आवश्यकता ‘डिल’ गर्ने दस्ताको

- चन्द्र खतिवडा

अमेरिकाका रोवर्ट गोडार्डले सन् १९२६ मा तरल इन्धनको आधुनिक रकेटको आविष्कार गरे । त्यसपछिको होडबाजीले अमेरिकालाई ‘टेक्नोलोजी’को वादशाह नै बनायो । तत्कालीन सोभियत रुस र अमेरिका नै विश्वमा यस्ता देशहरू हुन जसले यो ‘टेक्नोलोजी’को युगलाई रफ्तारमा  हिँडाए । तर, सन् ९० को सुरुआततिर सोभियत रुसको विघटन भएपछि भने अमेरिका एक्लो बादशाह बनेको छ । 

अमेरिका आफ्नो ‘टेक्नोलोजी’ विस्तारका लागि लाखौंको संख्यामा विश्वका थुप्रै देशबाट टेक्नोलोजिस्टहरूलाई भिœयाउँछ । तिनीहरूलाई विशेष भिसाको व्यवस्थाद्वारा यहाँका आईटी कम्पनीहरूले नियुक्त गर्छन् । सन् २०१६ मा नेपालबाट पनि ५०९ जनाले यस्तो भिसाबाट अमेरिकामा रोजगारी पाएका थिए । जबकि भारतबाट १ लाख २६ हजार ६ सय बयानब्बे र चीनबाट मात्र २१ हजार ६ सय ५७ ले यस्तो भिसाबाट अमेरिकाका कम्पनीहरूमा नियुक्ति पाएका थिए । यसमा प्रमुखतः अरु देशहरूमा मेक्सिको, साउथ कोरिया, ग्रेट ब्रिटेन, फ्रान्स, फिलिपिन्स, ताइवान, ब्राजिल, जर्मनी र जापानका पनि १ हजारभन्दा बढी टेक्नोलिोजिष्टहरू रोजगारीमा अमेरिका जानेमा पर्छन् । ईटाली, रुस, टर्की, पाकिस्तान, कोलम्बिया, स्पेन र नेपालका भने ५०० जनाभन्दा बढी टेक्नोलोजिष्टहरू विशेष भिसाद्धारा अमेरिका भासिन्छन् । यी सबैमा ८० प्रतिशत त भारत र चीनबाट मात्रै भित्रिन्छन् ।

भारत एउटा ठूलो देश हो र जससँग र विशाल जनसंख्या छ । तर, चीन त्यसभन्दा पनि अघि छ, यस मानेमा । भारतले १ लाख २७ हजार हाराहारी टेक्नोलोजिष्टहरूलाई विदाई गर्दा चीनले मात्र २१ हजारलाई विदाई गरेको थियो । यीमध्ये अधिकांशको स्थायी बसोबासको छनोट भविष्यमा अमेरिका नै हुन्छ ।

अमेरिकी राजनीतिमा यो एउटा विशेष मुद्दा बनेर छाएको छ । अहिलेका राष्ट्रपतिले त यसलाई कुनै हिसाबले घटाउने र अमेरिकाभित्रै यस्ता किसिमका रोजगारीहरू उत्पादन गर्ने आफ्नो योजना बताइसकेका छन् । तर यस कुराले यहाँ यति छिटो प्रभाव पार्न मुस्किल देखिन्छ । लाखौँको संख्यामा विशेष भिसाद्वारा टेक्नोलोजिष्टहरूलाई भित्र्याउने कुरा त छँदैछ, त्योभन्दा बाहेक तिनै देशका विभिन्न कम्पनीहरूले अमेरिकी कम्पनीहरूको वस्तु उत्पादनको ठूलै सम्झौता पनि पाइरहेका छन् । एप्पल कम्प्युटरले चीनको फक्सकन कम्पनीसँग आफ्नो उत्पादनको सम्झौता गर्दछ भने नाइक, सिस्को, वालमार्ट, आइबीएम, माइक्रोसफ्टजस्ता थुप्रै कम्पनीहरूले पनि चीनका विभिन्न कम्पनीहरूसँग सम्झौता गरेका छन् । यो एउटा संक्षेप रुप मात्र हो, अरु पनि थुप्रै र ठूलै संख्यामा छन् । अहिले त्यसको वर्णनमा नफसौँ ।

यो साँचो हो कि अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संसारलाई प्रयोग गरिरहेको छ, आफ्नो फाइदाका लागि । तर, अमेरिकाले लिएको फाइदा मात्र फाइदा हो र ?  त्यसले दिएका ‘कन्ट्य्राक’हरूबाट प्रभावित भएर टेक्नोलोजीमा ह्वात्तै माथि उठेको चीन र वामे सर्न थालेको भारत लगायतका देशको टेक्नोलोजी विकासको जस पनि धेरथोर त्यही अमेरिकी टेक्नोलोजीको ती देशमा भइरहेको लगानीलाई जान्छ । 

अमेरिकादेखि बाहेक अरू देशहरूमा पनि टेक्नोलोजीको विकास र प्रभाव नभएको होइन तर अमेरिकाको अर्थव्यवस्था र त्यहाँका जनताको क्रयशक्तिका कारणले सबैको आँखा त्यसैतिर तेर्सिएका हुन्छन् । चीन, भारत र अरू देशका थुप्रै कम्पनीहरूको मुख्य ध्याउन्न नै अमेरिकाका कम्पनीहरूसँग कन्ट्य्राक लिनु हुन्छ ।

हाम्रा नेपाली व्यवसायीहरू वा टेक्नोलोजिष्टहरू पनि हाम्रो सरकारका मन्त्रीहरूको अमेरिका भ्रमण छ भने विभिन्न सम्झौताको लागि दवाव दिइन्छ । कोटा माग्नलाई हाम्रा हात मरिहत्ते गर्छन् । तर, न कोटा पूरा गर्ने हामीसँग जनशक्ति छ, न साँच्चैको सम्झौतालाई निभाउन सक्ने क्षमता । खैर,यो पनि सानो रुपमा खोजुँला । तर, जब मन्त्री प्रधानमन्त्रीको भ्रमण हुन्छ र अमेरिकी सरकारका पदाधिकारीसँग साँच्चै कुरा गर्नुपर्ने हुन्छ, त्यतिखेर हामीसँग धेरैजसो लिखित रुपमा कुनै योजना नै हुँदैन, भए पनि मन्त्रीले भेटमा त्यस कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने भेउ नै पाउँदैनन् । थुप्रै चोटी यस्ता भेटपछि त्यसका प्रतिनिधिमण्डलसँग कुरा गर्दा यस्तै छनक पाइन्छ । सुन्दा नै अवाक लाग्ने यस किसिमको व्यवहारले अमेरिकासँग त चल्दै चल्दैन । बाँकी विश्वसँग पनि हामीलाई यस किसिमका कुरा गर्न गाह्रो हुन्छ । अहिले दुई छिमेकी चीन र भारतसँग कम्तीमा राम्रोसँग डिल गर्ने क्षमता मात्र भइदिएको भए हाम्रो अवस्था अझै बलियो हुन सक्थ्यो ।

अब नेपालमा बन्ने सरकारहरूले निष्पक्ष रुपमा यस्ता विषयहरूमा ‘डिल’ गर्ने विशेषज्ञहरूको विशेष दस्ता बनाउनु जरुरी भइसकेको छ, हरेक क्षेत्रमा । साँच्चैको विशेष दस्ता, जसले विषयको प्राविधिक ज्ञान त्यसको समग्र खाकाको खोजी गरोस् । अहिले जस्तो जसलाई पनि विज्ञ बनाएजस्तो होइन । टेक्नोलोजीमा त यो अति नै आवश्यक छ । यस्ता विशेषज्ञ दस्तालाई राजनीतिक पक्ष–विपक्षबाट टाढै राखी तिनीलाई आवश्यक समयमा ‘डिल’ गर्ने दस्ताका रुपमा प्रयोग गरे हामी र हाम्रो टेक्नोलोजी र विकासले पनि गतिलै फड्को मार्ने थियो कि !

गोमनशरी झापा, हालः न्यूजर्सी, अमेरिका 

प्रकाशित: मंसिर १५, २०७४