सरल तर सशक्त 'न्युटन'

- गोकर्ण गौतम

लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचनबाट जनप्रतिनिधि छान्ने प्रक्रिया हो । तर, त्यही निर्वाचन प्रक्रिया स्वतन्त्र र निष्पक्ष भएन भने ? त्यसलाई चाहिँ लोकतन्त्रको कुरुप पाटो मान्न सकिन्छ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुुलुक भारतको निर्वाचनमा सबै नागरिकको समान पहुँच र स्वतन्त्रता होला त ? यसकै सेरोफेरोमा घुमेको छ, फिल्म न्युटनमा । पटकथाकारसमेत रहेका निर्देशक अमित मश्रुकरले यति संवेदनशील विषयलाई अति सरल र सशक्त शैलीमा बुनेका छन् । फिल्मको कथा साँघुरो छ । तर, त्यसले सतहमा ल्याएका तथ्यहरू निकै मननयोग्य । हरेक फिल्ममा फरक भूमिकामा देखिने अभिनेता राजकुमार राव न्युटनको आकर्षणको परिधिमा छन् । निर्देशकको सोचलाई पर्दामा हुबहु उतार्न उनले कत्ति पनि कसर बाँकी राखेका छैनन् । मौलिक कथाको खडेरी परेको बलिउडमा न्युटनको उपस्थिति ज्यादै श्रेयस्कर छ । ओस्कार अवार्डको ९० औँ संस्करणमा उत्कृष्ट विदेशी भाषा फिल्म विधामा न्युटनले भारतको प्रतिनिधित्व गर्दैछ । 

न्युटन कुमार (राजकुमार)लाई माओवादी अति प्रभावित क्षेत्रमा निर्वाचन अधिकारी बनाएर पठाइन्छ । जम्मा ७६ मतदाता रहेको आदिवासी गाउँमा न्युटनले निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पाएको छ । तर, उक्त क्षेत्रमा सैन्य नेतृत्व गरिरहेका आत्मा सिंह (पंकज त्रिपाठी) लाई आदिवासीले हाल्ने भोटको कत्ति पनि महत्वबोध छैन । उनी माओवादीको डर देखाउँछन्, मत हाल्ने माहौल सिर्जना गर्न चाहदैनन् । निर्वाचनकै विषयमा न्युटन र आत्मा सिंहबीच तनाव सिर्जना हुँदै जान्छ । सरकारी सेना र माओवादीको चेपुवामा परेका नागरिकलाई चुनावको वास्तै छैन । यस्तो अवस्थामा आफूलाई दिइएको दायित्व पूरा गर्न न्युटन सफल होलान् ? पौने दुई घण्टाको यस फिल्ममा सरकारी कर्मचारीको रवैया, सुरक्षा निकायको निर्वाचनप्रतिको नजर र चुनावभित्रको फोहोरी खेल नंग्याउने प्रयास गरिएको छ । 

न्युटनको सर्वाधिक प्रशंसनीय पक्ष हो, खँदिलो पटकथा । सानो घेरा र सीमित पात्रबीच द्वन्द्व सिर्जना गर्दै कथाअगाडि बढाइएको छ । न कुनै घटनालाई अतिरञ्जित बनाउने प्रयास गरिएको छ, न अनावश्यक बेवास्ता नै । फिल्मको अधिकांश दृश्य निर्वाचन हुने एक दिनको छ तर मूल कथामा प्रत्यक्ष सरोकार राख्ने पात्रहरूका सूक्ष्म आनीबानी र अभिव्यक्तिले ‘होल्ड’ गर्छ । फिल्ममा एउटै त्यस्तो दृश्य छैन, जसले दर्शकको मोह भंग होस् । त्यसमाथि हरेक घटनाक्रम, पात्रको प्रवृत्ति र लोकेसन ताजा लाग्छ । ‘भर्जिन’ कथालाई निकै व्यावहारिक शैलीमा पस्कन पूरापुर सफल छन्,निर्देशक मश्रुकर । 

मूल पात्र न्युटनलाई मात्र होइन, आत्मा सिंह, न्युटनको सहयोगी अन्य दुई पुरुष कर्मचारी, निर्वाचनमा खटिएकी स्थानीय शिक्षिकाजस्ता सहायक पात्रलाई समेत दर्शकले आत्मसात् गर्ने तवरमा स्थापित गरिएको छ । अर्को रोचक पक्षचाहिँ चुनाव माओवादी प्रभावित क्षेत्रमा गरिएको छ, तर पर्दामा माओवादीको उपस्थिति शून्य छ । बरु सरकारी सैन्य टोलीले नै माओवादीको नाममा ‘प्रायोजित आतंक’ मच्चाउँछ । यसले नक्सलवादी क्षेत्रमा सरकारको उपस्थितिमा कटाक्ष गरेको छ । खासमा फिल्मको मूल मर्म नै विभिन्न सरकारी निकायहरूबीचको कटु सम्बन्ध र त्यसले चुनावमा पार्ने नकारात्मक प्रभाव हो । 

साहिदबाट राष्ट्रिय अवार्ड चुमेका राजकुमार रावले फेरि एकपटक आफूलाई जस्तोसुकै भूमिकालाई जीवन्तता दिनसक्ने कलाकार प्रमाणित गरेका छन् । उनको चरित्र फिल्ममा मात्र होइन, समाजमै इमानदार र कर्तव्यनिष्ठको प्रतीक हुन सक्छ । हुलिया, र संवादले पात्रको मनोविज्ञान दर्शकसम्म सहजै प्रवाह गर्न सक्षम छन् । रावलाई आच्छु–आच्छु पारेका छन्, पंकज त्रिपाठीले अभिनय मार्फत् । उनलाई पर्दामा हेरिसकेपछि लाग्छ, आत्मा सिंहको चरित्रलाई आत्माबाटै आत्मसात् नगरेको भए त्यति बुलन्द अभिनय सम्भव थिएन । अञ्जली पाटिल, रघुवीर यादवलगायतका सहायक कलाकार पनि तारिफका हकदार हुन् । सञ्जय मिश्राको ‘केमियो’ सम्झनालायक छ ।

मनोरञ्जन र सन्देशको गहकिलो सम्मिश्रण भएकाले न्युटनलाई छुटाउनै नहुने फिल्मको कोटीमा राख्न सकिन्छ । हामी यतिबेला निर्वाचनको माहौलमा छौँ । हाम्रो लागि त यो फिल्म ‘बुटी’ समान हुनसक्छ । 

 

प्रकाशित: मंसिर १५, २०७४