै विदेशिन्छन् । प्रशिक्षण लामो समय भए पनि यसले अझै नारायण गोपालले सोचेजस्तो उपलब्धि दिन नसकेको प्रशिक्षक श्रेष्ठको स्वीकारोक्ति छ ।

 

 

प्रकाशित: मंसिर १९, २०७४