प्रपञ्च रच्ने प्रचण्ड कि पिता पुष्पकमल ?

  • एकपटक नि:स्वार्थ पिता पुष्पकमल मात्रै भएर साँचो बोल्न जरुरी छ । राजनीतिक प्रपञ्च रचिरहने प्रचण्ड भएर होइन ।

- अच्युत वाग्ले

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्रशोकमा छन् । उनको परिवार त शोकाकुल छ नै, उनका आफन्त, शुभचिन्तक र स्वार्थसमूह सबैको मुहार मलिन छ । दाहालका छोरा प्रकाशको मृत्यु मुख्य राष्ट्रिय समाचार नै बन्यो । देशका प्रधानमन्त्री, सबै दलका ठूला नेताहरू चुनाव प्रचारको मैदान छोडेर समवेदना दिन काठमाडौँ ओर्लिए । देश–विदेशबाट समवेदनाका सन्देशहरू आए । आर्यघाटमा सयाँै मानिस पुगे । त्यो ‘ठूलो’ मृत्युको घटना थियो । दाहाललाई दिइएको समवेदना नेपाली समाजको ‘गहिरो संवेदनशीलता’को झन्डै अतुलनीय उदाहरण थियो । 

 

पिता दाहाल कोक्किएर रोए । थप सहानुभूति पाए । जसले समाजिक सञ्जाल वा अनौपचारिक कुराकानीमा गोरखाका कृष्ण अधिकारी, लमजुङका मुक्तिनाथ अधिकारी, रूखमा ज्यूँदै बाँधेर घाँटी रेट्दै रगतको सिर्का श्रीमतीतर्फ हानिएका सिन्धुपाल्चोकका ज्ञानेन्द्र खड्का र माडी बसकाण्डलगायतका माओवादीले गरेका सयौँ निर्दोष मानिसलाई सम्झिए, तिनले संवेदनहीन र क्रूरको पगरी पाए ।

दाहालको पीडा देखेर आममानिसले गरेको प्रश्न यत्ति नै थियो, ती घटना–पीडितका पिता (मानक नन्दप्रसाद नै भए) र बाँचेका आफन्तलाई पनि आफूलाई जस्तै पीडा भयो होला भन्ने अनुभूति दाहाललाई यो घडीमा भयो कि भएन होला ? यसको इमानदार उत्तर दाहालसँग मात्रै छ । उनले ताजा भाषणमा भनेका छन्, ‘अब प्रत्येक नेपाली युवकयुवतीको मुहारमा म छोरो प्रकाश खोज्ने छु ।’ खुसीको कुरा हो । तर, उनी पूर्ववत् चुनाव प्रचारमा चितवन फर्केपछि माडी बस विस्फोटमा मारिनेहरूका परिवारमाथि नै सुरक्षा निगरानी बढाइएको समाचारचाहिँ निश्चय नै एउटा अनौठो संकेत हो ।

 

दाङमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभा नजिकै भएको बम विस्फोटमा परेका म्यादी प्रहरी विनोद चौधरीको १३ मंसिरमा मृत्यु भयो । उनको परिवारलाई समवेदना दिन प्रधानमन्त्री गएनन् । कुनै दलका ठूला नेता गएनन् र चौधरीको नाबालक शिशुलाई काखमा खेलाउँदै कुनै नेताले ‘बच्चा खेलाउँदा साँच्चिकै तनाव कम हुने’ टिपोटसहित ट्वीटरमा फोटो राखेनन् । चौधरीको परिवार कतिखेर दु:ख खप्न नसकेर कोक्किएला र फोटो खिचौँला भनेर फोटो पत्रकारहरू पनि क्यामेरा सोझ्याएर पुगेनन् । अखबारको भित्री पृष्ठमा जम्मा दुई दर्जन शब्दको समाचार बल्ल बन्यो । व्यक्तिगत रूपमै तुलना गर्ने हो भने दाहालको छोरो हुनुबाहेकका अरू योग्यतामा त प्रकाश र विनोदबीच ठूलो भिन्नता थिएन कि π हुन सक्छ, विनोद प्रकाशभन्दा बढी कानुनपालक नागरिक थिए । तर, विनोदको त एउटा ‘सानो’ मृत्यु न थियो, जसको खास चासो नेपालको राजनीति, मिडिया र बौद्धिक जमातको विषय हुने सम्भावनै भएन । सरकारले १० लाख रुपियाँ दिने घोषणा गर्‍यो । मानाँै, त्यो सिंगो जीवनको कुल मूल्य त्यत्ति नै हो ।

अभिजात्य र नागरिकको जीवन मूल्यबीचको यति गम्भीर फरक समाजमा विद्यमान निर्मम सामन्ती युगकालीन संस्कृतिको निरन्तरता हो । इतिहासमा अनेकौँ तानाशाहहरूको कथा अंकित छ, जो आफ्नो दु:खमा सबैलाई रुन र आफ्नो खुसीमा शोकाकुलहरूलाई पनि जबरजस्ती हाँस्न लगाउँथे । मृत्युलाई व्यवहारले नै सानो र ठूलोमा वर्गीकरण गर्ने यो असामाजिक शैली त्यही संस्कारको निरन्तरता हो ।

सबै नागरिकको जीवनको समान महत्त्व छ भन्ने लोकतान्त्रिक अवधारणाको उपहास हो । हुन सक्छ, प्रकाशको शवयात्रामा आएको भीड पनि अवसरवादी बढी र वास्तविक संवेदनाप्रेरित कम थियो ।

हरेक मृत्यमा देशको प्रधानमन्त्री र नेता उपस्थित हुन सम्भव छ र ? यो स्वाभाविक रूपले गरिने प्रश्न होला । सहज उत्तर हो, छैन । यही कारण हिंसा, खास गरी निहत्था र निर्दोषहरूको हत्यालाई राजनीतिक उद्देश्यप्राप्तिको हतियार र सत्ताको सौदाबाजीको सर्त बनाइनु हुँदैन भनिएको हो । यसरी मृत्युलाई तुलना गरिरहनु पर्दैन भनेरै बहुविचारमा आधारित, मतमार्फत मात्र प्रतिस्पर्धा हुने लोकतान्त्रिक राजनीतिक पद्धतिलाई यसका अरू धेरै कमजोरीहरू हुँदाहुँदै पनि विश्वव्यापी लोकप्रियता मिलेको हो । किनभने, त्यहाँ बम विस्फोटमा विनोदहरूको मृत्यु हुने परिस्थिति नै निर्माण हुँदैन । स्वार्थ र भयवश संवेदनशील भएको नाटक गरिरहनु पर्दैन ।

 

दाहालको विरासत

दाहाल र उनको नेतृत्वमा भएको १० वर्षे हिंसाले नेपालको राजनीतिलाई हिंसामण्डित र समाजलाई संवेदनहीन एवं सामाजिक संगतिलाई धुजाधुजा बनाएको छ । उनको नेतृत्वमा भएको माओवादी नामको तीव्र अराजक हिंसाले सत्तामा पुग्ने सबभन्दा छोटो बाटो विवेकहीन हिंसा नै हो भन्ने भयावह नजिर स्थापित भएको छ । अहिलेको एमाले–माओवादी एकताले यसलाई थप अनुमोदित गर्दैछ । उनले नै तालिम गरेकाहरू वा त्यस्तै हिंसाको सिको गर्नेहरू उनी र बाबुराम भट्टराई जंगलबाट निस्केर सीधै प्रधानमन्त्री भएको दृष्टान्तले थप वशीभूत छन् । स–साना राजनीतिक भनिएका समूहहरूले पनि राज्यसँग राजनीतिक सौदाबाजीको मुख्य औजार हिंसालाई नै बनाउँदैछन् । जसरी माओवादी हिंसा कालमा कुनै कारणबिनै मानिसहरूलाई विद्यालयको कक्षा र राती सुतेको कोठाबाट थुतेर मारिएको थियो, त्यसको सिको गर्ने मोह अहिले विप्लव वा अन्य साना समूहहरूलाई छ । नेपालको राजनीतिमा दाहालको यो पहिलो विरासत हो, जसले गर्दा विनोदहरूको हत्या हुन छोडेको छैन ।

 

दोस्रो, हिंसाको राजनीति गरेपछि सत्ताको लाभ लिन वैचारिक र कार्यक्रमगत प्रस्टता चाहिँदैन भन्ने उनले प्रमाणित गरेका छन् । माओवादीले हिंसाको शृंखला सुरु गर्दा उसको कुनै कार्यान्वयनयोग्य राजनीतिक उद्देश्य थिएन । वैचारिक आधारहरू थिएनन् । जे भनिएका थिए, ती पूरा भएनन् । यसको अर्थ, यो हिंसा राजनीतिक पटक्कै थिएन । यसलाई वैचारिक आवरण दिने असफल प्रयास भने भयो । उदाहरणका लागि, अहिले दाहाल आपैँmले पनि सम्झन नचाहेको प्रचण्डपथ एउटा बकम्फुसे नाराबाजी मात्र थियो । यसको चर्चा नेपथ्यमा विलीन भएपछि यसो भनेको होइन । यसको वास्तविक गन्तव्यहीनताबारे यस पंक्तिकारले १७ चैत ०५७ को द काठमान्डू पोस्टमा लेखेको छ, जसको सन्दर्भ प्रसिद्ध लेखक माइकल हटले आफ्नो पुस्तक हिमालयन पिपल्स वारमा उल्लेख गरेका छन् । त्यतिबेला कहिले जातीय संघीयता र कहिले ठूलो संख्याका प्रदेश बनाउने गैरजिम्मेवार अभिव्यक्ति अचानक आउँथे । यस्तो सैद्धान्तिक तदर्थवादले ल्याउने अन्योललाई दोहन गर्ने रणनीति मूल मन्त्र दाहाल नेतृत्वको माओवादीको थियो । लडाकू संख्यादेखि तिनको भत्ता दुरुपयोगसम्मका प्रकरणमा उनीलगायतको न्यूनतम राजनीतिक इमानदारी कतै देखिएको छैन । 

 

अहिले राजनीतिक अस्थिरतालाई संस्थागत गर्ने जस्तो संविधान बनेको छ, संघीयतालाई जसरी गिजोलिँदै छ वा राजा वीरेन्द्रको वंशनाशका कारण अलि छिट्टै आएको गणतन्त्रलाई जसरी माओवादीले आफ्नो हिंसाको उपलब्धि भनेको छ, ती कुनै पनि यथार्थमा उपलब्धि होइनन् । किनभने, ती कुनै पनि तत्त्वले जनताको जीवनयापनमा बिलकुलै सकारात्मक योगदान दिएका छैनन् ।

माओवादी हिंसा सुरु हुँदा वार्षिक मुस्किलले तीन हजार युवा कामका लागि अरू मुलुक जान्थे, त्यसको १० वर्षमा त्यो संख्या तीन लाख पुग्यो । सामाजिक रोग बनिसकेकाले शान्ति स्थापनापछि पनि त्यो क्रम रोकिएन र अहिले त्यो संख्या पाँच लाख नाघेको छ । यही कारण मुलुकको उत्पादकत्व र आर्थिक भविष्य अन्धकारमय भएको छ । त्यतिखेर आधा आयात धान्ने निर्यात अहिले सात प्रतिशत पनि नथेग्ने भएको छ । यसरी, माओवादी हिंसाले मुलुकलाई आर्थिक रूपमा कम्तीमा ५० वर्ष पछाडि धकेलेको छ, त्यसैलाई दाहाल उपलब्धि भनेर ढाँट्दै छन् । 

 

तेस्रो, अहिले चुनावका बेला सहर, गाउँ, सडक सबैतिर बम आतङ्क छ । सुतलीदेखि आरडीएक्स र आईडीएक्सको बिगबिगी छ । यो बम प्रविधिको यति व्यापक प्रसार र विस्तार नि:सन्देह दाहालको १० वर्षे हिंसाको शृंखलाले गरेको हो । यसले विदेशिन नसकेका र ध्वंसक प्रवृत्तिका कलिला मस्तिष्कहरूलाई केही दर्जन मानिसको राजनीतिक अभीष्टका लागि दुरुपयोग गरिरहेको छ । परिणामत: यसले मुलुकको शान्ति सुरक्षा र सामाजिक संवेदनशीलतालाई ध्वस्त बनाएको छ । मूलत: शान्तिपूर्ण रहेको नेपाली समाजमा बम प्रविधि प्रसार एवं विस्तार र ध्वंसक मनोवृत्तिको प्रवद्र्धनको अहिलेको चिन्ताजनक अवस्थाको नैतिक जिम्मेवारी पनि दाहालले नै लिनुपर्छ ।

 

अनुभूतिको पक्ष

अहिलेसम्म कुनै राजनीतिक स्वार्थले दाहाललाई, हुन सक्छ छोरालाई नै पनि राजनीतिमा स्थापित गरौँ भन्ने अभिप्रायले कठोर सत्य बोल्नबाट रोकेको होस् । तर, अब उनले भनेझैँ अर्को पुस्ताका हरेक नेपालीमा आफ्नो छोराको अनुहार देख्न चाहने हो भने राजनीतिका नाममा हुने अहिलेको जस्तो व्यापक हिंसालाई रोक्नु पहिलो सर्त हो । त्यसका लागि उनले हिजो हजारौँको हत्या गर्नु आफ्नो गल्ती थियो भन्ने स्वीकार गर्न सक्नुपर्छ । र, अब अर्को पुस्तालाई पनि बम र बन्दुक पड्काएर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्न सक्नुपर्छ । यसमा उनका पूर्वसहकर्मी बाबुराम भट्टराईले पनि साथ दिए अझ राम्रो हो । त्यसै गरी उनको १० वर्षे हिंसा सर्वथा प्रत्युुत्पादक मात्र भयो र देशको समय मात्र खेर गयो भन्ने पनि उही श्वासमा भन्न सक्नुपर्छ । यस्तो असफलता प्रमाणित गर्न आपैँmतर्फ फर्के पुग्छ । क्रान्तिकारी देखिन कहिल्यै नेपाली दौरा–सुरुवाल नलगाएका उनलाई अहिले राजनीतिक अस्तित्व रक्षाका लागि केपी ओलीको दौराको फेरमा झुन्डिनु परेको छ । राजनीतिक रूपमा उनी फेरि ०४७ मै फर्केका छन्, चुनावमा विश्वास गर्ने कम्युनिस्ट बनेर ।

 

छोरो गुमाइसकेपछि, त्यसभन्दा ठूलो गुमाउनुपर्ने कुरा अब उनीसँग केही बाँकी सायद छैन, यदि उनी देखिएजस्तै संवेदनशील छन् भने । उनैलाई थाहा छ, यो प्रत्युत्पादक युद्ध कसको इसारा र सहयोगमा लडिएको थियो । उनका सिंगापुर, बेइजिङ र दिल्लीका अचानक बोलाइने दर्जनौँ भेटघाटमा के कुरा हुन्थे ? यति भद्दा संविधान बनाउन कसले उक्सायो ? अहिले अचानक कुन स्वार्थले हिजो लात्ती हान्ने ओलीको छहारी खोज्नुपर्‍यो ? बमको प्रविधि र सामान कहाँबाट नेपाल आउँछ ? देशभरि कसरी फैलाइन्छन् ? यस्तो प्रविधिमा सिपालु युवा कति होलान् ? यी आदि सबै फेहरिस्त उनको प्रत्यक्ष अनुभवले दिन सक्छ । यसबाट नेपालको भोलिको राजनीतिक बाटोलाई धेरै सुग्घरी बनाउन मद्दत पुग्छ । उनका छोराका दाँैतरीहरूको भविष्य सप्रने छ । समाजमा बिस्तारै सहनशीलता र संवेदनशीलता फर्कनमा यसले मद्दत गर्छ । र, यो उनले छोराका नाममा दिने वास्तविक र सच्चा श्रद्धाञ्जली हुनेछ । त्यसका लागि दाहालले एकपटक नि:स्वार्थ पिता पुष्पकमल मात्रै भएर साँचो बोल्न जरुरी छ । राजनीतिक प्रपञ्च रचिरहने प्रचण्ड भएर होइन । 

प्रकाशित: मंसिर १८, २०७४