मालाविहीन म

- जुवाडे जेठो

सामाजिक सञ्जाल होस् वा टेलिभिजनका पर्दा, पत्रपत्रिकाका पाना हुन् वा गाउँ–सहरका सडक– सबैतिर फूलमाला, खादा र अबिर लगाएका मान्छे नै मान्छे देखिन्छन् । यत्रतत्र सर्वत्र मालैमालाले पुरिएका मानिसहरुको बिगबिगीमा मालाविहीन म आफ्नो हैसियत देखेर दिक्क भएको छु । अबिर–माला लाउनेमा भ्रष्टाचारमा जेल सजाय पाएका, विगतमा अपराध गरेका अनि धेरैपटक मन्त्री, सांसद अनि प्रधानमन्त्रीसमेत भएका ठूला महानुभावहरुकै वर्चस्व छ । ठूला मान्छेको अघिपछि हिँड्नेहरुले पनि माला लगाउने स्वर्ण मौका पाएका छन् । तर, आफू भने सानो मान्छे, यीमध्ये कुनैमा परिएन, त्यसैले माला, खादा र अबिरबिनाको दु:खी जीवन बिताउनुपरेको छ । अब यसबाट मुक्ति पाउने उपाय निकालेको छु– असनबाट ३० किलोको माला किन्ने, आफन्त, साथीभाइ जम्मा पार्ने अनि आफैँले माला र अबिर लगाएर तस्बिर खिच्ने र सामाजिक सञ्जालमा पोस्टिने । उस्तै परे भाइरल नै होला, नभए पनि लाइक र कमेन्टको वर्षा त पक्कै होला ।

प्रकाशित: मंसिर १९, २०७४