गाउँ हडप्न खोज्ने मुखिया

- रेवतीरमण खनाल

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल मानिने सुदूरपश्चिम क्षेत्रकै भूस्वर्ग खप्तड लेकको तल एउटा सानो र सुन्दर गाउँ थियो, जहाँ १३–१४ घर–परिवार बस्थे । विसं ०३४ मा राजा वीरेन्द्र सुदूरपश्चिमको भ्रमणमा निस्किँदा हामी त्यही गाउँको माथिपट्टि रहेको पाखोको एउटा चौरमा खाना खान हेलिकप्टर अवतरण गराई बसेका थियौँ । 

सुर्खेतमा सवारी शिविर खडा गरी त्यहीँबाट सुदूरपश्चिमका जिल्ला भ्रमण गर्ने कार्यक्रम थियो । २७ माघ ०३४ को कुरा हो, राजा वीरेन्द्रले बिहान बाजुराको कार्यक्रम सकेर अछाममा खानेपानी आयोजनाको उद्घाटन गरी दिउँसोको खाना खाने सिलसिलामा हामी त्यहाँ पुगेका थियौँ । डोटी सदरमुकामको एउटा कार्यक्रममा सरिक हुन जाने क्रममा अछामको एउटा चौर, जसको छेवैमा ठूलो तलाउ पनि थियो, मा बसेर खाना खाने कार्यक्रम निर्धारण गरिएकामा त्यस दिन त्यहाँ पुग्दा हिउँ परेर तलाउ र चौर पूरै ढाकेपछि हामी खानाका प्याकेटसहित खप्तड लेकको त्यही गाउँको माथिपट्टि रहेको पाखो चौरमा पुगेका थियौँ ।

चौरमा एकैपटक तीन–तीनवटा हेलिकप्टर अवतरण गर्दा स्वाभाविक रूपमा हल्लाखल्ला हुने नै भयो । वन–पाखामा घाँस–दाउरा गर्न निस्किएका गाउँले त्यो हल्लाखल्ला सुनेर चौरमा जम्मा भए । तिनीहरू हँसिया–नाम्लासहित नै त्यहाँ पुगेका थिए । उनीहरू सरासर गलैँचा बिछ्याएर खाना खाँदै गरेका राजा–रानीको नजिकै गएर उभिए । 

हामीहरू पनि नजिकै खानाका प्याकेट खोलेर खाँदै थियौँ ।

राजाबाट एक किसानलाई ‘तिम्रो नाम के हो ? कहाँ हो तिम्रो घर ?’ भनेर सोधनी भयो । किसानले आफ्नो नाम बताउँदै त्यहीँ तल आफ्नो गाउँ रहेको जवाफ दिए । त्यसपछि राजाले ‘तिमीहरूले राजा–रानी देखेका छौ ?’ भनेर सोध्दा तिनीहरूले नदेखेको जानकारी गराए । तर, यत्तिकैमा एक किसान चिच्याए, ‘मैले त देखेको छु । हाम्रा प्रधानपञ्चले लगाउने लकेटमा राजाको तस्बिर थियो ।’

उच्च हिमाली भूभाग भएकाले होला, हामीले खान लागेका प्याकेटभित्रका रोटी त एकैछिनमा दाउराजत्तिकै साह्रा भए । खाना खान सकिने अवस्था रहेन । केही फलफूल खायौँ । राजा–रानीले केही फलफूल ती किसानलाई बाँडिदिए । किसानहरू हातहातमा फलफूल लिएर आफ्नो बाटो लाग्दै थिए, राजाबाट पुन: एक किसानलाई सोधनी भयो, ‘तिमीहरूका अरू गाउँले खोइ त ?’ ती किसानले राजा–रानी आउने भएकाले गाउँले सबै निख्रिएर डोटी सदरमुकाम खलंगा गएको बताए । साथै, ‘खड्का जमिनदार–मुखियाले गाउँभरिका किसानलाई गाउँबाटै निकाल्न लागेकाले त्यो कुरा राजालाई सुनाउन’ उनीहरू त्यता लागेको पनि उनले बताए ।

गाउँले पूरै निख्रिएर किन सदरमुकाम गएछन् त भन्ने लागेर हामीले ती किसानलाई बोलाएर सोध्यौँ । प्रेमसिंह खड्का नामका त्यस गाउँका दर्तावाल मुखियाले गाउँका सबै किसानलाई गाउँबाटै उठिबास गराएका रहेछन् । घाँस काट्न गएका ती किसानबाट यस किसिमको जानकारी पाएपछि राजाबाट भ्रमण दलसँगै गएका न्यायाधीश सर्वज्ञराज पण्डित र मलाई बोलाएर यसबारेमा विस्तृतमा बुझ्न निर्देशन भयो ।

ती गाउँले किसानले मुद्दाका बारेमा धेरै कुरा बताउन सकेनन् । खड्काले ‘मुद्दा गर्छु, तिमीहरूलाई गाउँबाट निकाला गर्छु’ भनेको कुरा मात्र ती किसानले बताए । अनि, हामीले डोटी सदरमुकाम गएर के भएको रहेछ, विस्तारमा बुझी राजामा जाहेर गर्छौं भन्यौँ । राजाले ती किसानलाई ‘तिमीहरूको मुद्दा यिनीहरूले हेरिदिन्छन्, तिमी पनि हामीसँग डोटी जान्छौ त ?’ भन्दा मुसुक्क हाँस्दै उनले आफ्नो हसियाँ–नाम्लो साथीलाई जिम्मा लगाएर राजासँगै जान तयार भए । राजा–रानीसँगै ती किसान पनि हेलिकप्टरमा चढे ।

हामी सरासर डोटी पुग्यौँ । तर, राजा चढेको हेलिकप्टर आइपुगेन । ती किसानको गाउँ हुँदै राजा–रानी फर्किएकाले केही ढिलो भएको रहेछ । डोटी सदरमुकाम खलंगामा गाउँले किसानहरूको ठूलो भीड लागेको थियो । राजा–रानीको जयजयकार गरिरहेका मानिसहरू हेलिकप्टरबाट एक जना किसान उत्रिएको देख्दा अक्क न बक्क परे । एकछिन चुप्प लागे । पछि फेरि राजा–रानी झरेको देखेपछि जनताले जयजयकारको नारा घन्काउन थाले । राजा हेलिकप्टरबाट ओर्लिएपछि ती किसानलाई केही नगद हातमा राखिदिँदै न्यायाधीश र मतर्फ देखाउँदै ‘ यिनीहरूसँग जाऊ, तिमीहरूको मुद्दा यिनीहरूले हेरिदिन्छन्’ भने हुकुम भयो ।

वास्तवमा त्यस गाउँका दर्तावाल मुखिया प्रेमसिंह खड्काले तीन वर्षसम्म आफ्नै नाममा तिरो बुझाई भूमिसुधार लागू हुँदा आफैँ जग्गाधनी भनी लगत लिएका रहेछन् । पछि ‘मेरो जग्गा खिचोला गरी घरबार गरी बसेकाहरूलाई उठाई पाऊँ’ भनी उल्टै तिनै गाउँलेका विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका रहेछन् । जग्गामा घरबार भोग गरी बसिरहेकाले किसानहरूले मोहियानी हक अन्तर्गत भूमिसुधार कार्यालयमा झन्डै २२ वटा मुद्दा दर्ता गरेका रहेछन् । न्यायाधीशले दर्ता र तिरो प्रेमसिंहकै नाममा रहेकाले भोगचलनमा विवाद रहेछ भनी खड्काकै पक्षमा जिल्ला अदालतबाट मुद्दा छिनेका रहेछन् ।

सबै कुरा बुझेपछि यही कुरा राजामा जाहेर गर्‍यौँ । राजाले तुरुन्तै मुद्दा किनारा गरी गाउँले किसानलाई निसाफ दिन हुकुम भयो । १५ दिन लगाएर त्यो मुद्दा भूमिसुधार अधिकारीले छिने र गोरे ठगुन्नासमेतका त्यस गाउँका सबै किसानले न्याय पाए । उनीहरूको घरवास थामियो ।

 प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: मंसिर १५, २०७४