प्रियंकाको करामत

- नेपाल संवाददाता

प्रियंका कार्की अभिनीत छक्का–पञ्जा र छक्का–पञ्जा २ सुपरहिट भए तर यी फिल्मको सफलताको राज दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालजस्ता हास्य कलाकारको डफ्फा हो ।

प्रियंकाको मुख्य भूमिका रहेका हाउ फन्नी, लालटिन, फन्को, राधे बक्स अफिसमा चिप्लिए । पुरानो डुंगाको व्यापार पनि औसतमा सीमित भएको थियो । फाटेका जुत्ताले समेत दर्शकको अपेक्षा पूरा गर्न सकेन । तैपनि, प्रियंकालाई फिल्मको ओइरो लागेको–लाग्यै छ ।

बटरफ्लाइ, ह्याप्पी डेज, अनागत र कथा काठमाडौँ प्रदर्शन हुन बाँकी छन् । तर, उनी लिलीबिली र कोहलपुर एक्सप्रेसमा अनुबन्ध भइसकिन् ।

लिलीबिलीमा रेबिका गुरुङलाई बेलायतले भिसा नदिएपछि उक्त भूमिका प्रियंकाको पोल्टामा परेको थियो । त्यसो त फिल्ममा मात्र होइन, देश/विदेशमा हुने सांस्कृतिक कार्यक्रम, म्युजिक भिडियो, विज्ञापनमा पनि भ्याइनभ्याइ छ । जेहोस्, प्रियंकाको जादूलाई चाहिँ मान्नैपर्छ ।

प्रकाशित: मंसिर १९, २०७४