‘महाभियोग प्रकरण अलौ पर्वजस्तो’

- सन्तोष आचार्य

६४ वर्षअघि जन्मिए, प्रकाश वस्ती । त्यसबेला उनका पिता तत्कालीन प्रधान न्यायालयका विचारी थिए । विचारीका छोरा सर्वोच्च अदालतको न्यायाधीश हुनुलाई ठूलै उपलब्धि मान्छन् वस्ती । चार न्यायाधीशलाई स्थायी नगरिएपछि ७ माघ ०६९ मा उनीसहित चारै जना निवृत्त भए । तर, दबाबका कारण निवृत्तिको ८४ दिनपछि एक वर्षका लागि उनीहरू अस्थायी न्यायाधीशका रूपमा पुन: बहाल भए । तर, स्थायी नभएपछि ३० चैत ०७० मा चारै जनालाई सर्वोच्च अदालतबाट सडकको बाटो देखाइयो । तिनैमध्येका एक न्यायाधीश थिए, वस्ती । उनैसँग त्यो अपमानजनक बहिर्गमन, न्यायालय र भ्रष्टाचार अनि हाम्रो सामाजिक प्रवृत्तिमाथि केन्द्रित रहेर नेपालले लामो कुराकानी गरे, १४ मंसिरमा । त्यसैको सम्पादित अंश : 

न्यायाधीशबाट नफालिएको भए, आजका दिनमा तपाईं मुलुकको प्रधानन्यायाधीश हुनुहुन्थ्यो । यसलाई प्रारब्धको खेल ठान्नुहुन्छ वा अरू केही ?

यो नियतिको खेल रहेछ । म प्रधानन्यायाधीश भइसकेको भन्दा पनि हुन्छ । नभएको एउटा कारण म आफैँ पनि हुँ । त्यसबेला न्यायपरिषद्को अध्यक्ष अनुपराज शर्मा हुनुहुन्थ्यो भने सदस्य रामप्रसाद श्रेष्ठ । श्रेष्ठले आफ्नो च्याम्बरमा बोलाएर ‘तपाईं स्थायी (न्यायाधीश) हुने विषयमा के विचार छ ?’ भनेर सोध्नुभयो । मैले जवाफमा उहाँलाई ‘अदालत भनेको पद्घतिले चलेको हुँदा त्यसलाई भताभुंग बनाउनु हुँदैन’ भनेँ । त्यसबेला उहाँले ‘तपाईंलाई स्थायी नचाहिएको ? तपाईंका धेरै दुस्मन छन् नि !’ भन्नुभयो । शर्माले पनि ‘तिमीलाई स्थायी हुनुपरेको छैन ?’ भन्नुभयो । मैले उहाँलाई पनि पद्घतिकै कुरा सम्झाएँ । मलाई आत्मविश्वास के थियो भने ‘रोल नम्बर १६ हो, स्थायी भइहाल्छु’ भन्ने थियो । अहिलेसम्मको इतिहास हेर्ने हो भने अस्थायीबाटै फालिएका साह्रै कम उदाहरण छन् । सायद म त्यसबेला बढी नै आदर्शवादी, अव्यावहारिक वा मूर्ख भएछु । 

तपाईंलगायत चार जना न्यायाधीशलाई सर्वोच्चमा रहन नदिन एक ढंगले कोतपर्व नै मच्चाइयो पनि भनिन्छ । यो हदसम्म गर्नुपर्ने कारण के थियो ? यसको आभास तपार्इंलाई थिएन ?

जब न्यायाधीशको पद खाली भयो, त्यतिबेला मलाई पूर्वाभास भएको हो । मेरा अनन्य मित्र भरतराज उप्रेतीले न्यायपरिषद्का केही सदस्यहरूसँग कुरा गर्नुभयो । हामीलाई स्थायी नबनाइने संकेत त्यहीँबाट प्राप्त भइसकेको थियो । 

त्यस प्रसंगमा एउटा घटना छ, त्यसले नै सबै कुरा बताउँछ । मीनबहादुर रायमाझी प्रधानन्यायाधीश पदको शपथग्रहण गरेर सर्वोच्च अदालत आउनुभयो । शपथपछि रजिस्ट्रारसमेतलाई बाहिर राखेर न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले आफ्ना योजना सुनाउने चलन छ । त्यही हुँदै थियो । दुई जना अट्ने सोफामा म र गिरीशचन्द्र लाल बसेका थियौँ । त्यस दिन हामी २० जना न्यायाधीश थियौँ त्यहाँ । रायमाझीले आफ्नो योजना सुनाइरहँदा तेस्रो व्यक्तिको त्यहाँ प्रवेश भयो । उनी त्यहाँ प्रवेश गर्नका लागि आधिकारिक व्यक्ति थिएनन् । किनभने, उनी सर्वोच्चमा थिएनन्, कुनै पुनरावेदन अदालतका न्यायाधीश मात्र थिए । तर, म र गिरीशजी बसेकै सोफामा आएर बसे । कार्यालय सहयोगीले मलाई ‘चिनी हालेको कि नहालेको चिया’ भनेर सोधे । मैले ‘चिनी भएकै चल्छ’ भनेँ । मसँगै बसेका तिनले ‘ए तपाईंलाई डायबिटिज छैन ?’ भनेर आश्चर्य प्रकट गरे । मैले भनेँ, ‘छैन ।’ ‘अनि, तपाईंलाई ब्लड प्रेसर त होला नि’ भने, मैले फेरि भनेँ, ‘छैन ।’  ‘युरिक एसिड त पक्कै होला’ भने । मलाई साह्रै रिस उठिरहेको थियो तर पनि सम्हालिएर भनेँ, ‘भगवान्को कृपाले आजसम्म कुनै रोग छैन, भोलि के हुन्छ भन्न सक्दिनँ ।’ म प्रधानन्यायाधीश हुन नसक्नुको कारणको एउटा विम्ब हो, यो घटना । 

त्यसो भए तपाईं प्रधानन्यायाधीश हुन नसक्नुको एउटा कारक तत्कालीन एक न्यायाधीश ? 

मैले यो घटना तत्काल मेरा मित्र कल्याण श्रेष्ठलाई सुनाएँ । उहाँले भने अनुसार यो न्यायालय कस्तो क्षेत्र हो भने यहाँ त रोल नम्बर–१ को न्यायाधीश छिटो मरिदेओस् भनेर २ नम्बरले भन्छ । जिल्ला न्यायाधीशले बिहानभरि भगवान्लाई धूप हालेर पुनरावेदनको न्यायाधीश छिटो मरिदेओस् भन्छ । पुनरावेदनकाले सर्वोच्चको न्यायाधीश छिटो मरिदिओस् भन्छ । 

तपाईंलाई कुनै एक बिचौलियाले फोन गरेर कुनै मुद्दाको काम गरिदिन भनेको तर तपाईंले नमानेकाले उसले ‘कसरी प्रधानन्यायाधीश होलास् ? प्रधानन्यायाधीश बनाउनेकहाँ चामल, दाल, घिउ त मैकहाँबाट जान्छ’ सम्म भनेको तपाईंले सार्वजनिक रूपमै सुनाउनुभयो । त्यो व्यक्तिचाहिँ को रहेछ ?

त्यो व्यक्तिले चितवनमा रहेको मेरो भाइलाई भेटेर ‘हामीसँग मिलेर प्रधानन्यायाधीश भयो भने तेरो दाइलाई खर्बपति बनाउँछु, तँलाई अर्बपति बनाउँछु’ भनेछ । भाइले मलाई यो कुरा सुनायो । मैले उसलाई ‘मैले खान पाइनँ भने भिख मागेर खान्छु, बरू तैँसँग दुई छाक खाना मागौँला तर यो काम म गर्दिनँ’ भनेँ । मैले यो घटना २१ जना न्यायाधीशको फुल कोर्टमै पनि ‘फलानो व्यक्तिले मेरो भाइलाई यसो भनेछ’ भनेर सुनाएको छु । त्यो व्यक्तिले मलाई धम्की पनि दियो । मैले यो कुरा पनि प्रधानन्यायाधीशलगायतलाई भनेँ । त्यो मान्छे आफूलाई ‘पत्रकार हुँ’ भन्छ तर पत्रकार होइन । कालो कोट लगाएर अदालत जान्छ, ‘वकिल हुँ’ भन्छ, न्यायाधीशलाई धम्क्याउँछ । बिचौलिया भन्ने शब्द मैले ‘क्वाइन’ गरेको थिएँ । बिचौलियाहरूको एउटा बिचित्रको ग्याङ रहेछ । देखेको थिएँ, सुनेको थिएँ, पढेको थिएँ तर अनुभूत गरेको थिइनँ, गरेँ ।

यो देशमा निष्ठावान् हुन्छु, इमानदारीपूर्वक न्याय दिन्छु भन्नेहरूले चेतावनी र चुनौती खेप्छन् । विशेष गरी न्याय क्षेत्रमा यस्तो हुन्छ भनिन्छ, सत्य हो त ?

रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश हुनुहुन्थ्यो । म न्यायाधीश थिएँ । मलाई ‘तुम्हारा जान खतरे मे है’ भनेर चिट्ठी नै आएको थियो । त्यो चिट्ठी अहिले पनि मसँग छ । श्रेष्ठले तत्कालीन प्रहरी प्रमुखलाई बोलाएर त्यो चिट्ठी देखाउनुभएको थियो । यस्ता चेतावनी र चुनौती धेरै खेपियो ।

सुशीला कार्कीमाथि महाभियोग लगाउँदा न्यायपालिकाको स्वतन्त्रताका निम्ति सारा प्रबुद्घ वर्ग सडकमा आयो । आमनागरिक न्यायिक स्वतन्त्रताका निम्ति बोले । तर, न्यायपालिकाका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनले मौनता साँधे । न्यायपालिकालाई कार्यपालिकाको हस्तक्षेप किन प्रिय लागेको होला ?

हामी आफ्नो अनुहार मात्र ऐनामा हेर्छौं । आफूलाई के फाइदा, के बेफाइदा हुन्छ भन्ने मात्र सोच्छौँ । आफूलाई यसले खेदेको थियो भनेर व्यक्तिमाथि मात्र होइन, सम्पूर्ण संस्थामाथि नै प्रहार गर्ने प्रवृत्ति छ । जुन बेला एकता चाहिन्थ्यो, त्यसबेला संस्था नै क्षयीकरण भएकाले बढी प्रहार भयो । न्यायपालिका अहिले न न्यायपालिकाजस्तो छ, न कार्यपालिका नै कार्यपालिकाजस्तो । न विधायिका नै विधायिकाजस्तो रह्यो । आजका दिनभन्दा हिजोका दिन राम्रा थिए कि भनेर सोच्नु दुर्भाग्य हो । हरेक दिन आजभन्दा भोलि राम्रो हुँदै जानुपर्छ । 

सुशीला कार्कीमाथिको महाभियोगलाई नेपालले कोतपर्व भनेको छ, म अलौ पर्वजस्तो भन्छु । भोलि स्वतन्त्र इतिहासकारहरू निस्किए भने यो घटनालाई कालो इतिहासका रूपमा लेख्नेछन् । यदि त्यसरी लेखिएन भने इतिहासले बाटो बिराउनेछ । त्यो किनुवा इतिहास हुनेछ । 

त्यो घटनामा न्यायपालिकाभित्र कार्यपालिका छिरेको हो कि न्यायपालिका आफैँ कार्यपालिकामा प्रवेश गरेको ?

कार्यपालिका सधैँ हैकम चलाउने नै हुन्छ । उसले अरूलाई गन्दैन । हामीकहाँ मात्र होइन, अरू देशमा पनि यस्तै हुन्छ । उखानै छ, ‘थैली दह्रो नगर्ने, छिमेकीलाई दोष दिने’ भन्ने । यसैले हामी नै दह्रो हुनुपर्छ । संवैधानिक निकायलाई कमजोर बनाउनु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु हो । यो कुरा बुझ्न नेताहरूले ढिलो गरे । संवैधानिक निकायहरू राज्यका अंग हुन्, सरकारका होइनन् । यस्ता निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ । 

हामीकहाँ न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप कुन विन्दुबाट प्रारम्भ भयो ? 

न्यायपालिकामा हरिप्रसाद प्रधानको पहिलो कार्यकालका बेला राजनीति घुस्न खोज्यो तर पाएन । परिणाम प्रधानलाई हटाइयो । पहिले प्रधान न्यायालय थियो तर सबै संरचना यथावत् राखेर सर्वोच्च अदालत बनाइयो । प्रधान न्यायालयका सबै न्यायाधीश खारेज भए । पञ्चायतकालमा पनि राजदरबारसँग प्रतिकार गर्ने प्रधानन्यायाधीशहरू जन्मिए । विश्वनाथ उपाध्यायको नाम लिएनाँै भने त्यो विश्वनाथप्रति होइन, इतिहासप्रति नै अन्याय हुन्छ । 

एउटा फरक प्रसंग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तपाईंले विशेषज्ञका रूपमा ६ वर्ष काम गर्नुभयो । हाम्रा ठूला नेता, प्रशासक, व्यापारीका खातापाता पल्टाउनुभयो । भ्रष्टाचारको प्रवृत्ति कस्तो पाउनुभयो ? के यसले सामाजिक स्वीकृति पाएकै हो ?

न्यायपालिका, बार, अख्तियार आदि निकायमा रहेर मैले करिब ४५ वर्ष काम गरेँ होला । त्यहाँबाट हेर्दा हामीकहाँ भ्रष्टाचार बढ्दै गयो, घट्न सकेन । पहिला भ्रष्टाचार कम थियो । किनभने, पाप लाग्छ कि भन्ने डर थियो । पितृको इज्जत जान्छ भन्ने थियो । अब त्यो धार्मिक आस्था लगभग शून्यमा पुगिसक्यो । आफ्नो कुनै काम गर्नका लागि भगवान्लाई केही चढाउनुपर्छ भन्ने संस्कारले पनि हामीलाई भ्रष्ट बनाएको हो । भ्रष्टाचार बढ्नुको अर्को कारण डर भएन, उल्टो भर भयो । ‘म घूस खान्छु, मलाई संरक्षण गर्ने कोही छ, त्यसैले हजार अपराध हजार खत माफ हुन्छ’ भन्ने सोच्न थालियो । जबसम्म दण्डहीनताको संस्कार मौलाइरहन्छ, भ्रष्टाचार भइरहन्छ । 

 

प्रकाशित: मंसिर १८, २०७४